(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
६७ वर्षीया कमलादेवी पौडेल गत साताको एकदिन धनगढी बजार आएकी थिइन्। क्याम्पस चौकमा भेटिइन्। सानो कामले आएकी भन्थिन्। धनगढी उपमहानगरपालिका–१४, फूलबारीकी उनै कमलादेवीसँग हामीले गरेको कुराकानी:
तपाईंको घर कहाँ पर्यो?
यहीँ फूलबारीमा घर हो। आज सानो कामले यता बजार आएकी हुँ।
माइती कता हो नि?
म पूर्वताप्लेजुङमा जन्मेकी हुँ। हामी धेरै छोरी थियौं, ६ बहिनी थियौं। स्कुल जान पाइएन। छोरीलाई स्कुल पठाएर पढाउने चलन पनि थिएन। घरकै काम गरेर समय बित्थ्यो। त्यतिकैमा बिहे भइजान्थ्यो।
सुदूरपूर्वको ताप्लेजुङबाट सुदूरपश्चिमको धनगढी कसरी आइपुग्नुभयो?
श्रीमान यहाँ धनगढीमा नोकरी गर्थे। बिहे भयो। बेला बेला घर जान्थे अनि नोकरी गर्न यतै आउँथे। पाँच वर्षपछि म पनि पछ्याउदै आएँ। म आउँदा त कान्छी लिएर बसेका रहेछन्। कान्छीका दुई वटी छोरी थिए।
तपाईंका छोराछोरी कति जना?
तीन वटा छोरा हुन्। जेठो छोरो बम्बैमा छ। जेठी बुहारी धनगढीमै बस्छिन्, अलग्गै छिन्। माइलो छोरो पोखरामा छ, उतै मिस्त्री काम गर्छ। कान्छो छोरो दुबईमा छ। कान्छी बुहारी झापामा छिन्। छोराहरूले पनि ठूलो नोकरी गर्न पाएनन्।
बुढा (श्रीमान्) ले कान्छी ल्याएपछि छोराछोरी पढाउन सकिएन। बुढाले कान्छी ल्याउँदा जेठो छोरो १५ वर्षको थियो। अहिले त बुढा पनि बितेर गए।
श्रीमान के काम गर्नुहुन्थ्यो?
दोकानमा काम गर्थे।
श्रीमानले दोस्रो बिहे गर्नुभएछ, छोराछोरीको पालनपोषणमा तपाईंलाई कठिनाइ भयो कि?
हो नि, धेरै कठिन भयो। उनी (श्रीमान) आफैंलाई पनि गाह्रो थियो। कान्छीलाई पनि दुई छोरी पाल्न गाह्रो थियो। लैबरीमा कान्छी ल्याएका हुन्। उनले त कान्छीलाई पनि खासै हेरेनन्। कान्छीले पनि दुःख गरेर छोरीहरू हुर्काइन्। अहिले जेठी छोरी र ज्वाइँ अमेरिकामा छन्।
तपाईंहरू दुई श्रीमतीले छोराछोरी हुर्काउन दुःख झेल्नुपर्यो होला, होइन त?
धेरै दु:ख भयो। जे पाइन्छ त्यही काम गरियो। कहिले खेतीपातीको काम त कहिले मजदुरी गरियो। धेरैजसो त मजदुरी नै गरियो। राम्रो नोकरी गर्न पढेको थिएन। दुःख गरेर अलिअलि कमाएर छोराछोरी हुर्कायौं।
तपाईं अहिले के काम गर्नुहुन्छ?
घरकै काम गर्छु। आधा कट्ठा जमिनमा घर छ, एक्लै बसेकी छु।
छोराहरूले कतिको सुख दिएका छन्?
ठिकै छ, खर्चपानी दिएका छन्। आआफ्नो अवस्थाले गर्दा अलगअलग ठाउँमा छन्। आआफ्नो काम गर्छन्। यता म एक्लै छु।
तपाईंलाई सबैभन्दा बढी के गर्न मन लाग्छ?
घरको कामबाहेक अरू केही छैन। अब त तीर्थब्रत गर्न पाए हुन्थ्यो जस्तो लाग्छ। ठूलो रोग नलागी बाँच्न पाए हुन्थ्यो भन्ने लाग्छ।
अन्तिमपटक कहिले तीर्थ जानुभएको थियो?
धेरैतिर त जान पाएको छैन। पोहोर साल छोरो विदेश उड्ने बेला काठमाडौं गएकी थिएँ। त्यस बेला पशुपतिनाथको दर्शन गरेकी थिएँ। यसपालि यहीँको गोदावरी धाम गएँ।
खानामा सबैभन्दा बढी के मन पर्छ?
दही र भात मन पर्छ। पैसा भएका बेला दही किनेर खान छुटाउँदिनँ।
तपाईंको स्वास्थ्य अवस्था कस्तो छ?
प्रेसर (उच्च रक्तचाप) को औषधि खाइरहेकी छु। हातखुट्टा पनि दुख्छन्। अरू त ठिकै छ।
स्वास्थ्य परीक्षण कसरी गराउनुहुन्छ?
एक्लै छु। धेरै गाह्रो भएका बेला मेडिकल जान्छु। अस्ति ज्वरो आउँदा र टाइडफाइड हुँदा मेडिकल गएँ। महिनामा एकपटक स्वास्थ्य चौकीमा शिविर चल्छ। त्यही शिविरमा गएर जाँच गर्छु। प्रेसरको औषधि पनि शिविरमा पाइन्छ, किनेर खानुपरेको छैन।
निद्रा कत्तिको लाग्छ?
आजकाल त दिउँसैदेखि हातखुट्टा लुला भएर थकाइ लाग्छ। बेलुका उज्यालैमा खान्छु र चाँडै घरभित्र पस्छु। छिटै निद्रा पर्छ। कहिलेकाहीँ निद्रा नलागेर छटपटीमा रात कटाउँछु। निद्रा लागेन भने ज्यान दुख्छ। कहिलेकाहीं त दिउँसै पनि निदाउँछु।
जिन्दगीमा सबैभन्दा बढी खुसी कहिले हुनुभएको थियो?
जिन्दगीमा खुसी भन्ने केही पनि भएन। माइतमा हुँदा पनि धेरै छोरी भएर आमाबालाई धौधौ भयो। हामी दुःखमै हुर्कियौं। माइतमा पनि साह्रै खुसी हुने दिन आएन।
बिहेपछि पाँच वर्षमै श्रीमान घर छाडेर हिँडिहाले। उनीबाट पनि कहिल्यै माया पाइएन। सबैतिरबाट पुगिसरी आउँदा पो मन खुसी हुन्छ त!
जिन्दगीमा साह्रै चित्त दुखेको पनि होला, के कारणले चित्त दुःखेको छ?
श्रीमानको कारणले धेरै चित्त दुख्यो। माया पाइएन, छोड्दै हिँडे। उमेरमा पनि श्रीमानले साथ नदिँदा धेरै चित्त दुख्यो। अब त बितेर गए, चित्त दुखाउनु पनि के छ र!
आजकाल पनि मनमा पिर लागिरहने कुरा केही छ कि?
अहिले त खासै पिर छैन। जति पिर हुनु उमेरमै भयो। अब ठूलो रोग नलागी जान (मर्न) पाए हुन्थ्यो भन्ने लाग्छ।
फ्याट्ट जाने भनेको मर्ने होला, यस्तो कुरा कि सोच्नुहुन्छ?
आखिरमा जाने ठाउँ त त्यही (मत्यु) हो नि! अजम्मरी कोही हुँदैन, एक दिन त मर्नै पर्छ। अहिले नै मर्ने भनेको होइन। ठूलो रोग नलागी मर्न पाइयोस् मात्रै भनेको हो। धेरै दिन ठूलो रोग लाग्यो भने छोराहरूलाई दुःख, आफूलाई पनि दुःख, त्यही भएर सजिलै प्राण त्याग्न पाऊँ भन्ने सोच्छु।
तपाईंलाई यति बेला के किन्न पाए हुन्थ्यो भन्ने लागेको छ?
एउटा सानोतिनो झोला किन्न मन छ; साधारण खालको, धेरै महँगो पनि नाइँ। मसँग भएको झोलाको चैन (चेन) बिग्रेको छ।
यसो विचार गर्दा जिन्दगी के हो रहेछ जस्तो लाग्छ?
जिन्दगी त पर्दाको फिल्म जस्तै हो। जीवनमा कति फिल्म भए भन्ने गनेर साध्य नै छैन।
तपाईंलाई आफ्नो गाउँसमाज कस्तो लाग्छ?
ठिकै छ। गाउँका मान्छे राम्रै छन्। आफू भलो भए संसार भलो हुन्छ। आफू मिलेर बस्नुपर्छ। मिल्नु भनेको समाजमा शान्ति ल्याउनु हो। सानोतिनो कुरामा झगडा गर्नु हुँदैन। साथी चर्को बोले आफू बिस्तारो र मिठो बोल्नुपर्छ।
देशको राजनीतिमा कत्तिको चासो छ?
मलाई त केही चासो छैन। चुनावका बेला नेताहरू प्रचारमा जानु पर्छ भन्छन्। भोट हाल्न जानुपर्छ भन्छन्। भोट त हालें तर प्रचारमा कहिल्यै गइनँ।
गएको चुनावमा कसलाई भोट दिनुभयो?
एमालेलाई।
किन?
पहिलादेखि नै एमालेलाई दिएको हो। झापामा हुँदा पनि एमालेलाई दिन्थ्यौं। आमाबा पनि एमालेलाई नै दिनुपर्छ भन्थे। अरू पार्टीका मान्छे पनि फकाउन आउँछन् तर एमालेलाई बाहेक अरूलाई दिएको छैन।
आउने चुनावमा कसलाई भोट दिनुहुन्छ होला?
खोइ, त्यो त थाहा छैन।
तपाईंलाई मन पर्ने नेता को हो?
कोही पनि छैन। जो पनि उस्तै छन्। आफ्ना मान्छे नेता छैनन्। आफ्ना भएको भए आफ्ना हुन् भनेर मन पर्थ्यो होला, केही सहयोग पनि गर्थे होला। नेता मन परेर भोट दिएको होइन। एउटालाई भोट दिनु त हो भनेर एमालेलाई दियो, काम सक्कियो।
तपाईंले भोट दिएर जिताएका जनप्रतिनिधिले के काम गरेको देख्नुभएको छ?
काम त गरेका छन्। बाटोघाटो बनाएका छन्। धारोपानी बनाएका छन्। अझै बनाउँदै छन्। धनगढीमा महिनामा एकपटक स्वास्थ्य शिविर चलाउँछन्। शिविरले धेरैलाई फाइदा भएको छ। नेताहरू एकैचोटि काम गर्दैनन्, थोरथोरै गर्छन्।
यति बेला सरकारले के काम गरिदियोस् भन्ने लाग्छ?
सरकारले नेपालमै जागिर दिएको भए हाम्रा छोराहरू विदेश जाने थिएनन्। अहिले त धेरैका छोरीबुहारी पनि विदेश गएका छन्। नेपालमा जागिर छैन। मैले चिनेकी एक जना छोरी मलेसिया गएकी थिइन्, त्यहाँ विजोग छ भन्ने सुनेकी छु। पत्रिकाले उनको समाचार लेखेको छ भन्थे।
काम खोज्न विदेश जान नपर्ने गरी सरकारले आफ्नै देशमा काम दिनुपर्छ। यति भयो भने धेरै राम्रो हुन्छ।