(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
गएको साताको एक बिहान। धनकुटास्थित नाम्जे गाउँमाथिको आकाश सिमसिम–सिमसिम गरिरहेको थियो। अघिल्लो साँझ नै आएर बास बसेका एक दर्जन पाहुनाका लागि उनी हरियो तरकारीको जोहो गर्दै थिइन्। धनुकटा साँघुरीगढी गाउँपालिका वडा नम्बर ६ मा रहेको उनको घर ‘नाम्जे थुम्की सामुदायिक होमस्टे’को घर नम्बर ३ हो।
४१ वर्षीया दिलमाया तरकारी टिपिसकेपछि कुरा गर्न तयार भइन्। कुराकानीको उद्देश्य बताएपछि उनले हाम्रा प्रश्नको उत्तर पनि दिन थालिन्–
कति भयो होमस्टे चलाउन थाल्नुभएको?
१२–१३ वर्ष जति भयो।
को–को हुनुहुन्छ परिवारमा?
हामी बुढाबुढी र छोराछोरी। छोरीको बिहे भइसकेको छ। छोरा पढ्दैछ।
होमस्टे व्यवसायबाहेक अरू केही गर्नुहुन्छ कि?
अरू त केही गर्नै भ्याइँदैन। हामी त परिवारै यसैमा व्यस्त हुन्छौं। खेतीपाती थोरै छ, पाहुना नआएका बेला त्यही अलिअलि काम गर्छौं।
पाहुना कहिले धेरै आउँछन्?
धेरै त शुक्रबार–शुक्रबार आउँछन्। शुक्रबार र शनिबार धेरै भीड हुन्छ। शनिबार चाहिँ दिउँसो खाने, फर्कनेहरू हुन्छन्। आइतबार–सोमबार कहिलेकाहीँ खाली हुन्छ। कहिलेकाहीँ दिनभरी बस्ने, खानेगरी पनि पाहुना आउँछन्। हामीलाई सधैंजसो भ्याइनभ्याइ नै हुन्छ।
वर्षभरी नै आइरहन्छन् कि बेलाबेला?
वर्षभरीजस्तो नै आउँछन्। तर, धेरै आउने चाहिँ गर्मीको बेला हो। गर्मी यामको शुक्रबार धेरै हुन्छन्।
गाउँका कति घरमा छ होमस्टे?
यहाँ १८ घरमा छ।
होमस्टे गर्नुभन्दा अगाडि के गर्नुहुन्थ्यो?
पहिला खेतीपाती गर्थ्यौं।
कति छ खेतीपाती? केके फल्छ?
खेती धेरै छैन, थोरै छ। मकै, तोरी, आलु, कोदो, धनियाँ, सागपातहरू फल्छ। अहिले पाहुना नआएको बेला त्यही खेतीमा काम गर्छौं।
खेतीपातीले परिवार धान्थ्यो पहिला?
केको धान्नु नि! खान–लाउनै गाह्रो हुन्थ्यो। खेतीले त दुई तीन महिना मात्रै पुग्थ्यो। अरू बेला त मजदुरी गर्ने, परिवार पाल्ने गरिन्थ्यो।
अहिले चाहिँ कस्तो छ अवस्था?
हामेस्टे सुरू भएपछि त एकदम राम्रो भएको छ। घर खर्च चलाउन, छोराछोरी पढाउन सजिलो भएको छ। पहिले खान लाउनै समस्या हुन्थ्यो, अहिले त्यस्तो छैन। आफ्नै घरमा काम गरेर चलेको छ परिवार।
भनेपछि आम्दानीबाट सन्तुष्ट हुनुहुन्छ?
हजुर एकदमै सन्तुष्ट छु।
तपाईंको घरमा एक दिनमा कति जनासम्म पाहुना अटाउँछन्?
हाम्रो घरमा एक दिनमा ९ देखि १८ जनासम्म राख्न सक्छौं। पाहुनाहरू सिंगल–सिंगल बेडमा बस्नुभयो भने नौ जना, डबल बसे १८ जनासम्म राख्न सक्छौं।
सुखदुःख कस्तो छ त?
अहिले त सुखै छ। पहिला चाहिँ साह्रै दुःख थियो। होमस्टे चलाएदेखि नै सुख भएको हो।
यति धेरै व्यस्त बन्नु हुँदोरहेछ, कहिलेकाहीँ रमाइलो गर्नुपर्यो भने कसरी गर्नुहुन्छ? फिल्म हेर्ने, गीत सुन्ने वा अरू केही?
हामीलाई त पाहुनाहरू आउँदै रमाइलो भइहाल्छ। फिल्म हेर्न जाँदैनौं। मोबाइलमा आइहाल्छ, त्यही हेर्ने हो।
तपाईंको जीवनमा सबैभन्दा खुसीको क्षण सम्झनुपर्यो भने के आउँछ मनमा?
खै, के भन्नु र! त्यही हो, छोराछोरीले राम्रो काम गरे भने खुसी लाग्छ।
सबैभन्दा धेरै दुःख लागेको वा चित्त दुखेको चाहिँ?
पहिला दुःख हुँदा साह्रै चित्त दुख्थ्यो। जति काम गरे पनि आम्दानी हुन्थेन। घर चलाउनै समस्या थियो, अभाव थियो। त्यतिबेलाको कुरा सम्झिँदा अहिले पनि नराम्रो लाग्छ। मन नै कस्तो कस्तो हुन्छ।
के गर्दा चाहिँ सुख हुनेरहेछ त?
सुख त यसो आम्दानी भयो, काम गर्न पायो भने हुनेरहेछ जस्तो लाग्छ।
छोराछोरीसँग सन्तुष्ट हुनुहुन्छ?
छोराछोरीले राम्रै गरेका छन्। सन्तुष्ट नै छौं।
ठीकठीकै पैसा पर्ने के चाहिँ किन्न पाए हुन्थ्यो जस्तो लाग्छ?
मलाई त्यस्तो केही किन्न मन लाग्दैन।
किन?
पैसा भए किन्ने, नभए नकिन्ने हो। त्यस्तो किनिहालौं जस्तो केही लाग्दैन।
तपाईंलाई सबैभन्दा मनपर्ने खानेकुरा के हो?
खानेकुरामा घरमा जे छ, त्यही मनपर्छ। यही चाहिन्छ भन्ने छैन। जे छ त्यही मज्जाले खाइदिन्छु।
निद्रा कस्तो लाग्छ?
मज्जाले लाग्छ। दिनभरी काम गरेर गलेको हुन्छु, निदाइहाल्छु म त।
नियमित औषधि खानेगरी केही रोग छ ?
अहिलेसम्म केही छैन।
तपाईंलाई आफ्नो गाउँघर, समाज कस्तो लाग्छ?
राम्रो लाग्छ।
गाउँ समाजको के कुरा मनपर्छ?
गाउँमा सबैको राम्रो मेलमिलाप छ। सबै छिमेकीहरू सहयोगी छ। केही गर्दा मिलेर गर्ने, एकजुट हुने बानी मलाई सबैभन्दा मनपर्छ।
राजनीतिबारे कत्तिको चासो राख्नुहुन्छ?
घरभित्रै धेरै व्यस्त हुन्छु। मलाई राजनीतिबारे केही थाहा छैन।
तपाईंलाई मनपर्ने कोही नेता छन्?
नेताबारे पनि थाहै छैन।
पछिल्लो चुनावमा कसलाई भोट दिनुभएको थियो, भन्न मिल्छ?
यो त नसोधेको भए हुन्थ्यो कि!
किन भन्न अप्ठ्यारो लाग्छ?
भोट माग्न आउने जति सबैलाई दिन्छु भनिएको हुन्छ, अहिले यसलाई दिएको भन्यो भने भोट नपाउनेवाला त रिसाइहाल्छ नि! (हाँसो)
जसलाई दिनुभएको थियो, अहिले फेरि चुनाव भयो भने उसैलाई दिनुहुन्छ कि मन फेर्नुहुन्छ?
म त पहिलेकैलाई दिन्छु। जसले राम्रो गर्दै जान्छ त्यसैलाई दिने त हो नि!
तपाईंहरूका लागि सरकारले के गरिदिए हुन्थ्यो जस्तो लागेको छ?
सरकारले बाटोघाटो बनाइदिए हुन्थ्यो जस्तो लाग्छ।