(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
दाङको टरिगाउँ राइखलियानमा सानो घुम्ती पसलमा चप्पल सिलाइरहेका उनलाई देखेर म त्यतै लागेँ। उनको नाम रहेछ जुद्धवीर मिजार। ७६ वर्षका जुद्धवीरसँग एकछिन कुरा गर्न खोजेँ। उनी कुराकानी गर्न राजी भए।
उनीसँगको कुराकानी :
नमस्कार! सञ्चै हुनुहुन्छ?
सञ्चै छ। राम्रै छ।
कति भयो यो काम गर्न थालेको?
६० वर्षभन्दा बढी भयो होला। सानै उमेरमा काम सुरू गरेको हुँ। दाजु (बोदिलाल) सँग सिकेको हुँ। बुबा (जोगिलाल) त म बालखै छँदा बित्नुभयो।
तपाईंको पुर्ख्यौली घर कहाँ हो?
सल्यान जिल्लाको सल्यानचौर हो। सल्यानको चार कट्ठा जग्गा दाजुका छोराको नाममा सित्तैमा पास दिएर म दाङ झरेको हुँ।
दाङ कहिले आउनुभएको हो?
म २०३५ सालमा परिवारका साथ बसाइँ सरेर टरिगाउँको राइखलियानमा आएको हुँ। अहिले तुलसीपुर उपमहानगरपालिकामा पर्छ, वडा नम्बर १० हो। सल्यानमा कमाइ थिएन। परिवार पाल्न गाह्रो भएपछि दाङ झरेको हुँ।
आजकाल घरपरिवारमा कोको हुनुहुन्छ?
बुढी बितेको १५ साल (वर्ष) जति भयो। चार छोरी हुन्, सबैको बिहे भइगयो। छोरा दुई जना हुन्। कान्छो (हरि) ४५ वर्षको भयो, म उसैसँग बस्छु। ऊ पहिला अर्काको ट्र्याक्टर र टिपर चलाउँथ्यो। अहिले आफ्नै सानो ट्याक्टर चलाउँछ।
जेठो (जोगबहादुर) राइखलियानमै बस्छ। ऊ घर बनाउने मिस्त्रीको काम गर्छ। टाकनटुकन खेतीको काम पनि गर्छ।
तपाईंको बिहे कहिले भएको थियो?
२०२१ सालतिर सल्यानमै मागी बिहे गरेको हो। जहान घाँटीमा क्यान्सर भएर बिती। उपचार गर्न काठमाडौं लगें, अन्त पनि लगें तर बिसेक भएन। कक्कड, चुरोट, बिँडी, जाँडरक्सी मस्तै खान्थी। त्यसैले असर गर्यो होला।
श्रीमतीको नाम के थियो?
उसको नाम थाहा भएन। उतिखेर अहिलेजस्तो जमाना थिएन। श्रीमान–श्रीमती धेरै बोले लाज हुन्थ्यो। अहिलेजस्तो गफिने र मनका कुरा खोल्ने चलन नै थिएन। श्रीमतीले श्रीमानको नाम भन्नुहुन्न भन्ने चलन थियो। श्रीमानले पनि श्रीमतीलाई नामले बोलाउन्नथे।
श्रीमतीसँग कसरी कुरा हुन्थ्यो त?
बिहेको धेरै वर्ष त बोल्नै सरम मान्थ्यौं। एइ, नबोलाई नहुँदा एइ, ओइ, ओइ फलानीकी आमा भने चलन थियो। यसै इशाराले पनि बोलाउनुपर्थ्यो। त्यसरी नै काम चलेको थियो।
मलाई त सँगै बस्ने कान्छी बुहारीको पनि नाम थाहा छैन।
नातिनातिना कति छन्? के गर्छन्?
नातिनी (सरिता) ले भरखरै १२ कक्षा पास गरी। हाम्रो घरमा अहिलेसम्म धेरै पढ्ने उही हो। नाति (वसन्त) ले ६ कक्षा पढ्दापढ्दै स्कुल छाड्यो। अहिले तुलसीपुर बजारमा अर्कैको पसलमा सुनका गहना बनाउने काम सिक्दैछ।
यो ठाउँमा पसल खोलेको कति भयो नि?
एक वर्षजति भयो।
यसअघि कहाँ थियो तपाईंको पसल?
सल्यानबाट आएदेखि नै राइखलियानमा आफ्नै घरमा जुत्ताचप्पल सिउने काम गरें। गाउँमा कमाइ थोरै हुने, खर्च बढ्दै गयो। कमाइले नपुग्ने भएपछि बजार नजिकको सडक किनारमा आएको हुँ।
यो ठाउँमा आएपछि दैनिक कति कमाइ हुन्छ?
धेरै हुँदैन; दिनको दुई, ढाई (साढे दुई) सय (रूपैयाँ) जति हुन्छ। बढी भयो भने पाँच जति पुग्छ। फाटफुट एक हजारसम्म पनि पुग्छ। मसँग मेसिन छैन। सबै काम हातैले गर्ने हो।
कमाइ धेरै नभए पनि घरमा बस्नुभन्दा काम गर्दा फाइदा हुन्छ, थोरै भए पनि कमाइ हुन्छ। धेरै मान्छेसँग भेट हुन्छ। मान्छेहरूसँग भेटघाट र गफगाफ हुँदा रमाइलो हुन्छ।
रातमा निद्रा कस्तो छ?
निद्रा त मज्जाले लाग्छ। खासमा मलाई त निद्रा नै पुग्दैन।
तपाईंको स्वास्थ्य अवस्था कस्तो छ?
अहिले ग्यास्ट्रिक बाहेक अर्को रोग छैन। तीन वर्ष पहिले टिबी (क्षयरोग) भएको थियो। त्यो पनि सञ्चो भइसक्यो, अलिक ठूलो ओखतीमुलो गरेको पनि टिबीमै हो।कहिलेकाहीँ रूघाखोकी लाग्छ, दुई–तीन दिनमा आफै ठिक हुन्छ। जाँडरक्सी र चुरोट खान छोडेको १२ वर्ष भयो।
जाँडरक्सी र चुरोटको आदत छोड्न कत्तिको गाह्रो भयो?
धेरै गाह्रो भएन। सबैभन्दा ठूलो कुरा अठोट रहेछ। मनले अठोट गरेपछि पूरा नहुने के हुन्छ र!
त्यो आदत छोड्नुको खास कारण चाहिँ के थियो?
खासमा म इशाई धर्ममा लागेपछि खराब आदत छोडेको हुँ। त्यो खराब आदत नछोडेको भए मरिसक्थें होला।
तपाईंको मन के कुराले सताउँछ?
अहिलेसम्म आफ्नो नाममा एक टुक्रा पनि जग्गा छैन। छोराबुहारी र नातिनातिनाको भविष्य के होला भन्ने कुराले सताउँछ। आफ्नो चिन्ता नै त्यही छ।
तपाईंलाई केमा सबैभन्दा बढी खुसी लाग्छ?
घरमा सबैसँग रमाउन पाउँदा सबैभन्दा धेरै खुसी लाग्छ। साथीभाइसँग हँसीमजाक गर्न पाउँदा र सुखदुःखका कुरा गर्न पाउँदा पनि खुसी लाग्छ।
तपाईंलाई मनपर्ने खाने कुरा के हो?
तौवामा पकाएको रोटी, मसुरोको दाल र गोलभेडाको चट्नी खुब मन पर्छ। चिल्लो रोटी मलाई पच्दैन। बिहान भात खान्छु। साँझ सधैं रोटी खान्छु। बुहारीले रोटी बनाइदिन्छिन्।
तपाईंलाई साह्रै चित्त दुखेको दिन पनि सम्झना होला नि?
सम्झना छ नि! पुर्ख्यौली घर छाडेर दाङ आउँदा मेरो मन साह्रै रोएको थियो। गरिबीले गर्दा श्रीमती र बालबच्चा लिएर पुर्ख्यौली थलो छोडेर हिँड्दा कस्तो हुन्छ भन्ने त भोग्नेलाई मात्रै थाहा हुन्छ।
श्रीमती बित्दा साह्रै मन दुःखेको थियो। अहिले पनि उसलाई सम्झिन्छु।
तपाईं कहिले सबैभन्दा धेरै खुसी हुनुभएको थियो?
बिहे गर्दा र छोराछोरी जन्मिँदा खुसी लाग्दो रहेछ। आजकाल छोरा र नातिनातिनाले राम्रो काम गर्दा पनि खुसी लाग्छ।
आफ्ना सन्तानबाट कत्तिको खुसी हुनुहुन्छ?
एकदमै खुसी छु। मलाई छोराबुहारी र नातिनातिनाले राम्रो गरेका छन्। बुहारीले लुगा धोइदिन्छिन्, साँझबिहान राम्रो मनले खान दिन्छिन्। बुढेसकालमा यति भए के चाहियो र!
तपाईंसँग यति बेला ठिक्कको पैसा भए के किन्नुहुन्थ्यो होला?
पैसा भइदिए, बाटामा एक लाख रूपैयाँ भेट्टाए यसो गर्थें भन्ने त कल्पनाको कुरा हो। यस्तो कुरा गरेर केही अर्थ छैन। हामी घरजग्गा, गाडी केही पनि किन्न सक्दैनौं। अरू केही पनि किन्नु परको छैन। आफ्न जिउ पाल्नै ठिक्क छ। बाँचुन्जेल छोराबुहारीले राम्रो मनले एक गाँस खान दिए भने मलाई अरू केही चाहिँदैन।
तपाईंलाई आफ्नो समाजमा मन नपर्ने कुरा के हो?
पैसाको ध्वाँस (धाक) लगाउने र गरिबलाई हेला गर्ने प्रवृत्ति मन पर्दैन। यो जात र ऊ जात भनेर छुवाछूत गरेको पनि मन पर्दैन। गाउँघरमा अझै पनि छुवाछूत छ। हुन त पहिलेको भन्दा कता हो कता सुधार भएको छ। युवाले रक्सी खाएर होहल्ला गरेको र पाका मान्छेसँग घमण्डी कुरा गरेको पनि मलाई राम्रो लाग्दैन।
तपाईंलाई देशको राजनीति कस्तो लाग्छ?
राजनीति बिग्रेको छ। सप्रेको भए हामी जस्ताको पनि जय हुन्थ्यो होला।
तपाईंलाई मनपर्ने नेता को हो?
मैले गरिब र दलितलाई न्याय गर्ने कोही पनि नेता देखेको छैन।
गएको चुनावमा कसलाई भोट दिनुभयो?
जसले जित्यो, उसैलाई दिएको हो। राजनीतिको कुरा योभन्दा बढी म केही पनि भन्दिनँ।
अब आउने चुनावमा कसलाई दिनुहुन्छ?
बाँचिरहे दिने बेलामा हेरौंला। त्यतिखेर जो मन पर्छ उसैलाई दिनुपर्ला।
सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
हामीले धेरै वर्षदेखि चर्चेको जग्गा हाम्रो नाममा गरिदिए हुन्थ्यो। योभन्दा बढी त्यस्तो केही पनि चाहना छैन।
बाटो आएकै छ। पानीको धारो र बिजुली छँदै छ। पहाडको हेरी त यो कता हो कता सुख छ। यहाँ त मान्छेहरू आफ्नो घरभित्रकै सानो काम गर्न पनि दुःख भयो भन्छन्। मलाई त यस्तो कुरा सुनेर उदेक लाग्छ।
कुराकानीका लागि तपाईंलाई धेरै धन्यवाद!
मेरो जीवनको कुरा सोध्नुभयो, यसरी कसैले पनि सोधेको थिएन। गफ गर्न पाएँ, मनको कुरा भन्न पाएँ, तपाईंलाई पनि धन्यवाद!