(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
जिल्ला प्रशासन कार्यालय, रूपन्देहीको परिसरमा सेवा लिने पालो पर्खिनेका लागि एउटा छहारी छ। वरपिपलको बोटमुनि टिनको छानो हालेर बनाइएको छहारीमा केही थान कुर्सी र बेन्च राखिएका छन्। सेवाग्राहीहरू त्यही छहारीमा बसेर पालो पर्खिन्छन्।
ओमसतिया गाउँपालिका–६, नरैनापुरका बुद्धिराम केवट त्यही छहारीमा सुस्ताउँदै थिए। कान्छा छोराको नागरिकता प्रमाणपत्र बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका ४५ वर्षीय तिनै बुद्धिरामसँग हामीले कुरा गरेका छौं।
के कामको लागि आउनुभएको हो?
कान्छो छोराको नागरिकता बनाइदिन भनेर आएको हुँ। छोरो कागजपत्र लिएर भित्र गएको छ। सनाखत गर्न बोलाएपछि जाऊँला भनेर यहाँ बसेको हुँ।
जिल्ला प्रशासन कार्यालयबाट सेवा लिन कत्तिको सजिलो रहेछ?
कागजपत्र सबै जुटाएर आउँदा सजिलै रहेछ। हामीलाई धेरै दुःख भएन।
तपाईं के काम गर्नुहुन्छ?
गाउँमा ‘प्रकाश इँटाभट्टा’ छ। म त्यसैमा म्यानेजर छु। भट्टाका कामदारलाई कजाउने, त्यहाँको रेखदेख गर्ने सबै गर्नुपर्छ।
कति वर्ष भयो इँटाभट्टामा काम गरेको?
अहिले सात वर्ष जति भयो। घरमा त्यतिकै बस्नुभन्दा दुई चार हजार भए पनि कमाइ होला भनेर काम गर्न थालेको।
त्यसअघि के काम गर्नुहुन्थ्यो?
किसानको छोराले के काम गर्ने र! घरमै बसेर खेतीकिसानी गर्दै थिएँ। अहिले पनि खेतीकिसानी गर्दैछु।
खेत कति छ?
सबै गरेर पाँच बिघा छ।
केके खेती गर्नुहुन्छ?
धान, गहुँ, केराउ, मसुरो यस्तै लगाउँछौं। घरका परिवारले खानै पर्यो।
पाँच बिघा खेतको उब्जनी सबै खाएर सकिन्छ?
त्यति खेत मेरो मात्र कहाँ हो र! हामी तीन दाजुभाइको सगोलको जग्गा हो। तीन जनालाई भागबण्डा गर्दा मेरो भागमा त डेढ बिघा जति आउला।
छुट्टीभिन्न हुनुभएको छैन?
म मात्रै अलग्गै बसेको छु। बुवा बित्नुभयो। आमासँग दाइ र भाइ छन्। जग्गाजमिन सगोलमै छ। जग्गा नछुट्ट्याए पनि आआफ्नो तरिकाले खेती गर्छौं। उब्जनी पनि आफूले जहाँ लगाएको छ त्यसको मात्र लिन्छौं।
घरमा कोको हुनुहुन्छ?
मेरो परिवारमा म, श्रीमती दुई छोरा र एक छोरी छौं।
छोराछोरीबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ?
अहिलेसम्म त पढ्दै छन्। ठूलो छोरो एउटा उद्योगमा वेल्डिङको काम गर्छ। कान्छो छोरो र छोरी पढ्दै छन्। आजकालका छोराछोरी बाबुआमाले भनेको सबै कहाँ मान्छन् र! सुख र सन्तुष्टि भन्ने त आफूले मान्नुपर्ने रहेछ।
तपाईंलाई सबैभन्दा बढी मनपर्ने काम के हो?
खेतीकिसानी गर्न राम्रो लाग्छ। अहिले इँटाभट्टाको काम पनि ठिकै छ। त्यसैमा मन लगाएको छु।
खेतीकिसानी र इँटाभट्टाको कामबाट फुर्सद हुँदा के गर्नुहुन्छ?
के गर्ने र! गाउँघरमा साथीहरूसँग गफ गर्ने। घरमा टिभी हेर्ने, रेडियो सुन्ने, त्यही त हो।
तपाईंलाई के खान मन पर्छ?
मलाई त घरमा पाक्ने सबै चिज मन पर्छ। माछामासु त्यति धेरै मन पर्दैन। दालभात तरकारी मन पर्छ। फलफूल र मिठाइ पनि मन पर्छ।
तपाईंको स्वास्थ्य कस्तो छ?
अहिलेसम्म त ठिकै छ। ठूलो बिमार लागेर औषधि खानुपरेको छैन। मेरो एउटै इच्छा छ, बिमार लागेर औषधि खान नपरोस्।
निद्रा कत्तिको लाग्छ?
सुत्न पाए त निद्रा लाग्छ तर राति पनि इँटाभट्टाको रेखदेख गर्नुपर्छ। बेलाबेलामा उठेर हेर्नुपर्छ। निद्रा बिथोलिन्छ।
तपाईंसँग ठिक्क पैसा भए के किन्थें जस्तो लाग्छ?
कसैले पैसा दिने भए पो यस्तो चिज किन्न हुन्थ्यो भन्नु! इँटाभट्टाबाट पाउने महिनाको तलबले छोराछोरी पढाउनमा र उनीहरूले मागेका बेला दुईचार सय दिनमै सकिन्छ। अलि धेरै पैसा भए एउटा राम्रो घर बनाउन हुन्थ्यो।
अहिले आफ्नो घर छैन?
घर त आफ्नै हो तर टिन (जस्तापाता) लगाएको कच्ची घर छ। पैसा भए त ढलान गरेर पक्की घर बनाउन हुने थियो।
तपाईं कहिले सबैभन्दा धेरै खुसी हुनुभएको थियो?
खुसी त म सधैं हुन्छु। बुवा जीवित हुँदा मन खुसी भइरहन्थ्यो। परिवारमा पनि सबै सँगै थियौं, रमाइलो थियो।
सबैभन्दा बढी दुःखी कहिले हुनुभयो?
तीन वर्ष पहिले बुवा बित्नुभयो। त्यो बेला धेरै दुःख लागेको थियो। त्यसअघि हाम्रो परिवारमा कसैको पनि मृत्यु भएको थिएन। सबैभन्दा पहिले बुवा नै बित्नुभयो। धेरै दुःख लाग्यो। धेरै दिनसम्म रून मन लाग्यो।
यस्तो नभएको भए हुन्थ्यो भन्ने लागेर तपाईंको मन पिरोलिबसेको केही कुरा छ कि?
यस्तो नभइदिएको भए हुन्थ्यो भनेर त्यो नहुने भए पो मनमा पिर लिनु! आफ्नो भाग्यमा जे लेखिएको छ त्यो त भएरै छोड्छ। मनमा पिर लिएर केही फाइदा हुने होइन। म पिर लिन्नँ।
तपाईंलाई आफ्नो टोलसमाज कस्तो लाग्छ?
आफ्नो टोलसमाज सबैलाई राम्रो लागिहाल्छ नि! राम्रो लागेन भने त अन्त गइहालिन्छ। पहिले पहाडी समुदाय खासै हुँदैनथ्यो, अहिले पहाडी समुदायको बसोबास धेरै छ। हामी सबै मिलेर बसेका छौं।
टोलसमाजको सबैभन्दा बढी मनपर्ने कुरा के हो?
सबै मिलेर बसेका छन्। एकअर्कालाई सघाउँछन्। यही हो मलाई मनपर्ने। गाउँघरमा टोलसमाजले सहयोग गरेन भने त बस्नै सकिँदैन नि!
टोलसमाजको मननपर्ने कुरा पनि केही छ कि?
हाम्रोमा नराम्रो केही पनि छैन।
तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ, ठिकसँग चलेको छ?
नेपालको राजनीतिको के कुरा गर्नु! खत्तम छ। देशको स्थिति कस्तो थियो, कस्तो भयो, तपाईंहरूलाई पनि त थाहा छ। अहिले गाउँघरमा काम गर्ने उमेरका युवा छैनन्। सबै विदेश गएका छन्।
पहिले यस्तो थिएन। सबै आफ्नै गाउँघरमा काम गरेर बस्थे। यो कसले गराएको हो र? देशको राजनीतिले नै हो नि!
तपाईंलाई मनपर्ने नेता को हो?
को नेता मन पर्छ भन्ने! सबै नेता दलाल हुन्। चुनावका बेला देशको विकास गर्छौं तपाईंहरूको उन्नति र प्रगतिका लागि काम गर्छौं, हामीलाई भोट दिनुहोस् भन्दै ढोकाढोकामा पुग्छन्। चुनाव जितेर गएपछि फर्किएर हेर्दैनन्। त्यस्ता नेतालाई मन पराएर हुन्छ? मलाई त कोही पनि मन पर्दैन।
गएको चुनावमा कसलाई भोट दिनुभयो?
कांग्रेसलाई दिएको हो।
कांग्रेसका नेता पनि कोही मन पर्दैन?
के मनपर्ने! जसलाई भए पनि एउटालाई त दिनुपर्यो भनेर कांग्रेसलाई दिएको हो। ‘नो भोट’ भन्न मिल्ने भए त्यही गर्नहुन्थ्यो। नो भोटको त अप्सन (विकल्प) नै छैन। एउटा न एउटालाई भोट दिनैपर्यो।
मलाई त आफ्नो वडाको अध्यक्ष धेरै मन पर्छ। वडा नम्बर ६ बाट माओवादीका शिवकुमार धवलले चुनाव जितेका हुन्। उनले धेरै राम्रो काम गरेका छन्। हाम्रो लागि त उनै नेता हुन्।
अहिले चुनाव भयो भने कसलाई भोट दिनुहुन्छ?
पहिले चुनाव त आउन दिनुहोस्! त्यसपछि बल्ल कसलाई दिने भनौंला। चुनाव आउने कहिले कहिले! चुनाव हुने बेलासम्म नेपालमा केके हुन्छ, कसलाई थाहा छ र! अब पार्टी हेरेर होइन, मान्छे हेरेर भोट दिने हो।
यति बेला सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
सरकारले केही गर्छ र! हामीले सोचेअनुसार सरकारले केही गर्छ भनेर तपाईंलाई विश्वास लाग्छ? ल भन्नुहोस् त? गर्ने हो भने त सरकारले सबैभन्दा पहिले किसानका लागि काम गर्नुपर्छ।
हरेक वर्ष खेती लगाउने बेलामा किसानहरू सीमापारि गएर लुकाएर मल ल्याउनुपर्ने बाध्यता छ। सरकारले किसानलाई चाहिने मल, बिउ, सिँचाइको व्यवस्था गर्नुपर्ने हो। किसानले मल, बिउ र सिँचाइको कुनै पनि तनाव नलिएर खेती लगाउन र स्याहार्नमा मात्रै ध्यान दिन पाउने हो भने नेपालमा कति उत्पादन हुन्थ्यो होला!
यहाँ त खेतमा जोत्ने हो कि मल र बिउ खोज्न कृषि कार्यालय धाउने हो! धाएर पाइने भए त हुन्थ्यो नि! वर्षभरि कृषि कार्यालय धाएर अन्तिममा भारतबाट कमसल मल ल्याउनुपर्छ। यस्तै छ किसानको समस्या।