(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
गंगाराम कापर धनुषाको मिथिला विहारी नगरपालिकामा रहेको ‘कल्चरल भिलेज’ मा खाना पकाउने काम गर्छन्। उनी आफूलाई सेफ भन्दैनन्। हंसपुर नगरपालिका–३ का स्थायी बासिन्दा ३४ वर्षीय गंगाराम हालैको एक दिन पाहुनालाई खाना खुवाएर ढुक्कले बसेका थिए। उनैसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।
खाना पकाउने काम कहिले सुरू गर्नुभएको हो?
सन् २०१४ देखि पकाउँदैछु।
खाना पकाउन कसरी सिक्नुभयो?
भारतको आगरामा काम गर्न गएको थिएँ। त्यहाँ होटलमा भाँडा मस्काउने काम पाएँ। खाना पकाउन पनि त्यहीँ सिकेँ।
आगरा कहिले जानुभएको थियो?
पढाइलेखाइमा मन लागेन, १३ वर्षको उमेरमा आगरा पुगेँ। मेरा मौसा (सानीमाका श्रीमान) र मौसी (सानीमा) त्यहाँ तेल फ्याक्ट्रीमा काम गर्नुहुन्थ्यो। मौसाले त्यहाँको गोबर्धन होटलमा काम मिलाइदिनुभयो। सुरूमा महिनाको तीन सय रूपैयाँ दियो। तीन महिनापछि हजार रूपैयाँ बनाइदियो।
भाँडा धुने मान्छेले खाना पकाउन कसरी सिक्नुभयो?
होटल मालिक राम्रो मान्छे हुनुहुन्थ्यो। उहाँले सधैं भाँडा मस्काएर हुँदैन, रोटी बनाउन सिक भन्नुभयो। जति आँटा बिग्रे पनि बिग्रन देऊ, काम सिक भन्नुभयो। अलिअलि गर्दै रोटी बनाउन सिकेँ।
जान्ने भएपछि भाँडा मस्काउन छाडेर एक वर्ष रोटी पकाएँ। बिस्तारै होटलका स्टाफका लागि खान पकाउन थालेँ। अलिकपछि अरू आइटम (परिकार) पनि बनाउन थालेँ। दुई वर्षपछि भाडा मस्काउने काम पूरै छोडेर खाना पकाउने काममा लागेँ।
खाना पकाउने भएपछि पैसा पनि बढ्यो, ६ वर्ष त्यही होटलमा काम गरेँ। त्यसपछि आगराकै ताजमहल होटलमा तीन महिना काम गरेँ। त्यहाँबाट दिल्लीमा जिरो प्वाइन्ट होटलमा गएँ।
त्यसपछि अप्पो कम्पनीको मेसमा खाना पकाउन गएँ। महिनाको १६ हजार रूपैयाँ दिन्थ्यो। पाँच सय लेबर (मजदुर) का लागि खाना र खाजा बनाउनुपर्थ्यो। त्यहाँ ९ महिना काम गरेपछि बिरामी परेँ।
त्यसपछि घर फर्कें। निको भएपछि कतार गएँ।
कतार किन जानुभएको?
बहिनीहरूको बिहेमा धेरै खर्च भयो। ऋण तिर्नका लागि कमाउन गएको थिएँ।
कतारमा ६ वर्ष काम गरेँ। सुरूमा दुई वर्ष घर निर्माणको काममा लेबर भएँ। त्यसपछि ‘फोरमेन’ का लागि खाना पकाउन थालेँ। चार जनाका लागि खाना र खाजा बनाउनुपर्थ्यो।
बिहे कहिले गर्नुभयो?
विदेश (कतार) बाट छुट्टीमा आएर बिहे गरेँ। मेरो बिहे २०७२ सालको भूकम्पको बेला भएको हो। बिहे गरेपछि एक महिना घर बसेर फेरि विदेश गएँ।
घर फर्केपछि के काम गर्नुभयो?
यहाँ गाउँघरमा लेबरको काम गरेँ। तीन महिनाजति लेबर भएपछि यहाँ (कल्चरल भिलेजमा) आइहालेँ। यहाँ काम गरेको ६ महिना भयो।
यहाँ कसरी आइपुग्नुभयो?
मेरा एक जना आफन्तले यहाँ मान्छेको आवश्यकता छ भन्ने थाहा पाउनुभएछ। उहाँले मेरा भाइलाई भन्नुएछ। भाइले सुनाएपछि यहाँ आएर साहुजीसँग कुरा गरेँ। साहुजीले किचेनमा सहयोगी भएर काम गर्नुपर्छ, गेट पनि हेर्नुपर्छ भन्नुभयो। यहाँ एक जना कुक थिए। उनकै सहयोगी भएर म काम सुरू गरेँ।
अहिले त एक्लै छु। पहिलेका कुक घर गएका थिए, फर्केर आएनन्।
बिहान ६ बजे किचेन खोल्छु, राति ११ बजेसम्म खुला रहन्छ। बिहान सफाइ गरेपछि सबै जना स्टाफको चियाखाजा पकाउँछु। यहाँ १४ जना स्टाफ काम गर्छन्।
गेस्ट (पाहुना) को खाजा अर्डर आउँछ। खाजाको काम सकेपछि दिउँसोको खाना पकाउन सुरू गर्छु।
के के पकाउनुहुन्छ?
खाजामा आलुपराठा, गोबीपराठा, मूलापराठा, भुजिया, चामलको पुरी, तरकारी, अचार बनाउँछु। खानामा गेस्टका लागि भातदाल र अरू ६ आइटम (परिकार) हुन्छ।
तिसौरी, पापड, कचरी, सुखरी, साग, सब्जी लगायत जेजे अर्डर हुन्छ ती सबै पकाउँछु। म ननभेज (माछामासु) पकाउँदिनँ। ननभेज पकाउने अर्को एकजना हुनुहुन्छ।
एक दिनमा कतिजना गेस्टलाई तपाईंले पकाउनुपर्छ?
गेस्टको कुनै ठेगान हुन्न। कहिले १० जना हुन्छन्, कहिले ३०–४० जना। कार्यक्रम हुँदा झन् धेरै हुन्छन्।
खाना खान आउनेले के भन्छन् तपाईंलाई?
प्रायः सबैले तारिफ गर्छन्। गेस्टले खाना राम्रो छ भन्दा धेरै खुसी लाग्छ। कहिलेकाहीँ कसैकसैले नुन अलिक बढी भयो भनेर गुनासो गर्छन्। अरू गुनासो गर्ने मौकै दिन्नँ। ‘ठूला मान्छे’ नुन र खुर्सानी अलि कम खान्छन् नि!
के काममा सबैभन्दा आनन्द लाग्छ?
मलाई खाना पकाउन सबैभन्दा राम्रो लाग्छ। यो काम आगरामै मन परेको थियो।
आफ्नो मनोरञ्जनका लागि के गर्नुहुन्छ?
मोबाइल (फोन सेट) मा गाना बजाउँछु। गाना सुनेरै मनोरञ्जन हुन्छ। कहिलेकाहीँ भिडिओ हेरेर पनि टाइम पास गर्छु।
कस्तो गाना सुन्नुहुन्छ?
हिन्दी, मैथिली, भोजपुरी सुन्छु। हिन्दी गाना सबैभन्दा राम्रो लाग्छ।
सबैभन्दा धेरै मन पर्ने गायक को हुन्?
गोविन्दा, अजय देवगन, सलमान खानको गाना बढी मनपर्छ। यिनै हिरोहरूका गाना मेरो मोबाइलमा बजिरहन्छ।
यिनीहरू त गायक होइनन् नि?
भिडिओमा त यिनीहरू नै आउँछन्! गाएको त कसले हो मलाई थाहा छैन।
खानामा सबैभन्दा धेरै के मनपर्छ?
दालभात, तरकारी, चटनी र भुजिया अनि एउटा खुर्सानी होस्।
छोराछोरी कति छन्?
दुई जना छोरा छन्। एउटा पाँच वर्षको छ, अर्को चार वर्षको।
तपाईंको परिवारमा कत्तिको मेलमिलाप छ?
धेरै मिलमिलाप छ। छोरा सानै छन्। हामी सबै खुसी छौं।
परिवारमा को को हुनुहुन्छ?
आमाबुबा र हामी चार जना (श्रीमान–श्रीमती र दुई छोरा) छौं। तीन जना बहिनीको बिहे भइसक्यो।
तपाईंको स्वास्थ्य कस्तो छ?
एकदमै राम्रो।
निद्रा कतिको पर्छ?
राम्रो छ। मलाई त राति तीन घण्टा सुतेर पनि पुग्छ। तीन घण्टा सुतेपछि जति पनि काम गर्न सक्छु।
यति बेला तपाईंको हातमा ठिकठिकै पैसा भए के किन्नुहुन्थ्यो?
अहिले नै नकिनी नहुने त्यस्तो केही पनि छैन। परिवारमा सबै जना खुस छौं। परिवार खुस रहोस्, सबै ठिक हुन्छ।
परिवारको आर्थिक अवस्था कस्तो छ?
हामी कर्जाले दबेका छौं। बुबा चिया पसल चलाउनुहुन्छ। घरमा तीन वटा भैंसी पालेका छौं। सबैतिरबाट कमाएर कर्जा तिर्दै छौं। कर्जा छिटो सक्नु छ।
विदेश गएर पनि कमाउनुभयो, कसरी कर्जा धेरै भयो?
मैले पैसा बचाइनँ। विदेशमा कमाएको पैसा उतै उडाइदिएँ। घरमा कहिलेकाहीँ थोरथोरै पठाएँ। पैसा जोगाउनै सकिनँ। बिहे नभएका बेला मोजमस्तीमा पैसा सकियो। अहिले पछुतो छ।
सबैभन्दा धेरै खुसी भएको समय कहिले थियो?
पाँच वर्षअघि जेठो छोरा जन्मिँदा धेरै खुसी भएँ। भोज पनि गरेको थिएँ।
मन धेरै दुखेको समय पनि सम्झना होला नि?
मन एकदमै धेरै कहिल्यै दुखेको छैन। त्यही हो, विदेशमा धेरै पैसा उडाइदिएँ। अहिले दुःख झेल्नु परेको छ। पैसा उडाएको सम्झँदा आफैसँग रिस उठ्छ।
तपाईंलाई आफ्नो गाउँसमाज कस्तो लाग्छ?
गाउँघरभन्दा बाहिरतिर बढी मन पर्छ। म १३ वर्षको उमेरपछि बढीमा वर्षको दुई–तीन महिना मात्र घर बसेको छु। गाउँमा आफ्नो साथीसंगत छैन।
राजनीतिमा कत्तिको चासो छ?
खासै चासो छैन। अहिलेसम्म भोटरर्स कार्ड (मतदाता परिचयपत्र) पनि बनाएको छैन। गाउँमा धेरै बसेकै छैन। मेरी श्रीमतीको पनि भोटरर्स कार्ड छैन, यसपालि बनाउने विचार छ।
तपाईंलाई मनपर्ने नेता को हो?
अहिले त कोही नेता पनि मन पर्दैन। सबै ‘खाओवादी’ मात्रै छन्। आफ्नो मात्रै पेट पाल्छन्। गरिब भोकै मरे पनि कसैलाई केही फरक पर्दैन। आजकाल सिके राउत मन पर्छ। केही गरे पनि नगरे पनि मधेसका लागि उनी राम्रा नेता हुन्।
के गरेका छन् सिके राउतले?
सिके राउत गरिबका नेता हुन्। कतारमा हुँदा नै मैले उनका बारेमा सुनेको हुँ। मेरा रूम पार्टनर कामदारहरूबाट पैसा जम्मा गरेर सिकेलाई सघाउन नेपाल पठाउँथे। मैले पनि दुई सय रियाल सहयोग गरें।
यसपालि भोटरर्स कार्ड बनाउने भन्दै हुनुहुन्छ, आउने चुनावमा कसलाई भोट दिनुहुन्छ?
म त सिधा सिके राउतलाई दिन्छु। केही काम भए पनि नभए पनि भोट उनैलाई दिने हो। अरू कसैलाई दिन्नँ।
यति बेला सरकारले के काम गर्नुपर्छ?
सरकारले रोड (सडक) बनाउँदा नाला खनेर महिनौंसम्म अलपत्र छोडिदिन्छ। यसरी छोड्दा एक्सिडेन्ट (दुर्घटना) हुन्छ। यस्तो काम समयमा सक्नुपर्यो। हाम्रो गाउँमा गरिबलाई कल (पानी तान्ने) गाडिदिनुपर्छ। गरिब मान्छे बिरामी पर्दा उपचार गराइदिनुपर्छ। गरिबलाई घर बनाइदिनुपर्छ।
सरकारले यति काम गरोस् अनि अरू काम भनूँला। पहिलेका वडाध्यक्षले गाउँमा धेरै काम गरिदिए। अझै धेरै काम बाँकी छ।