(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
ईश्वरीप्रसाद गैरे बुटवलको देवीनगरमा ‘फ्रेस हाउस’ चलाउँछन्। अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ८ घर भएका ३७ वर्षीय ईश्वरीले केही वर्ष सन्धिखर्कमा होटल चलाए। होटलको आम्दानीले खासै सन्तुष्टि नभएपछि उनी बुटवल आएका हुन्। हामीले ईश्वरीसँग कुरा गरेका छौं।
के छ हालखबर, सन्चै हुनुहुन्छ?
हालखबर सबै ठिकठाक छ। अहिलेसम्म आरामै छ।
कति वर्ष भयो फ्रेस हाउस चलाएको?
पाँच वर्ष भयो। यसअघि केही वर्ष होटल गरें। होटलमा खासै कमाउन सकिएन। त्यसपछि फ्रेस हाउस चलाउँदै छु।
के-के बेच्नुहुन्छ फ्रेस हाउसमा?
कुखुरा र खसीबोका काटेर मासु बेच्छु। यसबाहेको मासु बेच्ने गरेको छैन।
दिनमा कति पैसाको व्यापार गर्नुहुन्छ?
दिनमा ३०–३५ हजार (रुपैयाँ) को बिक्री हुन्छ। यति बिक्री हुँदा दुई हजारदेखि तीन हजारसम्म नाफा निकाल्न सकिन्छ, घरखर्च चल्छ।
कति लगानीमा सुरू गर्नुभएको थियो?
सुरू गर्दा त १० लाख रुपैयाँ जति लागेको थियो। जग्गा लिजमा लिएर सटर आफैले बनाएको हुनाले अलिक धेरै लगानी भयो। पसलमा तीनवटा फ्रिज छन्। काटमारका लागि दुई चार वटा हतियार, ढकतराजु त्यस्तै हो।
आफैले बनाएपछि त भाडा थोरै छ होला नि?
वरपरका अरूको हेरेर थोरै नै छ भनौं। महिनाको १२ हजार रुपैयाँ बुझाउनुपर्छ।
तपाईंलाई व्यापारबाहेक अरू के गर्न मन लाग्छ?
यही पसलले गर्दा अरू काम गर्न फुर्सद मिल्दैन। बिहान ४ बजेदेखि राति १० बजेसम्म यहीँ हुन्छु। चाडपर्व र अन्य बिदाको समयमा झन् धेरै काम हुन्छ। यस्तै बेलामा बढी बिक्री हुने व्यवसाय पर्यो।
नाचगान गर्ने, सिनेमा हेर्ने गर्नुहुन्न?
नाचगान गर्ने ढंग भएन। सिनेमा हेर्न फुर्सद हुँदैन। दुईतीन घण्टा सिनेमा हलमा कसले बिताउने हो र! फुर्सद मिल्दा युट्युब र टेलिभिजन हेर्छु। नेताहरूको अन्तर्वार्ता हेर्छु। चित्त बुझे ठिक भनिस् भन्छु, चित्त नबुझे गाली गरेर बस्छु।
अन्तर्वार्ता हेरेर किन गाली गर्ने नि!
मलाई देश बिगार्नेमा मुख्य जिम्मेवार नेता र पत्रकार हुन् भन्ने लाग्छ। पत्रकारमा पनि सानाभन्दा ठूला भनिने पत्रकार र युट्युबहरूले बिगारेका छन्।
खराब नेताको बारेमा मिडियाले कहिल्यै लेख्दैनन्। म त आफैले देखेर, थाहा पाएर यो ठिक रहेछ भनेर पत्याउने हो। पत्रपत्रिका पढेर, रेडियो र टिभी सुनेर सत्य कुरा थाहा पाइन्छ भन्ने नै लाग्दैन।
त्यसो भए समाचार हेर्नुहुन्न?
हेर्न त हेर्छु।
विश्वास लाग्दैन भन्नुहुन्छ, हेर्छु पनि भन्नुहुन्छ!
गाली गर्नलाई पनि त हेर्नुपर्यो नि! समाचार सत्य हुन्छ, हुँदैन थाहा भएन तर मलाई विश्वास लाग्दैन। सबै त्यस्ता नहोलान् तर आफूलाई लागेको कुरा त भन्न पाइयो नि!
तपाईंलाई सबैभन्दा बढी मन पर्ने खानेकुरा के हो?
मन नपर्ने भन्ने नै छैन। उब्जिएको र खान मिल्ने सबै मन पर्छ। भान्सामा जे पाके पनि मलाई कुनै फरक पर्दैन।
घरमा को-को हुनुहुन्छ?
यहाँ मेरी श्रीमती विष्णु, म र दुई जना छोरा बस्छौं। बुबाआमा पहाडको घरमा बस्नुहुन्छ। भाइहरू पनि पहाडमै छन्।
परिवारबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ?
सन्तुष्ट नै छु। परिवार मिलेर नै पसल चलाएका छौं। छोराहरू सानै छन्, एउटा ११ अर्को ५ वर्षको। अहिले नै उनीहरूबाट सन्तुष्ट हुने–नहुने भन्ने कुरै आएन
तपाईंको स्वास्थ्य कस्तो छ?
अरू त ठिकै छ। तीन वर्षअघि मोटरसाइकल दुर्घटनामा परेर दाहिने खुट्टा भाँच्चियो। त्यस बेला हड्डी बलियो बनाउनुपर्छ, अलि डाइट खानुपर्छ भन्ने भयो। त्यसैले हो कि अरू कारणले हो, ब्लड प्रेसर (रक्तचाप) बढेको छ। एक वर्षदेखि औषधि खाँदै छु।
जँचाउने गर्नुभएको होला नि?
जँचाएर नै औषधि खान सुरू गरेको हुँ। केही समस्या आएजस्तो भयो भने अस्पताल गइहाल्छु।
निद्रा कत्तिको लाग्छ?
निद्रा त सुत्न पाएसम्म लाग्छ। सुत्न पो धेरै पाइँदैन। राति १० बजेसम्म कोही ग्राहक आउँछ कि भनेर पसल कुरेर बस्नुपर्यो। घर गएर खाना खाएर सुत्दा ११ बज्छ। बिहान ४ बजे उठिसक्नुपर्छ। पाँच घण्टाभन्दा बढी सुत्न पाइँदैन।
बिस्तारामा जानेबित्तिकै निदाइहाल्ने होइन। ८ घण्टा निदाउन बिस्तारामा ९ घण्टा सुत्नुपर्छ। त्यति सुतेर व्यापार चलाउनै सकिँदैन।
८ घण्टा मजाले कहिलेसम्म निदाउनुभएको थियो, सम्झना छ?
परिवारको कुनै जिम्मेवारी नभएको बेलामा निदाइयो। दुर्घटनामा परेर आराम गरेका बेला पनि निदाएँ हुँला। एसएलसी परीक्षा दिएपछि केही महिना भारत गएको थिएँ, त्यतिबेला पनि मज्जाले निदाउँथे।
कि जानुभएको थियो भारत?
घुम्न पनि हुन्छ, काम पाइयो भने गरूँ भनेर गएको थिएँ तर टिक्न सकिनँ। मेरो स्वभाव अरूको नियन्त्रणमा बसेर काम गर्ने खालको छैन। धेरै पढ्न मन लागेन, १० कक्षा पढेर छोडें।
पढ्नमा पनि मैले आफूलाई टेरिनँ। पढेर मात्र के हुन्छ र भन्ने पनि लाग्यो।
यति बेला तपाईंलाई ठिक्कको पैसामा के किन्न पाए हुन्थ्यो भन्ने लाग्छ?
त्यस्तो केही छैन। आवश्यकता परेको कुनै चिज किन्न नसकेको भए त्यस्तो चाहना हुन्थ्यो होला। चाहिएको र मन लागेको चिज किनिहाल्छु। आम्दानी पनि ठिकै छ। सानोतिनो चिजका लागि मन मारेर बस्नुपर्ने अवस्था छैन। म धेरै सौखिन पनि छैन।
तपाईं सबैभन्दा धेरै खुसी कहिले हुनुभएको थियो?
म त सधैं खुसी रहन्छु। व्यापार गर्ने मान्छे सधैं खुसी र हँसिलो रहनुपर्छ नत्र त व्यापार नै हुँदैन। हँसिलो खुसिलो भए व्यापार बढ्छ।
धेरै दुःख लागेको कुन क्षण सम्झना आउँछ?
दुर्घटनामा परेको बेला साह्रै दुःख लागेको थियो। कसो ज्यान गएन! अहिले पनि खुट्टामा चोट छ। मोटरसाइकलको बीमा दाबी गर्न पनि आइडिया आएन। झन्डै १० लाख (रुपैयाँ) खर्च भयो।
यस्तो नभएको भए हुन्थ्यो भनेर तपाईंको मन पिरोलिइरहने केही छ कि?
व्यक्तिगतरूपमा त्यस्तो केही पनि छैन। आफूले गरिखाएकै छु। यो देश राम्रो भइदिए हुन्थ्यो, देशका नेता सुध्रिए हुन्थ्यो।
तपाईंलाई आफ्नो टोलसमाज कस्तो लाग्छ?
बिहानदेखि रातिसम्म यही पसलमा हुन्छु। यहाँको टोल समाजमा धेरै घुलमिल हुन पाउँदिनँ तर पनि राम्रै छ। पहाडको समाज त ‘स्पेसल’ लाग्छ।
टोलसमाजको सबैभन्दा मन पर्ने कुरा के छ?
गाउँको बसाइ मन पर्छ। बजारको त आहा भन्ने केही पनि छैन।
नेपालको राजनीति कस्तो लाग्छ?
नेपालमा राजनीति कहाँ छ र! यो त सबै ‘लाजनीति’ भयो। राजनीति ठिक भइदिएको भए हामी निराश हुनुपर्थ्यो र!
तपाईंलाई मन पर्ने नेता को हो?
पहिले थिए मन पर्ने नेताहरू, अहिले त छैनन्। गगन थापा, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी अरू भन्दा अलिअलि ठिक छन्। अहिलेका नयाँमा बालेन र गोपी (गोपाल) हमालको काम गर्ने शैली मन पर्छ।
गएको चुनावमा कसलाई भोट दिनुभयो?
मैले त कसैलाई पनि दिइनँ। भोट दिनेजस्तो उम्मेदवार नै पाइनँ। भएका कसैलाई पनि दिन मन लागेन। उठ्न त आफ्नै मान्छे पनि उठेका थिए तर दिन मन लागेन। मतदान स्थलमा गएर औंलामा कालो लगाएर भोट नहाली फर्किएँ।
मतदान गर्नु त तपाईंको अधिकार हो नि!
मेरो अधिकार भएर मेरो मत पाएका नेताले मेरा लागि काम गरेका छन् र! नेताहरू देख्यो कि रिस उठेर आउँछ।
अब हुने चुनावमा पनि भोट नदिने?
बालेन शाह र रवि लामिछाने सँगै मिलेर आए भने भोट दिने हो। युवाका नाममा अलगअलग भएर लडे भने तिनलाई पनि नदिने, बहिस्कार गर्ने हो।
यति बेला सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
सरकारले हाम्रो काम गरिदिनै पर्दैन, देश राम्रो बनाइदिए हुन्छ, राजनीति राम्रो बनाइदिए हुन्छ। देशमा राम्रो व्यवस्था बसाले हुन्छ। व्यवस्था राम्रो बनाइदिए जनताले आफै काम गरेर खान्छन्।