(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
तिलोत्तमा नगरपालिका–३, योगीकुटी चोकको पश्चिमतर्फ छ ६२ वर्षीय प्रेमनाथ भुसालको कपडा पसल। यो ठाउँ बुटवल–बेलहिया ६ लेन सडकखण्डमा पर्छ। प्रेमनाथ बिहान आठ बजे पसल खोल्छन् र सामान्यतया बेलुका आठ बजे बन्द गर्छन्। उनी १२ घण्टा पसलमै व्यस्त रहन्छन्। ग्राहकलाई कपडा देखाउँछन्, बेच्छन्, पट्याउँछन् र थन्क्याउँछन्।
हामीले उनै प्रेमनाथसँग कुरा गरेका छौं–
व्यापार कस्तो छ?
आजकाल त व्यापार शून्य छ भने पनि हुन्छ। कोभिड अघिसम्म ठिकठिकै थियो। भाडा तिर्न र घरखर्च चलाउन पुगेको थियो। अहिले त भाडा तिर्न पनि मुश्किल परेको छ।
पसल चलाएको कति भयो?
यो पसल सुरू गरेको २४ वर्ष भयो। त्यसअघि बस थियो। बसमा साहु भने पनि चालक आफै थिएँ। बसले आम्दानी दिएन। मलाई फलाम शुभ भएन। साढे चार लाख रूपैयाँ घाटा खाएर बस बेचेँ अनि यो पसल सुरू गरें।
लक्ष्मी निजी स्कुलमा पढाउँथिन्। पसल सुरू गरेपछि जागिर छाडेर मलाई सघाउन थालिन्। हामी दुबैजना आलोपालो यही पसलमा बस्छौं।
सुरूदेखि नै पसल यहीँ थियो कि अन्त कतै?
सुरूदेखि नै यही सटरमा हो। उतिबेला यति धेरै सामान थिएन। पछि थप्दै गएर यत्तिको बनाएको हो।
सुरू गर्दा कति लगानी गर्नुभएको थियो?
उतिबेला १ लाख १५ हजार (रूपैयाँ) बाट सुरू गरेको हो। पछि आम्दानी गर्दै थप्दै गयौं। उति बेलाको १ लाख १५ हजारको महत्त्व अहिलेको १ करोड बराबर थियो। यहाँ वरिपरि २ लाख रूपैयाँमा १ कठ्ठा जग्गा आउँथ्यो, अहिले त्यही जग्गा डेढ–दुई करोड पर्छ।
उतिबेला कति भाडा तिर्नुहुन्थ्यो, अहिले कति छ?
पसल सुरू गर्दा महिनाको तीन हजार रूपैयाँ थियो। त्यही सटर हो, अहिले बढ्दै १८ हजार पुगेको छ।
पसल सुरू गर्दा यो ठाउँ कस्तो थियो?
मेरो घर योगीकुटी चोकबाट पूर्वतर्फ वडा नम्बर २ मा पर्छ। म सानैदेखि यहीँ बसेको हुँ। पसल पनि घर नजिकै सुरू गरेँ।
उतिबेला योगीकुटी चोक अहिलेजस्तो थिएन। सडक यति फराकिलो थिएन, गाडी थोरै थिए। सडकको दायाँबायाँ वरपिपलका ठूल्ठूला रूख थिए। अहिलेजस्तो उजाड थिएन। अगाडिको नहर अहिलेजस्तो फोहोर थिएन। केटाकेटीहरू नहरमा पौडी खेल्थे। हामी नहरमै कपडा धुन्थ्यौं। हेर्दाहेर्दै सबै फेरियो।
पसल सुरू गर्दाको र अहिलेको व्यापारमा कति फरक छ?
उति बेला बस्ती पातलो थियो मान्छे पनि थोरै थिए, व्यापार कम हुन्थ्यो। भाडा थोरै थियो, घरायसी सामान पनि सस्तो थियो। थोरै व्यापार भए पनि पसलकै कमाइले सबै खर्च पुग्थ्यो।
अहिले बस्ती बाक्लो छ, बाटोमा मान्छेको भिड बढेको छ, पसलमा आउने ग्राहक पनि धेरै छन् तर कमाइ ऊ बेलाको जस्तो छैन। उति बेला पाँच सयको सामानमा ५० रूपैयाँ नाफा राखे पनि हुन्थ्यो। अहिले पाँच सयको सामानमा २५ रूपैयाँ पनि नाफा हुँदैन। ग्राहकले यतिमा दिने भए दिनू नभए अर्को पसलमा जान्छु भन्छन्। आएको ग्राहक फर्किन नदिने पाँच रूपैयाँ मात्रै नाफा राखेर पनि बेच्नुपर्छ। आजकाल व्यापार गरेर बाँच्न धेरै गाह्रो छ।
दिनमा कति व्यापार हुन्छ?
दिनमा पाँच सात हजार (रूपैयाँ) को व्यापार हुन्छ तर आम्दानी छैन। नेपाल सरकारले २० प्रतिशतसम्म नाफा राख्न छुट दिएको छ तर व्यापारमा प्रतिस्पर्धा छ, पाँच प्रतिशतमै पनि बेच्नुपर्छ।
त्यही पैसाबाट सरकार र संघसंस्था गरेर चार पाँच ठाउँमा कर तिर्नुपर्छ। नगरपालिका, वाणिज्य कार्यालय र आन्तरिक राजस्वलाई कर बुझाउनपर्छ। व्यापार संघ र वाणिज्य संघहरूलाई सदस्यता शुल्क तिर्नुपर्छ।
बाहिर काम गरे पनि दुई चार सय त कमाउन सकिन्थ्यो होला। मरी लैजानु केही छैन, छोराछोरी हुर्काइयो, आआफ्नो खुट्टामा उभिएका छन्, दालभात खान पुगेको छ। यसै भनेर चित्त बुझाएका छौं।
घरमा को को हुनुहुन्छ?
हामी बुढाबुढी छौं, दुई छोरा छन्। बुहारी छिन्। नातिनातिना पनि छन्। एक छोराको बिहे गर्न बाँकी छ।
परिवारमा कत्तिको सन्तुष्ट हुनुहुन्छ?
श्रीमती, छोराबुहारी, नातिनातिना छन्, घर उज्यालो छ। व्यापार छ। सन्तुष्ट नहुनुपर्ने केही पनि छैन तर मान्छेको जात सम्पत्ति, घरपरिवार, जागिर केहीबाट पनि सधैँ सन्तुष्ट नहुँदो रहेछ। सम्झौता गर्नुपर्ने रहेछ।
व्यापारको कामबाहेक तपाईंलाई अरू के गर्न मनपर्छ?
उमेर माथि चढ्दै गरेर होला, घरमा बसेर नातिनातिनासँग खेल्न मन पर्छ। म पसलमा आउँदा कहिलेकाहीँ उनीहरू उठेका हुँदैनन्, घर पुग्दा सुतिसकेका हुन्छन्। उनीहरूसँग खेल्ने समय नै मिल्दैन।
कहिलेकाहीँ पसल बन्द गरेरै भए पनि धित मर्ने गरी उनीहरूसँग खेलूँ, दिन बिताऊँ जस्तो लाग्छ।
नाचगान गर्ने, सिनेमा हेर्ने कत्तिको गर्नुहुन्छ?
नाचगान गर्ने र सिनेमा हेर्ने त खासै गर्दिनँ। म रेडियोको नियमित स्रोता हुँ। मर्निङ वाकमा हिँड्दादेखि दिनभर पसलमा रेडियो बजेकै हुन्छ। समाचार, अन्तर्वार्ता र लोक संस्कृतिका कार्यक्रम सबै सुन्छु। घरमा पनि टेलिभिजनमा समाचार र अन्तर्वार्ता हेर्छु।
म सेतोपाटीको पनि नियमित पाठक हुँ। दिनभर पसलमा बस्दा पछाडि रेडियो बजिरहेको हुन्छ। मोबाइलमा सेतोपाटी पढिरहेको हुन्छु। अहिले कुनै कुनै समाचार पैसा तिरेर पढ्ने गराएको चाहिँ मन परेको छैन।
समाचार त पैसा तिर्न नसक्नेले पनि पढ्न पाउनुपर्यो नि! यो त धन तिर्न सक्नेले पढ, नसक्ने गरिबले पढ्न पाउँदैनौ भनेजस्तो भयो।
तपाईंलाई सबैभन्दा बढी मन पर्ने खानेकुरा के हो?
मलाई त सबैभन्दा मिठो लाग्ने दुधभात नै हो। तरसहितको दुधमा चिनी हालेर भात खान पाए मलाई दाल, तरकारी केही पनि चाहिँदैन। घरका सबै जना मैले खाएको देखेर हाँस्छन्। दुधभात खाएको छ, त्यो पनि चिनी हालेर भन्छन्।
सानोमा आमाले दुधमा मह र खुदो हालेर भात दिनुहुन्थ्यो। अहिले बुढो हुँदा पनि गुलियो राखेर खाने बानी हटेको छैन।
डाक्टरहरू त धेरै गुलियोले स्वास्थ्यलाई राम्रो गर्दैन भन्छन् नि!
त्यसो भनेको त मैले पनि सुनेको छु। मलाई पनि डाइबेटिज (मधुमेह) हुन्छ कि भनेर बेलाबेला जचाउँछु, अहिलेसम्म देखिएको छैन। आफू यति मोटो पनि छैन, डाइबेटिज हुन्छ जस्तो लाग्दैन।
तपाईंको अरू स्वास्थ्य अवस्था कस्तो छ?
तीन वर्षअघि कोलेस्टेरोल देखिएको थियो। डेढ वर्ष औषधि खाएँ। कहिलेकाहीँ अलि बढी चिसोमा निमोनिया देखिन्छ। कहिलेकाहीँ टाउको दुख्ने र ज्वरो आउने त सामान्य भइल्यो।
निद्रा कत्तिको लाग्छ?
निद्रा त धेरै लाग्छ। राति सुतेपछि एकैपटक बिहान जाग्ने हो। पसलमा ग्राहक नआएको बेला दिउँसो पनि सुत्छु। कहिलेकाहीँ म सुतेको देखेर पसलमा आएका ग्राहक फर्किएर जान्छन् र पछि आउँछन्।
तपाईंलाई ठिक्क पैसाको यस्तो चिज किन्न पाए हुन्थ्यो भन्ने के छ?
मलाई चाहिने, मैले लगाउने सबै लुगाफाटो आफ्नै पसलमा छन्। दुई जोर सर्ट पाइन्ट सिलायो भने वर्ष दिनलाई पुग्छ। कहिलेकाहीँ बजारमा हिँड्दा बच्चाका सामान किनेर ल्याउँछु। आफ्ना लागि खास इच्छा छैन।
तपाईं सबैभन्दा धेरै खुसी कहिले हुनुभएको थियो?
२०४३ सालमा म २९ वर्षको हुँदा ठूलो छोरो जन्मिएको थियो। त्यतिबेला धेरै खुसी भएको थिएँ। मेरो वंश बढ्यो भन्ने लागेको थियो। त्यसपछि कान्छो छोरो जन्मियो। पछि बुहारी भित्र्याइयो। नाति, नातिनी जन्मिए। यी सबैमा खुसी भएँ। जेठो छोरा जन्मिँदाको क्षण सम्झना भइरहन्छ।
सबैभन्दा धेरै दुःखी भएको क्षण नि?
सबैभन्दा बढी दुःख त बुबाआमा बित्दा नै लाग्यो। म नौ वर्षको हुँदा २०२८ सालमा बुबा बित्नुभएको हो। सन्तानमा एउटी दिदी र म मात्र थियौं। आफू सानै छँदा बुबा बितेपछि धेरै दुःख हुने रहेछ। दाजुभाइ भए पनि बुबाको अभाव भएको जस्तो हुने थिएन होला।
दिदी बिहे भएर गइहाल्नुभयो। घरमा आमा र म मात्र भयौं। म एक्लो जस्तै भएँ। केटाकेटी उमेरमै आफ्नो टाउकोमा धेरै जिम्मेवारी आयो। बुबा बितेको ११ वर्षपछि २०३९ सालमा आमा पनि बित्नुभयो। त्यसपछि त मेरो टाउकोमाथि कोही पनि भएन, म पूरै टुहुरो भएँ।
आमा गुमाएको ४२ वर्ष भयो। सानै उमेरमा बुबाआमा गुमाउँदाको पीडा धेरै हुने रहेछ। यसरी कसैले पनि बुबाआमा गुमाउन नपरोस् जस्तो लाग्छ।
यस्तो नभइदिएको भए हुन्थ्यो भनेर तपाईंको मन पिरोलिइरहने कुनै कुरा छ?
मन पिरोल्ने कुरा त धेरै हुन्छ। बुबाआमा त्यति छिट्टै नबित्नुभएको भए हुन्थ्यो भन्ने लाग्छ। बुबाआमा पहाडको जग्गा बिक्री गरेर तराई नआउनु भएको भए हुन्थ्यो भन्ने पनि लाग्छ।
म जन्मेको गाउँ स्याङ्जाको गुरूङ्दी हो। मलाई अहिले पनि ठाउँको सम्झना भइरहन्छ, सपनामा पनि आफू जन्मेको त्यही ठाउँ देखिरहन्छु। बुबाआमाले नबेचेको भए म अहिले त्यही गाउँमा खुसीले बसेको हुन्थें भन्ने लाग्छ।
धुलोधुवाँ केही नभएको, चिसो हावापानी भएको त्यो रमाइलो गाउँ छोडेर यस्तो धुलोधुवाँ र गर्मी खान किन आएको होला भन्ने लाग्छ।
तपाईंलाई आफ्नो टोल समाज कस्तो लाग्छ?
टोल समाज त मलाई मतलबी लाग्छ। सहरबजारको टोलसमाज गाउँघरमा जस्तो सहयोगी नहुने रहेछ। वल्लो घरकोलाई पल्लो घरको मतलब छैन। धनी र गरिबको आधारमा सहयोग गर्ने र नगर्ने हुन्छ।
आफूभन्दा धनी भए मतलब गर्ने, गरिबलाई मतलब नगर्ने हुँदो रहेछ। तीन तलाको घर हुनेले दुई तला भएकोलाई हेप्ने, दुई तलाको घर हुनेले एक तला भएकोलाई हेप्ने, पक्की घर भएकोले कच्ची घरको हेप्ने, यस्तो छ सहरको समाज।
तपाईं आफूले पनि त्यस्तो भोग्नुभयो?
भोगेँ नि! टिनले छाएको दुई कोठाको घर थियो। एउटै टोलमा बस्ने एकजनाको छोराको बिहेमा दायाँबायाँ पक्की घर भएकालाई निम्ता कार्ड आयो, मेरो घरमा आएन। त्यतिसम्म हेला गर्छ टोल समाजले।
केही राम्रो पनि होला नि?
सबै एकै खालका हुँदैनन्। असल र सहयोगी मान्छेहरू पनि छन्।
तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ?
राजनीति त मलाई फोहोरी लाग्छ। राजनीति सफा भइदिएको भए जनताले यस्तो दुःख पाउनुपर्थ्यो र! हुन त म पनि कुनै पार्टीमा आबद्ध छु। गाउँ कमिटीमा बसेर केही समय काम पनि गरेको हुँ।
अहिले मन पर्न छोड्यो। पहिले यस्तो थिएन। अहिले त एउटाले अर्कोलाई उल्टाउने, उसले अर्कोलाई उल्टाउने, त्यसमै व्यस्त छन् सबै नेताहरू। कुनै पनि पार्टीलाई जनताका समस्याको मतलब छैन।
तपाईंलाई मन पर्ने नेता को हो?
म अर्कै पार्टीको परें, भन्न हुने हो कि होइन तर आजको स्थितिमा मलाई सबैभन्दा बढी मन पर्ने बालेन शाह हुन्। पुराना नेतामा केपी ओली मलाई धेरै मन पर्छन्। हुन त धेरैले केपी ओलीको आलोचना गर्छन् तर ओली जत्तिका दूरदर्शी नेता अरू कोही पनि छैनन्।
गएको चुनावमा कसलाई भोट दिनुभयो?
संघमा विष्णु पौडेल र प्रदेशमा लीला गिरीलाई दिएको हो। भोट दिए पनि लीला गिरीसँग त रिसै उठेको छ।
हाम्रै भोटले प्रदेशको मन्त्री र मुख्यमन्त्री हुनुभयो। बाटोका कारण हामीले धेरै समय दुःख पायौं। कतिपटक सडक कार्यालय घेर्न गयौं। गाउँले सबैले हजार–पाँचसयरूपैयाँ उठाएर काठमाडौंमा डेलिगेसन पनि पठायौं। दुईचार गाडी गिट्टी खसालेर हिलो नहुने बनाइदिनुस् भन्दा पनि सुन्नुभएन। बल्ल पिच भएको छ।
अहिलेको अवस्थामा चुनाव भयो भने कसलाई भोट दिनुहुन्छ?
पहिलेदेखि जसलाई दिइयो उसैलाई दिने होला। हामी पुराना मान्छे एउटा पार्टी छोडेर अर्कोमा जाने कुरा पनि भएन। केही स्वार्थ पूरा गर्नुपर्ने भए पो पार्टी फेर्नु। आज यसलाई, भोलि उसलाई गरेर घात गर्नु पनि छैन।
यति बेला सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
सरकारले सबैभन्दा पहिले किसानलाई मलको व्यवस्था गरिदिनुपर्छ। पत्रपत्रिका, रेडियो टेलिभिजनमा समाचार हेर्दा र सुन्दा मल प्रशस्त छ तर किसानले पाउन सकेका छैनन्। मल प्रशस्त छ, वितरणमा समस्या हो भन्छन्। वितरण सहज बनाउने कसले हो र!
धान रोप्ने बेला चार बोरा मल लिन गएको किसानले दुई बोरा पनि पाउँदैन। गोदाममा भएर पनि किसानले नपाउनु भनेको नहुनु बराबर हो।
अर्को कुरा, हामी व्यापारीहरू खुला सीमानाका कारणले धेरै मर्कामा परेका छौं। प्रहरी प्रशासनले सीमानाकामा कडाइ गरेको छ भन्छ तर बजारमा भन्सार छलेर ल्याएको सामान छ्यापछ्याप्ती पाइन्छ।
भन्सार नतिरी ल्याउनेले पाँच सयरूपैयाँमा बेचेको सामानमा हामीलाई लागत नै आठ सयरूपैयाँ पर्छ। यस्तो भएपछि त हाम्रो व्यापार कहिल्यै फस्टाउँदैन। सरकारले सीमानाकामा हुने कडाइ गर्नुपर्छ।