(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
असार मध्यतिर घोराही उपमहागनरपालिका–१३, डुमरगाउँका ५४ वर्षीय योगेश महरासँग तुलसीपुर उपमहानगरपालिका–१९ स्थित एक होम–स्टेमा भेट भयो। उनी त्यो होम–स्टेका व्यवस्थापक रहेछन्। हामीले उनै योगेशसँग संवाद गरेका छौं।
सञ्चोबिसञ्चो के छ? कस्तो चल्दै छ जीवन?
सञ्चै छ, राम्रै छ। जीवन ठिकठाक छ भनूँ।
घरमा कोको हुनुहुन्छ?
हामी श्रीमान–श्रीमती छौं। एक छोरी (सञ्जना) छिन्, एक १९ वर्षकी भइन्। बुवा २०७१ सालमा बित्नुभयो। आमा पनि २०७९ मा बित्नुभयो। बुवा इन्डियन आर्मी (भारतीय सैनिक) हुनुहुन्थ्यो। हामी पाँच दाजुभाइ हौं।
ठूल्दाइ महेश पहिला खरिदार हुनुहुन्थ्यो। म माइलो हुँ। साहिँला घनश्यामको बाख्रा फर्म छ। काइँला श्यामले मालपोत कार्यालय, सुर्खेतबाट जागिर छाडे। कान्छा विष्णु रेडबुल कम्पनीमा जागिर गर्छन्।
छोरी के गर्छिन्?
पढ्दै छिन्। घोराहीको पद्मोदय स्कुलबाट १२ कक्षाको परीक्षा दिएकी छन्।
तपाईं के काम गर्नुहुन्छ?
अहिले यही होम–स्टेमा छु। हप्ता दिन भयो यसको व्यवस्थापन हेर्न थालेको।
यसअघि के गर्नुहुन्थ्यो?
म नौ वर्ष जति मलेसियामा बसेँ। बीचमा आउजाउ गरिरहन्थेँ। केही समय राप्ती बोर्डिङ स्कुलमा गार्डको काम पनि गरेँ।
भर्खरै होम स्टेमा व्यवस्थापक हुनुभएको छ, कति पढ्नुभएको छ?
म स्कुलमा पढ्दापढ्दै बुवासँग इन्डिया गएँ। मैले त्यहाँ टेक्निकल काम गरेँ। इलेक्ट्रोनिक कोर्सहरू गरे। सात वर्ष नयाँ दिल्लीमा बसेर टिभी, पंखा, कुलर र रेडियो मर्मतको काम गरेँ। ठूल्ठूला घरमा वाइरिङको ठेक्का लिएर पनि काम गरेँ। उतिखेर कमाइ राम्रै हुन्थ्यो।
इन्डियाबाट कहिले फर्किनुभयो?
म २०५६ सालमा फर्कें। त्यसपछि २०६० सालसम्म नारायणपुरमा इलेक्ट्रोनिक पसल चलाएँ। त्यतिखेर माओवादीले अति नै सताए। जबर्जस्ती चन्दा मागेर हैरान पारे। भर्खरै बिहे गरेको थिएँ। हाम्रो प्रेम विवाह हो। श्रीमती (कृष्णा) को माइतीघर तुलसीपुर उपमहानगरपालिका–१२, टरिगाउँमा पर्छ। मेरा माइला बुवाको घर टरिगाउँमा थियो। त्यहाँ आउजाउ गर्दा प्रेम भयो। म ३२ वर्षको छँदा ६० सालतिर भागेर बिहे गरेका हौं। भर्खरै बिहे गरेको मान्छे छु चन्दा नदिए ज्यानको धम्की दिन थालेपछि पसल छोडें।
माओवादी युद्धको समयमा व्यक्तिगत रिस डाहाले दुःख दिनेहरू पनि थिए। त्यसपछि फेरि म इन्डिया गएँ। शान्ति प्रक्रियापछि फर्केर २०६४ देखि २०६९ सालसम्म घोराहीमै वायरिङको काम गरेँ। अनि विदेश गएँ।
काम गर्न विदेशमा राम्रो कि आफ्नै देशमा?
विदेश त बाध्यताले मात्रै जाने हो, केही सिक्न र पैसा कमाउन। हाम्रो मुलुकजस्तो राम्रो त अन्त कतै लागेन। हाम्रो देशको दुर्गम ठाउँमा गरिबी होला, अनपढ मान्छे होलान् तर संस्कार राम्रो छ। दाजु, भाइ, सर भन्दै नमस्कार गर्छन्। आदर गर्छन्। विदेशमा यस्तो छैन।
नेपालमा जत्तिको बराबरी धर्म र संस्कार कतै देखिनँ। विभेद पनि कम छ। हामी सबै मिलेर बसका छौं। मन्दिरमा बाहुन, क्षेत्री, दलित सबैले प्रवेश पाउँछन्।
तपाईंलाई रातमा निद्रा कस्तो पर्छ?
राम्रो निद्रा लाग्छ। हालसम्म कुनै स्वास्थ्य समस्या छैन। म प्रायः राति चाँडै सुत्छु। कहिलेकाहीँ कुनै कामले अबेला भयो भने निदाउन अलिकति समय लाग्छ।
तपाईंलाई सबभन्दा बढी मन के खान मनपर्छ?
घरकै सादा खाना। दालभात, तरकारी र अचार। लोकल कुखुरा र खसीको मासु खुब मन पर्छ।
तपाईंको जीवनको साह्रै दुःखद क्षण के हो?
हरेक जीवित प्राणीले एक दिन मर्नुपर्छ। भोलि हामीले पनि त्यही नियति भोग्नुपर्छ। जीवनचक्र त्यही हो। तै पनि आमा बित्दाको क्षणमा मलाई सम्हालिन गाह्रो भएको थियो।
अहिले ठिक्कको पैसा भए तपाईं के गर्नुहुन्थ्यो?
टुहुरा भएर बेसहारा भएका बालबालिकाका लागि एउटा आश्रम खोल्थेँ। त्यसपछि सन्तानविहीन मानिसका लागि अर्को आश्रम खोल्थेँ।
पैसाकै लागि होला, तपाईं होम–स्टेमा काम गर्न आउनुभएको छ, आफ्ना लागि केही चाहनुहुन्न?
नाइँ, यो काम मेरा लागि ‘टाइम पास’ मात्रै हो। किन त्यसै बस्नु, केही काम गर्नुपर्छ भनेर हो। आफ्नो जग्गाजमिन छ, खान पुगिहाल्छ। यहाँको कमाइले धेरै केही हुने होइन।
छोरी पढाउन पैसा चाहिन्न?
चाहिन्छ नि, अहिलेसम्म चलेकै छ। अब छोरीले डाक्टर पढ्ने सपना देखेकी छ। म जग्गा बेचेरै भए पनि पढाउँछु, १०–१२ कट्ठा जग्गा बेच्नुपरे पनि बेच्छु। अरूको भलो चिताउनेलाई भगवानले रक्षा गर्छन् रे! मेरो घरमा कोही माग्न आउँदा मैले कहिल्यै खाली पठाएको छैन। अन्न वा नगद र आफैले लगाएको कपडा पनि दिने गरेको छु।
तपाईंको ठाउँमा जग्गाको भाउ कस्तो छ?
कट्ठाको ६–७ लाख (रुपैयाँ) पर्छ। मरी लानु के छ र! छोरीले पढ्दासम्म पढाउँछु।
तपाईं परिवारमा कत्तिको सन्तुष्ट हुनुहुन्छ?
म खुसी छु। श्रीमती गृहिणी हुन्। छोरीले पढाइमा मेहनत गरेकी छन्। मेरो भावना बुझ्ने उनीहरू नै हुन्।
तपाईंलाई आफ्नो टोलसमाज कस्तो लाग्छ?
राम्रो लाग्छ। आफ्नो सोच, विचार र व्यवहार राम्रो भए टोलसमाज नराम्रो हुने कुरै हुँदैन।
तपाईंलाई आफ्नो समाजको के कुरा मन पर्दैन?
क्षणिक मोजमस्तीमा रमाउने, मद्यपान र धूमपान गर्ने, नानाभाँती बोल्दै हिँड्ने मानिस पटक्कै मन पर्दैन। स्कुले केटाकेटीले चुरोट, गाँजा र रक्सी खाएको देख्दा साह्रै दुःखी हुन्छु। कलिला केटाकेटी कुलतमा फसे भने समाज बर्बाद हुन्छ।
तपाईंलाई हाम्रो देशको राजनीति कस्तो लाग्छ?
देशको राजनीति ठिक छैन। नेताहरूमा आफू भए ठिक नत्र बेठिक भन्ने प्रवृत्ति छ। नातावाद छ। आफन्तलाई मात्रै अवसर दिन्छन्। भ्रष्टाचार व्याप्त छ।
तपाईंलाई मन पर्ने नेता को हो?
अहिले त्यस्तो कोही पनि छैन।
तपाईंले यसअघिको चुनावमा भोट दिनुभयो?
नाइँ, दिइनँ। हालसम्म बहिस्कार गर्दै आएको छु।
लोकतन्त्रमा मतदान गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार होइन र?
हो, हुन त तर देश र जनताको बारेमा सोच्ने नेता हुनुपर्छ नि! नेता राम्रा भएका भए योभन्दा त बरू पञ्चायत नै ठिक थियो भन्दै हिँड्नु पर्ने अवस्था किन आउँथ्यो र!
यति बेला राज्यले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
केटाकेटीलाई कुलतबाट जोगाउन चेतना फैलाउने काममा ध्यान दिनुपर्छ। रोजगारीका अवसर सिर्जना गर्नुपर्छ। कृषि उत्पादन बढाउन ध्यान दिनुपर्छ। किसानलाई अनुदान बढाउनुपर्छ।
सर्वसुलभ रूपमा रासायनिक मल र बीउ उपलब्ध गराउनुपर्छ। छिमेकी मुलुकप्रतिको निर्भरता घटाउने काममा लाग्नुपर्छ।
कुराकानीका लागि समय दिनुभयो, तपाईंलाई धन्यवाद!
असल मिडियाले सधैं ठूलाबडाको मात्रै होइन, भुइँमान्छेका कुरालाई पनि स्थान दिनुपर्छ। म जस्तो सामान्य व्यक्तिलाई महत्त्व दिएर मेरो मनका भावनाहरू सुनाउने अवसर दिनुभयो, सेतोपाटीलाई धेरै धन्यवाद।