(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
म उनको होटल छिर्दा गिरिप्रसाद बन्जाडे काउन्टरमा बसिरहेका थिए। अर्घाखाँचीको मालारानी गाउँपालिका–१, सुन्दरपोखरा घर भएका गिरिप्रसाद फुर्सदमै रहेछन्। उनीसँग गरेको कुराकानी:
के छ हालखबर, सन्चै हुनुहुन्छ?
अहिले सम्मलाई सन्चै छ, राम्रै छ भनौं। भोलि त कसले देखेको छ र!
के काम गर्नुहुन्छ? आफ्नो काममा सन्तुष्टि दिने काम के रहेछ?
पाहुनाको स्वागत र सत्कार गर्नेजस्तो सन्तुष्टिको काम त अरू के नै होला र! म १७ वर्षको उमेरमै माओवादी युद्धमा संलग्न भएँ। म आफै जनयुद्ध लडे पनि अहिले नेपाली जनतालाई माओवादीले १० वर्ष चलाएको त्यो सशस्त्र युद्धले धेरै सास्ती दियो भन्ने लाग्छ। सोझासिधा जनता सधैं माओवादी र सरकार दुबैको चेपुवामा परे।
माओवादी शान्ति प्रक्रियामा नआउँदै म रोजगारीका लागि दुबई गएँ। २०७१ सालमा दुबईबाट फर्किएपछि पर्यटन क्षेत्रमै छु। यसमै रमाएको छु।
अहिले होटल व्यवसाय कस्तो चलेको छ?
पहिले राम्रै चलेको थियो। कोभिडपछि पनि केही समय राम्रै चल्यो तर डेढ दुई वर्षदेखि सबैभन्दा बढी मारमा परेको नै पर्यटन क्षेत्र हो। पर्यटकहरू आउने क्रम बढ्दा मात्र होटल व्यवसाय चल्छ।
पर्यटक आउँदैनन्, यही (बुटवलको) बाटो भएर अरू ठाउँमा जाने पर्यटकलाई पनि एक दुई दिन यतै राख्न सकिएको छैन। त्यसरी विकास गर्न सकिएको छैन। प्रदेश सरकारका मन्त्रालय र विभागहरू बुटवलमा रहँदा फाटफुट सरकारी कार्यक्रमहरू हुन्थे।
सरकारका सबै मन्त्रालय र विभागहरू दाङ लगेपछि त सरकारी गोष्ठी, तालिम, सेमिनार यहाँ (बुटवलमा) हुँदैनन्। अहिलेको अवस्थामा यहाँ होटल व्यवसाय चलाउन धेरै कठिन छ।
तपाईंलाईं सबैभन्दा बढी के गर्दा रमाइलो लाग्छ?
गरिब र दीनदुःखीहरूलाई सानो भए पनि सहयोग गर्न पाउँदा मलाई धेरै सन्तुष्टि हुन्छ। म खेलप्रेमी हुँ; क्रिकेट, भलिबल, फुटबल हेर्न धेरै मन पर्छ। होटलको लबीमा रहेको टेलिभिजन स्क्रिनमा पनि धेरैजसो खेल नै लगाएका हुन्छौं।
त्यसो भए त भर्खरै सकिएको क्रिकेटको वर्ल्डकप मज्जैले हेर्नुभो?
वर्ल्डकपमा नेपाली टिम सहभागी भएपछि नेपालले नै जितोस् भन्ने चाहना थियो, त्यो पूरा हुन सकेन। म नेपालले हार्यो भन्दिनँ, वर्ल्डकप उचाल्न नपाएको मात्र हो। खेलाडीहरूले सबै नेपालीको मन जितेका छन्।
क्रिकेटका महारथी भनिनेहरूसँग खेलेर उनीहरूलाई ठूलो अन्तरमा जित्नबाट रोक्नु पनि सानो सफलता होइन। वर्षौंदेखि खेलिरहेका अनुभवी न्यूजिल्यान्ड र वेस्ट इन्डिज जस्ता टिमहरूले फेरि वर्ल्डकप खेल्न हामीले जस्तै तयारी खेल खेल्नुपर्छ। नेपाल क्रिकेटमा भर्खर अघि बढेको हो। अहिले विश्वकप खेल्न पाउनु ठूलो उपलब्धि हो। अर्को पटक नेपालले वर्ल्डकप जित्छ।
सिनेमा कत्तिको हेर्नुहुन्छ?
सिनेमा र नाटक खासै मन पर्दैन। म यथार्थमा बाँच्नुपर्छ भन्ने सोच राख्ने व्यक्ति भएकोले पनि होला, सिनेमा र नाटकहरू यथार्थ होइनन् भन्ने लाग्छ।
तपाईंलाई सबैभन्दा बढी मन पर्ने खानेकुरा के हो?
गाउँमै जन्मिएर उतै हुर्किएर पनि होला, मलाई सबैभन्दा बढी मनपर्ने खानेकुरा मकैको आटो र दुधदही हो। आमाले पहाडबाट आटो बनाएर पठाइदिनुहुन्छ। हामी यहाँ हप्तामा दुई तीन पटक खान्छौं।
घरपरिवारमा कोको हुनुहुन्छ?
बुवाआमा, दाजुभाउजू, म र मेरी श्रीमती, हामी दाजुभाइका छोराहरू, सबै सँगै छौं। हामी सगोलमा छौं, अलग भएका छैनौं। बुबाआमा पहाड घरमा बस्नुहुन्छ। बुवा ८३ वर्षको हुनुभयो, आमा पनि ७६ वर्षकी हुनुभयो। बुढेसकालमा बुवाआमालाई एक्लै किन राख्ने भनेर मेरी श्रीमती विष्णु बुवाआमासँगै गाउँमा छिन्।
बुवाआमा मधेसको गर्मीमा नबस्ने भन्नुहुन्छ। पहाडको शीतलमा यहीँको सागसब्जी, आटोपिठो, दुध, दहीमही खाएर बस्छौं भन्नुहुन्छ। यता आउन नमानेपछि कसैले त रेखदेख गर्नुपर्यो भनेर मेरी श्रीमती उतै बसेकी छन्। हामी दाजुभाइ, भाउजू र छोराहरू बुटवलमा बस्छौं।
घरपरिवारमा मेलमिलाप कस्तो छ?
हाम्रो मेलमिलाप राम्रो छ। त्यसैले त अहिलेसम्म सबै सगोलमै छौं। कहिलेकाहीँ त हामी दाजुभाइ अलग हुँदैनौं होला जस्तो लाग्छ।
तपाईंको स्वास्थ्य कस्तो छ?
दीर्घ रोग त केही पनि छैन तर माओवादी युद्धको समयमा २०५८ मंसिरमा पक्राउ परें। नौ महिना सन्धिखर्कमा प्रहरी हिरासतमा बस्नुपर्यो। त्यतिबेलाको यातनाले ढाडमा चोट लाग्यो। अहिले पनि उभिँदा र हिँड्दा मेरो ढाड बांगो हुन्छ।
कस्तो यातना भोग्नुभयो?
त्यति बेलाको यातना सम्झिँदा अहिले पनि शरीर दुख्छ, दिमाग खल्बलिएजस्तो हुन्छ। शरीरमा प्रहरीका लाठी कति वर्षिए भन्ने त लेखाजोखा नै भएन। अगाडि जे भेटिन्थ्यो प्रहरी त्यसैले हान्थ्यो।
एक दिन टेबलमा पेपर वेट रहेछ त्यसैले हान्दा ढाडमा नराम्रो चोट लाग्यो। पछि डाक्टरलाई जचाउँदा हड्डीमा चोट लागेको छ भने। चिसो मौसममा धेरै दुख्छ। औषधि खाइरहन्छु, थेरापी पनि गरिरहनुपर्छ।
अहिले तपाईंको निद्रा कस्तो छ?
निद्रा त राम्रो लाग्छ। राति साढे नौ बजेतिर सुतिसक्छु। बिहान ५ बजे उठ्छु। दिउँसो पनि डेढ दुई घण्टा सुत्छु। दुबईमा छँदा खाना खाने समयमा एकछिन रेस्ट (आराम) गर्ने बानी लागेको, अहिले पनि छुटेको छैन।
तपाईं यति बेला ठिक्क पैसा भए के किन्नुहुन्थ्यो होला?
मलाई यही चिज किन्न पाए हुन्थ्यो भन्ने केही पनि छैन। मान्छेको रहर र आकांक्षा त कहिल्यै पनि पूरा हुँदैन। मनै मारेर बस्नुपर्ने अवस्था आएको छैन। रहर मारेर बस्नु हुँदैन।
तपाईं सबैभन्दा धेरै खुसी कहिले हुनुभएको थियो?
नेपालबाट राजतन्त्र अन्त्य हुँदा सबैभन्दा बढी खुसी भएको थिएँ। एउटा वंशमा जन्मिएको व्यक्ति जस्तो भए पनि राजा हुने व्यवस्था अन्त्य भएपछि जनताका छोराछोरी राष्ट्रपति बन्ने व्यवस्था आएको हो नि!
राजनीतिक पार्टीहरूले एउटा राजा फालेर धेरै राजा बनाए भन्ने टीकाटिप्पणी पनि हुने गरेको छ नि ?
गणतन्त्रमा जसले आफूलाई राजा हुँ भन्ने सम्झिन्छ त्यो आफै सकिएर जान्छ। पद र पावर भएको बेलामा कसैलाई म नै राजा हुँ भन्ने लाग्छ भने त्यो उसको भ्रम हो।
तपाईंलाई सबैभन्दा बढी चित्त दुखेको क्षण पनि सम्झाना होला नि!
दुई वर्षअघिको तिहारमा बहिनीको हातबाट टीका लगाउन नपाउँदा साह्रै नरमाइलो लाग्यो। हामी दुई दाजुभाइ र दुई दिदीबहिनी हौं। दिदी गुल्मीको तम्घासमा हुनुहुन्छ। बहिनी अमेरिकामा छिन्। तिहारमा दिदीभाइ तीनजना सँगै भयौं, बहिनी छुटिन्।
त्यतिबेला बहिनीलाई सम्झेर नरमाइलो लाग्यो। बाहिर निस्किएर एक्लै रोएँ।
तपाईंको मन पिरोलिरहने र त्यस्तो नभइदिएको भए हुन्थ्यो भन्ने कुनै घटना छ?
व्यक्तिगत जीवनमा त त्यस्तो केही पनि छैन। देश राम्रो भइदिए हुन्थ्यो भन्ने लाग्छ। पर्यटन क्षेत्रमा आबद्ध भएपछि नेपाल कत्ति सुन्दर छ भन्ने बुझ्न थालें। सरकार चलाउनेहरूले युवालाई देशमा रोक्न सके हुन्थ्यो। गाउँतिर घरहरू खाली भएका छन्। स्वदेशमै रोजगारी भए घर खाली हुने थिएनन् भन्ने लाग्छ।
तपाईंलाई आफ्नो टोलसमाज कस्तो लाग्छ?
मलाई हाम्रो टोलसमाज धेरै राम्रो लाग्छ। नेपालमा जसरी मानिसहरू मिलेर बसेका अरू देश छैन होला जस्तो लाग्छ। एकअर्कालाई गर्ने सहयोग, ऐंचोपैंचो, पर्म सबै हाम्रै टोलसमाजले चलाएको हो। हाम्रो टोलसमाज धेरै राम्रो छ।
टोलसमाजमा सबैभन्दा धेरै मन पर्ने के हो?
एकअर्कालाई आवश्यक पर्दा सहयोग, मेलमिलाप, सामूहिक भावना सबैभन्दा बढी मन पर्छ। विदेशमा छिमेकमै मान्छे मरेको छ भने पनि मतलब हुँदैन। हाम्रोमा हेर्नू त, निकै टाढाबाट पनि मान्छेहरू सहयोग गर्न आउँछन्।
मन नपर्ने कुरा नि?
अनावश्यक रूपमा एकअर्काको टीकाटिप्पणी गर्ने र कुरा काट्ने प्रवृत्ति नभइदिए हुन्थ्यो भन्ने लाग्छ।
तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ? ठिकसँग चलेको छ?
नेपालको राजनीति ठिकसँग चलिरहेजस्तो लाग्दैन त्यही भएर मन पर्दैन। सबैभन्दा पहिले त म माओवादी पार्टीलाई गाली गर्छु। लामो समय मैले पनि त्यसैमा योगदान गरेका कारण गाली गर्ने अधिकार पनि छ।
घृणाको राजनीति माओवादीले सुरू गरेको हो। अहिले नेपाली कांग्रेस, एमाले, नेकपा एस, मधेसी दल र पछि आएका केके दल कोही पनि घृणा फैलाउनबाट चोखा छैनन्।
मिल्ने समयमा गुणगान गर्ने र छुट्टिने बेलामा एकअर्काको उछितो काढ्ने गर्छन्। हेर्नु न, आफ्नो राजनीतिक जीवनभर एकअर्काका प्रतिस्पर्धी भएका दल नै मिलेर सरकार चलाउन लागेका छन्। अनि यिनले जनताका चाहना पूरा गर्छन् भनेर हामीले विश्वास गरिदिनुपर्ने!
एमाले सधैं कांग्रेसका विरूद्ध नारा लगाउँदै हिँड्यो। कांग्रेस कम्युनिस्ट शासन आयो भने बुढाबुढीलाई गोली ठोकेर मार्छन् भनेर जनतालाई तर्साउँदै हिँड्यो। अहिले यिनै पार्टी मिलेर सरकार चलाउँछन् र जनताका पक्षमा काम गर्छन् भन्ने लाग्छ तपाईंलाई? यो गठबन्धन पनि धेरै अगाडि जाला भन्ने मलाई लाग्दैन। नेपाल सधैं अस्थिरतामै रहने भयो।
तपाईंलाई सबैभन्दा बढी मन पर्ने नेता को हो?
मलाई सबैभन्दा बढी मनपर्ने नेता त केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड हुन्।
उनीहरूलाई किन मन पराउनु हुन्छ?
केपी ओलीमा तल्लो तहका जनतासँग पनि पुग्न सक्ने, छलफल गर्न सक्ने क्षमता छ। धेरै कुराको जानकारी लिन्छन्, दूरदर्शी छन् जस्तो लाग्छ।
प्रचण्डमा कूटनीतिक क्षमता छ। राजनीतिमा जम्ने हो भने त्यस्तो कूटनीतिक क्षमता हुनुपर्छ।
गएको चुनावमा कसलाई भोट दिनुभएको थियो?
भोट पनि यसलाई दिएँ भनेर भन्ने हो र! त्यो त भन्न मिल्दैन। नाम नै ‘मतदान’ छ। मानिसले दुई चार रुपैयाँ कसैलाई दिएको छ भने पनि अर्कोलाई थाहा दिनुहुँदैन भन्ने मान्यता छ। यो त मतदान भयो। दानमध्ये महादान हो मतदान। कसलाई दिएको भनेर भन्न मिल्दैन।
दुई वर्ष अघिको भोट यसलाई दिएँ भन्न पनि...?
होइन नि, जहिले दिएको भए पनि मतदान भनेको सबैभन्दा माथि हो। हाम्रो अर्घाखाँचीबाट संघमा जम्म एक जना सांसद हुनुहुन्छ। सिंगो जिल्लाका मतदाताले मेरो मत तिमीलाई दिएँ, तिमीले गर्ने निर्णयमा मेरो समर्थन छ भनेको हो।
हाम्रो मतको मान कति राख्न सके वा सकेनन् भन्ने फरक कुरा हो।
अहिले नै चुनाव भयो भने कसलाई भोट दिनुहुन्छ?
अब त पार्टीको मान्छेभन्दा पनि राम्रो मान्छे हेरेर भोट दिने हो। पार्टी जुनसुकै होस्, व्यक्ति राम्रो छ भने उसैलाई भोट दिन्छु। मेरो ब्याकग्राउन्ड (पृष्ठभूमि) माओवादी भए पनि अहिले मलाई कुनै पनि पार्टीसँग मतलब छैन।
अब युवाहरू उद्यम–व्यवसायमा लाग्ने देश बनाउने काममा लाग्नुपर्छ। अबको समय युवाको हो। पार्टी भनेर बस्ने होइन।
यति बेला सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
एउटा दुइटा भए पो यस्तो गरिदिए हुन्थ्यो भन्नु! केही पनि गर्न नसकेको सरकारलाई यो गरिदेऊ भनेर के भन्ने! सबैभन्दा पहिले त नेपालीलाई नेपालमै बस्ने वातावरण बनाइदिनुपर्यो। युवाहरू नेपालमै बसेर काम गरेपछि सरकारले केही पनि गर्नु पर्दैन, जनताले आफै गर्छन्।