(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
मोरङको कानेपोखरी गाउँपालिका–१ की ३४ वर्षीया मन्दिरा विश्वकर्मालाई मैले केही समयअघि विराटनगरमा भेटेको थिएँ। उनीसँग गरेको कुराकानी:
के काम गर्नुहुन्छ?
दलित महिला संघ (फेडो) मोरङमा सामाजिक परिचालकका रूपमा कार्यरत छु। दलित महिलाहरूका माझ निरन्तर पुगिरहने, उनीहरूका समस्या सुनेर त्यसको निदानका लागि सघाउनु मेरो मुख्य काम हो। दुई वर्षदेखि गरिरहेको यो कामले त मलाई नै नयाँ जीवन दिएको छ।
दलित महिलाको समग्र अवस्था कस्तो पाउनुभयो?
दलित महिला मात्रै होइन हामीले सबै महिलाहरूमा पुगेर काम गर्ने कोसिस गरिरहेका हुन्छौं। दलित महिलाको मात्रै कुरा नगरौं, समग्र महिलाहरूकै अवस्था सुखद् देखिन्न। धेरै महिलाहरूले यतिधेरै दुःख पाउनु भएको छ नि के भन्ने र! धेरैजसो महिला महिला भएकै कारण पिछडिन बाध्य पारिनु भएको छ। अझ दलित महिलाहरूको अवस्था शिक्षा, स्वास्थ्य, रोजगारी सबै हिसाबले कमजोर नै छ।
महिलाहरू कस्तो–कस्तो समस्याले पिरोलिएको पाउनुभएको छ?
घरेलु हिंसा, रोजगारी, आयआर्जनको समस्याहरू नै बढी पाएको छु मैले।
उहाँहरूलाई भेटेर तपाईंहरूले दिने सल्लाह के हुन्छ?
म चाहिँ त्यस्ता पीडितहरूलाई भेट्दा सबैभन्दा पहिले केही न केही उद्यम गरौं, आत्मनिर्भर बन्ने उपाय खोजौं भन्छु। समाजबारे पढौं, बुझौं भन्छु। त्यसका लागि स्कुल नै जानुपर्छ भन्ने छैन। आफ्नो खुटामा आफै उभिऊँ। क्षमता अभिवृद्धि गरौं। अरूले गरेको काम हेरेर पनि सिक्न सकिन्छ। आफूलाई हेपिने मौका नदिऊँ भनेर सम्झाउँछु।
त्यसबाहेक पति, परिवारका अरू सदस्यबाट सताइएकाहरूलाई धेरै पीडित भएर नबसौं भन्ने सल्लाह दिने गरेको छु। महिलाले घरमा हुने उत्पीडनबारे हम्मेसी बोलेको देखिन्न। आज एक दिन भोलि एकदिन भन्दाभन्दै समय धेरै बितिसक्छ। त्यसले सबैथोक बिगार्छ। त्यसैले त्यस्ता पीडा भोगेर बसेका दिदी बहिनीहरू समाजमा धेरै भेटिन्छन्। उहाँहरूलाई आफ्ना समस्याबारे खुल्न प्रेरित गर्ने गरेको छु।
तपाईंको परिवारमा को–को हुनुहुन्छ?
अहिले मेरा बच्चाहरू, ममी बाबा, भाइ लगायत छौं। मेरो वैवाहिक सम्बन्ध टुंगिसकेका कारण अहिले परिवार संख्या यही हो।
छोराछोरी पढिरहेका छन्?
छोराछोरी मात्रै होइन, म आफै पनि पढिरहेको छु। मेरो छोरा १४ वर्षको र छोरी ९ वर्षकी हुन्। हामी सबै पढिरहेका छौं।
तपाईं के पढिरहनुभएको छ?
म अहिले कक्षा १२ को परीक्षा दिएर रिजल्ट कुरेर बसेको छु।
अहिले १२ कक्षामा भनेपछि लामो ग्याप गरेर पढ्नुभयो?
त्यस्तै भन्नुपर्यो। यसको धेरै लामो कहानी छ।
तपाईंको कहानी सुन्न नै हामी कुराकानी गरिरहेका हौं। मिल्नेसम्म सुनाउनुस् न आफ्नो कहानी।
मेरो सानैमा बिहे भएको हो। १४ पूरा भएर १५ वर्ष लाग्दै गर्दा बिहे भयो। त्यसबेला म ८ कक्षामा पढ्दै थिएँ। बिहेपछि पढ्ने वातावरण भएन, त्यहाँभन्दा माथि पढ्न सकिनँ। त्यही क्रममा बाबु जन्मियो। विस्तारै हाम्रो सम्बन्धमा खटपट आउन थालेपछि मलाई नराम्रो व्यवहार र शब्दहरू प्रहार हुन थाल्यो। म माइती घर आएँ।
बिहे भएको १० वर्षपछि डिभोर्स भयो। बच्चाहरूको भविष्य र पढाइका लागि अब विदेश जानुपर्छ भन्ने लागेपछि विदेश जाने तयारीमा लागेँ म। विदेश जानकै लागि काठमाडौंमा तालिम लिन गएँ। काठमाडौंमा तालिम लिँदै गर्दा चाहिँ मेरो सोच एक्कासि परिवर्तन भयो। किनभने, काठमाडौं गइसकेपछि पढेलेखेका मान्छेहरूसित भेट हुन थाल्यो। कुराकानी हुन थाल्यो। त्यसपछि मैले पनि पढ्नुपर्छ, यहीँ बस्नुपर्छ, केही गर्नुपर्छ जस्तो लाग्न थाल्यो। अनि विदेश जाने योजना त्यागेर घर फर्केर कक्षा नौ मा भर्ना भएँ। तालिममा लिइएको परीक्षामा म फर्स्ट भएँ। त्यसले पनि मलाई पढ्न प्रेरित गर्यो।
दैनिक स्कुल गएरै पढ्न थाल्नुभयो कि घरैमा पढ्नुभयो?
मन त स्कुल गएरै पढ्ने भन्ने थियो। तर, नानीबाबुहरूको पनि स्याहार गर्नुपर्ने , उनीहरूलाई पनि पढाउनु पर्ने भएपछि सानातिना काम गर्दै पढ्न थालेँ। घरैमा पढेर २०७९ को एसइईमा २.८५ जिपिए ल्याएर पास गरेँ। त्यसपछि एजुकेसन (शिक्षा) संकायमा ११ मा पढ्न थालेँ। ११ मा झनै राम्रो नतिजा आयो। ३.९५ जिपिएसहित पास भएँ। अहिले १२ को नतिजा पर्खिरहेको छु। १२ को पनि राम्रै नतिजा आउने आशा छ।
कक्षा ८ सम्म पढेको आफू र अहिले १२ सिध्याउन लागेको आफूमा केही भिन्नता पाउनुभएको छ?
भिन्नता त धेरै छ नि। कहाँ आठ कक्षाको त्यो सानो बालिका, कहाँ अहिले आमा बनिसकेको म। पहिले पढ्दा धेरै चिन्ता थिएन। जे हुन्छ हुन्छ भन्ने लाग्थ्यो। अहिले चाहिँ जसरी पनि पास हुनुपर्छ, मैले केही गर्नुपर्छ भन्ने कुराले निरन्तर प्रेरित गरिरहेको हुन्छ। अहिले म व्यावहारिक भएको छु। शिक्षित हुन खोजेको छु। नेपालमा केही गर्छु भन्ने लक्ष्य पूरा हुँदै गए जस्तो लाग्छ।
सुखदुःख चाहिँ कस्तो छ त जिन्दगीमा?
दुःख भएन भने सुखको कुनै महत्व हुँदैन। दुःख त साथी हो जस्तो लाग्छ। जसरी विवाहित महिलाका लागि श्रीमान साथी हुन्छ नि, दुःख पनि जीवनको त्यस्तै साथी हो। धेरै दुःख गरेर सहेर आएकाले होला अचेल दुःखसित डर लाग्दैन।
जिन्दगीमा सबैभन्दा खुसीको क्षण सम्झन पर्यो भने के याद आउँछ?
मसँग जति दुःख छ नि, त्यति नै सुख र खुसी पनि छ। म धेरै खुसी भएको पल फेडोको सामाजिक परिचालक हुँदा हो । म संस्थाको जिल्ला सचिव थिएँ। सचिव हुँदाहुँदै पनि मलाई म्यामहरूले सामाजिक परिचालकमा नियुक्त गर्नुभयो। म ११ पढ्दै गरेको मात्रै थिएँ। परीक्षा चल्दै थियो। त्यहीबेला म कामको पनि खोजीमा थिएँ। मलाई सानो भए पनि कसले काम दिन्छ होला भन्ने कुराले यति धेरै भौंतारिएको थिएँ कि परीक्षामा बस्दा पनि कापीमा लेख्दा पनि चिन्ता चाहिँ कामकै हुन्थ्यो। त्यहीबेला म्यामहरूले तपाईंलाई सामाजिक परिचालकमा चुनेका छौं भन्नुभयो। यो पद जागिर हो। त्यसैले म त्यो दिन सबैभन्दा धेरै खुसी भएको थिएँ।
सबैभन्दा धेरै दुःख लागेको वा चित्त दुखेको पल चाहिँ?
कुनैबेला मेरो सबै खुसी खोसिएको थियो। त्यस्तो असहज बेलामा मेरो बाबा ममी, माइती पक्ष एक समय मसँग टाढा हुनुभयो। एक डेढ वर्षको त्यो अवधि मेरा लागि सबैभन्दा दुःखको क्षण थियो। अहिले सम्झिँदा पनि आँसु रोक्न सक्दिनँ।
उहाँहरू टाढिने कारण भन्न मिल्छ?
मेरो श्रीमानले जब चरित्र हत्या गरेर हिँड्न थालेपछि उहाँहरूले त्यसैलाई पत्याएझैं गर्नुभयो। श्रीमानले त्यसो गरेपछि माइतीहरू पनि डगमाउनु हुँदोरहेछ। म केही समय पूरै डिप्रेसनको शिकार पनि बनेँ। तर, पछि कुरा बुझ्नुभयो। कुरा बुझेपछि उहाँहरूले मलाई जुन सपोर्ट र साथ दिनुभयो, त्यसले मलाई आत्मविश्वास र खुसी दुवै दियो।
तपाईंलाई रमाइलो गर्न मन लाग्दा के गर्नुहुन्छ? फिल्म हेर्ने, गीत सुन्ने वा अरू केही ?
फिल्म हेर्ने, गीत सुन्ने त गरिन्छ नै । तर, म रमाइलो भन्दा पनि खुसी हुने उपाय खोजिरहन्छु। मैले विगतमा पाए जस्तै दुःख पाएका वा पाइरहेका महिला दिदीबहिनीहरू धेरै हुनुहुन्छ। उहाँहरूको पीडामा थोरै मात्रै सहयोग गर्न पाउँदा म धेरै खुसी हुन्छु। मेरी आमा जस्तै नाकको फुली बेचेर छोराछोरी पढाउने धेरै आमाहरू अहिले वृद्धाश्रममा हुनुहुन्छ। उहाँहरू जस्ता आमाहरूलाई सघाउन चाहन्छु। यस्तै कुराले मलाई खुसी दिन्छ।
दुःख, अपमान र पीडाले थकित भएको विगत र आत्मविश्वास र आशाले भरिएको वर्तमानको तुलना गर्ने गर्नुभएको छ?
छ। विगतको त्यही दुःखले मलाई बलियो बनायो। त्यही दुःख भोगेर आएकाले मभन्दा पीडितहरूलाई सहयोग गर्न सकेको छु। सकेको हिसाबले उहाँहरूलाई थोरै माथि उकास्ने काम गरिरहेको छु। अहिले त अझै दुःखहरू आइदिऊन्, मेरा पछि दुई चार जना रिस गर्नेहरू भइदिऊन् अनि अझै उपलब्धि होला भन्ने लाग्छ।
अहिले पारिवारिक मेलमिलाप कस्तो छ?
मेलमिलाप एकदमै राम्रो छ।
स्वास्थ्य नि?
मेरो स्वास्थ्य पनि राम्रो छ। अहिलेसम्म केही समस्या छैन।
भनेपछि निदाउन कुनै समस्या छैन?
छैन, छैन। निद्रा पनि राम्रो लाग्छ।
नानीबाबुहरूको पढाइसित सन्तुष्ट हुनुहुन्छ?
उनीहरूको पढाइसित एकदमै सन्तुष्ट छु। मेरो बाबुमम्मीले पनि धेरै सहयोग गर्नुभएको छ। उहाँहरूको सहयोग थिएन भने म रहन्थेँ कि रहन्नथे भन्ने लाग्छ। मेरो जीवनको सबैभन्दा ठूलो काउन्सिलर भनेकै मेरो बाबा हो। उहाँले नै मलाई उत्साह भरिरहनुहुन्छ।
एकदमै मनपर्ने खानेकुरा?
मलाई गुन्द्रुक र भात मनपर्छ। गुन्द्रुक धेरै मन पराउने भएकैले घरमा मलाई सबैले ‘गुन्द्रुके’ भन्नुहुन्छ।
ठिकठिकै मूल्य पर्ने केही चिज, जुन तपाईंलाई किनौं–किनौं लागिरहेको छ?
त्यस्तो केही सोचेको छैन। जस्तो कुरामा पनि म कम्फर्ट नै हुन्छु। यस्तो चाहिन्छ भन्ने लाग्दैन। पहिले–पहिले अनेक रहर हुन्थ्यो। अहिले छोराछोरीका लागि केही गरौं भन्ने लाग्छ। बरू बच्चाहरूलाई, ममी बाबालाई केही दिन पाए हुन्थ्यो भन्ने लाग्दोरहेछ।
आफ्नो समाज, छरछिमेक कस्तो लाग्छ?
मेरो छरछिमेक समाज राम्रो लाग्छ। म डिप्रेसनमै गइसकेको थिएँ। त्यसबेला सम्झाउने ढाडस दिने छिमेकीहरू नै हो।
आफ्नो समाजको सबैभन्दा कुन पक्ष मनपर्छ?
आपसी सरसहयोग गर्ने हाम्रो सामाजिक विशेषता मलाई धेरै मनपर्छ।
राजनीतिमा कतिको रूचि छ?
पटक्कै रूचि छैन।
किन?
राजनीति फोहोरी खेल देखिरहेको छु म। अहिले नै हेर्नु न हिजोसम्म प्रचण्ड प्रधानमन्त्री थिए। अहिले कांग्रेस र एमाले मिलेर अर्को प्रधानमन्त्री बनाउने रे। अब यो कहिलेसम्मलाई हो। यस्तो खेल मन पर्दैन। त्यसैले राजनीतिमा रूचि नै छैन।
राजनीतिलाई जति बेवास्ता गरे पनि उसले चाहिँ तपाईंलाई पाइला–पाइलामा प्रभाव पारिरहन्छ होइन र?
हो। यो कुरामा म सहमत छु। तर, मलाई राजनीतिप्रति यति बेरूचि छ नि मैले अहिलेसम्म चुनावमा भोट नै हालेको छैन। तर, समाजमा गएर काम गर्नुपर्ने भएकाले पनि राजनीतिक समाचारबारे अपडेट चाहिँ रहन्छु।