(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाका भक्तिप्रसाद रेग्मी सुर्खेतमा बस्न थालेको केही वर्ष भयो। पढाइको शिलशिलामा सुर्खेत आएका रेग्मी चार वर्षयता होटल क्षेत्रमा काम गर्छन्।
उनै भक्तिप्रसादसँग हामीले कुराकानी गरेका छौं:
दैलेखबाट सुर्खेत के गर्छु भनेर आउनुभएको हो?
म सुर्खेतमा पढाइका लागि झरेको हो। म मात्र नभएर मेरो परिवार नै ४ वर्षअघि झरेका हौं। अहिले हामी सबै यतै बस्छौं।
सुर्खेत आएर के पढ्नुभयो?
मैले प्लस टु लेभलको होटल म्यानेजमेन्ट पढेँ। पढ्दापढ्दै होटलमा जागिर पाएँ। काम गर्दै दुई वर्षको होटल म्यानेजमेन्ट पढाइ सकेको हुँ।
अहिले होटलको कुन जिम्मेवारीमा रहेर काम गर्नुहुन्छ? सुरूमा कुनबाट सुरू गर्नुभयो?
सुरूमा ग्राहकहरूलाई सर्भिस गर्ने काम गरेँ। त्यसपछि क्याप्टेनको जिम्मेवारी पाएँ। अहिले फ्रन्ट अफिसरका रूपमा जिम्मेवारी पाएको छु। जे होस् होटलको दोस्रो नेतृत्वकर्ताका रूपमा जिम्मेवारी निभाएको छु।
होटल सेक्टरमा सर्भिसर भएर काम गर्दा र नेतृत्व गर्दा कति फरक हुनेरहेछ?
सर्भिस भनेको नर्मल विभाग हो। यसमा जतिबेला पनि काम गर्नुपर्ने हुन सक्छ। सर्भिसरले आफ्नोबाहेक संस्थाको अरू विषयमा उत्तरदायित्व बहन गर्नुपर्दैन। फ्रन्टमा रहेर काम गर्दा सबै कुरामा उत्तरदायी पनि हुनुपर्यो। भान्सादेखि कारोबार सम्मको जिम्मेवारी पनि बहन गर्नुपर्छ, त्यत्तिकै उत्तरदायी पनि हुनुपर्छ।
काममा कत्तिको सन्तुष्ट हुनुहुन्छ?
एकदमै सन्तुष्ट छु। यो मेरो सिकाइ पनि हो। यसपछि पनि होटल क्षेत्रमै रहेर आफ्नो व्यवसाय सुरू गर्ने कि भन्ने सोच बनाएको छु।
परिवारमा को–को बस्नुहुन्छ? मेलमिलाप कस्तो छ?
बुवाआमा, दाजु, भाइ, मेरो श्रीमती बस्छौं। मेरो तीन जना दाजुभाइ छौं। पारिवारिक मेलमिलाप पनि राम्रो छ।
तपाईंलाई के गर्दा मज्जा लाग्छ?
म त नियमित आफ्नो काम पूरा गर्नुलाई पहिलो प्राथमिकतामा राख्छु। काम गर्दैगर्दा केही नयाँ कुरा सिक्न पाइयो भने रमाइलो लाग्छ। मनोरञ्जनको क्षेत्रमा फिल्म हेर्न रमाइलो लाग्छ। फुर्सद भएसम्म हलमै गएर हेर्छु। नेपाली फिल्म बढी हेर्छु।
अन्तिमपटक रमाइलो गरेको कहिले हो?
भर्खरै हो। केही दिनअघि मात्र वीरेन्द्रनगरकै लक्ष्मी चलचित्र हलमा गएर ‘पुजार सार्की’ फिल्म हेरेको थिएँ।
‘पुजार सार्की’ फिल्म कस्तो लाग्यो तपाईंलाई? फिल्ममा के कुरा भेट्नुभयो?
फिल्म राम्रो थियो। चर्चित नायकहरूले गरेको अभिनय मन परेको थियो। फिल्मको कथा पनि सरसर्ती हेर्दा राम्रो लागेको हो। तर यही कुरा भेटेँ भन्नेगरी त यादै गरिएको छैन।
खाने कुरामा के मन पर्छ?
मलाई खाने कुरामा भात–दाल नै मन पर्छ। त्यसबाहेकको रोटी लगायत नियमित खानेकुरा मन पर्छ। मेरो लागि आज त गज्जबको खानेकुरा खाइयो भन्ने लाग्ने त्यस्तो विशेष केही छैन।
तपाईंको स्वास्थ्य कस्तो छ? मजाले निद्रा पर्छ?
मलाई अहिलेसम्म स्वास्थ्यको समस्या आएको छैन। कुनै रोगको लक्षण पनि देखिएको छैन। म १० बजे सुतेर बिहान ५ बजे उठ्छु। निद्रा नलाग्ने पनि अहिलेसम्म भएको छैन।
केही कुरा किन्न पाएको भए हुन्थ्यो भन्ने लागेको केही छ?
आफूले मेहनत गरेको र कमाउन सकेकोले चाहेको कुरा पुगेको छ जस्तो लाग्छ। ठूलो इच्छा पनि राखेको छैन। यो कुरा चाहिएको हो, तर कसरी किन्ने होला भन्ने मनमा लागेको छैन।
जीवनमा अहिलेसम्म तपाईं एकदम खुसी भएको कहिले हो? के कुराले खुसी हुनुभएको थियो?
२०७२ सालमा एसएलसी पास हुँदा धेरै खुसी भएको थिएँ। त्यसपछि १२ कक्षा पास भएपछि खुसी भएको हो। दुवैमा सेकेण्ड डिभिजनमा पास भएको हुँ।
जीवनमा एकदमै चित्त दुखेको के कुराले हो?
त्यस्तो त केही छैन।
तपाईंलाई हाम्रो समाज वा टोल कस्तो लाग्छ? समाज–टोलको के कुरा मन पर्छ?
हाम्रो समाज राम्रो छ। सहयोगी छ। जानेरै असहयोग गर्दैन। परेका बेला सहयोगी भूमिका निर्वाह गर्छ। समाजमा मलाई मन पर्ने भनेको मेलमिलाप नै हो।
राजनीतिमा कत्तिको चासो राख्नुहुन्छ?
खासै चासो राख्दिनँ। राजनीतिक गतिविधि भएका समाचार हेर्न थोरै समय छुट्याउँछु। त्यो समयमा राजनीतिक दलहरूले देशका लागि के कुरामा ध्यान दिएका छन् भन्ने चासोका साथ हेर्छु।
देशको नेतामा को मन पर्छ?
म हल्लाको पछि मात्र लागेर कुनै नेताको पक्ष लिन्नँ। पुराना नेताहरूको बारेमा सबै कुरा बुझ्न सकेको छैन। नयाँ नेताहरूको काम हेर्नै बाँकी छ। त्यही भएर यही नेता मन पर्छ भन्ने छैन। दलप्रति आस्था पनि छैन।
गएको निर्वाचनमा कसलाई भोट दिनुभयो?
स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई भोट दिएको हो। संसदीय निर्वाचनमा त भोट हालिनँ।
अब निर्वाचन भयो भने कसलाई भोट दिनुहुन्छ?
त्यतिबेला त उम्मेदवार र उसका एजेण्डा हेरेर मात्र भोट हाल्छु।
सरकारले के काम गरिदियोस् भन्ने लाग्छ?
सडक, बिजुली, खानेपानी जस्ता पूर्वाधारका क्षेत्रमा काम गर्नुपर्छ। स्वास्थ्य, शिक्षाका क्षेत्रमा पनि धेरै काम गर्नुपर्छ। गतिलो नीति बनाउनुपर्छ, बनेका नीतिलाई कार्यान्वयन गर्नुपर्यो।