(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
दाङको तुलसीपुर बजारबाट १४ किलोमिटर उत्तरतर्फ पहाडको बाटो छिचोल्दै पुगिन्छ तुलसीपुर उपमहानगरपालिका–३, राम्री। राम्री दाङ सल्यानको सीमा क्षेत्र हो। दाङसँग सल्यान, पश्चिम रोल्पा, रूकुमपूर्व र रूकुमपश्चिम जिल्लालाई जोड्ने प्रमुख प्रवेशद्वार राप्ती लोकमार्ग नै हो। राम्रीको शिरमा छ धामा गाउँ। त्यही गाउँकी ५९ वर्षीया दुरपति बुढामगरसँग हामीले संवाद गरेका छौं।
नमस्कार, के छ सञ्चै हुनुहुन्छ?
नमस्कार, आरामै छ। सञ्चै छ।
परिवारमा को को हुनुहुन्छ?
श्रीमान (नन्दबहादुर बुढा) बितेको सात वर्ष पुग्यो। हाम्रा तीन छोरा एक छोरी छन्। जेठो (बालकृष्ण) इन्डियामा छ। माइलो (लक्ष्मण) प्रहरीमा छ। कान्छो (प्रेमसिंह) घरमा मसँगै छ, घर पाखोमा खेती गर्छ।
छोरी जमूना सबैभन्दा जेठी हुन्। स्कुलमा पढाउँछिन्। परिवारमा सबै मिलेर बसेका छौं।
तपाईंको माइती कहाँ हो?
उः हेर्नुहोस्, त्यो पारिको पहाडको चुली देख्नु भो? त्यो टुनापानी हो। यहाँबाट त्यहाँ पुग्न चार घन्टा लाग्छ, पहाडै पहाड हिँड्नुपर्छ। त्यो पनि ३ नम्बर वडा नै हो।
तपाईंहरूको लगन कसरी जुर्यो?
मेरो मावलीघर राम्रीमा थियो। मामाघर आउजाउ भइरहँदा मायाप्रेम बस्यो। अनि म १७ वर्षकै छँदा उहाँ (नन्दबहादुर) सँग भागी बिहे गरेकी हुँ। हाम्रो उमेर एकैएकै थियो।
तपाईंलाई यो धामा गाउँ छोडेर अलि तल बेँसीतिर झरौं जस्तो लाग्दैन?
किन लाग्नु? पटक्कै लाग्दैन। मलाई यही ठाउँ प्यारो लाग्छ। यो वनपाखा र पहाड छोडेर कतै जान मन छैन। यहाँको हावापानी एकदमै राम्रो छ। पानीको धारा घरघरमै छ। बिजुलीबत्ती छँदै छ। अब त झन् बाटो पनि बन्दै छ। पहाडमा बाटो आउने अनि मान्छे अन्त जाने पनि हुन्छ कतै? पहिले दुःख थियो, अब छैन। यति राम्रो ठाउँ छोडेर किन जानु अन्त? पानी परेर आकाश खुल्दा यो राम्री मलाई झनै राम्रो लाग्छ। यो शिरबाट वरिपरिका डाँडाकाँडा हेर्दा मन रमाउँछ।
धामामा कस्तो अन्नबाली उत्पादन हुन्छ?
यहाँ मकै र गहुँ हुन्छ। आलु, कोदो र तोरी पनि हुन्छ। आलुमा कमिला लाग्छ, सबै आलु कमिलाले खाइदिन्छ। सिमी पनि रोप्छौं। कति फल्छ भन्ने त मौसममा भर पर्छ। कहिले धेरै दिन पानी पर्दैन। कहिले धेरै पानी परेर बिगार गर्छ।
धान फल्ने खेत छ कि छैन?
छ नि, यहाँबाट एक घन्टा लाग्छ। तल धैर्यनी खोलामा ६ कट्ठा खेत छ। त्यसमा खेती गर्दा त धान राम्रो फल्छ। खोला किनार हो, माटो राम्रो छ। खेती गरे मकै–भात मिसाएर खान पुग्छ तर टाढाको खेती, आउन–जान मुस्किल पर्छ। पोहोर बाली नै लगाएनौं। छोराहरू पनि कताकता थिए। यस वर्ष चामल किनेर खानु परेको छ। यसपालि कान्छा छोराले धान रोप्ने भनेको छ।
मकै फल्ने पाखो बारी कति छ?
पुर्जावाला जग्गा तीन कट्ठा जति होला। बाँकी एक बिघा ऐलानी पाखो पनि हामीले चर्चेका छौं। त्यसमा मकै रोपे हामीलाई ढिँडो खान पुग्छ।
यो धामा गाउँमा अब के के आवश्यक छ?
नजिकमा अस्पताल भइदिए हुन्थ्यो। छ न त हाम्रै वडामा छ, रानागाउँमा तर त्यहाँबाट हिँडेर जान तीन–चार घन्टा जति लाग्छ, गाडीमा गए आधा घन्टा। नजिकमा अस्पताल भइदिए केटाकेटी बिरामी हुँदा लैजान हुन्थ्यो।
तपाईंको स्वास्थ्य कस्तो छ? रातमा निद्रा त लाग्छ नि?
मज्जाको निद्रा लाग्छ। हप्ता दिनजस्तो भयो अलिअलि खोकी लागेको छ। अहिलेसम्म केही पनि उपचार गरेको छैन। कुनै ओखती खाएको छैन।
छोराछोरीबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ?
सन्तुष्ट छु नि, छोराछोरी सबै राम्रा छन्। अहिलेसम्म सबै साथमा छन्। आ-आफ्नो गरिखाएका छन्। छोरी पनि साथमै छे। ऊ पढाउँछे। केटाकेटीले भेट्दा मिसकी आमा भनेर नमस्कार गर्छन्। मलाई खुसी लाग्छ।
तपाईंले चैँ कति पढ्नुभएको छ?
मैले त स्कुलको अनुहार नै देख्न पाइनँ। त्यतिखेरको जमानामा छोरालाई मात्रै पढाउँथे। छोरीलाई त अर्काको घरमा जाने जातले घरको काम सिक्नुपर्छ भन्दै काममा लगाउँथे।
मैले सानैदेखि वन जंगलमा गाईबाख्रा चराएँ, घाँस–दाउरा गरेँ। माइती घरमा एक जना दाजु र एक जना भाइ छन्। उनीहरूलाई पढ्न पठाएका थिए तर धेरै पढ्न सकेनन्। बीचमै पढाइ छोडे। उनीहरू पनि खेतीपाती गर्छन्। बुबाआमा बितिसक्नुभयो।
तपाईंको गाउँठाउँमा महिलाको अवस्था कस्तो छ?
जहाँ पनि समाजको आफ्नै नियम हुन्छ। यहाँ पनि त्यही हो। समाज एक ढिक्का हुँदा राम्रो हुन्छ। गुहार माग्दा गुहार मिल्छ। शुभकार्यमा जुट्ने र रमाइलो गर्ने हुन्छ। कसैले बदमासी गरे भने गाउँमै सजाय हुन्छ।
अलिक पहिला रक्सी खाएर गाउँ घरमा होहल्ला गर्नेहरू पनि थिए। तिनीहरूले महिलालाई नराम्रो पनि गरे होलान् तर आज त्यस्तो छैन। अबका महिला पनि सबै जानेबुझेका छन्। पुरुषभन्दा कम छैनन्। कोही मुर्खै रहेछ भने मात्रै नत्र सबैले महिलाको सम्मान गर्छन्।
तपाईंलाई सबैभन्दा बढी मनपर्ने खाने कुरा के हो?
ढिँडो र सिस्नो। यो पाखामा हेर्नुस् त अहिले पनि सिस्नोका कलिला मुना सस्तै छन्। कुखुराको र खसीको मासु पनि मनपर्छ। चाडपर्वमा यस्तै मासु खान्छौं। घरपरिवार र आफन्त सँगै बसेर खाँदा झन् रमाइलो हुन्छ, खाना पनि मिठो लाग्छ।
तपाईंलाई जीवनमा साह्रै दुःख कहिले लागेको थियो?
सिन्दुर पुछिँदा। नारीका लागि त्योभन्दा पीडाको क्षण कहिले हुन्छ र!
अनि तपाईंलाई धेरै खुसी लागेको क्षण?
मन परेको मान्छेसँग बिहे गर्न पाउँदा धेरै खुसी लागेको थियो। छोराछोरी जन्मिँदा र नातिनातिना जन्मिँदा पनि उस्तै खुसी लाग्दोरहेछ। बिहे गरेर जाँदा मुटु ढुकढुक गर्दो रहेछ। परिवारका मान्छेले कति साथ देलान्, घरका मानिस कस्ता होलान् भन्ने डर हुँदोरहेछ।
अब तपाईंको मनको इच्छा के छ?
त्यस्तो केही छैन। छोराछोरी र नातिनातिनासँग सन्तोषले बस्न पाए पुग्छ। आँखा वरिपरि छोराछोरी र उनीहरूको खुसी देख्न पाए आमालाई अरू केही चाहिँदैन।
तपाईंलाई आफ्नो समाज कस्तो लाग्छ?
समाज राम्रै छ। सुखमा रमाउने पनि उनीहरू (समाजका मान्छे) सँग हो। दुःख पर्दा रूने पनि उनीहरूसँगै हो।
आफ्नो समुदायको के कुरा बढी मनपर्छ?
मगर जातिको आफ्नै मौलिक परम्परा र संस्कारहरू छन्। धामामा स्यारिंगे नाच्ने समूह नै छ। तिहारमा ठाउँठाउँमा नाच लैजान्छन्। आफ्नो कलासंस्कृति सबैलाई माया लाग्दोरहेछ।
केही गलत कुराहरू सुधार हुनु ठिक हो तर आफ्नो कलासंस्कृति त्याग्नु हुँदैन।
गएको चुनावमा भोट दिनुभयो?
दिएँ नि।
कसलाई दिनुभयो त?
त्यो त भन्न मिल्दैन। आफ्नो हिसाबले दिएँ।
यतिखेर चुनाव भए कसलाई दिनुहुन्छ?
यो पनि मेरो मन चोर्ने कुरा हो, भन्न मिल्दैन।
देशको को नेता मनपर्छ?
त्यो पनि भन्दिनँ।
अहिले देशमा प्रधानमन्त्री को छ?
थाहा छैन। प्रधानमन्त्रीसँग के मतलब छ र! यहाँ त वडा अध्यक्ष आइदिए पनि पुग्छ।
वडाध्यक्षको नाम थाहा छ?
अँ...! मनमा छ तर मुखमा आएन।
कुरा गर्न समय दिनुभयो, तपाईंलाई धेरै धन्यवाद।
तपाईंलाई पनि धन्यवाद। हाम्रो धाममा आउँदै गर्नुहोला।