(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
पाल्पा रिब्दिकोट- ५ कुसुम खोलाका ४० वर्षीय यादव कार्कीले सवारी साधन चलाउन थालेको २२ वर्ष भयो। १६ वर्ष नेपाल प्रहरीमा सवारी चालक रहेका कार्की पछिल्लो समय कालिगण्डकी कोरिडोर आयोजनामा सवारी चालक छन्। कार्कीले गाडीमा बोकेका धेरै व्यक्तिहरू नेपाल प्रहरीको माथिल्लो तहमा पुगिसक्दा उनी भने चालक नै छन्। कालिगण्डकी करिडोर आयोजनाको गाडी चलाइरहेका बेला पाल्पाको रामपुरमा भेटिएका कार्कीसँग हामीले कुरा गरेका छौं।
सवारी चालक भएर विभिन्न ठाउँमा पुग्दा कत्तिको रमाइलो लाग्छ?
रमाइलै हुन्छ। जागिर नै यही भएपछि रमाइलो नमानेर पनि भएन।
कति भयो आयोजनाको गाडी चलाउन थाल्नुभएको?
करिडोरमा जोडिएको त भर्खर पाँच महिना मात्र भयो तर, गाडी चलाउन थालेको भने २२ वर्ष हुन लाग्यो।
त्योभन्दा पहिले कहाँ चलाउनुहुन्थ्यो?
मैले त १६ वर्ष नेपाल प्रहरीमा सवारी चालक थिएँ। २०५९ सालदेखि २०७६ सालसम्म प्रहरीका गाडी चलाएँँ। २०७६ सालमा प्रहरीबाट स्वेच्छिक अवकास लिएर आफै गाडी किनेर भाडामा चलाउँदै थिएँ यता चालक चाहिएको थाहा पाएपछि गाडी बिक्री गरेर यहाँ आएको।
नेपाल प्रहरीबाट किन १६ वर्षमै अवकाश लिनुभयो नि?
त्योभन्दा अगाडि कामै गर्न मन लागेन। मैले धेरै हाकिमहरूलाई गाडीमा राखेर धेरै ठाउँ पुर्याएँ। मैले गाडीमा बोकेका सबैजसो प्रहरीको माथिल्लो तहमा पुग्नुभयो। मलाई एकपटक केही महिना भएपछि संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा सुडान जाने चाहना थियो। त्यहाँ जाने अवसर पाएको भए थोरै धेरै पैसा बचत गरेर ल्याउन सकिन्थ्यो। त्यो अवसर मैले पाउन सकिनँ। त्यसपछि स्वेच्छिक अवकाश लिएर आफ्नै गाडी किनेर चालक बनेँ।
यताको काम कस्तो लागेको छ?
राम्रै छ। बेलाबेला छुट्टीमा घर जान पाइएको छ। प्रहरीमा हुँदा चाडपर्वमा पनि घर जान पाइँदैनथ्यो, यहाँ भने घरपायक मिलेको भएर पनि राम्रै लागेको छ।
तपाईंलाई गाडी चलाउन बाहेक अरू के गर्न मन लाग्छ?
मलाई त घरपरिवारसँग बस्न पाउँदा रमाइलो लाग्छ।
गीत गाउने, नाच्ने कत्तिको गर्नुहुन्छ?
नाच्ने गाउने पनि अलिअलि गरिन्छ। गाउँतिर पहिले दोहोरी पनि गाइन्थ्यो।
तपाईंलाई सबैभन्दा के खान मन पर्छ?
गाउँमै उब्जिएको फलफूल, खानेकुरा सबै मन पर्छ, मकैको आटो, कोदोको रोटी यस्ता खानेकुरा सबैभन्दा बढी मन पर्छ।
घरमा को को हुनुहुन्छ?
घरमा श्रीमती बबिता खत्री र दुई छोरा छन्।
छोराहरूले कत्तिको सुख दिएका छन्, कत्तिको मेलमिलाप छ?
सुख दिने समयमा देलान् नि! अहिले त बल्ल ठूलो छोराले एसइई उत्तीर्ण गरेका छन्। कान्छो छोरा ८ कक्षामा पढ्छन्। परिवारमा पनि मेलमिलाप छ।
तपाईंको स्वास्थ्य कस्तो छ?
अहिलेसम्म त ठिकै छ। कोरोनाको बेलामा ज्वरो आएर एकपटक सिटामोल खाएको थिएँ त्यो बाहेक अरू औषधि खानु परेको छैन।
निद्रा कत्तिको लाग्छ?
प्रहरीबाट जागिर छोडेको बेला केही दिन मनमा कुरा खेलेर राम्ररी निद्रा लागेन, अहिले त राम्रोसँग निद्रा लाग्छ।
ठिक्क पैसामा यस्तो किन्न पाए हुन्थ्यो भन्ने केही छ?
आफूलाई त के किन्ने हो र! पैसा भयो भने छोराहरूलाई बजार लगेर उनीहरूकै रोजाइमा किनिदिन मन लाग्छ।
तपाईं सबैभन्दा धेरै खुसी कहिले हुनुभएको थियो?
खुसी त सधैं भइन्छ तर सम्झिनै पर्दा छोराहरू जन्मिँदा धेरै खुसी भएको थिएँ। अरूलाई त जागिरमा प्रमोसन हुँदा खुसी लाग्थ्यो होला म भने पिछडिएर प्रमोसन भएकोले त्यतिबेला पनि खुसी हुन सकिनँ।
तपाईंलाई सबैभन्दा धेरै चित्त लागेको क्षण?
जागिर छोड्दा सबैभन्दा बढी चित्त दुखेको थियो। हुन त आफैले स्वेच्छिक अवकाश लिएको थिएँ तर, त्यो मेरो खुसीले थिएन बाध्यताले थियो। आफूभन्दा जुनियरहरू मिसनमा पठाइँदा मैले अवसर पाइनँ, हेपिएको महसुस गरें।
तपाईंको मनमा कुनै कुराले पिरोलिरहेको वा यस्तो भइदिए हुन्थ्यो भन्ने केही छ?
अहिलेसम्म खासै कमाउन सकिएन। प्रहरीको जागिरले परिवार पाल्न मात्र ठिक्क भयो। अब छोराहरूले राम्रोसँग पढिदिए हुन्थ्यो भन्ने लाग्छ अरू त आफ्नो दु:ख आफैले नगरी हुँदैन, धेरै पीर लिएर पनि केही हुने होइन।
तपाईंलाई आफ्नो टोल समाज कस्तो लाग्छ?
धेरै राम्रो लाग्छ टोल समाज त। प्रहरीमा जागिर गर्दासम्म गाउँघरमा खासै बस्न पनि पाइएन। अहिले फुर्सद भयो कि घरमा गइहाल्छु, राम्रो लाग्छ।
टोल समाजको सबैभन्दा मनपर्ने कुरा के हो?
एकअर्कालाई दु:खसुखमा साथ सहयोग हुन्छ, ऐचोपैंचो सबै चल्छ त्यो मन पर्छ।
सुधार गर्नुपर्ने कुरा केही छ?
अनावश्यक रूपमा अरूको चियो चर्चो गर्ने, कुरा काट्ने काम नभए हुन्थ्यो।
तपाईंलाई राजनीति कस्तो लाग्छ, ठिकसँग चलेको छ?
राजनीति त त्यति बुझ्दिनँ, जागिर गर्ने बेलामा राजनीतिमा चासो दिने कुरा भएन। अहिले आफ्नै काममा ध्यान हुन्छ राजनीतिप्रति त्यति मतलब हुँदैन।
तपाईंलाई सबैभन्दा मनपर्ने नेता को हो?
राजनीतिप्रति नै चासो लाग्दैन, नेता के मन पराउनु कोही पनि मन पर्दैन। मन पराएर के गर्नु, बोलेको पूरा गर्ने कसैले होइन। एउटा बोल्छन्, अर्को गर्छन्।
गएको चुनावमा कसलाई भोट दिनुभएको थियो?
मैले त अहिलेसम्म भोट नै हालेको छैन। मतदाता परिचयपत्र पनि थिएन। चुनाव भइसकेपछि बल्ल मतदाता परिचयपत्र बनाएको छु।
अब चुनाव भयो भने कसलाई भोट हाल्नुहुन्छ?
अहिले त केही सोचेको छैन। त्यतिबेलासम्म माहोल कता जान्छ उसैलाई भोट हाल्नुपर्ला। हुन त जनतालाई गर्ने कसैले होइन।
सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
सरकारले सहर र गाउँमा समान विकास गर्नुपर्छ। गाउँमा सडक राम्रा छैनन्। सरकारलाई जथाभावी डोजरले खनेर सडक पुर्याइयो भन्ने लाग्छ होला। डोजरले खनेर मात्र हुँदैन, खनेका सडक राम्रा पनि बनाउनुपर्यो। सबै ठाउँमा बिजुली पुगेको छैन। अस्पताल छैनन्। राम्रा स्कुल क्याम्पस छैनन्। ती सबै पुर्याउने काम त सरकारको हो नि!