(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
केही दिनअघि लहान नगरपालिका, बस्तीपुरका बासिन्दा मोहम्मद सफिद घरमा आराम गरेर बसेका भेटिए। बिहानैदेखि दिनभर खेतमै तल्लीन रहने उनी टन्टलापुर घाम छल्न खेतबाट घर आएका रहेछन्। म पुगेर उनीसँग कुरा गर्न खोज्दा सफिदले घर नजिकैको आफ्नो आँप बगैंचा घुम्दै कुरा गरौं भन्ने इसारा गरे। उनको बगैंचा जाँदै गर्दा मैले सोधेँ:
के छ तपाईंको दुःखसुख?
हामीलाई पहिले धेरै दुःख थियो। म धेरै गरिब थिएँ। मैले २० वर्षको उमेरदेखि रिक्सा चलाएँ। रिक्सा ठेलेको देखेर स्वर्गीय नेता प्रदीप गिरीले आफ्नो जग्गा कमाउन दिनुभयो। त्यही जग्गाको आम्दानीले चार जना छोराछोरी पालेँ, हुर्काएँ।
उहाँले मलाई काम गरेबापत मेरो परिवारका लागि खानेबस्ने सुविधा दिनुभयो। थप मजदुरी (ज्याला) दिनुभएन। केही वर्षपछि ज्यालाको बदलामा १० कट्ठा खेत दिनुभयो। त्यही जमिनबाट कमाएर अर्को १० कट्ठा खेत किनेँ। एक बिघा आफ्नो खेत भयो।
अहिले एक बिघामा खेतीपाती गर्दै हुनुहुन्छ?
आफ्नो एक बिघा, एक बिघा बटैया र एक बिघा ठेक्का गरेर अहिले तीन बिघा खेती गर्छु। यसमै १५ कट्ठा जतिमा तरकारी खेती पनि गर्छु। तरकारी खेती गरेर, भैंसी पालेर जग्गा जोडेँ। छोराछोरी बिहे गरे। नातिनातिनी पनि मैले नै पालेको छु।
कस्तो चलेको छ खेतीपाती?
राम्रो छ। अहिले १० कट्ठामा उखु, १० कट्ठामा धान र ५ पाँच कट्ठामा तरकारी छ। पाँच वटा भैंसी छन्। एक जोडी गोरु छन्। घरका ६ जना सबैजना खेतीको भैंसीको काममा लागेका हुन्छौं। हामी जागिर गर्दैनौं। पढलेख गरेका छैनौं। दुधदही बेच्छौं। खेतमा गोबरमल दिन्छौं, यसले उब्जिन्छ राम्रो। उखुमा पनि भैंसीको गोबर हाल्ने गरेको छु, नमूना उखु छ। मेरोमा काउलीकै फूल पाँच किलोको हुन्छ।
कति घण्टा काम गर्नुहुन्छ खेतमा?
बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म खेतमै हुन्छु, तब न परिवार चलेको छ। मजदुरको भरमा खेती चल्दैन। मजदुर लगाउँदा कमाइ जति उनीहरूलाई ज्याला दिँदा सकिन्छ।
सधैं काममा व्यस्त रहनुहुन्छ, मनोरञ्जनका लागि के गर्नुहुन्छ?
म रामायण (टेलिफिल्म) हेर्छु। विष्णुपुराण र कृष्णलीला पनि हेर्छु। मलाई यसमा जहाँबाट जे सोध्नुस्, सबै भन्दिन्छु।
टिभीमा अल्लाहको कुरा पनि सुन्छु। चार हजार (रुपैयाँ) मा फूल मेमोरी कार्ड भरेर ल्याएको छु लहानबाट। जतिबेला घरमा हुन्छु टिभीमा भजन र धार्मिक कुरा मात्रै हेर्छु। मेरो मनोरञ्जन यस्तैबाट हुन्छ।
रामायण र विष्णु पुराणमा कसरी चासो भयो?
अल्लाह र राम एकै हुन्। भगवान् एउटै हुन्। मियाँको अर्को सूर्य छैन, दिन पनि हिन्दुको एउटा र मुसलमानको अर्को हुँदैन। राम र रहिम एउटै हुन्। मेरो विचार यस्तो छ।
ईश्वर दुनियाँमा एउटै हुन्। हिन्दुलाई पण्डितले बिगारेका छन्, मुस्लिमलाई मोलवीले बिगारेका छन्। कुन धर्मले भनेको छ र जीवलाई कुर्बानी दिनू! कुन धर्मले देउतालाई खसी चढाउनू भनेको छ र! मानवले जीव मार्नु हुँदैन।
तपाईं माछामासु खानुहुन्न?
म पहिले माछामासु खान्थेँ, रक्सी पनि खान्थेँ। अब भित्री मनले अब यी चिज खान मन गर्दैन। जहिलेदेखि रामायण, कृष्णलीला, विष्णुपुराण हेर्न थालें त्यहिलेदेखि जीवको हत्या गरेर खान मन लागेन। भगवानले मान्छेलाई भैंसी, सुँगुर, गाई र बाख्रा खानलाई बनाएको हो र!
तपाईंले राम र रहिम एउटै हुन भन्दा अरूले के भन्छन्?
मेरो समुदायका मान्छेहरू त्यस्तो किन बोलेको भन्छन्। कहिलेकाहीँ झगडै पर्छ। मेरो परिवारमा श्रीमतीले मात्रै मेरो कुरासँग सहमत राख्छिन्। अरूलाई मेरो कुरा मन पर्दैन।
तपाईंलाई खानपिनमा के मनपर्छ?
भातदाल, तरकारी, दुध, दही; यस्तै हो धेरै मनपर्ने।
छोराछोरीबाट कत्तिको सुख–सन्तोष मिलेको छ?
अहिले म आफै कमाउँछु। छोराछोरीलाई आफ्ना लागि कमाऊ, तिमीहरूका छोराछोरीका लागि पैसा जम्मा गर भन्छु। छोराछोरी पढाउन र पछि तिनको बिहे गर्न अहिलेदेखि पैसा जम्मा गर भन्ने गरेको छु छोराहरूलाई।
परिवारमा कतिको मेलमिलाप छ?
राम्रो छ, धेरै राम्रो मेलमिलाप छ।
तपाईंको स्वास्थ्य अवस्था कस्तो छ?
एकदम राम्रो छ। फर्स्ट क्लास छु।
राति निद्रा कतिको पर्छ?
रातभर सुत्छु। पहिला रक्सी खान्थेँ। मानिसहरू रक्सी खान छाड्यो भने निद्रा आउँदैन भन्थे तर मलाई त झन् धेरै निद्रा आउँछ।
अहिले तपाईंसँग ठिक्कको पैसा हुने हो भने के किन्नु हुन्थ्यो?
मलाई केही पनि रहर छैन। मैले किन्नुपर्ने केही पनि छैन। अब नातिनातिनीले किन्ने बेला हो। उनीहरूको बिहे गरिदिएपछि म यो दुनियाँबाट मरेर गए पनि ठिकै होला। अहिले नातिनीको बिहेका लागि पैसा जम्मा गर्दैछु।
कति खर्च लाग्छ एक जना नातिनीको बिहे गर्न?
अहिले बिहे भयो भने कममा पनि १२ लाख (रुपैयाँ) लाग्छ। कम दाइजो माग्नेले पनि सबैभन्दा पहिले ३ लाख (रुपैयाँ) को मोटरसाइकल माग्छ। लत्ताकपडा, घरको सरसामान, फर्निचर माग्छ। जन्तीलाई खुवाउनुपर्छ। गाउँलेलाई खुवाउनुपर्छ।
छोराछोरी कति छन्?
तीन जना छोरा र एक छोरी छन्।
छोराछोरीलाई पढाउनुभयो?
अलिअलि पढे। पछि उनीहरू आफैले पढाइ छाडे। कोही कता गए, कोही कता कमाउन हिँडे। पढ्न मन गरेनन्।
सबैभन्दा धेरै खुसी कहिले हुनुभएको थियो होला, सम्झना छ?
जतिबेला रक्सी खान्थे, बुढियासँग मोजमस्ती गर्थें, त्यहीबेला मज्जा थियो।
अनि सबैभन्दा धेरै चित्त कहिले दुखेको दिन पनि सम्झना छ?
त्यस्तो तकलिफ (दुःख) कहिल्यै पनि भएन। जिन्दगीमा संघर्ष गरिरहेको छु। रामायणको कुरा सुन्दा मेरो सबै दुःख हरायो।
यस्तो भइदिए हुन्थ्यो तर भएन भनेर मन पिरोल्ने केही कुरा छ कि?
सबै एक रङको धनी भइदिए कति राम्रो हुन्थ्यो! सबैका बालबच्चा पढ्न पाए कति राम्रो हुन्थ्यो! थोरै मान्छे मात्र धनी भएर, खाएर दुनियाँ राम्रो चल्दैन नि!
तपाईंलाई आफ्नो गाउँ–समाज, टोल कस्तो लाग्छ?
एकदम राम्रो। गाउँको बोलीवचन, व्यवहार सबै राम्रो छ। सहयोगी भावना छ। यो सबै मनपर्छ।
समाजको के कुरा तपाईंलाई खराब लाग्छ?
कोहीकोही चोरी गर्छ, त्यो मन पदैन। रक्सी खाएको पनि मन पर्दैन।
राजनीतिमा तपाईंलाई कतिको चासो छ?
केही चासो छैन। काम गर्छु, खान्छु। राजनीतिसँग मतलबै गर्दिनँ।
तपाईंलाई सबैभन्दा धेरै मनपर्ने नेता को हो?
कुनै पनि नेता मन पर्दैन। सबैले भोट लिएर जान्छन्, फर्केर आउँदैनन्। हाम्रा लागि को नेताले के गरिदिएका छन् र!
गएको संसदको चुनावमा कसलाई भोट दिनुभयो?
कांग्रेसलाई, पदमनारायण चौधरीलाई दिएको तर हारिहाले।
अब कसलाई दिनुहुन्छु?
मैले सधैं कांग्रेसलाई नै भोट दिएको छु। फेरि कांग्रेसलाई नै दिन्छु, जो लडोस्, हारोस् कि जितोस्, त्यो उसको भाग्यको कुरा हो। अरू पार्टीको मान्छे मसँग भोट माग्न आउँदैन। कांग्रेस हार्दा मेरी बुढिया रून्छिन्।
सरकारले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ?
सरकारले सडक बनाइदिए हुन्थ्यो। धेरै घुसखोरी भएको छ, त्यो बन्द गर्नुपर्छ। किसानलाई पानी दिनुपर्छ। मलखाद र बिजुलीको सुविधा दिनुपर्छ। बजारको समस्या समाधान गर्नुपर्छ।
किसानलाई बजारमा के समस्या छ?
बजारमा तरकारी धेरै सस्तोमा बेच्नुपर्छ। कहिलेकाहीँ घुमाएर नबेची ल्याउनुपर्छ। सडकमा बसेर बेच्दा पनि बट्टी (कर) लिन्छन्। कहिले बीस रुपैँया लिन्छन्, कहिले सय रुपैयाँ पनि लिन्छन्। मनपर्दी बट्टी असुल्छन्।
हामी केही किन्न जाँदा पनि व्यापारीकै मनपरी हुन्छ, हामी बेच्न जाँदा पनि उसकै मनपरी। दाम किसानको सामानको दाम त किसानले राख्न पाउनुपर्ने हो, त्यो पनि व्यापारीले राख्छ।
धानको बीउ सय रुपैयाँ किलोमा बेच्छ। हाम्रो धान २० रुपैयाँ किलोमा माग्छ।