(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
सीताबहादुर चेपाङ बोराको झोला झुण्डाएर मकैबारीको डिलमा टुसुक्क बसेका थिए। बारीमा केही मान्छेहरू मकै गोडिरहेका थिए। ६० वर्षका उनी राप्ती–१३ कान्दा गाउँका अगुवा हुन्। उनी कक्षा ५ सम्म पढ्ने गाउँकै पहिलो व्यक्ति हुन्। नलुङटार गाउँमा रहेको प्राथमिक विद्यालयबाट ५ कक्षा पास गरेपछि उनले गाउँ फर्किएर प्रौढ शिक्षा पढाउन थालेका थिए। पछि गाउँमा विद्यालय बनाउन अग्रसरता लिए। विद्यालय स्थापना भएपछि कार्यालय सहयोगी बनेर काम गरे।
उनै सीताबहादुरसँग गरेको कुराकानी:
यो झोला किन बोक्नुभएको?
राख्नेकुरा केही भइहाल्यो भने चाहिन्छ भने लिएको। यही राख्छु भनेर त होइन।
जमिन कति छ, मकै कतिमा लगाउनुभएको छ?
जमिन त १६ रोपनी जति छ। तर १२ रोपनी जति भिर भन्दा पनि हुन्छ। उब्जाउ हुँदैन खासै। बाँकीमा मकै राम्रै फल्छ।
अचेल विद्यालयमा काम गर्नुहुन्न?
अहिले छोराले गरिरहेको छ। मैले छाडेँ। उमेर पनि धेरै भयो।
तपाईं के गर्नुहुन्छ त?
म त बाख्रा चराउने, खेतीमा सघाउने गर्छु।
गाउँमा कसैले नपढेको बेलामा तपाईंले पढ्नुभएको रहेछ। कसरी सम्भव भयो?
मलाई पढ्न रहर थियो। नलुङटार गाउँमा पढ्न पाइन्छ भनेपछि म त्यता गएँ। आफन्तकोमा बसेर पढें। पाँच कक्षा सकेपछि थप पढ्न सहर जानुपथ्र्यो। तर सहर बसेर पढ्न सक्ने अवस्था थिएन। त्यसैले गाउँ फर्किएँ।
गाउँ फर्किएर के गर्नुभयो?
गाउँ फर्किएपछि गाउँलेलाई जम्मा गरेर प्रौढ शिक्षा पढाउन थालें। बच्चादेखि बुढाबुढी प्रौढ कक्षा पढ्न आउँथे। पढाइको महत्व बुझाउन थालें। उनीहरू कम्तीमा आफ्नो नाम लेख्न सक्ने भए। पछि प्रौढ पढाउन सहरबाट शिक्षक आउनुभयो।
विद्यालय कसरी बन्यो?
प्रौढ शिक्षामार्फत् शिक्षाको महत्व बुझ्न थालेपछि गाउँलेमा विद्यालय चाहिन्छ भन्ने चेत पलाउन थाल्यो। मिलेर विद्यालय ल्याउने प्रयास गर्यौं। अल्लि तल च्याउँदिनँ भन्ने ठाउँमा लैजान ठिक्क पारिएको विद्यालय अनेक गरेर गाउँमा ल्यायौं। अहिले ८ कक्षासम्म पढाइ हुन थालेको छ।
कस्तो भएको छ त अहिले गाउँ?
पहिले स्थानीयबासीमा चाहनाको चेतना थिएन। यो गर्यो भने यसो हुन्छ भन्ने थाहै थिएन। शिक्षा हुँदै गएपछि चेतना विकास भयो। शिक्षामा गाउँ पहिलेभन्दा धेरै फरक भएको छ। बालबालिकाहरू पढ्न पाएनन् भन्ने छैन। ८ कक्षासम्म त मज्जाले पढ्न पाउँछन्। त्योभन्दा माथि पढ्न चाहिँ गाह्रै छ।
अरू कुरामा चाहिँ परिवर्तन भएन?
हामीलाई चाहिएको शिक्षा, मोटर बाटो र पानी हो। शिक्षा ८ कक्षा भन्दा बढी पनि भयो भने थप पढ्न पाउँथे यहाँका बच्चाहरूले। मोटरबाटो त कहिले आउने हो थाहा छैन। मोटरबाटो आइदिए आयआर्जनमा उन्नति हुन्थ्यो कि जस्तो लाग्छ। सक्नेले पैसा तिरेर सहर जाने थिए, नसक्नेलाई भिरको बाटो हिँड्नुपर्थेन। पानीको सुविधा भए खेती राम्रो हुन्थ्यो। बेसाएर खान पर्थेन।
परिवारमा को को हुनुहुन्छ?
श्रीमती, ५ छोरा, ४ छोरी, दुई नाति छन्। २ छोरा अहिले यहीँको विद्यालय पढिरहेका छन्। एउटा ४ मा, एउटा २ मा पढ्छन्।
राम्रै चलेको छ होला नि परिवार?
ठिकै छ। मिलेर काम गर्छौं, मिलेर खान्छौं। श्रीमान, श्रीमतीमा झैझगडा हुँदैन। एउटाले काम गर्ने, अर्काले हेर्ने हुँदैन। त्यसो भयो भने झगडा हुने हो। हाम्रोमा समस्या छैन।
छोरा छोरीले अपेक्षाअनुसार गरेका छन्?
पूरा त कसको हुन्छ र। व्यावहारिक रूपमा ठिकै लाग्छ। दुई छोरा अझै पढिरहेका छन्।
जिन्दगीमा सुख दुःख कस्तो छ त?
जिन्दगीमा धेरै दुःख काटेको छु मैले। सुख त के नै छ र।
वर्षभरी खान त पुग्छ होला नि?
खान पुग्न कठिनै हुन्छ। परिवारमा १२ जना छौं। कुनै साल पुग्छ, कुनै साल पुग्दैन। नपुग्दा भाका राखेर बेसाउने हो। कहिलेकाहीँ बाख्रा, सुँगुर बेचेर केही पैसा आउँछ। त्यसले ऋण तिर्ने गर्छु। जेनतेन चलेको छ।
तपाईंलाई के गर्न मन लाग्छ?
के काम गर्न आउँछ र मलाई त्यही खन्ने, जोत्ने, घाँस काट्ने त हो।
गीत गाउने नाच्ने गर्नुहुन्छ?
आफूलाई त आउँदैन। अरूले गाएको सुन्न रमाइलो लाग्छ।
फिल्म हेर्नुभएको छ?
भण्डारातिर झर्दा टिभीमा नाचे, गाएको, लडेको हेरेको छु। कहिलेकाहीँ कार्टुन पनि हेरेको छु।
समाचार सुन्ने हेर्ने गर्नुहुन्छ होला नि?
मोबाइल आफ्नो छैन। समाचार पहिले सुन्थेँ छोराको रेडियोमा। अहिले बिग्रियो।
खाने कुरा के मिठो लाग्छ?
मलाई खोले नै मिठो लाग्छ। साह्रो पकाएर दिए पनि खान सक्दिनँ। अन्त गएँ भने के खाने भन्ने समस्या हुन्छ। गाउँमा खोले नै ठीक छ।
अरू मन पर्दैन?
मन परेर के गर्ने। न दाँत छ न पैसा छ।
दाँत भएको भए के खानुहुन्थ्यो?
दाँत भए त अम्बा, स्याउ खान्थें। हड्डी पनि चपाउँथे होला।
तपाईंको स्वास्थ्य कस्तो छ?
ठिक छैन। खोकी लाग्छ। छाती खराब भएजस्तो हुन्छ। घाँटी दुख्छ। कहिले ठीक हुन्छ, फेरि उस्तै हुन्छ।
उपचार गर्नुभएको छैन?
गाउँतिरको सानो अस्पतालमा गरेको छु। ठूलोमा गएको छैन।
किन नजानुभएको?
पैसा नभएर।
राति निद्रा कत्तिको लाग्छ नि?
कोही बेला त आँखा बन्द गरेर सुते पनि सबै देखिरहेको जस्तो हुन्छ। मान्छेहरू खाँदा घिन नलाग्नु, सुत्दा ऋण नसम्झनु भन्छन्। ऋण त छ भने सम्झिहाल्छ। अनि कहिलेकाहीँ भोलि के खाने, घाँस कहिले काट्ने, खेती कहिले गर्ने, कसरी गर्ने भन्ने सोच्यो भने निद्रा लाग्दैन। तनाब भएन भने त दिउँसै पनि निद्रा लागिहाल्छ।
पैसा भयो भने के गर्न मन छ तपाईंलाई?
पैसा भए राति बाल्नलाई एउटा लाइट किन्थें। एउटा रेडियो किनेर समाचार सुन्थें। तर के गर्नु यस्ता चिज किन्ने पैसा म सँग आउँदै आउँदैन। दुई चार रुपैयाँ कुचो बेचेर आउँथ्यो पहिले, अचेल बुढो भएँ जंगल चहारेर काम गर्न सक्दिनँ। बोक्न सक्दिनँ। अपुगमै सिद्धिने भयो जिन्दगी।
तपाईंलाई सबैभन्दा खुसी लागेको दिन सम्झना छ?
गाउँमा विद्यालय खुलेको दिन खुसी भएको थिएँ। गाउँका सबैका बालबालिकाले राम्ररी पढका छन्। उनीहरुले कर्म गरेर खाएको देख्दा खुसी लाग्छ।
सबैभन्दा बढी दुःख लागेको कहिले थियो नि?
दुःखै दुःख त छ। भारी नबोकी खान पाइँदैनथ्यो। बरू अहिले भारी बोक्न सकेको छैन बुढो भएर। अल्लि सुख भयो भन्नुपर्यो। नलुङटारमा ५ कक्षा पढें। त्यो भन्दा बढी पढ्न पाइनँ। त्यसपछि परिवार बन्यो। दुःखै दुःख सुरू भयो।
जिन्दगीमा यस्तो भइदिए हुन्थ्यो भन्ने के लाग्छ?
लागेर के गर्नु, सुख पाउँ भन्ने कसलाई लाग्दैन र। तर भनेर हुने होइन।
तपाईंलाई आफ्नो समाज कस्तो लाग्छ?
समाजमा भनाभन हुँदैन। गाह्रो साह्रोमा टार्ने परम्परा छ। राम्रो लाग्छ।
सरकारको काम, काम गर्ने तरिका तपाईंलाई कस्तो लाग्छ?
जनतामा खुल्दुली छ। दुःख छ। सरकारले त्यो बुझ्न सकेको छैन जस्तो लाग्छ। मेरो गाउँमा बाटो ल्याइदिनुपर्यो भनेको धेरै भयो तर सुनेको छैन। मोटर बाटोले गाउँ छोइदिए गरिखान सकिन्थ्यो। आयआर्जनका कामहरू हुन्थे। उब्जनी भएका अन्न बिक्री गर्न सकिन्थ्यो।
राजनीति कस्तो लाग्छ?
राजनीतिबारे जान्दिनँ धेरै। उमेर पनि छैन चासो लिन। अब आएर चासो राखेर के गर्नु।
तपाईंलाई मनपर्ने नेता को हो?
मन पर्ने हारेको छ। मन पर्नेले जितेर पनि मनपर्दो काम गरेर देखाएको छैन। मन पराएर के गर्नु।
कोही त होला नि मन पर्ने?
थाहा छैन। अनुहारले दुई चार जना चिन्छु। नाम खासै चिन्दिनँ। सुरेन्द्र पाण्डेलाई चिनेको छु।
प्रधानमन्त्री को छ देशमा?
प्रचण्ड हो जस्तो लाग्छ। कांग्रेससँग मिलेर सरकार चलाएको जस्तो लाग्छ। कहिले एमालेसँग पनि मिल्छन्। दुई वटा डुंगामा टेक्दै चलाएका छन् रे। एउटा डुबे पनि अर्को रहन्छ भनेर होला।
भोट कसलाई हाल्नुभयो?
मान्छेहरू जसले जित्यो त्यसलाई हालेको भन्छन् तर म त्यस्तो भन्दिनँ। मैले एमालेलाई हालेको। हार्यो।
सुरेन्द्र पाण्डेले पहिले जित्दा के के गरे तपाईंको ठाउँमा?
भण्डारा–मलेखु बाटो बनाइदिए। त्यसले केही भने पनि राम्रो भयो।
अहिलेकाले नसकेका हुन्?
खोइ नसकेका हुन् कि, नभ्याएका हुन् थाहा छैन।
अब कसलाई भोट हाल्नुहुन्छ?
अहिलेसम्म म यसो गर्छु, उसो गर्छु भन्नेलाई भोट हालियो। उनीहरुसँग आशा धेरै गर्दा निरास बन्नुपर्यो। अब म त्यसो नभन्नेलाई भोट हाल्छु। मलाई जिताउनुहोला सके भनें गर्छु भन्ने कोही आयो भने भोट हाल्ने। यो यो गर्छु भन्नेले त केही गरेन।