(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
सल्यानको शारदा नगरपालिका–३ की चन्द्रकुमारी विष्ट उमेरले ८३ वर्षकी भइन्। बुढेसकालमा आफू बस्ने घरको रेखदेख गरेर समय बिताइरहेकी विष्टसँग हामीले गरेको कुराकानी:
तपाईलाई कस्तो छ?
यो उमेरमा कस्तो छ भन्नु। उमेर ८३ वर्ष भइसक्यो। राम्रोसँग आँखा पनि देख्दिनँ। खाना पनि नरूच्ने। गलेका दाँतले खानेकुरा कडा चपाउनै गाह्रो हुनेरहेछ।
बुढेसकालमा के गरी काट्नुहुन्छ त दिन? अलिअलि आफूले सकेको काम गर्नुहुन्छ?
घरको काम जे देखे पनि गरिहाल्न पाएको भए हुन्थ्यो भन्ने लाग्छ। तर बुढो शरीरले नसक्ने रहेछ। म काम गर्न सक्दिनँ। छोराबुहारीले घरमा कुखुरा पालेका छन्। तिनै कुखुरा हेरेर बस्ने गर्छु। घरको रेखदेख पनि हुन्छ।
परिवारमा को-को बस्नुहुन्छ?
छोराबुहारी, नातिनातिना र म सँगै बस्छौं।
तपाईंलाई के गर्दा रमाइलो लाग्छ? नाचगान, घुम्न जस्तो कुरा?
उमेर छँदा नाच्न, गाउन, जहानपरिवार र साथीहरूसँग मेलापात जान रमाइलो लाग्थ्यो। अब उमेर ढल्किएपछि भजनकिर्तनमा बढी ध्यान जाने रहेछ। मलाई भजनकिर्तन हुने ठाउँमा जान रमाइलो लाग्छ। त्यो पनि हाम्रोतिर व्यवस्था छैन। आफूले गाउन सक्दिनँ। गाएको भजनमा नाच्न पनि सकिन्न। तालीसम्म बजाउन हुन्थ्यो, यता त त्यो पनि छैन।
यस्तो रमाइलो कहिले गरेको याद छ?
पाँच वर्षअघि काठमाडौं गएका बेला पशुपतिमा गएर भजनकिर्तन हेर्न पाइयो। देवघाट गएर त अलिअलि नाचे पनि। गाडीको यात्रा दिक्क लाग्दो भएपनि मन्दिरमा पुग्दा आनन्द आयो। काठमाडौं गएका बेला त चन्द्रागिरि केवुलकारमा चढेर माथि-माथि कता पुगियो। त्यो पनि रमाइलो लागेको थियो।
खाने कुरामा चाहिँ के मन पर्छ नि?
सादा घरको खानेकुरा मनपर्छ। नरम, मेरो दाँतले खान सकिने फलफूल मनपर्छ।
छोराछोरी कति जना हुनुहुन्छ?
दुई छोरा, दुई छोरी हुन्। अहिले दुवै छोरी बितिसके। एक छोरा भारत गएको दश वर्ष भयो। सम्पर्कमा छैन।
छोरा किन भारत जानुभएको थियो?
कमाउन भनेर गएको। उसँग गएका साथीभाइ सबै उतिबेलै कमाइकाज गरेर फर्किएर आए। मेरो छोरो आएन। म बाटो हेरेको हेर्यै भएँ।
परिवारमा मेलमिलाप राम्रो छ?
मलाई सबैले माया गर्छन्। सँगै भएका छोराबुहारी, नातिहरू पनि मिलेरै बसेका छन्। मेरो अगाडि नराम्रो गरेका छैनन्।
तपाईंको स्वास्थ्य अवस्था कस्तो छ? मजाले निद्रा पर्छ?
डाक्टरले अप्ठ्यारो रोग छ भनेको त छैन। तै पनि स्वस्थ छु जस्तो लाग्दैन। उमेरले पनि होला। निद्रा पनि कहिले पर्छ, कहिले पर्दैन।
तपाईंलाई ठिक्क पैसाको के किन्न मन छ?
किन्ने कुरा सोचेर के गर्नु! चाहिएको पुगेकै छ। चाहे जतिको कुरा किन्न सकिने कुरा भएन। नातिलाई करेन्ट लाग्दा उपचारमा लाखौं खर्च भयो। त्यो ऋण तिर्नै सकिएको छैन। त्यसैले यति पैसाले यो कुरा किन्न पाएको भए हुन्थ्यो भन्ने लाग्दैन।
पछिल्लो पटक के कुराले खुशी हुनुभएको थियो?
पाँच वर्षअघि नातिलाई करेन्ट लागेको थियो। बाँच्दैन भन्ने लागेको थियो। उपचार भएर बाँच्यो। यस्तै कुराले त हो खुशी बनाउने।
साह्रै चित्त दुखेको समय याद छ? के कुराले हो?
दु:खको कुरा त मेरो जति दु:ख कमैलाई मात्र होला। कमाउन भनेर भारत गएको कान्छो छोरो दश वर्षसम्म पनि मरेको छ कि, जिउँदो छ भन्ने अत्तोपत्तो छैन। उसँगका साथीभाइ सबै उतिबेलै कमाइकाज गरेर फर्किएर आए। म बाटो हेरेको हेर्यै भएँ।
मनमा पिरोलिरहेको कुरा के छ? यस्तो भए हुन्थ्यो भनेर आशा गरिरहेको कुरा छ?
छोरो आइदिएको भए हुन्थ्यो भन्ने लाग्छ। उसको केही खबर आइहाल्छ कि भनेर आश लाग्छ।
समाज वा टोल कस्तो लाग्छ? तपाईंको टोल वा समाजको के कुरा मनपर्छ?
समाज त राम्रो छ। अघिपछि कुरा काटे पनि, रिस गरे पनि मर्दापर्दा समाजले थोरै भए पनि साथ दिन्छ। सकेको सहयोग गर्छन्।
राजनीति कस्तो लाग्छ? यसमा कत्तिको चासो राख्नुहुन्छ?
राजनीतिको सबै कुरा त म बुझ्दिनँ। जे होस् राजनीति गर्नेहरूले हाम्रा लागि सुविधा दिन खोज्छन्। त्यही भएर मनपर्छ।
देशको नेतामा को–को मनपर्छ?
ठूला नेताहरूलाई चिन्दा त राम्रोसँग चिन्दिनँ। कसलाई मनपर्छ भन्नु!
गएको निर्वाचनमा कसलाई भोट दिनुभएको थियो? कुन नेतालाई?
मेयरको निर्वाचनमा त कांग्रेसलाई भोट हालेको हो। सांसदको मैले नै बिर्सिसकेँ।
अब निर्वाचन भयो भने कसलाई भोट दिनुहुन्छ?
त्यतिबेला को नेता उठ्छ, कस्तो कुरा भन्छ। जो चित्त बुझ्छ उसलाई नै भोट हालौंला नि।
सरकारले के-के काम गरेको भए हुन्थ्यो भन्ने लाग्छ?
बाटोघाटो राम्रो बनाओस्। सबैलाई सुविधा हुनेगरी काम गरिदियोस् भन्ने लाग्छ।