(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
चैत महिना सुरू भएपछि नै तराईमा उखुको जुसको व्यापार बढ्न थाल्छ। गर्मी महिनामा उखुको जुस स्वादको लागि मात्रै नभएर शरीरमा शीतलता र पानीको मात्रा पूरा गर्न पिउने गरिन्छ। गर्मीयाममा उखुको जुस बिक्री गरेरै धेरै व्यक्तिहरूले गुजारा चलाइरहेका छन्।
कपिलवस्तु जगदिशपुरका ३८ वर्षीय राजेश मौर्यले पनि बुटवलको टन्टलापुर घाममा उखुको जुस बिक्री गरी परिवार पाल्दै आएका छन्। बुटवलको देविनगर चौपारी टोलमा प्लाष्टिकको त्रिपाल लगाएर उखु पेल्दै गरेका राजेशसँग हामीले कुरा गरेका छौं :
उखुको जुस कत्तिको बिक्री हुन्छ?
बिक्री त राम्रै हुन्छ। दिनमा २ हजारदेखि ४ हजारसम्मको बिक्री हुन्छ। चैतपछि असोजसम्मै बुटवलमा गर्मी हुने भएकोले जुस पनि राम्रै बिक्री हुन्छ।
एकदिनमा कति गिलास बिक्री गर्नुहुन्छ?
एकसय ३०/४० गिलाससम्म बिक्री हुन्छ। जति धेरै गर्मी भयो त्यति धेरै बिक्री हुन्छ। दिउँसो बिक्री हुने भएकोले बिहानमा घरमा बसेर उखु खुर्किन्छु। सफा बनाउँछु।
जुस बिक्री गरेर एक दिनमा कति कमाउनुहुन्छ?
आइस (बरफ) मिसाएको एक गिलास जुसलाई ३५ र आइस नमिसाएकोलाई ४० रुपैयाँमा बिक्री गर्दा दिनमा तिनहजार पाँचसय देखि पाँच हजारसम्म कमाइ हुन्छ। त्यसको आधाजति बचत हुन्छ।
लगानी कति गर्नुभएको थियो?
दुईवर्ष पहिले उखु पेल्ने मेसिन, ठेला, कुर्सी सबै किन्न ८० हजार रुपैयाँ लगानी गरेको हो।
उखु कहाँबाट ल्याउनुहुन्छ?
पहिले यतैको पाइन्थ्यो। अहिले त भारतको पञ्जावबाट उखु ल्याउने गरेको छु।
जुस बिक्री नहुने महिना, कार्तिकदेखि फागुनसम्म के गर्नुहुन्छ?
जाडो महिनामा त घरहरूमा रङ लगाउने काम गर्छु।
तपाईंलाई आफ्नो कामबाहेक अरू के गर्दा रमाइलो लाग्छ?
परिवारसँग घुमफिर गर्न मन लाग्छ। दुईवर्ष पहिलेसम्म अटो चलाउँथे। त्यतिबेला शनिबार र अरू चाडपर्वको दिनमा फुलबारी, बनबाटिका घुम्न जान्थ्यौं। अटो बिक्री गरेपछि त त्यसरी जान पाएको छैन। एकवर्ष पहिले बस चढेर गएका थियौं। अहिले त त्यति फुर्सद पनि हुँदैन।
तपाईंलाई सबैभन्दा के खान मन पर्छ?
मलाई त चाउमिन सबैभन्दा धेरै मन पर्छ। दिउँसोको खाजामा धेरैजसो चाउमिन नै खान्छु। मैले माछामासु खान्न त्यही भएर होटलमा खाँदा पनि साकाहारी पकाउनेमा मात्रै खान्छु। मैले सधै खाइरहने रेष्टुरेन्ट बन्द रहेछ। त्यही भएर आज चटपट मगाएर खाएँ। भोलि त फेरि चाउमिन नै खाने हो।
घरमा को को हुनुहुन्छ?
यहाँ त श्रीमती र दुई छोराछोरी मात्र बस्छौं। कपिलवस्तुमा बुवा, आमा दाजुभाइ सबै हुनुहुन्छ।
छोराछोरीले कत्तिको सुख दिएका छन्?
अहिले त सानै छन्। सुख दिने भन्ने बेला भएको छैन। छोरा अहिले सात कक्षामा पढ्छन्। छोरी बल्ल दुई कक्षामा पुगेकी छन्। ठूला भएपछि सुख देलान् नि!
परिवारमा कत्तिको मेलमिलाप छ?
धेरै मेलमिलाप छ हाम्रो त। सबै परिवार सँगै बस्छौं। कोही पनि अलग भएका छैनौं। काकाका छोराहरू पनि सँगै हुनुहुन्छ। काका बितेको २२ वर्ष भयो। सबैको रेखदेख बुवाले नै गर्नुभयो। अहिले पनि बुवाले नै सबैलाई मिलाएर राख्नुभएको छ।
अहिले त युवाहरू नेपालमा केही छैन, हुँदैन भन्दै विदेश गइरहेका छन्। तपाईंलाई विदेश जाऊँ भन्ने लागेन?
एकपटक ९/१० वर्ष पहिले मलेसिया जान मन लागेको थियो। भिसा लगाउँदा भिसा पाइएन। त्यसपछि जान मन लागेन। खर्च गरेर खाडीमा गए पनि कमाउने भनेको ३५/४० हजार रुपैयाँ हो। त्यति त मैले घर परिवारसँगै बसेर कमाउँछु। अहिले त त्यतिबेला भिसा नलागेर ठिकै भएछ भन्ने लागेको छ। ४०/५० हजार कमाउनका लागि परिवार छोडेर कोही पनि विदेश जानुपर्दैन। मिहिनेत गर्यो भने त्यति पैसा यहीँ कमाउन सकिन्छ भन्ने लाग्छ।
तपाईंको स्वास्थ्य कस्तो छ?
स्वास्थ्य अहिले त ठिकै छ। केही दिन पहिला मिर्गौलामा पत्थरी थियो। औषधी खाएर झर्यो। अहिले ठिक छ।कहिलेकाहीँ दाहिनेतर्फको गर्धन र कान पछाडिको नशा पनि दुख्छ। केही समय भयो दुखेको छैन।
दुखेको बेला जँचाउनुभएन?
जँचाउन पनि गएको थिए। सिटी स्क्यान पनि गराएको हो। केही देखिएन। अहिले त धेरै भयो जँचाउन पनि गएको छैन।
निद्रा कत्तिको लाग्छ?
निद्रा पनि धेरै लाग्दैन। दिउँसोमा अलि काम गरेर थाकेको छ भने राम्रै निद्रा लाग्छ। काम नगरेको बेला त्यति धेरै निद्रा लाग्दैन।
निद्रा नलाग्दा मनमा के कुरा खेल्छन्?
त्यस्तो कुरा पनि खेल्दैन। तर आँखा नै बन्द हुँदैनन्। गर्धन र कान पछाडिको नशा दुख्यो भने पनि निद्रा लाग्दैन।
तपाईंलाई ठिक्क पैसामा यस्तो चिज किन्न पाए हुन्थ्यो भन्ने केही छ?
त्यस्तो किन्नु नै छ भन्ने त केही पनि छैन। मन लाग्यो भने किनिहाल्छु। मलाई यस्तो लाउने खाने भन्ने लोभलालच नै छैन। जति कमाउने हो त्यहीअनुसार खर्च गर्ने हो भन्ने लाग्छ। अरूको देखेर पनि त भएन। अहिलेसम्म परिवार चलाउनलाई आम्दानी भएकै छ। छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाउन पुगेकै छ।
तपाईं सबैभन्दा धेरै खुसी कहिले हुनुभएको थियो, सम्झना छ?
म त सधैं खुसी हुने मान्छे हो। एक-दुई दिन मात्र खुसी हुने भए पो सम्झिनु! सधैं खुसी हुनेलाई एक दुईदिनको सम्झना के हुन्छ र!
तपाईंलाई सबैभन्दा धेरै चित्त दुखेको क्षण?
यही ठाउँको लागि साढु दाइसँग भनाभन भयो। उहाँले पनि यही ठाउँमा जुस बिक्री गर्ने भन्नुहुन्थ्यो। मैले पहिलेदेखि नै भाडा तिरेर सुरू गरेको थिएँ। तीन महिना पहिले अचानक यो ठाउँ मलाई छोडिदेउ भनेर झगडा गर्नुभयो। त्यसपछि बोलचाल बन्द भएको छ। अब कहिल्यै पनि बोलचाल हुँदैन। म पनि बोल्दिनँ।
तपाईंको मनमा कुनै कुराले पिरोलिरहेको वा यस्तो भइदिए हुन्थ्यो भन्ने केही छ?
मनमा पीर बोकेर के गर्ने! आफ्नो भाग्यमा जे छ हुने त त्यही हो। पीर गरेर हुन्छ र! मैले त कहिल्यै पनि यस्तो भएन, उस्तो भएको भए हुन्थ्यो भनेर मनमा लिन्न। काम गर्न सक्ने बेलासम्म काम गर्ने हो, त्यसपछि जे होला!
तपाईंलाई आफ्नो टोल समाज कस्तो लाग्छ?
राम्रो छ टोल समाज त। टोल समाज राम्रो भएर नै मिलेर बसेका छौं।
टोलसमाजको मन पर्ने कुरा के हो ?
परेको बेला सबैले सहयोग गर्नुहुन्छ । त्यो सबैभन्दा धेरै मन पर्छ।
सुधार गर्नु पर्ने कुरा नि?
कहिलेकाहीँ कोही कसैले सहीलाई सही र गलतलाई गलत हो भनेर भन्न सक्नुहुन्न। नजिकको मान्छेले गलत गरे पनि सही भन्ने र टाढाको मान्छेले सही गरे पनि गलत भन्ने प्रवृत्ति मलाई मन पर्दैन।
तपाईंलाई राजनीति कस्तो लाग्छ ठिक चलेको छ?
राजनीति त त्यति बुझ्दिनँ मैले। नबुझेपछि राम्रो चलेको छ कि छैन कसरी भन्ने। तर अरूले कुरा गरेको सुन्दा त्यति राम्रो छैन भन्ने लाग्छ।
तपाईंलाई सबैभन्दा मनपर्ने नेता को हो?
मलाई त कोही नेता मन पर्दैन। काम गरेर खानेलाई कोही पनि नेताले केही गर्ने होइन। किन मन पर्नुपर्यो र! नेता चिन्दा पनि चिन्दिनँ।
गएको चुनावमा कसलाई भोट दिनुभएको थियो?
भोट त हँसिया हथौडामा दिएको हो।
अहिलेको अवस्थामा चुनाव भयो भने कसलाई दिनुहुन्छ?
त्यो त कसले राम्रो काम गर्छ हेरेर दिने नि! अहिलेसम्म कसैले राम्रो काम गरेका छैनन्।
सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
सरकारले सबैभन्दा पहिले किसानलाई मलखाद र बिउ उपलब्ध गराउनुपर्छ। मलखाद र बिउ समयमा पाइने हो भने खेती राम्रो हुन्थ्यो। खेती राम्रो भए त बाहिरबाट किनेर ल्याउन नै पर्दैन। सबैलाई आफैले लगाएको खेतीले खान पुग्छ। तर नेताहरूले कहाँ किसानलाई राम्रो हुने काम गर्छन् र! किसानले पैसा दिएर पनि मलखाद पाउँदैनन्। खेती लगाउने बेला भारतबाट लुकेर मलखाद ल्याउनुपर्छ।