(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
पूर्वपश्चिम राजमार्गअन्तर्गत रूपन्देहीको रानिबगियाबाट १५ किलोमिटर उत्तरतर्फ लागेपछि पुगिन्छ पाल्पाको ठूली उदाङ। पाल्पाको तिनाउ गाउँपालिका-१ मा पर्ने यो गाउँ भौतिक पूर्वाधारको हिसाबले पछाडि छ। रूपन्देहीबाट नजिकै रहेको र चिसो हावापानी भएकोले ठूली उदाङ र नजिकैको झिंगामारा पछिल्लो समय तराईको चर्को गर्मी छल्ने उपयुक्त स्थान बन्न थालेका छन्। मान्छेहरू जान थालेपछि सडक बनेका छन्। जसले गर्दा स्थानीयलाई आवतजावत गर्न सजिलो भएको छ। वरिपरि हरियाली जंगल र पर्याप्त बोटबिरूवा रहेकोले खेतीपाती र पशुपालन यहाँका बासिन्दाको मुख्य पेशा बनिरहेको छ। ५६ वर्षीय डिलबहादुर लामटाङे पनि खेतीपाती सँगै बासको चोयाबाट विभिन्न सामग्री बनाएर घरपरिवारको जोहो गरिरहेका छन्। बिहान आठ बजेतिर डिलबहादुरलाई भेट्दा उनी गोठमा भात पकाइरहेका थिए।
हामीले कुराकानीको सुरूआत गर्यौं।
'बिहानै खाना पाकिसकेछ?'
नातिनातिनिहरूको स्कुल छ। खाना खाएर नौ बजेतिर त स्कुल हिँड्छन्। श्रीमती (गुनकुमारी) बारीतिर गएको बेला मैले भात पकाएर सघाएको नि!
तपाईंको घरपरिवार कसरी चलेको छ, के काम गर्नुहुन्छ?
गाउँमा अरू काम के हुन्छ र खेतीपाती गर्छौं। कहिलेकाहीँ बाँसको चोयाका डोका, सुपा, चित्रा बुनेर बिक्री गर्छौं। यसैगरी चलेको छ घरपरिवार त।
खेतीपातीको लागि जग्गा जमिन कति छ नि?
जग्गाजमिन त धेरै छैन। खेत छैन बारी पनि डेढ दुई हलको मात्रै छ। बारीमा उब्जिएको मकै, गहुँ, जौंले ६ महिना मात्र खान पुग्छ। ६ महिना खानलाई डोका, सुपा बुनेर बिक्री गर्ने हो।
डोका, सुपाहरू अहिले कत्तिको बिक्री हुन्छन्?
अहिले त बिक्री स्वाट्टै घट्यो। बजारमा डोका, डाला, सुपा सबै प्लाष्टिकका आए। मान्छेहरू चोयाको भन्दा प्लाष्टिकको बलियो हुन्छ, सफा पनि हुन्छ भनेर तिनै किन्न थाले। हाम्रो पेशा त मरिहाल्यो नि।
महिनामा कतिको बिक्री हुन्छ?
सबै महिनामा त बिक्री पनि हुँदैन। वर्षमा त्यस्तै १०/१५ हजारको बिक्री हुन्छ। चिनी चियापत्तिलाई पनि पुग्दैन।
तपाईंलाई के गर्दा रमाइलो लाग्छ?
साथीभाइसँग भेटघाट गर्ने, खेल ठट्टा गर्दा रमाइलो लाग्छ। कहिलेकाहीँ घुम्न पनि जान्छौं। त्यतिबेला पनि रमाइलो लाग्छ। कहिलेकाहीँ तास पनि खेल्ने गर्छु। गाउँमा कसैको मृत्यु भयो भने किरियाकर्म बसेकालाई रातभरी कुरेर बस्ने चलन हुन्छ। त्यो बेला रात काट्नलाई तास खेल्ने गर्छौं। म पनि कहिलेकाहीँ दैलापकड खेल्छु। तर पैसाको भने खेल्दैनौं।
तपाईंलाई के खान मनपर्छ?
आफ्नै गाउँमा उब्जिएका सागसब्जी आटो ढिँडो नै मन पर्छ। त्यसमा पनि कोदोको ढिँडो सबैभन्दा बढी मन पर्छ। दुई चार दिन दुई चार दिनमा खाइरहन्छौं।
घरमा को को हुनुहुन्छ?
श्रीमती, तीनभाइ छोरा, बुहारी र नातिनातिना सबै छन्।
छोराबुहारीले के गर्छन्?
कान्छोले गाडी चलाउँछ। जेठो र माइलाले सल्लाको खोटो संकलन गर्छन्। अहिले पनि पश्चिमतिर गएका छन्। बुहारीहरू घरको काम गर्छन्।
छोराहरूले कत्तिको सुख दिएका छन्?
सुखै दिएका छन्। खुसी र सुख त मान्छेले मान्नपर्ने रहेछ। त्यसैलाई सुख माने खुसी भइन्छ, त्यसैलाई दु:ख माने दुखी भइन्छ। खुसी र सुखी आफै हुन जान्नुपर्ने रहेछ। सबै छोराको विवाह भएर नातिनातिना पनि भएका छन्। उनीहरूलाई हेरेर पनि खुसी भइन्छ।
परिवारमा कत्तिको मेलमिलाप छ?
मेलमिलाप नै छ। धेरै धन सम्पत्ति भए पो त्यसैको लागि झैझगडा हुन्थ्यो होला। सम्पत्ति छैन आफैले नगरी कसैलाई खान छैन। जेठो हामीसँग बसे पनि कान्छो र माइलो छुट्टिएर भिन्दै बसेका छन्। आ-आफै काम गर्छन् परिवार पालेका छन्। दाजुभाइ मिल्छन्।
तपाईंको स्वास्थ्य कस्तो छ?
अरू ठूलो समस्या त केही छैन। कहिलेकाहीँ अलि बलको काम गर्दा दम बढ्छ।
डाक्टरलाई जँचाउनुभएको छैन?
जँचाएको छैन। अलि लामो समय थकाइ लाग्ने गरी काम गर्दा दम बढ्छ, अरू बेला त बढ्दैन।
निद्रा कत्तिको लाग्छ?
निद्रा त मज्जाले लाग्छ। साँझ विस्तारमा पल्टिएपछि बिहान एकैपटक आँखा खुल्छन्।
तपाईंलाई ठिक्क पैसामा यस्तो किन्न पाए हुन्थ्यो भन्ने केही छ?
के किन्ने हो र सबै पुगेको छ। भए पनि ठिकै छ, नभए पनि ठिकै छ। अब बुढो पनि भइयो यस्तो किन्न पाए हुन्थ्यो भन्ने केही छैन।
तपाईं सबैभन्दा धेरै खुसी कहिले हुनुभएको थियो, त्यो क्षण सम्झना छ?
म त सधैं खुसी हुन्छु। एकदिन खुसी हुने भए पो सम्झिनु, सधैं खुसी हुनेलाई कति सम्झिनू!
सबैभन्दा बढी चित्त दुखेको क्षण नि?
चित्त त कहिलेकाहीँ दुख्छ। छोराहरू भिन्न हुँदा मन दुखेको थियो। जन्माएर, हुर्काएका सन्तानहरू अलग अलग भएर घरबाट निस्किँदा धेरै नराम्रो लाग्ने रहेछ।
तपाईंंको मनमा पिरोलिरहेको वा यस्तो भइदिए हुन्थ्यो भन्ने केही छ?
मनमा पीर लिएर के नै हुन्छ र! त्यही पनि छोराहरू राम्रो भइदिए हुन्थ्यो, दु:ख नभइदिए हुन्थ्यो भन्ने लाग्छ। हाम्रो उमेर त यस्तैमा बित्यो, उनीहरूले दु:ख नपाए हुन्थ्यो। घरपरिवारबाट टाढा नभए हुन्थ्यो भन्ने लाग्छ।
तपाईंलाई टोल समाज कस्तो लाग्छ?
राम्रो छ नि हाम्रो टोल समाज त मिलेर बसेका छौं। यो गाउँमा ११० भन्दा धेरै घरपरिवार छन्। हाम्रो थाम्का टोल हो यहाँ पनि २५/२६ घरपरिवार छौं सबै मिलेर बसेका छौं।
टोल समाजको सबैभन्दा मन पर्ने कुरा के हो?
सबैभन्दा मन पर्ने कुरा त मेलमिलाप नै हो। हामी यहाँ धेरैजसो दाजुभाइ, दिदीबहिनी भान्जाभान्जी नै बसोबास गरेका छौं। एउटाको घरमा केही पर्यो भने सबै मिलेर त्यसलाई पार लगाउँछौं त्यो सबैभन्दा धेरै मन पर्छ।
समाजको मन नपर्ने कुरा नि?
कहिलेकाहीँ कोहीकोही नशा पानी खाएर झैझगडा गर्नुहुन्छ, त्यो नगरे हुन्थ्यो भन्ने लाग्छ।
देशको राजनीति कस्तो लाग्छ, ठिक चलेको छ?
राजनीति त मन पर्दैन। राम्रोसँग चलेको छ जस्तो लाग्दैन। राजनीति त जनताको लागि गर्नुपर्ने होला नि! यहाँ त सबै आआफ्नै कुर्चीको लागि लडेका छन्।
तपाईंलाई नेपालको सबैभन्दा बढी मन पर्ने नेता को हो?
हामीले त त्यति जानिएन। बुवाहरूले बिपी कोइराला राम्रा हुन् भन्नुहुन्थ्यो। गिरिजा प्रसाद कोइरालाले पनि लडाइँमा लागेको माओवादीलाई वार्तामा बोलाएर शान्ति सम्झौता गर्ने वातावरण बनाइदिए। अहिलेका नेताहरू त मनपर्ने कोही छैनन्। गगन, रवि सबै एउटै हुन्। बरू काठमाडौंको मेयर बालेन शाहले राम्रो काम गरेका छन् भन्ने सुनेको छु। मान्छे त कस्तो छन् मैले देखेको पनि छैन। कहिलेकाहीँ रेडियो सुन्दा तिनले राम्रो काम गरेका छन् भन्ने सुनेको हो।
चुनावमा कसलाई भोट दिनुभयो?
चुनावमा त बाँडेर भोट हालेको हो। संघमा सूर्यमा दिएँ, प्रदेशमा हँसिया हतौडालाई दिएँ।
अहिले चुनाव भयो भने कसलाई भोट दिनुहुन्छ?
चुनाव हुने भयो भने बल्ल विचार गर्ने हो अहिले त कसलाई दिन्छु भन्ने हो र। अहिले दिएकाले कस्तो काम गर्छन् त्यो पनि हेर्नुपर्यो। उनीहरूले राम्रो काम गरे फेरि पनि उनीहरूलाई दिनुपर्ला नभए अर्को मान्छे कस्तो उठ्छ हेरेर दिने नि।
सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
सरकारले त विकास गरिदिए हुन्थ्यो भन्ने लाग्छ नि। हुन त पहिलेभन्दा धेरै विकास भएकै हो तर पनि अझै बाटो घाटो राम्रो बनाइदिए हुन्थ्यो। हाम्रो जग्गाको लालपुर्जा छैन। लालपुर्जा दिए हुन्थ्यो। खानेपानीको पनि समस्या छ, त्यसलाई राम्रो बनाइदिए हुन्थ्यो।