(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
उनी हुन् प्रेमबहादुर कामी, उमेर ४० वर्ष। एक साताअघि डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका–७, साँदनीमा उनीसँग मेरो भेट भयो। उनी श्रीमतीका साथ वडा कार्यालय पुगेका थिए। श्रीमतीले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा काम रहिछन्। त्यही कामको पैसा लिन ‘खाता’ खोल्नपर्ने भएपछि श्रीमतीलाई लिएर वडा कार्यालय आएका रहेछन्।
वडा कार्यालयको बेन्चमा बसिरहेका उनीसँग हामीले कुराकानी गरेका छौं।
तपाईंको पहाडघर कता नि?
बझाङको बुंगलबमा हो। २१ वर्षअघि बसाइँ सरेर यहाँ आएका हौं। हामी सानै छँदा बुबा बिते, आमाले हुर्काइन्। जन्मथलो भए पनि त्यो दुर्गम पहाडमा गरीखान समस्या भएपछि भित्री मधेसमा आयौं। सुरूमा नयाँ ठाउँमा निकै कठिनाइ भोग्नुपरे पनि बिस्तार सहज हुँदै आयो। केही ऐलानी जग्गा जोरजाम गरेर खेती र घरबासको बन्दोबस्त मिलाएका छौं।
तपाईं के काम गर्नुहुन्छ?
म धेरै काम गर्छु। आरनको काम गर्छु। खेतीकिसानी गर्छु। गाउँमा पाएका बेला मजदुरी पनि गर्छु। कहिलेकाहीँ कमाउन भारततिर पनि जान्छु।
यी कामहरू गरेर जिन्दगी चलाउन सजिलो छ?
हाम्रा पुर्खा र बाउबाजेले आरनको काम गरे। हामीले पनि त्यही काम गरेर जीवन चलाउँदै आएका थियौं। अहिलेको आधुनिक जमानामा पैसा भए बजारमा सबै भाँडाकुडा किन्न मिल्ने भयो। आरनको काम कम भयो। अनि आरन बन्द छ।
खेतीपातीले वर्षभरि खाना पुग्दैन। जिन्दगी चलाउन सजिलो छैन। मलाई धेरै गाह्रो छ। मेरो १३ वर्षको कान्छो छोरो मुटु सम्बन्धी बिमारी छ। उसको उपचार गर्न मलाई पैसाको अभाव छ। यहाँ उपचार गर्न नसकेर उसलाई भारतका जेठा छोरासँग राखेर आएँ। जेठो छोरो होटलमा काम गर्छ।
कान्छा छोराको उपचार गर्न नसकेको पीरले मेरो भोक-निद्रा हराएको छ। घरमा माघदेखि उधारोमा चामल खाएका छौं, पाँच क्विन्टलको पैसा तिर्न बाँकी छ।
डाक्टरले छोराको उपचारमा कति पैसा लाग्छ भनेका छन्?
अझै पाँच सात लाख भारु लाग्छ भनेको छ। उपचारमा अहिलेसम्म आफन्तहरूले सहयोग गरेका छन्। पैसा जुटाउनै समस्या छ।
तपाईंलाई सबैभन्दा बढी मनपर्ने काम के हो?
मलाई त्यस्तो मनपर्ने खास केही पनि छैन।
किन त?
अहिले धेरै समस्यामा छु, छोरो बिमारी छ, उपचार गर्न सकेको छैन।
तपाईंलाई मनपर्ने काम कहिले गर्नुभएको थियो?
४० वर्षको उमेरसम्म आइपुग्दा मनपर्ने काम यही हो भनेर केही पनि गर्न पाएको छैन। रमाउने समय कहिल्यै पनि आएन। धेरै खुसी भएको र रमाएको सम्झना छैन।
तपाईंको मनपर्ने खाना के हो?
खाना सबै मनपर्छ। माछामासु पनि धेरै मन पर्छ तर मनपर्ने खाना पाउनै समस्या छ।
धेरै मनपर्ने खाना अन्तिमपटक कहिले खानुभएको थियो?
हामीलाई दालभात खान नै समस्या छ। माछामासु खाने त कहिलेकाहीँ हो, महिना दिनभन्दा धेरै पर्खिनुपर्छ। होटलतिर साथीभाइसँग भएका बेला कहिलेकाहीँ माछामासु पनि खाइन्छ। म आफूले मीठो खानेभन्दा पनि बालबच्चाले मीठो खान पाउने कुरा सोच्छु।
छोराछोरी कति जना छन्?
चार जना, तीन छोरा र एक छोरी छन्।
उनीहरू के के गर्छन्?
जेठा छोराले ८ कक्षासम्म पढ्यो, अहिले भारतमा होटलमा काम गर्छ। उसको बिहे भइसक्यो, नाति पनि छ। उसका परिवार उतै बस्छन्। माइलो घरमै छ, १० कक्षामा पढ्दै छ। कान्छो छोरो ७ कक्षामा पढ्थ्यो। बिमारी भएपछि पढाई छोड्नु पर्यो, जेठो दाइसँग भारतमा बस्छ। उसको उपचारका लागि महिनैपिच्छे पाँच हजार (रुपैयाँ) सकिन्छ। कान्छी छोरी ४ कक्षामा पढ्छे।
छोरीछोरीबाट कत्तिको सुख मिलेको छ?
छोराछोरी त अहिलेसम्म राम्रै लाइनमा छन्। घरमा पानी ल्याएर सहयोग गरेका छन्। दाउरा बनाउँछन्, घाँस काट्छन्। जेठो छोरो काम गर्न गइहाल्यो। कान्छो बिमारी छ, हामी सबैले उसलाई बचाउनु छ।
पढ्दै गरेका छोराछोरी के बनून् भन्ने चाहनुहुन्छ?
छोराछोरीको अवस्था मेरोजस्तो नहोओस्, उनीहरूको भविष्य राम्रो होओस् भन्ने चाहन्छु। उनीहरूलाई सक्षम बनून् भन्ने सोच्छु। एउटा छोरो आर्मी भएको हेर्न चाहन्छु।
पारिवारिक मेलमिलाप कस्तो छ?
अहिलेसम्मै सबै ठिक छ, त्यसमा केही पनि समस्या छैन।
तपाईंको स्वास्थ्य अवस्था कस्तो छ? निद्रा कत्तिको पर्छ?
हातगोडा दुख्छन्, कम्मर दुख्छ। हामी गाउँमा बस्ने मान्छे, ठूलो अस्पताल गएर उपचार गर्न सक्दैनौं। पहिला धेरै गाह्रो भएका बेला धनगढीसम्म पुगेको थिएँ। सेती अस्पतालमा सलाइन चढाएँ।
आजकाल कहिल्यै पनि राति निद्रा पर्दैन, रातभर छटपटी हुन्छ। एक घण्टाजति मात्रै निदाउँछु। कसरी निन्द्रा पर्छ र भन्या! छोराको अवस्था त्यस्तो (बिमारी) छ। निद्रा नलागेपछि केके सोच्दै बिँडी खाएर बस्छु।
राति मजाले निदाएको सम्झना छ?
पहिला आमाबुबासँग हुँदा धेरै निदाउँथेँ।
धेरै होइन, ठिकठिकै पैसा भए तपाईं के किन्नुहुन्थ्यो?
मलाई त्यस्तो केही किन्न मन छैन। मलाई भन्दा मेरा बालबच्चालाई किनिदिन पाएहुन्थ्यो जस्तो लाग्छ।
पछिल्लो पटक धेरै खुसी कहिले हुनुभएको थियो?
म जिन्दगीमा कहिल्यै पनि खुसी हुन पाएको छैन। जिन्दगीमा राम्रो कहिल्यै भएन। कहिले बच्चा बिरामी, कहिले आफू बिरामी! जिन्दगी यस्तै चल्दै छ।
तपाईंलाई जिन्दगीमा के कारणले साह्रै चित्त दुखेको छ?
छोरालाई मुटुसम्बन्धी बिमार छ भनेर सुन्दा साह्रै चित्त दुख्यो। त्यसपछि मलाई सधैं चिन्ता छ। बेलाबेला छोराको बिमारले झस्काउँछ। ऊ छिट्टै निको भएको देख्न मन छ। उसलाई सन्चो होओस् भनेर कामना गरिरहेको छु। उपचारका लागि पैसा जुटाउँदै छौं।
तपाईंलाई आफ्नो गाउँ समाज कस्तो लाग्छ?
गाउँ समाजको त के कुरा गर्ने! मुखले सबै रामराम गर्छन्, मनमनै अर्कै कुरा हुन्छ।
तपाईंलाई गाउँ समाजको के राम्रो लाग्छ, के नराम्रो लाग्छ?
आफ्नै बोली–भाषा राम्रो लाग्छ। कोही सहयोगी पनि छन्। नराम्रो रिस मान्ने, कुरा काट्ने र सहयोग नगर्ने कुरा नराम्रो लाग्छ।
देशको राजनीतिमा कत्तिको चासो छ?
राजनीतिबारे केही पनि थाहा छैन। मलाई आफ्नो घरपरिवारमा सुख भए पुग्थ्यो। राजनीतिबारे थाहा पाएर हुने पनि के हो र!
सरकारले के काम गरिदियोस् भन्ने सुझाव छ?
सरकारले जनतालाई हेर्नुपर्यो। किसानी गर्नेलाई सिँचाइ र मल दिनुपर्यो। किसानी गर्दा समस्या आएका बेला सहयोग गर्नुपर्यो। गरिबका समस्या बुझ्नुपर्यो।
हामी अहिलेसम्म खानेपानीका लागि दुई घण्टा हिँड्नुपर्छ, धेरै समस्या छ। खोलाको पानी बोकेर काम चलाउँछौं। खानेपानी घरघरमा पुर्याएको भए सुख हुन्थ्यो, सरकाले गर्दैन। वडा कार्यालय र नगरपालिकालाई भन्दाभन्दै थाकिसक्यौं।
देशका नेतामा को मन पर्छ?
कोही पनि मन पर्दैन, मनपर्ने काम अहिलेसम्म कसैले गरेका छैनन्। हाम्रो दुःख जहाँको तहीँ छ। कुनै पनि नेता हाम्रो दुःख बुझ्न आएका छैनन्। तिनलाई मन पराएर के गर्नु र!
गएको चुनावमा कसलाई भोट दिनुभएको थियो?
मैले एमाले, कांग्रेस, माओवादी सबैलाई भोट दिएको छु। २०७४ सालसम्म गाउँमा बाटो थिएन। बाटो पुग्यो। अहिले बिजुली पुर्याउने भनेर पोल गाडेका छन् तर पुगेको छैन। कोही नेता काम गर्ने खालका पनि छन्, धेरै चाहिँ मतलबी छन्। म त काम गर्नेलाई फेरि पनि दोहोर्याउनुपर्छ भन्छु।
आगामी चुनावमा कसलाई भोटदिनुहुन्छ?
२०७४ सालमा एमालेबाट वडा अध्यक्षमा जितेका केशव बोहरा उठ्नुभयो भने उहाँलाई दिन्छु। गाउँमा बाटो उहाँले नै पुर्याउनुभएको हो। घण्टेखोलाबाट घरघरमा खानेपानी पुर्याउने भन्नुभएको थियो। मेयर र उपमेयरमा सोचेर मात्रै भोट दिन्छु।
हुन त हाम्रो आश मात्रै हो। नेताहरू चुनाव जितेपछि हाम्रो भोट कहाँ याद गर्छन् र!