(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
सिरहाको लहान बजार, रमेश चोकस्थित सडक किनारमै आँप बेच्न बसेकी थिइन् उर्मिला राम। उनको घर सप्तरीको चकदह गाउँमा छ। उनलाई आफ्नो स्थानीय तहको नाम, वडा नम्बर केही पनि थाहा छैन। आफू अनपढ भएकाले केही थाहा नभएको उनले बताइन्।
उनै उर्मिला रामसँग गरेको कुराकानी :
कति उमेर पुग्नुभयो?
६० मा पाँच साल कम छ। गरिब छु, के गर्ने! चार जना छोराछोरी भए। बिरामी परेँ। समयमा खाना खान भ्याइनँ, त्यही भएर झन् बुढी देखिएकी छु।
सप्तरीबाट यहाँसम्म आँप कसरी ल्याउनुहुन्छ?
सिटी रिक्सामा भाडा तिरेर ल्याएँ। एउटा करेट (क्रेट) को ३० रुपैयाँ भाडा लियो। मेरो भाडा चालीस रुपैयाँ लियो। गाउँबाट यहाँसम्म आउन पौने एक घण्टा लाग्यो।
यसरी आँप बेच्न कहिलेदेखि थाल्नुभएको हो?
यसपालि आजै पहिले दिन लिएर आएकी हुँ। सिपिया, बमोई र लालगुलाब आँप छ।
तपाईंको कति खेतमा आँप बगैँचा छ?
अहिले त मेरो खेतै छैन। घरअगाडि दुरामा रोपेको बोटमा फलेको आँप बेच्न ल्याएकी छु। म एकदमै गरिब छु। पहिले तीन बिघा खेत थियो। बलान नदीमा बाढी आउँदा बगेर गयो। पहिलो पटक बाढी आउँदा ट्याक्टर, जेसिबी लगाएर बालुवा हटाएको थिएँ। धेरै खर्च भएको थियो। फेरि १२ वर्षअघि दोस्रो पटक पनि बगायो। पहिलोपल्ट बगाउँदा अलिकति खेत बाँकी थियो, दोस्रो पटकमा त सबै खेत खोलो भयो। आफ्नो खेत हुँदासम्म केही समस्या थिएन। खेतीपाती गरेर घरआश्रम राम्रो चल्थ्यो। खेत बगेपछि दुःखको दिन सुरू भयो। हाम्रो लागि सरकारले पनि केही गरिदिएन।
घरमा को को हुनुहुन्छ?
छोरा, बुहारी, श्रीमान, नातिनातिनी छन्। दुई जना छोरा अलग भइसकेका छन्। एक जना छोरा मसँगै बस्छन्। श्रीमान तीन सालदेखि बिरामी छन्। प्यारालाइसिस (पक्षाघात) भएको छ। उपचार गराउन पैसा छैन। श्रीमान दुखाइ सहन नसकेर छटपटाउँछन्।
छोराछोरीले कतिको हेरचाह गर्छन्?
सम्पत्ति भएको भए पो हेरचाह गर्थे! उनीहरू पनि दिनभर जनमजदुरीमा जान्छन्। कमाउन गएन भने खान पुग्दैन। उनीहरूले आफ्ना छोराछोरी हेरून् कि हामीलाई हेरून्! म पनि बिरामी छु तर काम नगरी हुँदैन।
छोराछोरीलाई पनि दुःखै छ। उनीहरू पनि सधैं काम पाउँदैनन्। ऋण लिएर छोरो तीन पटक विदेश गयो तर भाग्यले एकपटक पनि साथ दिएन। तीनैपटक फर्केर आयो। कमाइ भएन। कहिले कम्पनी टुट्यो त कहिले बिरामी पर्यो।
अहिले त आँप बेच्नुहुन्छ, आँप नहुँदा के गर्नुहुन्छ?
जनमजदुरीमा जान्छु। एक दिन काम गर्दा १० किलो धान र दुई सय रूपैयाँ दिन्छ। बिहान ८ बजे जान्छु बेलुकी सात बजेतिर फर्किन्छु। जे काम गिरहत (मालिक) ले भन्छ त्यहीँ काम गर्नुपर्छ। तीन वटा बाख्रा पनि पालेकी छु।
तपाईंको स्वास्थ्य कस्तो छ?
मलाई पनि बेमार छ। मेरो हार्ट (मुटु) मा समस्या छ। विराटनगरको नोबेल हस्पिटलबाट दबाई खान्छु। चार वर्षदेखि मलाई बेमार भएको छ। मजदुरीको पैसाबाट दबाई गराउँछु। दबाई किन्न पनि सधैं पैसा पुग्दैन। गरिब जिन्दगी पनि कहीँ जिन्दगी हुन्छ!
राति कत्तिको निदाउनुहुन्छ?
धेरै काम गरेर आएको दिन थकाइ पनि धेरै भएको हुन्छ। राति मजाले सुत्छु। कहिलेकाहीँ आफ्नो दुःख र श्रीमानको पनि दुःख हेरेर धेरै टेन्सन (तनाव) हुन्छ। फेरि ऋणमहाजन पनि छ। टेन्सनले निद्रै आइरहेको हुँदैन कहिलेकाहीँ।
मनोरञ्जन गर्न मन लाग्दा के गर्नुहुन्छ?
पैसा नै छैन के मनोरञ्जन गर्नु! केही पनि गर्दिनँ। दिनभर मजदुरी गर्छु, खान्छु। पुँजी भएपछि न केही गर्नु! गाउँमा मान्छेहरूलाई देख्छु, कोही बाबाधाम जान्छन्, कोही रङबिरङका खानेकुरा खान्छन्, छोराछोरी पढाउँछन्। मन त मलाई पनि हुन्छ तर पैसै छैन।
तपाईंले छोराछोरी, नातिनातिनी पढाउनुभएन?
छोराछोरीलाई धेरै पढाउन सकिनँ। कोही ६ कक्षा, कोही ७ कक्षा पढेका छन्। नातिनातिनी स्कुल त जान्छन् तर सरकारी स्कुलमा पढाइ नै हुँदैन, दिनभर खेलेर बस्छन्।
एक जना नातिलाई बोर्डिङ (निजी स्कुल) मा पढाउँछु तर पैसा तिर्न नसक्दा उसलाई स्कुलमा पिटेको छ। स्कुलले घरबाट पैसा मागेर ले भन्छ। हाम्रो कमाइ छैन। स्कुलले भनेका बेला तिर्न सकिँदैन।
तपाईंलाई के खान सबैभन्दा धेरै मनपर्छ?
पैसा हुँदा न मन परेको खाना खाने! खसीको मासु र भात खान मन गर्छ।
खसीको मासु कहिले खानुभएको थियो?
चैत महिनामा छोराले एक किलो मासु ल्याएका थिए। हाम्रो त १० जनाको आश्रम छ। एकदुई पिस (टुक्रा) पुग्यो।
परिवारमा कतिको मेलमिलाप हुन्छ?
मेलमिलाप पनि हुन्छ, कहिलेकाहीँ झगडा पनि हुन्छ। घरमा १० जना भएपछि सधैं एकैनास हुँदैन।
तपाईंको हातमा ठिक्कको पैसा आयो भने के किन्न मन छ?
पुँजी भयो भने छोरालाई फेरि विदेश पठाउँछु। उसलाई कमाउन पुँजी बनाइदिन्छु। कमाएपछि उसले पनि खान्छ, मलाई पनि खुवाउँछ। गाईभैँसी पनि पाल्थेँ। दुध खान्थेँ।
अन्तिमपटक कहिले धेरै खुसी हुनुभएको थियो?
जहिले धेरै सम्पत्ति थियो, खेत थियो उहिलेसम्म सधैं खुसी थिएँ। सम्पत्ति (खेत) बगेर गएपछि दुःखैदुःख भयो।
तपाईंको जिन्दगीको सबैभन्दा ठूलो दुःखको दिन कुन थियो?
मेरा श्रीमानलाई प्यारालाइसिस भयो। त्यही बेला मेरो मुटुमा पनि समस्या भयो। दुबैजना एकैपटक विराटनगर गएर अस्पताल भर्ना हुनुपर्यो। श्रीमान मूर्ति बनाउने काम गर्नुहुन्थ्यो। काम गर्दागर्दै एक्कासि प्यारालाइसिस भयो। दुबै जना बिराम परेपछि हाम्रो दुःखको दिन सुरू भयो।
यस्तो भइदिए हुन्थ्यो भने तपाईंको मन पिरोलिरहेको केही कुरा छ कि?
दिमागमा धेरै कुरा खेलिरहेको हुन्छ। मेरो खेत खोलाले नबगाएको भए खेती गर्थें। अझै धेरै खेत किन्थेँ। श्रीमानको उपचार गराउँथेँ। छोरा पनि पढाउँथेँ।
तपाईंको गाउँटोल र समाज कस्तो लाग्छ?
धेरै राम्रो लाग्छ। मलाई गाउँको बसै कुरा ठिक लाग्छ। सबै मिलेर बसेका छन्।
राजनीति कतिको बुझ्नुहुन्छ नि?
म त केही पनि बुझ्दिनँ। गाउँमा धनी मानिसहरू छन्, राजनीतिमा उनीहरू नै छन्। हाम्रो गाउँको बनिया र यादवहरू राजनीतिमा छन्। हामी त दलित हो। हामीलाई कसैले केही पनि सहयोग गर्दैन।
तपाईंलाई सबैभन्दा धेरै मन पर्ने नेता को हो?
सिके राउत।
किन मन पर्छ उहाँ ?
सुन्छु, गरिबका लागि सबैभन्दा राम्रा नेता सिके राउत हुन्। बिरामी पर्दा सहयोग गर्छन् भनेको सुनेकी छु। चुनावमा हामीले पनि उनको जयजयकार गरेका थियौं। अरू पार्टीले दारु र मासु खुवाउँछ, साडी दिन्छु भनेर भोट लिन्छ र गइहाल्छ। उनीहरू काम गर्दैनन्। सिके राउत गरिबहरूको नेता हो। मैले भोटको बेला उनलाई माला पनि पहिराएको थिएँ।
अनि सिके राउत आउँछन् त?
कहिलेकाहीँ हाम्रो गाउँतिर आउँछन्।
के काम गरिदिएका छन् उनले?
सिके राउतलाई हामी देउता मान्छौं। उनी गरिबको हकमा छन्। सुविधा कहिले दिन्छन्, हेरौं! अहिलेसम्म काम त केही गरेको छैन तर उनैले काम गर्छन्। अरू नेताहरू त भोट मात्रै लिन्छन्।
सरकारले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ?
खोलाले हाम्रो खेत बगाइदिएको छ, सरकारले हामीलाई खेत दियोस्। बिजनेस–व्यापार गर्न पुँजी दियोस्। सरकारी स्कुलमा पढाइ हुँदैन, बोर्डिङमा धेरै पैसा लाग्छ, तिर्न सकेको छैन। सरकारी स्कुलमा राम्रो पढाइ भए हुन्थ्यो।
सरकारले गाउँमा सडक बनाइदिनुपर्छ। मेरो घरमा खरको छानो छ, वर्षा हुँदा चुहिन्छ। जस्ताको छानो भएदिए हुन्थ्यो जस्तो लाग्छ।