दाङ तुलसीपुर उपमहानगरपालिका–१३, दमारगाउँ निवासी ३१ वर्षीया अनिष्मा योगी गृहिणी हुन्। उनी दुई सन्तानकी आमा हुन्। उनका श्रीमान कामका लागि विदेशमा छन्। आज उनै अनिष्मासँगको कुराकानी प्रस्तुत गरेका छौं।
नमस्कार, के छ हालखबर?
नमस्कार, सञ्चै छ। आजभोलि त गर्मीले हैरान पारेको छ।
के काम गर्नुहुन्छ?
केही गर्दिनँ। म गृहिणी हुँ। भातभान्सा गर्ने, बच्चाबच्चीलाई पढ्न पठाउने, लुगाकपडा धुने, घरको काम गर्ने, त्यही हो।
भातभान्सा गर्नु र लुगाकपडा धुनुलाई तपाईं काम मान्नुहुन्न?
त्यो पनि काम त हो तर कसैले त्यसलाई काम मान्दैन। अनि मैले मात्रै किन भनूँ भनेर हो। चिनेजानेकाले र छरछिमेकीले मलाई ‘तिमी त भाग्यमानी छौ। काम नै के छ र, भातभान्सा गर्यो, आफ्नो मर्जीले लत्ताकपडा धोयो अनि आनन्दले बस्यो, खायो’ भन्छन्।
घरमा को को हुनुहुन्छ?
१४ वर्षको छोरो पृथ्वी, १० वर्षकी छोरी स्वस्तिका, श्रीमान् थम्मास्वर योगी र ७४ वर्षकी सासूआमा हुनुहुन्छ मनादेवी कँवर।
सासूआमाको स्वास्थ्य कस्तो छ?
उहाँ दम र प्रेसरको औषधि खानुहुन्छ तर निकै हिम्मतिली हुनुहुन्छ। हामीलाई आँटभरोसा दिइरहनुहुन्छ।
तपाईंले कति पढ्नुभएको छ?
मैले तुलसीपुरकै ज्ञानज्योतिबाट १२ कक्षा उत्तीर्ण गरेकी छु। मेरो माइतीघर घोराही हो।
थप पढ्न मन लागेन?
बिहे भएपछि बच्चा जन्मियो अनि घर व्यवहारमा परेपछि पढाइ छुट्यो। बिहेपछि महिलाको पढाइमा लगभग ब्रेक लाग्दोरहेछ। आफूभन्दा पनि श्रीमान र छोराछोरीका लागि सोच्नुपर्ने समय आउँदो रहेछ। बिहेपछि गरिब र मध्यमवर्गका महिलालाई पढाइ अघि बढाउन मुस्किल हुँदोरहेछ।
तपाईंका श्रीमान के गर्नुहुन्छ?
विदेश (दुबई) गएको ६ महिना जति भयो।
तपाईंको जग्गाजमिन, सम्पत्ति कति छ?
सम्पत्ति भइदिएको भए श्रीमान किन विदेश जानुहुन्थ्यो होला र! हाम्रो सम्पत्ति थोरै छ। त्यही हो, १५–१६ कठ्ठा जति जग्गा छ।
जग्गामा कसले खेती लगाउँछ?
हामी आफै लगाउँछौं। यो ठाउँमा अधियाँमा खेती लगाउने मानिस पाइँदैनन्। युवा जति सबै विदेशमा छन्। अर्काको खेती कसले गर्छ र! पोहोरसम्म श्रीमान हुनुहुन्थ्यो, सजिलो थियो। यसपालि सासूआमाले हामी आफैले खेती लगाउनुपर्छ भन्नुभएको छ। फुर्सदमा केटाकेटी पनि सघाउँछन्। जग्गा बाँझै छोड्नु भएन। बरू गाउँघरमा पाइएछ भने जोत्नका लागि ट्याक्टर प्रयोग गरौंला भनेका छौं।
रातिमा निद्रा लाग्छ?
लाग्छ, मिठो निद्रा लाग्छ।
कुनै स्वास्थ्य समस्या छ कि छैन?
आजसम्म कुनै किसिमको पनि स्वास्थ्य समस्या छैन।
तपाईंलाई मनपर्ने खाना के हो?
मासुभात।
पछिल्लो समय मनपर्ने खाना कहिले खानुभएको थियो?
दसैंमा, आफन्तहरू जम्मा भएर रमाइलो गर्दै खाएको खाना मलाई निकै मिठो लागेको थियो।
जीवनको खुसीको पल सम्झिनुहुन्छ?
म सधैं खुसी हुन्छु। म सधैं सकारात्मक सोच्छु।
दुःखको पल केही छ कि?
अहिलेसम्म मैले त्यस्तो दुःखको सामना गर्नुपरेको छैन। भविष्यमा आए छ भने मात्रै, नत्र छैन।
यति बेला तपाईंसँग ठिक्कको पैसा भइदिए के गर्थें भन्ने लाग्छ?
म व्यापार गर्ने थिएँ । म ब्युटिसियन हुँ। सीप सिकेको ६ महिनाजति भयो। पैसा भए ब्युटिसियन सम्बन्धी पसल सुरू गर्ने थिएँ।
ब्युटिसियन तालिम लिन कति खर्च लाग्यो?
३० हजार (रूपैयाँ)।
तपाईंको मनमा गढेर रहेको केही कुरा छ कि?
त्यस्तो केही पनि छैन। भनेको जस्तै जोडा पाएकी छु। यति भए के चाहियो र! त्यसमाथि दुई जना प्यारा सन्तान छन्।
जस्तो कि गाउँबाट बजारतिर सर्ने, घरघडेरी किन्ने यस्तै केही सपना हुन्छ नि कति मानिसको?
नाइँ, मलाई गाउँ नै राम्रो लाग्छ। बजारदेखि १४ किलोमिटर दक्षिणमा भए पनि हाम्रो घर बाटोनजिक छ। बत्ती र पानीको सुविधा छँदै छ। किन बजारमा घर चाहियो र!
तपाईंलाई आफ्नो समाज कस्तो लाग्छ?
हाम्रो समाज सहयोगी छ। परेका बेला आपसमा सहयोग लिनुदिनु नै समाजको अर्को नाम हो भन्ने मलाई लाग्छ।
देशको राजनीति कस्तो लाग्छ?
मलाई त राजनीति मन पर्दैन, फोहोरी खेलजस्तै लाग्छ। आफू पदमा भए सबै ठिक, नत्र सबै बेठिक हुने! अहिले त राजनीतिमा यस्तै प्रवृत्ति हाबी भएको छ। देशको राजनीति देखेर दिक्क लाग्छ।
तपाईंलाई अहिलेका नेतामा को मनपर्छ ?
अहिले त मलाई कुनै नेता मन पर्दैन।
चुनावमा भोट दिनुभएको छ?
दिएकी छु। श्रीमानको आग्रहमा धेरैपटक सूर्यमा भोट दिएँ।
यति बेला चुनाव हुने हो भने कसलाई भोट दिनुहुन्छ होला?
अब त राम्रो व्यक्तिलाई दिन्छु।
हाम्रो सरकार कस्तो भइदिए हुन्थ्यो?
सरकारले साँझबिहान घरगृहस्थी चलाएर बस्ने र दिउँसोमा फुर्सद हुने हामीजस्ता महिला दिदीबहिनीका लागि सीपमूलक कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिदिए हुन्थ्यो भन्ने लाग्छ।फुर्सदको समयमा घरमै बसेर पनि गर्न सक्ने कामको सीप भए झन् राम्रो हुन्छ। टेलरिङ, ब्युटिसियन र यस्तै अन्य सीप सिकाइदिए राम्रो हुने थियो। सबै गृहिणीहरूलाई सीप सिकाउनुपर्छ।