(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
तिलकुमारी लामिछाने पाल्पाको तिनाउ गाउँपालिका–६, जन्तिलुङमा सामुदायिक होमस्टे चलाउँछिन्। उनी ४५ वर्षकी भइन्। हामी उनलाई भेट्न पुग्दा होमस्टेमा आएका पाहुनाहरूलाई खाना बनाउँदै थिइन्। पाहुनालाई हाँसेर स्वागत गर्ने उनै तिलकुमारीसँग हामीले कुरा गरेका छौं।
होमस्टे चलाउनुभएको रहेछ, कस्तो चलेको छ?
ठिकै चलेको छ। शुक्रबार र शनिबार अलिक धेरै पाहुना आउनुहुन्छ। अरू दिन पनि आइरहनुहुन्छ। वर्षका दुई तीन महिनाबाहेक अरू महिना कुनै दिन पनि खासै खाली बस्नु पर्दैन।
कति वर्ष भयो होमस्टे चलाएको?
चलाउन थालेको त २०७४ सालमा हो। अलि व्यवस्थित गरेको तीन वर्ष भयो।
तपाईंलाई सबैभन्दा रमाइलो केमा लाग्छ?
मलाई त होमस्टेमा पाहुना आउँदा धेरै रमाइलो लाग्छ नि।
पाहुना धेरै हुँदा धेरै काम गर्नुपर्छ, हैन र?
काम नगरी खान कसलाई पुग्छ र! पेसा नै यस्तो भएपछि काम त गर्नै पर्छ। धेरै ठाउँका पाहुना आउँदा मेरो व्यापार राम्रो हुन्छ, उहाँहरूसँग चिनजान पनि हुन्छ। हामी त गाउँ छोडेर बाहिर कतै जान पाएका हुँदैनौं, पाहुनाहरूबाटै धेरै ठाउँको जानकारी पाउँछौं।
फुर्सदका बेला सिनेमा हेर्ने, नाचगान गर्ने कत्तिको गर्नुहुन्छ?
सिनेमा त धेरै हेर्दिनँ। नाचगान गर्न रमाइलो लाग्छ। पहिले त नाचगान धेरै गरिन्थ्यो, अहिले फुर्सद पनि हुँदैन। होमस्टेमा कहिलेकाहीँ पाहुनाहरूलाई सांस्कृतिक कार्यक्रम देखाउँछौं।
तपाईंलाई के खानेकुरा बढी मन पर्छ?
मलाई त सबैभन्दा बढी अनार मन पर्छ। अनारमा आइरन धेरै पाइन्छ, म खाइरहन्छु। गाउँघरमा त अनार पाइँदैन, बजारतिर गएका बेला किनेर ल्याउँछु।
घरमा को को हुनुहुन्छ?
श्रीमान लालबहादुर लामिछाने भारतीय सेनाबाट रिटायर्ड (सेवनिवृत्त) भएर आउनुभएको आठ वर्ष भयो। तीन छोरी र एक छोरा छन्। बुढाले छोरो खोज्नुभयो, छोरो पाउने सुरमा चारजना छोराछोरी भए।
छोराछोरीबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ, कत्तिको सुख मिलेको छ?
आफैले जन्माएका हुन्, सन्तुष्ट त हुनैपर्यो। कहिल्यै दुःख दिएका छैनन्। पढेर माथिमाथि पुग्दा धेरै खर्च लाग्ने रहेछ, पैसा पुर्याउन नसकिने। जेठी छोरीको बिहे भएर नाति जन्मेको छ। माइली छोरी नेपाली सेनामा छिन्। कान्छी छोरी ब्याचलर (स्नातक) पढ्दै छिन्, कोरियन भाषा पनि कक्षा पढ्दै छिन्। छोरो सबैभन्दा कान्छो हो, ऊ पनि ब्याचलर पढ्दै छ।
परिवारमा मेलमिलाप कस्तो छ?
धेरै राम्रो मेलमिलाप छ। हामी त देवर-देवरानी सबै सँगै बसेका छौं। देवर शिक्षक हुनुहुन्छ। हामी बुढाबुढी र देवरानी मिलेर खेतीपाती लगाउँछौं, होमस्टे चलाउँछौं। देवर-देवरानीका पनि दुई छोरी र एक छोरा छन्। छोराछोरी पनि मिलेर खेल्छन्, पढ्छन्।
तपाईंको स्वास्थ्य कस्तो छ?
स्वास्थ्य त अहिलेसम्म ठिकै छ, कुनै समस्या देखिएको छैन। अहिलेसम्म कुनै औषधि खाएको छैन।
निद्रा कत्तिको लाग्छ?
गएको पुसमाघतिर दुई तीन महिना निद्रा लागेन। शरीरमा सन्चो नलागेर हो कि किन हो। अहिले त ठिकै छ, राम्ररी निद्रा परेको छ।
निद्रा नपरेको समयमा मनमा केही चिन्ता परेको थियो कि, डाक्टरलाई जँचाउनुभएन?
जँचाउन गइनँ। त्यसै मन अत्तालिएजस्तो हुने, छटपटी हुने भयो दुई तीन महिनाजति। अहिले त ठिक छ, निद्रा लाग्न थालेको छ।
तपाईंलाई ठिक्क पैसामा यो किन्न पाए हुन्थ्यो भन्ने केही छ?
मलाई त जति पनि पुगेको छ। अब घरले जा जा, वनले आइज आइज भन्ने बेलामा के किन्न मन हुने हो र! पैसा भए छोराछोरीलाई नै किनिदिन हुन्थ्यो।
एक दुई सन्तान भए पो थोरैले पनि पुग्थ्यो, चारजना छोराछोरी छन्। एउटालाई एक हजारको किनिदिए पनि चार जनालाई चार हजार चाहिन्छ। जति कमाए पनि उनीहरूलाई नै पुग्दैन। हाम्रो स्रोतले त नपुग्ने रहेछ। सानो छँदा त जसोतसो हुर्काइयो, अहिले धेरै गाह्रो भएको छ।
तपाईं सबैभन्दा धेरै खुसी भएको क्षण कहिले थियो, सम्झिनुहुन्छ?
खुसी त तरुनीबेला भइयो नि! (केही बेर हाँसोको फोहरा छुट्छ, सँगै भएका श्रीमान् र देवरानी समेत हाँस्छन्)। साथीहरूसँग धेरै नाचगान गरिन्थ्यो। मेलापर्व आयो कि साथीहरू मिलेर कहिले कसको घरमा त कहिले कसको घरमा नाचगान गरिन्थ्यो।
तरुनी बेला कस्ता गीत गाउनुहुन्थ्यो?
दोहोरी गाउँथ्यौं, झ्याउरे भाका पनि गाउँथ्यौं। आजभोलि त सबै बिर्सियो।
तपाईंलाई सबैभन्दा धेरै चित्त दुखेको कहिले थियो?
छोराछोरी हुर्काउने बेला धेरै दुःख भयो। घर र खेत टाढा थियो। नानी च्यापेर बिहान खेतमा गयो, घर आउँदा राति हुन्थ्यो। श्रीमान पल्टनमा, एकैनासका चार जना छोराछोरीसँग घरखेत गर्दा धेरै दुःख भयो। नरोएको दिन हुँदैनथ्यो। मनमा साह्रै दुःख लागेपछि रून आउने रहेछ। त्यति बेलाको हेर्दा त अहिले धेरै सुख छ।
तपाईंको मनमा यस्तो भएको भए हुन्थ्यो भनेर पिरोलो परेको केही छ?
मनमा त्यस्तो पीर त छैन तर छोराछोरीलाई राम्रोसँग पढाएर बिहेदान गरिदिन पाए हुन्थ्यो भन्ने चाहना छ। होमस्टेमा अझै कोठा थप्न र व्यवस्थित बनाउन सके धेरै पाहुना बस्न मिल्थ्यो। कमाइ पनि धेरै हुन्थ्यो। अहिले त आम्दानी भए जति सबै खर्च हुन्छ। बचत भयो भने लगानी गर्न पनि आँट आउँथ्यो।
तपाईंलाई टोल समाज कस्तो लाग्छ?
धेरै राम्रो छ, हाम्रो टोल समाजमा त सबै मिलेर बसेका छौं।
टोल समाजको सबैभन्दा मनपर्ने कुरा के हो?
एकअर्कालाई अप्ठ्यारो पर्दा सहयोग गर्ने कुरा मन पर्छ। हामी त सामुदायिक होमस्टे चलाएर बसेका छौं। सबै लेनदेन साटासाट गर्छौं।
मन नपर्ने कुरा?
मन नपर्ने त्यस्तो केही पनि छैन। एकअर्काको कुरा काट्ने बानी नभए हुन्थ्यो भन्ने लाग्छ।
तपाईंलाई नेपालको राजनीतिबारे कत्तिको थाहा छ? राजनीति ठिकसँग चलेको जस्तो लाग्छ?
मलाई त राजनीतिबारे केही पनि थाहा छैन। स्कुल पढ्न पनि पाइएन। त्यतिबेला गाउँमा छोरीलाई पढाउने चलन नै थिएन। बुबाआमाले पढाउनुभएन। बिहे भएपछि प्रौढशिक्षा पढेर आफ्नो नामसम्म लेख्ने सक्ने भएँ।
नपढेको मान्छेले राजनीति कहाँबाट जान्नु! केही थाहा छैन। घरकै काममा धुनिखुनी गर्छु।
गएको चुनावमा कसलाई भोट दिनुभयो?
भोट त रूखमा हालेको हो। घरका मान्छेले कांग्रेसलाई रूखमा भोट दिने हो भन्नुभयो, त्यसैमा हालेको हो।
अहिले चुनाव भयो भने कसलाई भोट दिनुहुन्छ?
खोइ! बुढाले जसलाई भन्नुहुन्छ उसैलाई दिने नि! बुढाले भनेभन्दा यताउता गर्न भएन। अहिलेसम्म जे भन्नुभयो, सबै मानेर आइयो अब पनि यताउता नगर्ने।
सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
सरकारले त के गर्ने हो र! यहाँ आउने बाटो अप्ठ्यारो छ, बाटो बनाइदिए हुन्थ्यो। यहाँ आउने सबै पाहुनाले कति अप्ठ्यारो बाटो रहेछ भन्नुहुन्छ। बाटो राम्रो भए पाहुना धेरै आउनुहुन्थ्यो। हाम्रो आम्दानी बढ्थ्यो।