(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
५२ वर्षीय ईश्वरीप्रसाद बुढाको जन्म सल्यानको कपुरकोट गाउँपालिका- ३ मा भयो। उनको परिवार दाङको साबिक हलवार गाविस– ८ र हालको तुलसीपुर उपमहानगरपालिका–४ खाद्रे दुवैतिर बस्थ्यो। दाङ–सल्यान आउजाउ गरिरहने भए पनि ईश्वरीको बाल्यकाल र पठनपाठन खाद्रेमै भयो।
कुवेतमा बस्दै आएका ईश्वरी दुई महिना पहिले मात्रै फर्केका हुन्। उनी फेरि कुवेत जाँदै छन्। उनै ईश्वरीसँगको भलाकुसारी:
के छ खबर, कस्तो छ तपाईंलाई?
ठिकै छ। म विदेशबाट आएको दुई महिना मात्रै भएको छ। नयाँ घर बनाउँदै छु। आजकल दिन त्यसैमा बित्छ।
तपाईंको परिवारमा को–को हुनुहुन्छ?
म, ४६ वर्षकी श्रीमती माया र २४ वर्षीया छोरी मेघासँगै कुवेतमा बस्छौं। ६/ ७ वर्ष भयो कुवेत बस्न थालेको। बुवा आमबहादुर म १४ वर्ष छँदै बित्नु भएको थियो। आमा भागी २ वर्ष पहिले बित्नु भो। म परिवारको काइँलो हुँ। पाँच भाइमध्ये जेठा दाजु नन्दबहादुर बितिसक्नुभो। साइँलो दाजु हरि र कान्छो भाइ भुम कुवेतमा छन्। माइलो दाजु बलसिंह खाद्रे गाउँमै खेती किसानी गर्नुहुन्छ।
तपाईंहरू स-परिवार कसरी कुवेत पुग्नु भो?
हामी मुम्बै बस्थ्यौं। डुबेर छोराको मृत्यु भएपछि मुम्बैमा मन बसेन। बुढी र छोरी रोएको रोयै। उनीहरूलाई भुलाउन पनि नयाँ ठाउँ लैजानु पर्छ भन्ने लागेर कुवेतको प्रोसेस गरेका थियौं। सफल भएपछि उतै लाग्यौं।
कुवेतमा के के गर्नु भयो/ अहिले के गर्नु हुन्छ नि?
सन् २०१८ मा कुवेत गएपछि डान्स सिकाउने काम गरेँ। राम्रै चलेको थियो। तर, कोरोना कालमा सबै भताभुङ्ग भयो। पछिल्लो समय श्रीमती माया र छोरी मेघा ब्युटी पार्लर चलाउँछन्। म व्यवस्थापनको काम गर्छु। आवश्यक सरसामान जुटाउने मेरो जिम्मेवारी हुन्छ। हाम्रोमा लेडिज सलुनको काम पनि हुन्छ।
ब्युटीपार्लर राम्रै चलेको छ?
राम्रो छ। कम भएको महिनामा पनि नेपाली ६/७ लाख कमाइ हुन्छ। सिजनमा त्यसको दोब्बर।
मुम्बई पुग्नुभन्दा पहिले तपाईं के गर्नुहुन्थ्यो? कसरी मुम्बई पुग्नु भो?
मैले गाउँकै जनश्रम मावि खाद्रेबाट २०४६ सालमा एसएलसी उत्तीर्ण गरेको हुँ। त्यसपछि पशुपति बहुमुखी क्याम्पस चाबहिलमा पढ्न भर्ना भएँ। द्वितीय वर्ष पढ्दै थिएँ। २०५१ सालमा निर्वाचन थियो। चुनावमा म गाउँ आएको थिएँ। म उतिखेर गाउँको चल्ता पूर्तावाला युवा! गाउँमा भएको विवादपछि म भागेर मुम्बई जान बाध्य भएँ। पढाइ बीचमै छुट्यो।
मुम्बई गएपछि के काम गर्नुभो?
सुरूमा केनगर्ने भन्ने अलमल थियो। गाउँकै केही मानिसहरू त्यहाँ भेटिए। अनि मैले डान्स सिक्न थालेँ। ६ वर्ष डान्स सिकेपछि म डान्स मास्टर अर्थात् कोरियोग्राफर बनेको थिएँ।
तपाईंले कुनै गीत वा चलचित्रमा काम गर्नु भयो कि?
भारतीय चलचित्र देवदासमा मैले काम गरेको हुँ। त्यतिखेर भारू ३२ हजार कमाएको थिएँ। मैले काम गरेको अर्को ‘शिकार’ चलचित्र रिलिज नै भएन। गीतहरूका पनि काम गरेको छु। एक दुई वटा नेपाली लोक दोहोरी गीतमा पनि काम गरेको छु।
नेपाली चलचित्रका नायकमध्ये तपाईंलाई कसको नृत्य मन पर्छ?
श्रीकृष्ण श्रेष्ठको खुबै मन पर्थ्यो। त्यसपछि दिलिप रायमाझीको पनि राम्रै लाग्छ।
तपाईंलाई कुन गीत बजेको सुन्दा नाचु नाचु लाग्छ?
हिन्दी गीत –लुङ्गी डान्स। मलाई केही नेपाली लोक दोहरी र चलचित्रका गीतहरू सुन्दा पनि त्यस्तै हुन्छ।
तपाईं साह्रै खुसी भएको कहिले हो?
मुम्बईमा मायासँग बिहे हुँदा। उनी पनि मेरै गाउँकी हुन्। लाहुरेकी छोरी। उतै प्रेम बस्यो अनि हामीले बिहे गरेका थियौं।
तपाईं साह्रै दुःखी भएको क्षण?
लाउँलाउँ खाउँखाउँ उमेरको १५ वर्षे छोरा मुम्बैको एउटा तालमा डुबेर बित्दा सम्हालिन गाह्रो भएको यियो। त्यो दिन म र मेरो परिवारका लागि ‘कालो दिन’ थियो। सात वर्ष पहिले भारतको मुम्बैमा मेरो १५ वर्षीय छोरा ध्रुव तलाउमा डुबेर बितेको थियो। तलाउमा नुहाउने क्रममा मेरो छोरासँगै उसको साथीको पनि मृत्यु भएको थियो। त्यो घटना म र मेरो परिवार तथा आफन्तका लागि निकै गाह्रो क्षण थियो।
पैसा भए के गर्थें भन्ने लाग्छ?
म त समाज सेवामा खर्चिन्थेँ। दुःखी, गरिबलाई सेवा गर्थेँ। वृद्धा आश्रममा सहयोग गर्थेँ। गरिबका बालबालिका पढाउँथे। कुनै बच्चा पनि अनपढ नहून् भन्ने मेरो चाहना छ। पढ्न एकदमै जरूरी छ। विदेशमा त्यही भएर नेपालीले दुःख पाउनु परेको हो।
के कुवेतमा नेपालीले दुःख पाएको देख्नु भो?
कुवेतमा अधिकांश नेपालीको अवस्था ठिक छैन। काम धेरै गर्नुपर्छ, पैसा थोरै मिल्छ। बाबु आमा मर्दा पनि घर आउन नपाएका कतिले दुःख पोख्थे। अर्काको देश न हो आफ्नो जस्तो कहाँ हुन्छ? बिरामी हुँदा पनि काम गर्नैपर्छ। कुवेतको राजदूतावासले पनि नेपालीका लागि राम्रो गर्न सकेको छैन।
नेपाली समाज कस्तो लाग्छ?
मलाई हाम्रो समाज विशिष्ट प्रकारको लाग्छ। हामीमा एकअर्काको विश्वास गर्ने चलन छ। हाम्रो समाज दयालु पनि उत्तिकै छ। यहाँ (गाउँमा) भोकै कोही मर्दैन। गाउँघरमा ऐंचोपैंचो चल्छ। काममा पनि त्यस्तै साटफेर हुन्छ। इष्टमित्र गतिला परे झनै सहज हुन्छ। विदेशमा कसैलाई कसैको मतलब हुँदैन।
तपाईंलाई मनपर्ने खाना के हो नि?
पहिला आमाले पकाएको दाल भात तरकारी, सिन्की खुबै मिठो लाग्थ्यो। अचेल श्रीमतीले पकाएको खाना। कुवेतमा मायाले नभ्याउने भएकाले खाना बनाउने मान्छे छुट्टै राखेकी छन्। तर उनले दाल, भात र गोलभेडाको चट्नी बनाउने दिन त म पाँच तारे होटलको खाना पनि त्यागेर घरकै खान्छु। मायाले पकाएको खाना मिठो लाग्छ।
तपाईंलाई रातिमा निद्रा लाग्छ?
मिठो निद्रा लाग्छ। म बितेको कुरा र असम्भव कुरामा कुनै पनि तनाव लिँदिनँ।
तपाईंलाई सबभन्दा बढी के गर्न मनपर्छ?
डान्स गर्न र एक्टिङ गर्न। मनमा कुनै एउटा फिल्म बनाउन पाए हुन्थ्यो भन्ने छ।
नयाँ घर बनाउँदै छु भन्नु हुन्थ्यो, कहाँ बनाउँदै हुनुहुन्छ?
आफ्नै गाउँ ठाउँमा। तुलसीपुर उपमहानगरपालिका– ७ पर्सेनीमा नयाँ घर बनाउँदै छु। यो मेरो गाउँदेखि थोरै दक्षिणमा पर्छ। त्यसैका लागि म यहाँ दुई महिनादेखि बसिरहेको छु।
तपाईं सपरिवार कुवेत बस्ने मान्छे, फेरि यहाँ किन घर बनाउँदै हुनुहुन्छ?
हैन, जति सक्यो छिटो हामी स्वदेश फर्किने योजनामा छौं। विदेश त सीप सिक्न र पैसा कमाउनलाई मात्रै जाने हो। आफूले बाल्यकाल बिताएको ठाउँ, आफ्नो रहनसहन, संस्कृति र परम्परा कसैले भुल्नु हुँदैन भन्ने मलाई लाग्छ।
आफ्नै देश फर्केर के गर्छु भन्ने छ?
बाँच्नका लागि केही काम त गर्नैपर्छ। हेरौं, त्यतिखेर कृषि हुन्छ कि व्यापार! त्यस्तै केही गर्नु पर्ला। म सक्दो समाज सेवा पनि जारी नै राख्ने छु।
कहिल्यै भोट हाल्नु भएको छ?
२०४७ सालको आम निर्वाचनमा भोट हालेको हुँ। २०५१ मा पनि हालेँ। दुवैपटक नेपाली कांग्रेसलाई भोट दिएँ। गएको आम निर्वाचनमा मतदान सकिएको दोस्रो दिन मात्रै नेपाल आइपुगेको थिएँ।
यतिखेर निर्वाचन भए कसलाई भोट दिनुहुन्छ?
हेर्नुस्, म आस्था बदल्न सक्दिनँ। म नेपाली कांग्रेसलाई नै भोट हाल्ने छु।
नेपाल सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
पहिलो कुरा शिक्षा राम्रो दिनु पर्छ। अझ प्राविधिक शिक्षामा जोड दिन जरूरी छ। रोजगारी नेपालमै भए किन युवा विदेश जान्थे होला र! राज्यको पहिलो कर्तव्य सीपमूलक कुराहरू सिकाएर स्थानीयस्तरमै रोजगारी सिर्जना गर्नु हो भन्ने लाग्छ।