(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
सुर्खेतको गुर्भाकोट नगरपालिकाका सन्तोष विक हाल वीरेन्द्रनगरमा व्यवसाय गर्छन्। चार जनाको परिवार वीरेन्द्रनगरमै बस्छन्। खाजा–नास्ता पसल गरिरहेका सन्तोषसँग गरिएको कुराकानीः
व्यवसाय कस्तो चलेको छ?
ठिकै चलेको छ। केही समयका लागि पुरानो ठाउँबाट अर्को ठाउँमा सरेको छु। तर नयाँ ठाउँमा सरेकै कारण व्यापार कम भएको छैन।
तपाईंलाई सबभन्दा मज्जा चाहिँ के गर्दा लाग्छ?
व्यवसायबाटै परिवार चलेको छ। फुर्सदमा बस्नुपर्यो भने राम्रो लाग्दैन। नियमित आफ्नो काम गर्न पाइयो भने नै मज्जा लाग्छ।
खानेकुरामा सबभन्दा धेरै मनपर्ने के हो?
नियमित हामीले खाइरहेको नेपाली खाना दाल, भात, रोटी, तरकारी नै विशेष लाग्छ। अरू त्यस्तो यही मनपर्छ भन्ने छैन।
छोराछोरी कतिजना हुनुहुन्छ?
दुई जना छोरा छन्।
छोराछोरीले सुख दिएका छन्? भनेको मान्छन्?
अहिलेसम्म राम्रै लयमा छन्।
पारिवारिक मेलमिलाप राम्रो छ?
एकदम राम्रो छ। सबै परिवार मिलेर सक्रियतापूर्वक लागेकाले व्यवसायमा असफल हुनुपरेको छैन।
स्वास्थ्य कस्तो छ तपाईंको? निद्रा मज्जाले पर्छ?
स्वास्थ्यमा त्यस्तो समस्या केही देखिएको छैन। दिनभर काम गरिएको हुन्छ, मज्जाले निद्रा पर्छ। बिहान सबेरै उठ्नुपर्छ। त्यसैले बेलुका पनि काम सकिएसम्म सबेरै सुत्छु।
धेरै पैसाको होइन, ठिक्कको, तपाईंलाई के किन्न मन छ? आफूलाई लगाउने वा खाने कुरा, या त अरूलाई दिने कुरामा?
खासमा वीरेन्द्रनगरमा घर बनाउनु छ। अहिलेसम्म बनाउन सकिएको छैन। अहिले मसँग पल्सर मोटरसाइकल छ। बुलेट किन्न पाएको भए हुन्थ्यो भन्ने लाग्छ। छोराहरूले पनि बुलेट किनम् भनिराखेका छन्।
तपाईं पछिल्लोपटक सबभन्दा धेरै खुसी भएको कहिले हो? के कुराले?
२०७३ सालमा जाजरकोटमा जन्ती गएको थिएँ। जन्तीबाट फर्किंदा आफैले चलाएको मोटरसाइकल गजौरा भन्ने ठाउँमा दुर्घटना भयो। मेरो देब्रे हात भाँच्चियो। रोडबाट बाइक बाहिर उछिट्टिएको थियो। भाग्य बलियो भएर बाँचेको हो जस्तो लाग्छ। यही कुराले निकै खुसी बनाएको थियो।
सबभन्दा चित्त दुखेको कहिले हो? के कुराले दुखी हुनुभएको थियो?
त्यतिबेलै मोटरसाइकल दुर्घटनामा परेर घाइते भएपछि ६ महिनाभन्दा बढी काम नगरेर बस्नुपर्यो। कमाएर परिवारको खर्च चलाउने बाटो बन्द भएपछि एकदमै दु:ख लागेको थियो।
तपाईंलाई मनमा बसिरहेको, पिरोलिरहेको वा तपाईंले आशा गरेको यस्तो भएदेखि हुन्थ्यो भन्ने केही छ?
एउटा वीरेन्द्रनगरमा घर बनाउन पाएको भए र छोराहरूलाई स्थापित गर्न पाएको भए हुन्थ्यो भन्ने लागेको छ।
समाज वा टोल कस्तो लाग्छ? समाजको के कुरा मन पर्छ?
समाजको सबै कुरा राम्रो लाग्छ। आफू राम्रो भएपछि समाजले पनि राम्रो व्यवहार गर्ने हो। हाम्रो समाज सुखदु:खमा परिवार जत्तिकै सहयोगी भएर अगाडि उभिन्छ। यो कुरा मन पर्छ।
राजनीतिमा कत्तिको चासो राख्नुहुन्छ?
त्यतातिर खासै मेरो ध्यान जाँदैन।
मन पर्ने नेता को–को छन्?
सबै एकै जस्तो लाग्छ। यो मन पर्छ, ऊ मन पर्दैन भन्ने छैन।
गएको निर्वाचनमा कुन पार्टीलाई भोट हाल्नुभएको थियो? कुन नेतालाई?
नेपाली कांग्रेसका पूर्णबहादुर खड्कालाई नै भोट दिएको हो। मेरो निर्वाचन क्षेत्र उहाँको एकै हो।
अब चुनाव भयो भने कसलाई भोट दिनुहुन्छ?
सायद आउँदो निर्वाचनमा पनि मत अन्त जाँदैन।
सरकारले के गरिदियोस् जस्तो लाग्छ?
युवाहरूलाई पैसा कमाउनकै लागि देश छोडेर विदेश जानुपर्ने अवस्थाको अन्त्य सरकारले गरिदिएको भए हुन्थ्यो। नेपालको ठूलो समस्या पनि यही हो। यसको अन्त्य गर्नुपर्छ। स्वदेशमै रोजगारी सिर्जना गरेर युवाहरूलाई स्वदेशमै बस्ने वातावरण सरकारले बनाओस्।