(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
केही समयअघि म धनगढीको ग्रामीण बस्तीतिर पुगेकी थिएँ। उपमहानगरपालिका–१२ रहेको जुगेडा गाउँ पुग्दा त्यहाँ धेरै महिलाहरू बसेको देखेँ। उनीहरू कुनै विषयमा आपसमा छलफलमा थिए। उनीहरू समूहमा मासिक रूपमा बचत गर्दा रहेछन्। त्यसकै छलफलमा जुटेका रहेछन्। समूहकी ६२ वर्षीया ईश्वरा विकसँग कुराकानी गरें।
के काम गर्नुहुन्छ?
खेतीपातीको काम गर्छु।
खेतीपाती गर्ने जमिन कति छ?
थोरै छ, धेरै छैन।
खेतीपातीले खान-लाउन पुग्छ?
पुग्दैन, एक दुई महिनासम्म मात्रै खान पुग्छ। धान र गहुँ लगाउँछौं। ठूलो परिवारलाई खान कहाँ पुग्नु!
परिवारमा को को हुनुहुन्छ?
चार छोरा हुन् मेरा। एउटा २२ वर्षको छोरो बितेको एक महिना भयो। उसका श्रीमती र छोरा घरमै छन्। जेठो र कान्छो छोराको परिवार इन्डियामा छ। साइलो छोराको परिवार पनि घरमै छ। छोरीहरूको बिहे भइसक्यो, उनीहरू आफ्नै घरमा छन्।
छोराहरू के गर्छन्?
कहिले इन्डियामा काम गर्छन्। कहिले घरमा बस्छन्। आफ्नै देशमा केही रोजगारी छैन।
तराईमा बसेको कति वर्ष भयो?
४० वर्ष भयो। म कैलालीकै पहाडी ठाउँ निगालीमा जन्मेकी हुँ। बिहे गरेर तराई आएँ।
बाल्यकालको के कुरा याद छ?
केही याद छैन। बिर्सिहालेँ सबै। म अलिक बुझ्ने भएपछि भने गोरु, बाख्रा, घाँस, दाउरा गरेको याद छ।
विद्यालय जान पाउनुभयो?
नाइँ, मेरो पालामा छोरी मान्छे कोही पनि स्कुल जाँदैन थिएँ। स्कुल त देख्नै पाएनौं। उहिले यसरी पढ्नुपर्छ भन्ने त हामीलाई थाहा नै भएन।
जिन्दगीको गुजारा कसरी चलेको छ?
सामाजिक सुरक्षाभत्ता आउँछ। त्यहीबाट गुजारा चलाएकी छु। खेतीपाती पनि गर्छु। कहिले पैसा पुग्दैन। अहिलेसम्म कसैले दिएको छैन। यसरी नै जिन्दगी चलाएकी छु।
तपाईंलाई मनोरञ्जन हुने के गर्न सबभन्दा बढी मन लाग्छ?
काम गर्न मन लाग्छ। गीत गाउन, नाच्न पनि मन लाग्छ।
अन्तिम पटक कहिले रमाइलो गर्न पाउनुभएको थियो?
गाउँमा बिहे हुँदा नाच्ने, गाउने गर्थें। अहिले छैन।
सबभन्दा बढी के खानेकुरा मन पर्छ?
मासुभात मन पर्छ।
मासुभात कहिले खानुभएको थियो अन्तिम पटक?
भात त सधैं खाइन्छ। मासु नखाएको दुई महिना भयो।
ठिकठिकै पैसाको खानेकुरा वा लाउने कुरामध्ये के किन्न मन छ?
लाउने कुरा किन्न मन छ, चोलो र धोती।
छोराछोरीले कतिको सुख दिएका छन्?
ठिकठिकै छ।
सबभन्दा बढी खुसी कहिले हुनुभएको थियो?
जिन्दगीमा खुसी भएको दिन याद छैन। छोराछोरी जन्मिँदा खुसी भएकी थिएँ। अब मर्ने हुँ भन्ने याद छ।
जिन्दगीमा के के काम गर्नुभयो तपाईंले?
दाउरा बोकेर पनि जीवन चलाएँ। सुरूसुरूमा तराई आउँदा धनगढीसम्म दाउरा बिक्री गरेर परिवार पालेँ। खेतीपातीको काम र गाईबाख्रा पालेँ। अहिलेसम्म इन्डिया गएको छैन।
जिन्दगीमा के कुराले साह्रै चित्त दुखेको छ?
श्रीमान र छोराको निधनले अहिलेसम्म मन दुःखिरहन्छ।
तपाईंको स्वास्थ्य अवस्था कस्तो छ?
चक्कर आउँछ, कहिलेकाहीँ बेहोस हुन्छु।
राति निद्रा कत्तिको लाग्छ?
निद्रा त लाग्दैन। अचेल भोक पनि लाग्दैन। राति आधा घण्टामात्रै निद्रा पर्छ, त्यसपछि खुल्छ।
राती निद्रा खुलेपछि के गर्नुहुन्छ?
राती निद्रा खुलेपछि बिँडी, सुर्ती खान्छु।
मनमा के कुराले पिरोलिरहन्छ?
परिवारमा सुख शान्ति होओस्, छोराछोरी मिलेर बस्न सकून् भन्ने कुरा मनमा खेलिरहन्छ। परिवारमा नराम्रो नहोस् भन्ने सोचिरहन्छु।
तपाईंलाई हाम्रो गाउँसमाज कस्तो लाग्छ?
समाजमा साथमा बस्न पाउँदा राम्रो लाग्छ। साथीभाइ, छरछिमेकी नभए त कहाँ बस्न सकिन्छ र! सबै मिलेर बसेको समाज धेरै राम्रो लाग्छ। हाम्रो गाउँमा सबै मिल्छौं।
देशको राजनीतिबारे के जानकारी छ?
राजनीतिबारे त धेरै थाहा छैन। ठिकै लाग्छ, कतिबेला नराम्रो पनि लाग्छ।
नेताहरूमा को मन पर्छ?
नेताको नाउँ त थाहा छैन! कसैलाई पनि चिन्दिनँ।
जिन्दगीमा कति पटक भोट हाल्नुभयो?
भोट त धेरै पटक हालेँ।
गएको चुनावमा कसलाई भोट दिनुभएको थियो?
रूखमा।
किन?
गाउँले सबैले रूखमा हाल्नू भने मैले पनि त्यसै गरेँ।
आगामी चुनावमा कसलाई भोट दिनुहुन्छ?
अब जसले माग्न आउँछन् उनीहरूलाई दिन्छु।
सरकारले के काम गरिदिएहुन्थ्यो जस्तो लाग्छ?
हामीलाई राम्रो ठाउँ दिए हुन्थ्यो, खेतीपाती गर्ने जग्गा जमिन दिए हुन्थ्यो जस्तो लाग्छ। थोरै जमिनमा धेरै खेतीपाती गर्न सकिँदैन। हाम्रा छोराहरू परदेशमा बस्छन्। आफ्नो गाउँठाउँको विकास भए, रोजगारी पाइए राम्रो हुन्थ्यो। नेताहरूले सबैको भलो हुने काम गरेको भए हुन्थ्यो जस्तो लाग्छ। हामीले भनेको जस्तो कहाँ हुन्छ र!
'हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्