(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
राप्ती नगरपालिका–१३ कालिटारका ९३ वर्षीय रत्नमाणि चेपाङ ‘मिजार बा’ लाई केही वर्षअघि भरतपुर र नारायणघाट बजार देख्दा रिँगटा लागेछ। उनी भरतपुरमा केहीबेर हराएछन्। किशोर अस्थामा उनी ठोरीबाट नुन बोकेर हालको चितवन राष्ट्रिय निकुञ्जको जंगल छिचोल्दै भरतपुर, नारायणघाट पुग्थे। हालको नारायणघाट, भरतपुर पनि जंगल थियो। नारायणीको किनारमा केही छाप्रा थिए। वर्षौं हिँडेको जंगलमा अहिले अग्ला-अग्ला घर र गाडी नै गाडी कुदिरहेको कालोपत्रे सडक देख्दा उनी छक्कै परेछन्। केही दिनअघि कालिटार पुग्दा उनी लौरी टेकेर आँगनमा हिँडिरहेका थिए।
मैले उनीसँग कुराकानीको मेसो सुरू गरेँ :
ल एकछिन् बसौं बुबा पलेँटी कसेर।
जति गरे पनि ऊ बेलामा गरिहालियो। अब पलेँटी कसेर बस्ने त हो नि। अरू काम नै के छ र मेरो।
कति वर्ष पुग्नुभयो?
नागरिकताले ९३ वर्ष भइस् भन्छ। भत्ता खाएको निकै वर्ष भइसक्यो। उमेर त अझै धेरै होला। ९० साल राम्ररी थाहा छ मलाई।
तपाईंलाई सबैले मिजार बा भनेर बोलाउँदा रहेछन्, किन हो?
यो ठाउँ पहिले धादिङ जिल्लामा थियो। मैले २०२२ सालसम्म यहाँ बसेर जिमदारी काम गरें। गाउँभरको कर उठाएर धादिङबेसी लगेर बुझाउँथें। ५० रूपैयाँ बुझाएर फर्किँदा २ दिन जान्थ्यो। मलाई एक रूपैयाँ पनि आउँथेन। काम गर्दिन भने पनि पाइन्थेन। यही काम गर्दा थारू जातिलाई जिमदार भन्थे मलाई चेपाङ भएर होला मिजार भन्थे। त्यही कामले गर्दा अहिले पनि मिजार बा भन्छन्।
पहिले भन्दा के फरक छ त गाउँ अहिले?
बाटो आएको छ, गाडी देखिन्छ गाउँमै। यो बाहेक अरू केही नयाँ छैन। जहाँको त्यहीँ छौं हामी।
दिन कसरी कटाउनुहुन्छ?
काम गर्न सक्दिनँ। यसै बस्ने, गफ गर्ने, बसेर कुखुरा, बाख्रा धपाउने। यत्ती हो मेरो काम।
भरतपुर, नारायणघाटतिर नजानुभएको कति भयो?
अल्ली वर्षअघि गएको हो। पहिले सानो हुँदा बरू गइराख्थेँ। त्यतिखेर नारायणघाटमा केही घरमात्रै थिए। अहिले त जता जाउँ बाटो, जता जाउँ घरै देखिने। छिर्ने ठाउँ नै छैन त्यहाँ। पहिलेको कुरा याद गर्न गाह्रो हुनेरहेछ अचेल त। पहिले बाघ, भालु हिँड्ने ठाउँमा गाडी हिँडेको देखेपछि अचम्म लाग्यो मलाई त। आफूले भोगेका पुराना दिनहरू सम्झिएँ। रिँगटा पो लागेछ, धन्नै ढलेको।
पहिले किन जानुभएको थियो नारायणघाट?
पहिलो पटक म १५–१६ वर्षको हुँदा गएको हो। त्यतिखेर चितवनमा जंगलै जंगल थियो। भरतपुर, नारायणघाटमा पनि धेरै जंगल थियो। पाँच–सात वटा दोकान थिए। केही सामान पाइन्थ्यो त्यहाँ। त्यही हेर्न, किन्न गएको थिएँ।
कमाई कसरी हुन्थ्यो?
काठमाडौं लगेर तोरी बेचिन्थ्यो। यता एक रुपैयाँ पाथी तोरी किनेर सात दिन हिँडी काठमाडौं पुग्थ्यौं। त्यहाँ ३–४ रूपैयाँ पाथीमा बेचिन्थ्यो। वर्षमा दुई फेरसम्म काठमाडौं जान्थें म दाउरा, चामल अनि ४–५ पाथी तोरी बोकेर। अहिले त बिहान गएर बेलुका फर्किन्छ।
नुन बोक्न ठोरी पनि जानुभयो होला?
देशमा राणा शासन थियो। साहुले बोलाएपछि हाजिर नभई सुखै थिएन। जहिले भन्यो त्यही दिन नुन बोक्न कुँद्नुपर्थ्यो। जंगलको बाटो, बाघले खाने हो कि भालुले कोपार्ने हो भन्ने डर थियो। गाउँ फर्किँदा पनि जंगलै जंगल त हो। घर त पर–पर फाट्टफुट्ट देखिन्थ्यो।
साहुका लागि नुन धेरै बोकियो। ४–५ पाथी बोकेर ७ दिन लगाएर ल्याइन्थ्यो। वर्षमा ३–४ पटक जान्थें ठोरी। मैले रेल देखेको ठोरी मै हो।
घरमा को को हुनुहुन्छ? छोराछोरी, नाति, नातिना कति छन्?
श्रीमती बितेको धेरै वर्ष भइसक्यो। ५ भाइ छोरा छन्। काइँलो यता छ। अरू कता कता छन् याद छैन। बेला–बेलामा सम्झिएर भेट्न आउँछन्। केही खाने कुरा ल्याइदिन्छन्। नाती, नातिना कति छन् थाहै छैन। सन्तानले डाँडाकाँडा ढाकिसके होलान्।
आफ्नो जिन्दगी कस्तो लाग्छ त सम्झिँदा?
जिन्दगी राम्रै त भन्नुपर्यो। अहिले बुढेसकाल लाग्यो केही गर्न सकिन्न। भत्ता आउँछ महिनाको ४ हजार। नुन, तेल किनेर ल्याउँने गर्थें। अचेल त जान पनि गाह्रो हुन थाल्यो।
भत्ता बुझ्दा आफूलाई मन पर्ने कुरा पनि किन्नुहुन्छ होला नि?
अंगुर किनेर खान्छु कहिलेकाहीँ। अरू कुरा केही मन पर्दैन।
नयाँ कपडा किन्नुहुन्छ होला?
किन्दिनँ। कहाँ पुग्छ र पैसाले। जम्मा १२ वटा नोट आउँछ तीन महिनामा। त्यसले लुगा किन्ने कि, मिठो खाने कि, नुन तेल ल्याउने।
के गर्दा रमाइलो लाग्छ तपाईंलाई। नाच, गान गर्नुहुन्छ?
गीत गाउन आउँदैन। नाच्न पनि आउँदैन। अरूले गाएको, नाचेको हेर्न रमाइलो लाग्छ।
फिल्म हेर्नुभएको छ?
फिल्म हेरेको छैन। बजार जाँदा होटलमा टिभीमा देखिन्छ कहिलेकाहीँ। एक–दुई पटक बजारतिरै पाहुना भएर बस्दा उनीहरूको घरमा टिभी हेरेको थिएँ।
रक्सी खानुहुन्छ?
भयो अहिले रक्सी त नखाउँ होला। जाँड भए खाने हो एक घुड्की। छ र?
होइन खाने गर्नुभएको छ कि छैन भनेर सोधेको के?
रक्सी छाडेको त धेरै भयो। जाँड चाहिँ एक, दुई घुड्की खान्छु, पाएको बेलामा।
रोग बिमार केही छ कि छैन? राति निद्रा लाग्छ कि लाग्दैन?
दमको समस्या छ। हिँड्न गाह्रो हुन्छ। सुत्न सक्दिनँ स्याँ स्याँले। कहिले काहीँ त अनिदै हुन्छु। निदाउँदा श्वास फुत्किहाल्छ कि भन्ने डर लाग्छ। यता ढल्दा पनि हुन्न, उता ढल्दा पनि हुन्न।
उपचार गराउनुभएको छैन?
अस्पताल जाम भने पैसा लाग्छ। गाउँमा उपचार हुँदैन। यसै बसिरहेको छु।
जिन्दगीमा तपाईंलाई सबैभन्दा धेरै खुसी लागेको कहिले हो? के कुराले हो याद छ?
खुसी त के कुरामा लाग्ने हो र खोई। खुसी हुनलाई त केही कुरा राम्रो हुनुपर्यो नि!
जिन्दगीमा सबैभन्दा दुःखी भएको, चित्त दुखेको दिन याद छ?
दुःखी त कति भइयो भइयो। अन्न, बास, बाटो नपाउँदा धेरै दुःख पाइयो। अरूको नोकर भएर पनि बसियो। ऋण तिर्न नसकेर सस्तोमा बोका बेच्नुपर्यो। सम्झिँदा दुःख लाग्छ।
केही पैसा भयो भने यस्तो गर्थे भन्ने लाग्छ?
उपचार गर्न राम्रो अस्पताल जान हुन्थ्यो पैसा भए।
तपाईंको टोल, छिमेक, समाज कस्तो लाग्छ? राम्रो कुरा के लाग्छ?
समाज राम्रो छ अहिलेसम्मलाई। पर्दा सहयोग गर्छन् सबैले।
नराम्रो के लाग्छ?
नराम्रो के भन्नु र खोई। केही छैन त्यस्तो।
गाउँ बाहिरको खबर कसरी थाहा पाउनुहुन्छ?
गाउँमा कसैले भन्यो भने थाहा पाउने हो। पहिले रेडियो थियो। खर्च भयो धेरै, यसै राखेको छु अहिले। ब्याट्री किन्न पैसा पुगेन। धेरै भयो समाचार नसुनेको। देशमा के भइरहेको छ केही थाहा छैन।
देशको प्रधानमन्त्री को छ अहिले थाहा छ?
थाहा छैन।
चुनावमा भोट त हाल्नुभयो होला?
भोट त हालेको हो।
कसलाई हाल्नुभयो?
कसलाई हाल्यो थाहा छैन। बिर्सियो। वडाध्यक्षमा चाहिँ अशोक चेपाङलाई हालेको हो।
कुन पार्टीको हो उहाँ?
होला नि कांग्रेस, एमाले। भोट हाल्दा थाहा थियो। अहिले बिर्सिएँ।
भोट माग्न आउ आउँछन् कि आउँदैनन् घरमा?
यो बुढो भोट हाल्न पनि जान सक्दैन भनेर होला माग्दै माग्दैनन्।
अब कसलाई हाल्ने भोट?
अशोकलाई भोट दिएको २ वर्ष भयो। अब को आउँछ हेरौं। मागेपछि कसलाई हाल्ने थाहा होला।
भोट हालेपछि विकासको काम भयो कि भएन?
अहिलेसम्म गरेको खासै देखेको छैन। भएको भनेको बाटो हो। अनि तीनवटा झोलुंगे पुल पनि बन्यो। यो राम्रो लाग्यो। अरू त त्यस्तै हो। अब कालिटारमा मोटर चल्ने पुल हालिदिए हुन्थ्यो भनेको हो।
अब भोट माग्न आए भने त्यो कुरा भन्नुहुन्छ नेताहरूलाई?
त्यतिखेर सम्म बाँचिराख्न पाए त हुन्थ्यो। माथि भइसक्छु होला।