(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
पाल्पाको रामपुर नगरपालिका–५, मटेरी ठूलोटारका ५६ वर्षीय बुद्धिप्रकाश रेग्मी शिक्षक पेसाबाट अवकाश लिएपछि सामाजिक काममा सक्रिय छन्। उनले २०७० सालमा ४६ वर्षकै उमेरमा सेवाबाट अवकाश लिए।
हाल उनको अगुवाइमा रामपुर धर्मशाला र रामघाट मन्दिर निर्माण तथा विभिन्न गुफाहरूको जीर्णोद्धारको काम भइरहेको छ।
हालैको एक दिन उनी रामघाट मन्दिर परिसरमा भेटिए। हामीले उनीसँग कुराकानी गरेका छौं।
तपाईंले शिक्षक पेशाबाट छिट्टै अवकाश लिनुभएछ नि?
म शिक्षक भए पनि सानैदेखिको रुचि समाज सेवामा थियो। हुन त शिक्षक हुनु पनि समाज सेवा नै हो। रामपुरको कालिका निमाविमा १६ वर्ष र सीताराम माविमा १० वर्ष गरी २६ वर्ष पढाएँ। तीन वर्ष अस्थायी सेवा र २३ वर्ष ६ दिन स्थायी सेवा गरेपछि पढाउन छोडेँ।
अहिले के काम गर्दै हुनुहुन्छ?
अहिले रामपुरको पर्यटन विकास गर्नुपर्छ भनेर लागिरहेको छु। म यसअघि रामपुरको नगर पर्यटन बोर्डमा पनि थिएँ। त्यति बेला यहाँ रहेका गुफाहरू अवलोकनका लागि खुला गर्न र तिनको संरक्षण गर्न पहल गरेँ।
२०७४ सालदेखि रामघाट र यहाँको ऐतिहासिक धर्मशाला पुनर्निर्माण र विकासको काममा लागेको छु।
तपाईंलाई के काम गर्दा सबभन्दा धेरै रमाइलो लाग्छ?
मलाई रामघाट मन्दिरमा आएर बस्दा, वरिपरि आफैले लगाएका बोटबिरूवा र फूलहरू हुर्किरहेको हेर्दा सबभन्दा रमाइलो लाग्छ। मन्दिरमा बज्ने भजन सुन्दा पनि रमाइलो लाग्छ। हरेक दिनजसो रामघाट मन्दिरमा आएर वाद्यवादन बजाउने र भजन सुन्ने गर्छु त्यसैमा रमाइलो लाग्छ।
सबभन्दा बढी के खान मन पर्छ?
मलाई बजारबाट किनेर ल्याएको भन्दा गाउँघरमै उत्पादन भएका खानेकुराहरू बढी मन पर्छ। साँझबिहान त्यस्तै चिज खाने गर्छु।
घरमा को को हुनुहुन्छ?
परिवारको कुरा सोध्नुभयो, मेरो जीवनको सबभन्दा ठूलो पीडा नै त्यही हो। मेरा दुई छोरा थिए। २०६२ साल वैशाखमा यही रामघाट (कालीगण्डकी खोला) मा नुहाउन भनेर गएका रहेछन्, डुबेर दुबै जनाको मृत्यु भयो। मेरा बाबुहरू (दुई छोरा) १२ र १० वर्षका, अंकलको छोरा १३ वर्षको, सँगै कालीगण्डकीमा डुबे। त्यो घटनाले अहिले पनि विक्षिप्त बनाउँछ। त्यसलाई बिर्सिन पनि सामाजिक र आध्यात्मिक क्षेत्रमा लागेर काम गर्दै आएको छु। अहिले घरमा श्रीमती जानकीकुमारी र म मात्रै छौं। हामी सन्तानविहीन भएका छौं।
श्रीमती के काम गर्नुहुन्छ?
मेरी श्रीमतीले २०५० सालमा १२ कक्षा पास गरेकी थिइन्। ढाड दुख्ने समस्याले गर्दा बाहिर जागिरमा लागिनन्। उनी गृहिणी हुन्।
तपाईंको स्वास्थ्य कस्तो छ?
अहिलेसम्म स्वास्थ्य राम्रै छ। कहिलेकाहीँ रूघाखोकी लाग्दा सामान्य औषधि खाए पनि अरू कुनै औषधि खानुपरेको छैन।
तपाईंलाई ठिक्क पैसाको यस्तो किन्न पाए हुन्थ्यो भन्ने केही छ?
मेरा लागि त्यस्तो केही छैन। मैले त आफन्तहरूलाई पनि बेला मौकामा केही चिज किनेर दिने गरेको छु। आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई स्कुलको खर्च तिरिदिने गरेको छु। पैसा भयो भने त्यस्तै काममा लगाउँछु।
तपाईं सबभन्दा धेरै खुसी भएको क्षण कहिले थियो?
रामघाटको गुरूयोजना बनाएर काम सुरू गर्दा सबभन्दा धेरै खुसी भएको थिएँ। त्यही गुरूयोजना अनुसार नै अहिले रामघाट मन्दिर बनेको छ। विभिन्न समयमा सयौं भक्तजनहरू आउनुहुन्छ, घुम्नुहुन्छ। त्यो बेला धेरै खुसी लाग्छ।
सबभन्दा धेरै दुःखी भएको क्षण?
जीवनको सबभन्दा धेरै दुःख त आफ्ना दुबै छोरा एकैपटक गुमाउनु भन्दा ठूलो के हुन्छ र! जब मनमा ठूलो चोट पर्छ नि, त्यतिबेला संसार नै अँध्यारो लाग्ने रहेछ। मलाई परेको जस्तो दुःख कसैलाई नपरोस्!
यस्तो भइदिए हुन्थ्यो भनेर तपाईंको मनमा के कुरा बसिरहेको छ?
२०६२ सालको त्यो घटना नभइदिएको भए हुन्थ्यो भन्ने लाग्छ। त्यो घटना नभएको भए छोराहरू अहिले ३०/३२ वर्षका हुन्थे। घर रमाइलो हुन्थ्यो होला भन्ने लाग्छ। त्यो घटनाले बेलाबेला झस्काइरहन्छ।
तपाईंलाई आफ्नो टोल समाज कस्तो लाग्छ?
टोलसमाज राम्रो छ। मलाई संसारकै सबभन्दा राम्रो लाग्ने ठाउँ नै रामपुर हो। त्यसैले त हामीलाई त्यति ठूलो पीडा भए पनि यो ठाउँ छोडेर अन्यत्र जान मन लागेन।
टोल समाजको सबभन्दा मन पर्ने पक्ष?
अप्ठ्यारो पर्दा एकअर्कालाई गर्ने सहयोग नै सबभन्दा राम्रो पक्ष हो। टोल समाजको सहयोगले नै हामी यहाँ बस्न सकेका हौं भन्ने लाग्छ।
मन नपर्ने पक्ष नि?
कहिलेकाहीँ अरूका विषयमा अनावश्यक कुरा काट्ने प्रवृत्ति पनि हुन्छ, त्यसो गरेको मन पर्दैन।
नेपालको राजनीति तपाईलाई कस्तो लाग्छ? ठीकसँग चलेको छ?
मलाई त नेपालको राजनीति ठीकसँग चलेको जस्तो लाग्दैन। राजनीति र नेताप्रति जनताको विश्वास नै भएन। पदमा गएका व्यक्तिहरू देशका लागि काम गर्नुपर्छ भनेर लागेनन्। नेताहरूले आफू र आफन्तका लागि मात्रै काम गर्न थालेपछि राजनीतिप्रति नै वितृष्णा लाग्न थाल्यो।
तपाईंलाई सबभन्दा मन पर्ने नेता को हो?
सबभन्दा धेरै मन पर्ने सुवास नेम्वाङ हुनुहुन्थ्यो, बितिहाल्नुभयो। त्यसपछि बालेन शाह, गगन थापा र विश्वप्रकाश शर्मा मन पर्छ।
गएको चुनावमा कसलाई भोट हाल्नुभएको थियो?
म नेपाली कांग्रेसको सदस्य पनि हो, त्यही भएर भोट त नेपाली कांग्रेसलाई नै हालेँ।
अब हुने चुनावमा कसलाई भोट दिनुहुन्छ?
त्यो त अहिले भन्न सकिँदैन। अब कुनै पनि दलमा आबद्ध नभई स्वतन्त्र रूपमा सामाजिक क्षेत्रमा लाग्छु भन्ने विचार छ।
तपाईंलाई सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
सरकारले साँच्चै गर्ने हो भने सबभन्दा पहिले प्रदेश संरचना खारेजी गर्नुपर्छ। हिन्दु राष्ट्र नेपालको पहिचान थियो, नेपाललाई फेरि हिन्दु राष्ट्र घोषणा गर्नुपर्छ। प्रधानमन्त्री, राष्ट्रपति जस्ता पदहरूमा प्रत्यक्ष निर्वाचन गर्ने व्यवस्था ल्याउनुपर्छ।
'हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्