(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
धनकुमारी श्रेष्ठ पाल्पाको रम्भा गाउँपालिका–५ ताहुँमा भेटिएकी थिइन्। उनका छोरा बालप्रसाद र बुहारीले ताहुँ बजारमै होटल चलाएका छन्। उनी पनि त्यही होटलमा छोराबुहारीलाई काम सघाउँछिन्।
धनकुमारी ७४ वर्षकी भइन्। यो बुढ्यौलीमा पनि फुर्तीसाथ होटलमा पाहुनालाई खाना पस्किँदै थिइन्। तिनै धनकुमारीसँग हामीले कुराकानी गरेका छौं।
बुढ्यौली उमेरमा पनि कति फुर्तिलो भएर काम गर्नुभएको?
बुढी भएँ भनेर हुँदैन, सकेको काम त गर्नुपर्छ। होटल छोराबुहारीले चलाउँछन्। म कहिलेकाहीँ उनीहरूलाई काम सघाउँछु। पाहुनालाई खाना पस्किदिन्छु।
छोराबुहारीले यो होटल चलाएको कति भयो?
ताहुँमा होटल चलाउन थालेको १० वर्ष पुग्यो। त्योभन्दा पहिले हुमिनमा घरमै किराना पसल चलाएका थिए।
होटल कत्तिको चलेको छ?
अहिले त खासै छैन। बन्द गर्नुभन्दा समय बिताउनकै लागि भए पनि दिनभरि खोलेर बस्ने मात्रै भएको छ। दिनभरि होटलमा बस्यो, बाटोमा हिँड्नेहरूलाई हेर्यो, दिन कटायो। यस्तै छ आजकाल।
यो घर आफ्नै हो कि भाडामा?
घर त आफ्नै हो।
तपाईंलाई के काम गर्दा सबैभन्दा रमाइलो लाग्छ?
दिनभरि घरमै बसेर छोराबुहारीको हात सघाउनमै रमाइलो छ। फुर्सद हुँदा टिभीमा गीत हेरेर रमाइलो मान्छु।
तपाईंलाई सबभन्दा बढी के खान मन पर्छ?
मलाई त खानेकुरा यो मन पर्छ र यो पर्दैन भन्ने केही पनि छैन। भान्सामा पाकेको सबै मिठो लाग्छ। ओहो, यो पाए त खाने थिएँ भन्ने कहिल्यै भएन।
यस्तो चिज किन्न पाए हुने थियो भन्ने केही छ?
अब किन्न पो के छ र! चाहिने चिज छोराबुहारीले किनिदिन्छन्। बेलाबेला छोरीहरू, भाइबुहारीहरूले पनि ल्याइदिन्छन्। यस्तो भएन, यो चाहियो भन्ने केही पनि छैन। घरमा अहिले छोराबुहारी र दुई जना नाति छन्। तीन जना छोरी थिए, सबैको बिहे भयो। बुटवल, सुनवल र माडी दमकडामा बिहे गरिदिएको हो। एक जना नाति विदेशमा छन्। श्रीमान २०३५ सालमै बित्नुभएको हो, ३५ वर्षकै उमेरमा बित्नुभयो। श्रीमान बित्दा छोरा डेढ वर्षका मात्र थिए। छोरीहरू पनि सानै थिए। म पनि २९ वर्षकी मात्रै थिएँ।
श्रीमान के काम गर्नुहुन्थ्यो? के भएर बित्नुभयो?
स्कुलमा पढाउनुहुन्थ्यो, राम्रै चलेको थियो। एक्कासि बिरामी पर्नुभयो। अस्पतालमा गएर जचाउँदा टिबी भएको छ भन्थे। औषधि खाँदै गर्दा बित्नुभयो।
श्रीमान बित्दा छोराछोरी सानै रहेछन्, एक्लै हुर्काउन कत्तिको गाह्रो भयो?
त्यतिबेलाको दुःखकष्ट सम्झिँदा त अहिले पनि मुटु फुट्ला जस्तै हुन्छ। सम्झिन पनि मन लाग्दैन। कति दुःख भयो भयो! श्रीमान हुँदा र नहुँदा परिवारले र गाउँ समाजले कसरी हेर्ने रहेछ भन्ने भोग्न पाइयो।
घरपरिवारबाट पनि हेपिनुभयो?
हेपिएँ नि! श्रीमान हुँदा खेतीपाती पनि गर्थ्यौं। एक्लै भएपछि साना छोराछोरीसँग गर्न सक्दिनँ भनेर खेत लिइनँ। छोराछोरी हुर्काउन धेरै सकस भयो।
अहिले छोराछोरीबाट सन्तुष्ट हुनुहुन्छ?
अहिले त ठीक छ। सबै आआफ्नै काममा लागेका छन्। एक जना नातिले पनि माथि देउरालीमा होटल चलाएका छन्। अहिले त धेरै राम्रो छ।
तपाईंको स्वास्थ्य कस्तो छ? केही बिमार छ कि?
बिमार त भनिसाध्य छैन, एउटा मात्रै भए पो! पाँच वर्ष भयो ब्लडप्रेसरको औषधि खान थालेको। अहिले नाक बन्द भइरहन्छ। जचाउँदा पिनास परेको छ भन्छन्। हात पनि दुख्छ। ग्यास्ट्रिकले उत्तिकै सताउँछ।
निद्रा कत्तिको लाग्छ?
निद्रा कहिले लाग्छ, कहिले लाग्दैन। पहिले त आधा रात पनि निदाइएन रातभरि आँखा खुलै पारेर उज्यालो हुन्थ्यो।
निद्रा नलाग्दा मनमा के कुरा खेल्छ?
लाऊँलाऊँ, खाऊँखाऊँ भन्ने उमेरमै जोडी छुट्यो। उतिबेला चार जना साना छोराछोरी कसरी हुर्काउने, कसरी पढाउने, उनीहरूको बिहेदान कसरी गरिदिने भन्ने चिन्ताले निदाउन दिएन। अहिले नातिहरू (छोराका छोरा) लाखापाखा छन्। एउटा नाति विदेशमा छ, के गर्दै होला, बिरामी पो पर्यो कि भन्ने हुन्छ। अर्काको देशमा बिरामी परे तातो पानी दिने पनि कोही हुँदैन भनेर मनमा कुरा खेलिरहन्छ।
पछिल्लो पटक राम्रोसँग निदाउनुभएको कहिले थियो, सम्झिनुहुन्छ?
एक्लै भएपछि पूरै रात निदाएको त कहिल्यै याद भएन।
तपाईंलाई सबभन्दा धेरै खुसी लागेको क्षण कहिले थियो?
केटाकेटी उमेरमा खुसी भइयो होला। त्यसपछि त २०५१ सालमा छोराको बिहे हुँदा धेरै खुसी लागेको थियो।
जीवनमा सबभन्दा दुःख लागेको क्षण के थियो?
दुःख त केटाकेटी उमेरबाटै भयो। म १३ वर्षकी हुँदा बुवा बित्नुभयो, बिहे भएपछि सुख होला भन्दा श्रीमान बित्नुभयो। त्यो बेलाको जस्तो दुःख त अब आउँदैन होला जस्तो लाग्छ।
यस्तो भइदिए हुन्थ्यो भन्ने के छ?
अलि धेरै कमाउन सके अलि राम्रो ठाउँमा बस्न पाए हुन्थ्यो भन्ने छ। छोराको भाग पुग्यो, अब नातिहरूले कमाएर बनाएको घरमा बस्ने ठूलो इच्छा छ। सबै नातिहरूसँग बस्ने, रमाउने मन छ।
यहाँको टोलसमाज कस्तो छ?
गाउँसमाज त राम्रै छ। सबै मिलेर बसेका छौं।
टोल समाजको सबभन्दा मनपर्ने कुरा के हो?
दुःख परेका बेला सबैले सघाउनुहुन्छ, त्यो मनपर्छ।
मन नपरेको कुरा नि?
नजिक भएर बस्दा कहिलेकाहीँ सानातिना कुरामा मनमुटाव पनि हुन्छ, त्यो मन पर्दैन।
तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ? ठीक चलेको छ?
राजनीतिबारे त केही पनि थाहा छैन। नेताहरू चुनावको बेला आउँछन्, भोट माग्छन्। जितेर गएपछि फर्किएर आउँदैनन्, त्यति थाहा छ।
सबभन्दा मनपर्ने नेताहरू को को हुन्?
म त नेताहरू नै चिन्दिनँ। टिभीमा नेताहरूले बोलेको हेर्न पनि मन लाग्दैन। म जस्तो केही नजान्ने त मान्छे नै हुन्नन् होला!
गएको चुनावमा कसलाई भोट दिनुभयो?
भोट त नेपाली कांग्रेसलाई दिएको हो। पहिलेदेखि नै बुढा पनि कांग्रेस हुनुहुन्थ्यो हामी पनि अहिलेसम्म कांग्रेस नै छौं।
अब चुनाव भयो भने कसलाई भोट दिनुहुन्छ?
पछि आउने कुरा त अहिले नै कसरी थाहा हुन्छ र! मन फेरिन्छ कि!
सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
सबैलाई राम्रो गरिदिए हुन्थ्यो भन्ने लाग्छ तर गर्दैनन्। जनताले भनेजस्तो बाटो छैन, पानीको दुःख छ। नजिकै अस्पताल छैन। बिरामी भए टाढा जानुपर्छ। हामीले भनेर केही हुँदैन।
'हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्