(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
पाल्पा जिल्लाको पूर्वी सिमानामा पर्छ निस्दी गाउँपालिका। अधिकांश मगर समुदायको बसोबास छ। पूर्वाधार विकासका हिसाबले जिल्लाकै सबभन्दा पछाडि परेको मानिन्छ। कृषि तथा पशुपालन यहाँका बासिन्दाको आम्दानीको मुख्य स्रोत हो। युवाहरू भने व्यापार–व्यवसायमा पनि अग्रसर हुन थालेका छन्।
निस्दी गाउँपालिका–५ ढुंगानाबेँसीकी ४३ वर्षीया यानु थापा आफ्नै वडाको रुप्से भन्ज्याङमा पसल चलाउँछिन्। एउटा सानो सटरभित्र दाल, चामल, तरकारी र दैनिक उपभोगका अन्य सामग्री राखेकी छन्।
हामीले तिनै यानुसँग कुराकानी गरेका छौं।
पसल सानो भए पनि सबै सामान राख्नुभएको रहेछ, कत्तिको चलेको छ?
गाउँको पसल हो। रुप्से भन्ज्याङको चोकमा पर्ने भएकोले ठिकै चलेको छ। हरियो तरकारी, दाल, चामल, चिनी, चियापत्ती, साबुन सबै सामान थोरै थोरै भए पनि राखेकी छु। ग्राहकहरू आइरहनुहुन्छ।
कति वर्ष भयो पसल चलाएको?
यो पसल चलाएको ६ वर्ष भयो। त्यसअघि यहीँ नजिकै फेन्सी पसल चलाउँथेँ। तीन चार वर्ष जति चलाएपछि बिक्री गरेर किराना पसल सुरू गरेको हो।
सटर आफ्नै हो कि भाडामा लिनुभएको?
सटर त आफ्नै हो, बस्ने कोठा भाडामा लिएकी छु।
दिनभरि पसलमै व्यस्त हुनुहुन्छ होला, फुर्सद हुँदा कसरी रमाइलो गर्नुहुन्छ?
फुर्सद नै कहिले हुन्छ र! बिहान खानपिन गरेर पनि पसलमै आउँछु, दिन यतै बित्छ। मलाई त पसलमै रमाइलो लाग्छ। काम नगरी खान पुग्दैन। आफ्नो काममा रमाइलो नमानेर पनि त भएन नि!
नाचगान गर्ने, टेलिभिजन हेर्ने, सिनेमा हेर्ने कत्तिको गर्नुहुन्छ?
नाचगान गर्न त आउँदैन। टेलिभिजन चाहिँ हेर्छु। टेलिभिजनमा सिरियल हेर्छु। विरहका दोहोरी गीत पनि मन पर्छ।
तपाईंलाई सबभन्दा बढी के खान मन पर्छ?
खानलाई मीठो लाग्ने त सागपात नै हो। गाउँघरमै फल्ने फलफूल पनि मन पर्छ।
ठिक्क पैसामा यस्तो किन्न पाए हुन्थ्यो भन्ने केही छ?
अलि पैसा भए त सानोतिनो घर नै बनाउन हुन्थ्यो नि! एउटा मात्र अभाव भए पो यस्तो किन्न पाए हुन्थ्यो भन्नु। एउटा किन्यो, अर्कोको अभाव सुरू हुन्छ, पूरा कहिल्यै हुँदैन।
तपाईंको परिवारमा को-को हुनुहुन्छ?
घरमा त ८ वर्षकी छोरी र म मात्रै छौं। ठूली छोरीको बिहे भएर आफ्नै घर गएकी छन्। छोरा २२ वर्षका छन्, रोजगारी खोज्दै भारत गएका छन्। श्रीमान बित्नुभएको गएको मंसिरमा दुई वर्ष पुग्यो। पाँच वर्ष जति विदेश बस्नुभयो। घर आएपछि विदेश पनि जानु भएन। गाउँघरतिरै काठको काम गर्नुहुन्थ्यो अलिअलि निसापान (रक्सी खाने) पनि गर्नुहुन्थ्यो, जन्डिस भएर बित्नुभयो।
छोराछोरीबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ?
मेरा त सहारा भनेकै यिनै छोराछोरी हुन्। अब खुसी नभएर के गर्ने र! खुसी नै छु!
तपाईंको स्वास्थ्य कस्तो छ?
स्वास्थ्यमा त्यति ठूलो समस्या केही पनि छैन। पूरै ठीक पनि छैन। केही वर्ष पहिले युरिक एसिडले दुःख दिएको थियो। हातखुट्टाका औंला र घुँडा दुख्थे। तीन महिना औषधि खाएपछि ठीक भयो।
अहिले अलिअलि ब्लड प्रेसर बढ्न थालेको छ। अरू त ठीकै छ।
ब्लड प्रेसरको औषधि खानुभएको छ कि छैन?
अस्पतालको औषधि त खाएको छैन। गाउँघरमै पाइने जडिबुटी खाने गर्छु। बेलाबेला ब्लडप्रेसर जँचाउने गर्छु डाक्टरहरूले आत्तिनुपर्ने छैन भन्नुभएको छ।
तपाईंलाई निद्रा कत्तिको लाग्छ?
निद्रा त बेस्सरी लाग्छ। ब्लड प्रेसर भयो भने कसैकसैलाई निद्रा लाग्दैन भन्छन्, मलाई त बेस्सरी लाग्छ।
तपाईं सबभन्दा धेरै खुसी भएको क्षण कहिले थियो?
धेरै खुसी त म कहिले पनि भइनँ होला। केटाकेटी उमेरमा भएँ होला, जान्ने भएपछि र बिहे भएपछि त धेरै खुसी भएको सम्झना नै छैन।
परिवारमा मेलमिलाप भएन र?
मेलमिलाप त थियो। मेलमिलाप थिएन भनेर पनि के नै भयो र! छोडेर जाने मान्छे गइसके। माइतीमा आमाबुबा पनि बितिसक्नुभयो। श्रीमान पनि बित्नुभयो।
तपाईंलाई सबभन्दा धेरै चित्त दुखेको क्षण नि?
अहिल्यै त होला नि! भगवानले मेरो भागमा सधैंलाई दुःख नै दिएर पठाएजस्तो लाग्छ। सानैदेखि दुःखै भोगियो, अहिले पनि भोगिरहेकी छु। जस्तो भए पनि श्रीमान गुमाउनुपर्दाको क्षण कसैलाई भोग्नु नपरोस्।
तपाईंको मनमा पिरोलिरहेको केही छ, यस्तो भइदिए हुन्थ्यो भन्ने?
श्रीमानले पनि कमाउन सक्नुभएन। दुःखमै दिन बिते। उहाँको उपचार गर्दा र घर व्यवहार चलाउँदा धेरै ऋण लाग्यो। त्यो ऋण कसरी तिर्ने भन्ने चिन्ता लागिरहन्छ। त्यही ऋणको भारीले छोरालाई सानो उमेरमै स्कुल नपठाई अर्काको मुलुक पठाउनुपरेको छ।
(यानुले धेरै बेर आँसु खसाइन्, केही पनि बोलिनन्। नजिकै रहेकी छोरीले ममी नरूनू भन्दै आँसु पुछिदिइन्।)
यहाँको टोल समाज कस्तो छ?
टोल समाज त राम्रै छ, सबैले सहयोग गर्छन्।
टोल समाजको सबभन्दा मनपर्ने कुरा के हो?
दुःख परेका बेला सबैले सघाउनुहुन्छ, त्यो मन पर्छ।
मन नपरेको कुरा पनि केही छ कि?
सबै मान्छे एकनासका त कहाँ हुन्छन् र! एक्लै हुँदा कसैकसैले हेप्न खोज्छन्। त्यस्तो गरेको मन पर्दैन।
तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ?
राजनीति त मन पर्दैन। म चासो पनि राख्दिनँ। आफ्नो काम नगरी खान पाइने होइन। काम गरेर खानलाई के को राजनीति!
मनपर्ने नेता कोही छ?
कुनै नेता पनि मन पर्दैन मलाई त। नेता चिन्दा पनि चिन्दिनँ। चिनेर पनि हाम्रो दुःख कसैले कम गरिदिने होइन।
तपाईंले गएको चुनावमा कसलाई भोट दिनुभएको थियो?
अहिलेसम्म भोट त एमालेलाई नै दिने गरेकी छु। घरपरिवारका सबै जना पहिलेदेखि नै एमाले हुनुहुन्थ्यो। म पनि अहिलेसम्म यताउता लागेकी छैन।
अहिले चुनाव भयो भने कसलाई भोट दिनुहुन्छ?
एमालेलाई नै त दिने होला नि!
सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
गरिबदुःखी र असहायलाई सहयोग गरिदिए हुन्थ्यो। हामीजस्ता एकल महिलाको समस्या पनि सुनिदिए हुन्थ्यो। केटाकेटी पढाउन निःशुल्क गरिदिए हुन्थ्यो।