(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
कालिगण्डकी करिडोरमा डबल लेनको चिल्लो कालोपत्रे सडक निर्माण भएपछि पाल्पाको पिपलधाराबाट रामपुर पुग्न सहज बनेको छ। समथर फाँट सहितको जमिन भएर पनि जिल्लाको पूर्वी क्षेत्रमा पर्ने भएकोले रामपुर केही वर्षअघि सम्म यातायात सुविधाको हिसाबले दुर्गम मानिन्थ्यो। अहिले भने कालिगण्डकी करिडोरले घरघरमा यातायातको सुविधा पुगेको छ। घरै अगाडि कालोपत्रे सडक बनेपछि स्थानीयवासी व्यापारमा लाग्न थालेका छन्।
यही सडकमा पर्ने रम्भा गाउँपालिका-१ असर्दीका ६३ वर्षीय टोपनारायण अर्यालले पनि विगत तीन वर्षदेखि गाउँमै हार्डवेयर र फर्निचरका सामग्रीको पसल चलाउँदै आएका छन्। सडकको छेउमा रोपेको आँपको छहारीमा शितल ताप्दै पसल कुरिरहेका अर्यालसँग हामीले कुराकानी गरेका छौं।
पसल चलाउनुभएको रहेछ, व्यापार कस्तो छ?
गाउँको व्यापार अहिले त ठप्पै भने पनि हुन्छ। गाउँमा कोही मान्छे छैन। मान्छे भए पो किनमेल हुन्छ, रित्तो गाउँमा कस्ले सामान किनेर व्यापार हुने हो! भएका मान्छेहरू पोखरा, बुटवल, काठमाडौंदेखि विदेश पुगेका छन्। बाहिरबाट आएर यहाँ किनमेल गर्ने कुरा भएन। गाउँमा त अट्कोपड्को भयो भने मात्र व्यापार हुने हो।
कति वर्ष भयो नि पसल राख्नुभएको?
यहाँ पसल राखेको त तीन वर्ष भयो। योभन्दा पहिले तीन वर्ष तानसेनमा किराना पसल चलाएको थिएँ। घरपाइ मिलाउनुपर्यो भनेर यता आएको।
पसल राखेको घर आफ्नै हो?
होइन, अंकलको घरमा भाडामा चलाएको छु। मेरो घर थोरै तल छ।
व्यापारभन्दा पहिले के गर्नुहुन्थ्यो?
मेरो त जीवन नै भारतको दिल्लीमा बित्यो भने पनि हुन्छ। ११ वर्षमा काम खोज्दै दिल्लीमा पुगेको थिएँ। ३५ वर्ष उतै बसेर २०६५ सालमा नेपाल फर्किएको हुँ। भारतमा पहिले धेरै दुःख गरियो। अर्काको घरमा पनि काम गरेँ। पछि भने खानेपानीको धारा बनाउने कम्पनीमा काम पाएको थिएँ।
सानो उमेरमै रोजगारीको लागि भारत जानुभएछ, पढ्नु भएन?
तीन कक्षा मात्र पढ्न पाएँ। म सानो हुँदै बुवा रोगले थलिनुभएको थियो। परिवारको जेठो छोरो भएपछि घरको जिम्मेवारी सबै मेरै टाउकोमा आयो। म मुनि दुई भाइ थिए। उनीहरूलाई हुर्काउने, बुवाआमाको हेरविचार गर्ने सबै दायित्व मेरै थाप्लोमा आएपछि तीन कक्षा पढेपछि भारत गएर काम गर्न थालेँ।
तपाईंलाई सबभन्दा रमाइलो के गर्दा लाग्छ?
मलाई काम गर्दा नै सबभन्दा रमाइलो लाग्छ। त्यसमा पनि फर्निचर उद्योग मन पर्थ्यो। त्यही भएर उद्योग खोलेको थिएँ। अहिले छोराले चलाउँछन्।
नाचगान गर्ने, सिनेमा हेर्ने कत्तिको गर्नुहुन्छ?
घरको जिम्मेवारीले सानैदेखि अर्काको मुलुकमा गएर परिश्रम गर्नुपर्यो, रमाइलो भन्ने नै हरायो। भारतमा छँदा हिन्दी सिनेमा हेरेको थिएँ।
पछिल्लो पटक हेरेको सिनेमा कुन थियो?
दास्तान, मदर इण्डिया यिनै सम्झना छ।
तपाईंलाई सबभन्दा के खान मन पर्छ?
खानेकुरा त सबै मन पर्छ, धेरै मनपर्ने भनेको दूध, दही हो। बरू दाल, तरकारी नभए पनि हुन्छ तर दूध, दही नभई भात खान सक्दिनँ।
तपाईंको परिवारमा कोको हुनुहुन्छ?
श्रीमती, दुई भाइ छोरा, एक छोरी बुहारी र नातिनातिनी छन्।
परिवारबाट कत्तिको सन्तुष्टि हुनुहुन्छ?
सन्तुष्टि नै छु। जेठो छोरा जापान छन्। पहिले गाडी थियो भाडामा चल्थ्यो। कालिगण्डकी करिडोर खुलेपछि गाडी भाडामा जान छोड्यो यहाँ बसेर हुँदैन भनेर जापान गयो। कान्छो छोराले गाउँमै फर्निचर उद्योग चलाएका छन्। राम्रै छ।
परिवारमा कत्तिको मेलमिलाप छ?
मेलमिलाप छ। सँगै बसे पो ठाकठुक हुन्थ्यो होला। हामी त सबै अलग अलग बस्छौं, आफ्नै कमाइ खान्छौं त्यसोगर्दा कुनै बेमेल छैन।
तपाईंको स्वास्थ्य कस्तो छ?
स्वास्थ्य त त्यति राम्रो छैन। तीन वर्ष पहिले मेरूदण्डमा ट्युमर पलाएपछि अपरेसन गरेको थिएँ। त्यसपछि जरकमरक काम गर्न सक्दिनँ। घोप्टो पर्न मिल्दैन। अपरेसन गरेपछि ब्लड प्रेसर पनि बढेको छ। त्यसको औषधि खान थालेको छु। अपरेसन गरेपछि एक्सरसाइज गर्न बन्द भएर होला पेट पनि बढ्दै गएको छ।
रातिमा निद्रा कत्तिको लाग्छ?
निद्रा त धेरै लाग्छ। राती ९/१० बजेदेखि बिहान पाँच बजेसम्म सुत्छु।
ठिक्क पैसाको यस्तो किन्न पाए हुन्थ्यो भन्ने केही छ?
यस्तो लगाउन पाए हुन्थ्यो, खान पाए हुन्थ्यो भन्ने चाहना पूरा गर्न नसक्ने स्थिति छैन। सानैदेखि आफैले कमाउन थालेको भएर होला केही चिज मन पर्यो भने किनिहाल्छु। मरेर लैजानु केही छैन, जोगाइदिनु कसलाई पो छ र!
तपाईं सबभन्दा धेरै खुसी भएको क्षण कहिले थियो?
धेरै खुसी भएको क्षण त कहिले भयो र? केटाकेटी उमेरमै अर्काको देशमा काम गर्नुपर्यो। युवा अवस्था पनि उतै बित्यो। चाडपर्वमा घर आउन पाउँदा खुसी लाग्थ्यो। त्यसपछि छोराछोरीले भनेको मान्ने समयमा खुसी भइए होला, त्यसपछि त त्यस्तै हो।
तपाईंको सबभन्दा धेरै चित्त दुखेको क्षण नि?
म परिवारको जेठो छोरो १६ वर्षको हुँदा बुवा बित्नुभयो। त्यसपछि भाइबहिनी सबैको विवाह दान आफैले गरिदिएँ। तर गरेर पनि गरेजस्तो देखिने रहेनछ। त्यो कुराले चित्त दुखेको थियो। कर्म गरेर त्यो अनुसारको फल नपाउँदा, जस नपाउँदा चित्त दुख्ने रहेछ।
तपाईंलाई पिरोलिरहेको, यस्तो भइदिए हुन्थ्यो भन्ने केही छ?
अहिले त त्यस्तो केही छैन। सबै सन्तुष्टि छ। छोराछोरीको विवाह दान गरेर नातिनातिनी खेलाउन पाएकै छु। अहिलेसम्म पनि आफैले कमाएर खान सकेको छु, केहीको अभाव छैन।
आफ्नो गाउँ, टोल, समाज कस्तो लाग्छ?
हाम्रो टोल समाज त सबै दाजुभाइले बनाएको हो। सबै राम्रो लाग्छ। मिलेर बसेका छौं।
टोल समाजको सबभन्दा के कुरा मन पर्छ?
दाजुभाइ एकैठाउँ भएकोले कसैलाई केही अप्ठ्यारो साँघुरो परेको बेला सबै एकजुट हुन्छन्, त्यो कुरा मन पर्छ।
मन नपर्ने कुरा नि?
एकै ठाउँमा नजिक बसेपछि कहिलेकाहीँ साँध सिमानामा ठाकठुक हुन्छ। यहाँ मात्र नभएर त्यो जहाँ पनि हुन्छ स्वाभाविक हो।
तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ?
नेपालको राजनीति त मलाई फोहोरी लाग्छ। नेताहरू जतिले मिलेर कुम्ल्याउने। जनताहरू मर्ने। कुम्ल्याउन पाए सबै मिल्ने नपाए एक आपसरमा लड्ने। कुनै पनि पार्टीको माथिल्लो नेतृत्व ठीक छैन।
तपाईंलाई मन पर्ने नेता कोही छ?
अहिलेको अवस्थामा त कोही पनि मन पर्दैन। रवि लामिछाने पुराना र बुढा नेतालाई गाली गर्दै आएका थिए। उनी ठीक छन् कि भन्ने लागेको थियो तर सत्ताकै लागि तिनै पुराना पार्टीका बुढा नेतासँग मिल्न पुगे। सबै नेता एउटै खेतका मूला जस्ता लाग्न थाल्यो। नेता भनेको देशभक्त हुनुपर्छ, तर अहिलेका नेता भन्नेहरू कसैमा देशभक्तिको गुण देख्नुहुन्छ र?
तपाईंले गएको चुनावमा कसलाई भोट हाल्नुभएको थियो?
गएको चुनावमा त एमालेलाई भोट हालेको थिएँ।
अहिले चुनाव भयो भने कसलाई भोट दिनुहुन्छ?
त्यो त सोच्नुपर्छ। दलभन्दा पनि कस्तो मान्छे उठ्छ त्यसैको आधारमा भोट हाल्ने हो।
सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
सरकारले त धेरै नीति नियम फेरबदल गर्नुपर्छ। तराईको खेतीयोग्य जमिन घडेरी बने। पहाडका जग्गा बाँझो रहे। यस्तो कामलाई सरकारले रोक्नुपर्छ। पहाडमा बाँदरले बस्न दिँदैन खेती गरेर पनि स्याहार्न दिँदैनन्। पहाडमा पनि विदेशबाटै खाद्यान्न ल्याउनु परेपछि यो देशमा कहिले विकास हुन्छ। सरकारले खेती योग्य जमिनमा खेती नै गर्ने र पहाडमा पनि कसैले बाँझो छोड्न नपाउने नीति ल्याउनुपर्छ।