(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
पवन पाठक पसलमा हावाले उडाएर ल्याएको धुलो पुछदै थिए। प्रादेशिक अस्पताल जलेश्वरको छेउमा औषधी पसल गर्छन्। मसँग कुराकानी सुरू गर्नसाथ उनले राजनीति र नेताहरूप्रति आक्रोश पोख्न थाले। ४७ वर्षीय पाठकसँगको कुराकानी:
के छ तपाईंको दुःख सुख?
नेताहरूका कारण केही पनि सुख छैन। अझ मधेसवादी पार्टीको क्रियाकलापले झन् दु:ख लागेको छ। यहाँ न रोजगार छ, न स्वास्थ्य, न शिक्षा छ। जताततै भ्रष्टाचार मात्रै छ। सुख हुने कसैले कामै गरेको छैन।
कस्तो चलेको छ पसल ?
राम्रै चलेको छ। ग्राहक ठिकै आउँछन्।
मनोरञ्जनका लागि के गर्न मनपर्छ तपाईंलाई?
सबभन्दा धेरै क्रिकेट हेर्न मज्जा आउँछ। अहिले सधैँ आइपिएल हेर्छु।
खानपिनमा के मनपर्छ ?
मांसाहारी खाना नै मनपर्छ। चिकेन, मटन, माछा बढी मनपर्छ। दुईदिन अघि मात्रै खाएको थिएँ मासुभात।
कति जना छोराछोरी छन्?
दुईजना छोरा, एक छोरी। दुई जना यहीँ बोर्डिङमा पढ्छन्। एउटा छोरा बी फर्मा गरेर डि फर्माको तयारी गरिरहेका छन्। उनलाई पनि बोर्डिङमै पढाएको हो।
सरकारीमा किन पढाउनुभएन?
यहाँका नेताका कारण। मधेसको आठवटै जिल्लाका सबै समुदायिक विद्यालयको अवस्था त्यस्तै खराब छ। सबभन्दा पहिलो खराबी सबै शिक्षक राजनीतिमा आबद्ध छन्। विद्यालयमा राजनीतिकरण बन्द हुनुपर्ने हो। सरकारको लगानी धेरै छ तर त्यस अनुसारको प्रतिफल छैन। निजी विद्यालयमा १० हजार तलब खाएर जति राम्रो शिक्षा दिन्छन्, त्यति ५० हजार तलब खानेले पनि सरकारमा पढाउँदैनन्। त्यसमा सरकारको मात्रै दोष छैन। समाज, मिडियाकर्मी सबैको दोष छ। नेताहरूले सामुदायिक विद्यालयमा छोराछोरी पढाउन भन्छ तर उनीहरू कति जनाका छोराछोरी सामुदायिकमा पढ्छन्। कर्मचारीले कति पढाउँछन्?
छोराछोरीबाट कतिको सुख पाउनुभएको छ?
अहिले उनीहरू बच्चै छ। उमेरै भएको छैन सुख पाउने। अहिले हामीले नै सुख दिने बेला छ बालबच्चालाई त।
परिवारमा कतिको मेलमिलाप हुन्छ?
मेलमिलापै छ। कहिलेकाहीँ सानतिनो त सबैका परिवारमा भइहाल्छन्।
स्वास्थ्य कस्तो छ?
राम्रो छ।
निद्रा कतिको आउँछ?
मज्जाको निद्रा आउँछ।
ठिक्कको पैसा पर्ने के किन्नु हुन्थ्यो?
पैसा हुँदा सबैको इच्छा भइहाल्छ। मलाई २० लाख रूपैयाँ हातमा आयो भने त्यसलाई चालीस लाख बनाउँछु र आधा रकम दान गर्छु।
सबभन्दा धेरै खुसी कहिले हुनुभएको थियो?
याद छैन। त्यस्तो धेरै खुसी भएकै छैन।
के कुराले सबभन्दा धेरै चित्त दुखेको छ?
आमा बित्दा धेरै पीडा भएको थियो। क्यान्सर भएर २०४७ सालमा उहाँ बित्नुभयो।
तपाईंको मनमाा पिरोलिरहेको वा आशा लागेको केही कुरा छ कि यस्तो भइदिएहुन्थ्यो?
मधेसी नेताहरूले आफ्नो व्यवहार छोडिदियो भने धेरै राम्रो हुन्थ्यो। आफ्नो सिद्धान्तमा रहिदिए हुन्थ्यो। कुर्सीको तानातान नगरे हुन्थ्यो भन्ने छ। जनताका काम गरे हुन्थ्यो।
गाउँ, ठाउँ र समाज कस्तो लाग्छ?
समाज भ्रष्ट छ। माथिबाटै सबै भ्रष्ट छ भने तलको समाज पनि भ्रष्ट भइहाल्छ नि! उपभोक्ता समिति बनाउँदा भ्रष्टाचार गर्छन्। पहाडमा जुन पैसामा थप काम हुन्छ यहाँ पुग्दैन। समाजका सबैजना स्वार्थी छन्। आफ्नो दायित्व के छ भन्ने बिर्सिसकेका छन्।
तपाईंलाई राजनीति कस्तो लाग्छ?
कालो किचड हो राजनीति। सबै आफ्नो स्वार्थका लागि मात्रै राजनीति गर्छन्। आफ्ना छोराछोरी मात्रै हेर्छन्। चुनावमा वडाध्यक्षकै लागि एक करोड रूपैयाँ खर्च गर्छ, जितेपछि असुल गर्छ। सांसदको चुनावमा पनि उस्तै अवस्था छ।
तपाईंलाई खुब चासो रहेछ है राजनीतिमा?
मलाई चासो छैन।
तपाईंलाई देशका को नेता मनपर्छ?
बालेन, गोपाल हमाल, हर्क साम्पाङ।
के राम्रो लाग्छ यी नेताहरूमा?
यी नेताहरूको सबै कुरा राम्रै छ। बालेनसँग प्लानिङ छ, जे भन्छ त्यो काम गर्छन्।
प्रतिनिधसभामा कसलाई भोट दिनुभएको थियो?
लोसपाका महन्थ ठाकुरलाई दिएको थिएँ। तर जहिलेदेखि गए दोबारा यता देखेको छैन।
उनको कामबाट कति चित्त बुझेको छ?
भोट दिइहालेँ, के काम गरेका छन् र सन्तुष्ट हुनु!
फेरि चुनाव भयो भने कसलाई भोट दिनुहुन्छ?
अब नो भोटमा गर्ने। किनकि मलाई मन पर्ने कुनै नेता देख्दिनँ मधेसमा।
सरकारले के काम गरिदिए हुन्थ्यो लाग्छ?
सबभन्दा पहिले कृषिका लागि सिँचाइ, मलखाद बिउबिजनको व्यवस्था गर्नुपर्छ। स्वास्थ्य क्षेत्र सुधार्न पनि ध्यान दिनुपर्छ। अस्पतालमा कमिसनको चक्करमा करोडौँको उपकरण दिन्छ तर जनशक्ति दिँदैन। शिक्षामा अनुशासनमा राख्नुपर्यो शिक्षकलाई। यातायातका लागि सडकबाटो बनाइदिनुपर्यो। नेपाल जलस्रोतमा दोस्रो धनी देश हो तर हाइड्रो इलेक्ट्रिसिटीमा धेरै काम भएको छैन त्यसमा काम गर्नुपर्यो।