(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
धनगढी उपमहानगरपालिका–४ उतरबेहडीस्थित सडकको छेउमा बेतबाँसका सामग्री बिक्री गर्ने सानो पसल छ। त्यही पसलमा केहीदिन अघि भेटिए ४० वर्षीय बाधुराम चौधरी। ३३ वर्षअघि उनी कैलारी गाउँपालिका–२ बाट पढ्न भनेर धनगढी आएका रहेछन्। अहिले यही पसल चलाउँछन्।
उनीसँग हामीले गरेको कुराकानी :
त्यतिबेला गाउँमा के सुविधा थिएन र धनगढी आउनु परेको थियो?
मेरो परिवारको आर्थिक अवस्था निकै कमजोर थियो। दाइको भने धनगढीमा जागिर थियो। म पनि उहाँसँगै बस्ने र पढ्ने भनेर ८ वर्षको उमेरमा यतै आएँ। २०४८ सालतिर हाम्रो गाउँमा त भोकमरी हुन्थ्यो। जग्गा जमिनमा खेतीपाती गरे पनि खान पुग्दैनथ्यो। अहिले खेती छैन तर पेटभरी खान पुग्छ।
आमाबुवा हुनुहुन्छ कि हुनुहुन्न?
हुनुहुन्न।
तपाईंले कतिसम्म पढ्नुभयो त?
१२ कक्षासम्म पढेँ। परिवारको जिम्मेवारी आएपछि पढाइ छोड्नुपर्यो। बिहे भयो जिम्मेवारी आयो। त्यसपछि काममा लागिहालेँ।
के काम गर्नुभयो?
प्राइभेट फर्ममा बजार व्यवस्थापनको काम गरेँ। पछि भ्याटको बिल चलाइदिने र इन्ट्री गरिदिने काम गरेँ। यो काम डोटीको दिपायलमा ७/८ वर्ष गरेँ। त्यसपछि ६/७ वर्ष धनगढीमै पनि काम गरेँ। आधा जिन्दगी यही काम गरेर बित्यो।
अहिले यो बेतबाँसका सामग्री बिक्री गर्ने काम गरिरहनुभएको छ, यो काममा कसरी लाग्नुभयो?
श्रीमतीले बेतबाँसका सामग्री बनाउने तालिम लिनुभएको थियो। उहाँले घरमा सामग्री बनाउन थाल्नुभयो, मैले पनि उहाँबाटै सिकेँ र अहिले दुवै मिलेर व्यवसाय गरिरहेका छौं। अन्त काम गरौं भने अर्काेको खटनमा बस्नुपर्छ। कति अर्कैको खटन सहनु? आफ्नो व्यवसायमा स्वतन्त्रता छ, राम्रो छ आफ्नै काम। श्रीमतीले त यो काम गर्न थालेको पाँच वर्ष भयो। अहिले श्रीमती घरमा सामग्री बनाउँछिन्, म पसलमा बस्छु।
तपाईं र तपाईंकी श्रीमतीले मात्रै यो काम गर्नुहुन्छ कि कर्मचारी पनि राख्नुभएको छ?
अहिले दुवै जनाले मात्रै काम गर्छाैँ।
काम कस्तो चलिरहेको छ?
सन्तुष्टि नै छु भनूँ। बाहिर जानु परेको छैन। अन्तिम विकल्पको रूपमा बेतबाँसका सामग्री बनाएर गुजारा गरौं भन्ने लाग्यो। धेरै लगानी गर्न खर्च पुँजी छैन।
तपाईंलाई के गर्न धेरै मन पर्छ? काममा, मनोरञ्जनमा?
समाज सेवा गर्न धेरै मन पर्छ। कसैलाई सहयोग गर्दा मलाई धेरै आनन्द लाग्छ। हाम्रो समुदायमा त गाउँको मुख्य मान्छे भलमन्सा हुन्छ। म गाउँको भलमन्सा कमिटीको सचिव पनि हो।
खानेकुरामा सबभन्दा बढी के मनपर्छ?
दाल, भात र रोटी नै मनपर्छ। मेरो परिवार शाहाकारी हो।
कति छोराछोरी छन् तपाईंका?
एक छोरा, एक छोरी छन्। छोरी १२ मा पढ्छिन्, छोरा ९ मा पढ्छ।
छोराछोरी भनेको कत्तिको मान्छन्?
पढाइको कुरामा केही सिक्ने कुरामा बच्चाहरू अलिअलि अल्छी त गरिहाल्छन्, आफूले प्रोत्साहन गर्नुपर्छ। बेलाबेला सम्झाइरहनुपर्छ। जिद्दी, अल्छी हुने भनेको नमान्ने भए पनि सम्झाउनुपर्छ।
पारिवारिक मेलमिलाप कतिको छ?
विवाद त मानव भइसकेपछि हुन्छ नै। तर म अलि कस्तो मान्छे छु भने बढी मजाक गरिरहन्छु। जे कुरामा पनि मजाक गरिरहने भएकाले श्रीमती रिसाउनुहुन्छ। खास ठूलो मनमुटाव छैन।
स्वास्थ्य अवस्था कस्तो छ? राती मजाले निद्रा लाग्छ?
स्वास्थ्य अवस्था त ठीकै छ औषधि खानुपरेको छैन। निद्रा त मस्त लाग्छ। पसलमा काम गरेपछि राति निद्रा धेरै लाग्छ।
ठीकठीकै पैसाको के किन्न मन छ तपाईंलाई?
मेरो घर अहिले सानो छाना र पर्खाल टिनकै भएको छ। भित्ताचाहिँ इँटाको पर्खाल र माथि छाना लेन्टर लगाउनु पाए हुन्थ्यो भन्ने चाहना छ। ठीकठीकै पैसा भए त त्यसैले घर बनाउने सामान किन्थेँ।
जिन्दगीमा सबभन्दा बढी खुसी कहिले र के कारण हुनुभएको थियो?
२०५८ सालमा एसएलसी दिइसकेपछि म काममा जान्थेँ। एसएलसीको रिजल्ट आएको मलाई थाहा भएन। साथीहरूले काम गर्ने ठाउँमा आएर तँ पास भइस् भन्दा मैले पत्याइनँ। काम गर्न जाँदा पढ्न पाएको थिइनँ, म कसरी पास भएँ भनेर अचम्ममा परेँ। ९ कक्षा त एक महिना मात्रै पढेको थिएँ। सरले सम्झाएपछि मैले एसएलसी दिएको थिएँ। पास भएको कुरा सुन्दा धेरै खुसी भएँ।
जिन्दगीमा साह्रै चित्त दुखेको छ कि नाइँ?
यस्तो त भनेर साध्य छैन कुन भन्ने कुन नभन्ने। चित्त दुख्ने कुरा चाहिँ म मनमा लिन्नँ, बिर्सिन्छु यस्ता कुरालाई म पचाइदिन्छु।
मनमा के कुराले पिरोलिरहन्छ?
मेरा पाँच भाइ थिए, म कान्छो भएँ। दाइहरूले मलाई सँगै समेटेर लगेको भए हुन्थ्यो भन्ने मनमा लागिरहन्छ।
तपाईंलाई हाम्रो गाउँ समाज कस्तो लाग्छ?
अहिले हाम्रो विकृत समाज भएको छ। कुनै चिज मिलेर सरसल्लाह गरौं भने त्यसमा सहमत कोही हुँदैनन्। पहिला भाइचाराको सम्बन्ध हुन्थ्यो। अहिले त्यस्तो छैन। समाजको राम्रो पक्षका बारेमा सोच्नुपर्ने अवस्था छ। नराम्रो त चारैतिरबाट देखिन्छ अहिले।
हाम्रो देशको राजनीति कस्तो लाग्छ तपाईंलाई?
नेपालको राजनीति पनि के राजनीति भन्ने! प्रधानमन्त्री मन्त्री चुन्ने काम पनि जनताको हातमा हुनुपर्ने हो। जसरी हामी मेयर, उपमेयर छान्छौं त्यसरी नै उहाँहरूलाई पनि छान्ने अधिकारी हुनुपर्ने। बहुमत कसैको पुग्दैन दुई महिनामा सरकार बन्छ अर्काे महिना ढल्छ। निर्वाचन भइरहे पनि केही काम हुँदैन। हाम्रो देशको संसदीय प्रणाली नै मन पर्दैन मलाई। गोपाल हमाल र बालेन शाह जस्ता नेता भए विकास हुन्थ्यो नि! हाम्रा प्रधानमन्त्री, मन्त्री पनि उहाँहरू जस्तै भएको भए हुन्थ्यो नि!
देशको नेतामा तपाईंलाई को मनपर्छ?
नेतामा कुरै नगरौं। सबै उही ड्याङका मूला त हुन् जो भए पनि!
गएको चुनावमा कसलाई भोट दिनुभएको थियो?
भोटको कुरा चाहिँ नभनौं।
अहिले चुनाव भए कसलाई भोट दिनुहुन्छ?
त्यो सोचौंला अनि भन्छु। नेपालमा 'नो भोट सिस्टम' भएको भए राम्रो मान्थेँ।