(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
कपिलवस्तु र अर्घाखाँचीको सीमा क्षेत्र पत्थरकोटदेखि गाडीमा आधा घण्टाको उकालो लागेपछि पुगिन्छ रजिया। भौगोलिक हिसाबले विकट रहे पनि सन्धिखर्कदेखि गोरूसिंगे सम्मको सडक निर्माण भएपछि यहाँका बासिन्दाको जीवनस्तर केही उकासिन थालेको छ।
विगत आठ-दश वर्ष यता भने सडक कालोपत्रे भएपछि सडक किनारमा चिया-खाजा पसल चलाएर जिविकोपार्जन गर्नेहरूको संख्या बढ्दै छ। केही दिन पहिले यही सडक हुँदै रजियामा चिया खाँदै गर्दा मैले उनलाई भेटेकी थिएँ। उनले धुमपान गरिरहेका बेला मैले उनलाई देखेकी थिएँ।
धुमपान गरिसकेपछि फर्केर आएर घरको पिँढीमा बसिन्। म पनि उनको पिँढीमा गएँ।
उनी हुन्, दुर्गा देवी पुलामी (६९ वर्ष)। घरः सितगंगा नगरपालिका-१२ रजिया। दुर्गादेवी भारतको असममै जन्मिइन्, उतै हुर्किइन्।
रजियाका तिलबहादुर पुलामी रोजगारीको लागि असम गएका थिए। दुर्गादेवी १७ वर्ष पुगेकी थिइन्। माइतीले तिनै तिलबहादुरसँग विवाह गरेर नेपाल पठाइदिए। उनीहरू नेपाल आएर रजियामै बस्न थाले। दुर्गादेवीले लगालग पाँच छोरा र चार छोरी गरी नौं सन्तान जन्माइन्।
उनीसँग मैले कुरा सुरू गर्दै भनेँ, ‘आमाले चुरोट खानुहुने रहेछ, चुरोटले त फोक्सो-मुटु बिगार्छ नी।’
‘मनमा पीर परेपछि जे बिगारे पनि मतलब नहुने रहेछ नानी,’ उनले जवाफ दिइन्।
मलाई उनीसँग थप कुरा गर्न मन लाग्यो। हामी पसल अगाडि कुरा गर्न थाल्यौं।
के पीरले तपाईंको मन खाइरहेको हो?
एउटा छोरा सानैमा बिते। दुईवटी छोरी विवाह गरेपछि नाति-नातिनी जन्मिएपछि बिते। श्रीमान पनि आठ वर्ष पहिले बिते। मदिरा खाने लत लागेको थियो। जण्डिस लागेपछि ६४ वर्षमा बिते। बितेर गएका उनीहरूलाई सम्झेर विरह लाग्छ नि।
अहिले अरू परिवार त ठिकै छ नि?
अरू त ठिकै छन्। यहाँ घरमा कान्छो छोरा र म मात्रै छौं। अरू आफ्ना आफ्नै काममा बाहिर छन्।
जिवित भएका सन्तानसँग कत्तिको खुसी हुनुहुन्छ?
धेरै खुसी छु। ठूलो छोराले सन्धिखर्कमा फर्निचर पसल खोलेर बसेका छन्। माइलो छोरा विदेश, बुहारीले सन्धिखर्कमा बसेर छोराछोरी पढाएकी छन्। साईंलो छोरा भारत दिल्लीमा छन्। बुहारी र नातिनातिनी चन्द्रौटामा बस्छन्। छोरीहरूको विवाह भएर आ-आफ्ना घरमा छन्। कान्छो छोरा मसँगै छन्। सबैको राम्रो छ, खुसी छु।
घर कसरी चलेको छ ? खेतीपाती, गाईवस्तु केही पाल्नुभएको छ?
छैन। कसले घाँसपात काटिदिन्छ र पाल्ने हो! काट्ने मान्छे कोही भए त पाल्न हुन्थ्यो। पहिले म आफैले सक्दा पालेकी थिएँ। अहिले त खेतबारी बाँझो छ, गोठ रित्तो छ।
घरखर्च कसरी चलाउनु भएको छ?
छोराहरूले रासन पानीको लागि सहयोग गर्छन्। कान्छो छोराले कहिलेकाहीँ मिस्त्रिको काम गरेर कमाउँछन्। मेरो पनि वृद्धभत्ता छ। त्यही बुझ्यो रासन पानी किन्यो, पकाएर खायो। यसै गरेर चलेको छ।
तपाईंलाई सबैभन्दा बढी के गर्न रमाइलो लाग्छ?
रमाइलो त सँधै छ। पकाउने र खानेबाहेक अरू केही काम छैन। गाउँघर डुल्यो, दिदीबहिनीसँग कुराकानी गर्यो। बाटो नजिकै घर छ। गाडी चलेको मान्छे ओहोरदोहोर गरेको हेर्यो यसै रमाइलो लाग्छ।
गीत गाउने नाँच्ने कत्तिको गर्नुहुन्छ?
गाउने नाँच्ने गर्न त केही पनि आउँदैन। असमतिर हुर्किएँ, सिक्नै पाइनँ।
दिनभरी के गरेर बिताउनुहुन्छ त?
दिदीबहिनीसँग कुरा गर्यो बस्यो, दिन बितिहाल्छ।
टेलिभिजन कत्तिको हेर्नुहुन्छ?
पहिले भगवानका भजन गीत हेर्थेँ, प्रवचन सुन्थेँ। अहिले त टिभी बिग्रिएको छ। दिदीबहिनीहरूको मोबाइलमा हेर्छु।
तपाईंलाई सबैभन्दा के खान मन लाग्छ?
खान त आटो पिठो ढिँडो नै मनपर्छ। दुध घिउसँग आटो ढिँडो खान मनपर्छ।
पछिल्लो पटक कहिले खानुभएको थियो?
आटो र दुध घिउ खान पनि समय पर्खिनुपर्छ र? हिजै साँझ पनि त्यही खाएकी थिएँ।
तपाईंको स्वास्थ्य कस्तो छ नि?
स्वास्थ्य त त्यति राम्रो छैन। दुई वर्ष त विस्तरामै परेँ। तीन/चार वर्ष पहिले टिबी (क्षयरोग) लागेको रहेछ। ठूलो छोराले सन्धिखर्क लगेर उपचार गरेपछि ६ महिना औषधी खाएर सन्चो भयो। ढाड पनि दुख्थ्यो। त्यसको पनि ३ महिना औषधी खाएँ। अहिले सन्चो भएको छ। किड्नीमा पत्थरी परेको छ भनेर त्यसको पनि एक महिना औषधी खाएँ। अहिले दुखेको छैन। सन्चो भएर हो कि कुन्नी।
टिबी लागेको मान्छेले चुरोट खानु हुँदैन नी, तपाईंले त चुरोट खानुहुन्छ फेरि फर्कियो भने?
खान त नहुने हो। खान हुन्न भन्ने पनि थाहा छ। तर तलतल लाग्छ, नखाइ मन मान्दैन। टिबी लागेर बिरामी भएको बेला दुई वर्ष खाइनँ। कहिलेकाहीँ मनमा पीर पर्यो भने खान मन लाग्छ। दिनमा दुई/तीन वटा खान्छु। खान हुन्न भन्ने त थाहा छ नि, अब त उमेर पनि गयो। उमेर गएको मान्छेलाई जे सुकै होस् भन्ने हुने रहेछ।
तपाईंलाई निद्रा कत्तिको लाग्छ?
निद्रा त ठिकै लाग्छ। नौं बजेतिर सुत्छु। राति एक-दुई पटक जाग्छु। बिहान ४ बजे उठ्छु। बुढाबुढीको निद्रा त्यस्तै त हो।
घरमा डिंगाबाच्छा केही छैनन्, चार बजे नै उठेर के गर्नुहुन्छ?
घरमा काम गर्ने मान्छे छैनन्। घर बढार्ने, लिपपोत गर्ने, पूजा गर्ने यति गर्दा आठ बजिहाल्छ।
तपाईंलाई ठिक्क पैसाको यस्तो चिज किन्न पाए हुन्थ्यो भन्ने केही छ?
त्यस्तो केही छैन। अब बुढेसकालमा लगाउने सबै रहर मेटिने रहेछन्। खानेकुरा, लगाउने कुरा केहीमा पनि रोजाइ नहुने। खानलाई पेट भर्न भए पुग्यो। लगाउनलाई पनि अब त न्यानो बनाउने र शरीर ढाक्ने कपडा भए भयो। यस्तो-उस्तो भन्ने रोजाइ केही छैन। छोरा बुहारीहरूले आफै किनेर ल्याइदिन्छन्। त्यही लगाउँछु।
तपाईं सबैभन्दा धेरै खुसी भएको समय सम्झिनुहुन्छ?
छोराछोरी सबैसँगै हुँदा सँधै खुसी भइन्छ। अरू त ठूलो छोरा जन्मिदा सबैभन्दा धेरै खुसी भएँ होला।
सबैभन्दा धेरै दु:खी भएको समय नि?
आफैले जन्माएका सन्तान आफ्ना आँखा अगाडि बित्दा धेरै दु:ख लाग्ने रहेछ। छोराछोरी बित्दाखेरी धेरै दु:खी भएकी थिएँ।
तपाईंको मनमा बसिरहेको केही पीर छ, यस्तो भइदिए हुन्थ्यो भन्ने केही?
अरू छोराछोरीको घरजम भएको छ। अब कान्छो छोराको पनि विवाह गरेर घरजम भए हुन्थ्यो भन्ने छ। २५ वर्षको भयो अरू त त्यस्तो पीर केही छैन।
तपाईंलाई आफ्नो गाउँ समाज कस्तो लाग्छ?
राम्रो लाग्छ नि। यही गाउँमा बस्न थालेको ४४ वर्ष भयो राम्रो नलाग्ने भए बस्न सकिन्थ्यो होला र।
नेपालको राजनीतिबारे कत्तिको थाहा छ?
राजनीतिबारे त केही पनि थाहा छैन। चार/पाँच वर्षमा चुनाव आउँदा नेताहरू भोट माग्न आउँछन्। त्यसपछि फर्किएर आउँदैनन्। हामीलाई राजनीतिले के गर्यो र!
तपाईंलाई सबैभन्दा मनपर्ने नेता कोही छ?
को नेता छ र मनपर्ने? मैले नेता पनि चिन्दिनँ। एमाले सरकारले भत्ता दिएर खाइएको छ। नेता त होइन पार्टी एमाले मनपर्छ।
गएको चुनावमा कसलाई भोट हाल्नुभयो?
त्यही एमालेको सूर्यमै हालेको हो। बुढा पहिलेदेखि नै एमालेमा लाग्नुभएको थियो। हामी पनि सबै त्यतै लागिम्।
अहिले चुनाव भयो भने कसलाई भोट दिनुहुन्छ?
आउने दिनमा त के भन्न सकियो र मन फेरिन्छ कि।
सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
सरकारले हामीजस्ता बुढाबुढीको ख्याल गरे हुन्थ्यो, बिरामी हुँदा नि:शुल्क उपचार गरिदिने। खान पाएका छन् कि छैनन् ख्याल गरे हुन्थ्यो।
'हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्