(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
७२ वर्षीय बुधे बोहोरासँग बुटवल उपमहानगरपालिकाले ६० वर्ष माथिका ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अन्य अशक्तहरूका लागि सञ्चालन गरेको स्वास्थ्य परीक्षण अभियान चलाएको बेला भेट भएको थियो। उनी आफ्नो टोलका जेष्ठ नागरिकहरूलाई स्वास्थ्य परीक्षणको लागि शिविर सञ्चालन गरिएको स्थलसम्म पुर्याउन सहजीकरण गरिरहेका थिए।आफैँ बुढ्यौली उमेरमा पुगिसक्दा पनि टोलका अरू जेष्ठ नागरिकहरूलाई सहयोग गरिरहेको देखेपछि मलाई उनीसँग कुराकानी गर्न मन लाग्यो।
हामी शिविर सञ्चालन भएको स्थान नजिकै एउटा घरको पेटीमा बसेर कुराकानी सुरू गर्यौं।
तपाईं त कति फूर्तिलो!
फूर्ति त देखाउनै पर्यो नि! शौभाग्यनगर टोल विकास संस्थाको अध्यक्ष छु। हाम्रो टोलमा एक सय ६५ घरधुरी छन्, उनीहरूलाई केही समस्या परेको छ कि सोधीखोजी गर्ने। वडासँग समन्वय गरेर टोल विकासका लागि काम गर्छु फूर्तिलै छु भन्ने लाग्छ।
तपाईंको टोल विकास समितिले के काम गर्छ नि?
टोलको सरसफाइ गर्ने, सडक नाली निर्माण गर्ने, तिनाउ खोलाको नजिक भएकोले बाढीको जोखिम छ। बस्तीलाई सुरक्षित बनाउनको तटबन्धको लागि जाली माग गर्ने, तटबन्ध बनाउने, टोलको विकासको लागि बजेट माग गर्ने, नगरपालिकाले टोलको सहभागितामा कुनै कार्यक्रम गर्यो भने सबैलाई सहभागी लगायतका काम गर्छौं।
तपाईंको पेसा व्यवसाय छ कि?
म २०२८ सालमा भारतीय सेनामा भर्ती भएको थिएँ। भर्ती भएर भारतको आसाममा चार वर्ष काम गरेँ। त्यतिबेला महिनाको १८० भारतीय रूपैयाँ तलब थियो। अर्काको देशमा त्यति तलबले परिवार पाल्न सकिँदैन भनेर २०३२ सालमा जागिर छोडेर मेरो घर पर्वतको लुङखु देउराली फर्किएँ।
आठ दश वर्ष पर्वतमै बसेँ। त्यसपछि रूपन्देहीको देवदह खैरेनीमा आएर खेती किसानी सुरू गरेँ। खेती किसानीबाट परिवार पाल्न नसक्ने देखेपछि बुटवल आएर निर्माणको सानो तिनो ठेक्कापट्टाको काम गरेँ। २०६५ सालदेखि भने दिपनगर आम्दा अस्पताल नजिकै चियाखाजा पसल सञ्चालन गरेको छु। अहिले पनि त्यही चलेको छ।
टोल समितिको अध्यक्ष हुनुहुन्छ, खाजा पसल पनि छ कसरी समय मिलाउनुहुन्छ?
साँझ बिहान पसलमा खाजाका लागि चाहिने सामान जुटाइदिन्छु। बनाएर सघाउँछु। दिउँसो टोल विकास समितिको काम गर्छु। अहिलेसम्म समय मिलाउन सकिएको छ।
पसल कस्तो चलेको छ?
ठीकै चलेको छ, पहिले जस्तो त छैन, तर पनि दु:खसुख चलेकै छ।
तपाईंलाई होटल चलाउन बाहेक अरू के काम गर्दा रमाइलो लाग्छ?
म रमाइलो मान्छे छु। जे काम गर्दा पनि रमाइलो मानेर गर्छु। त्यसमा पनि टोल समाजको काम गर्न पाउँदा धेरै रमाइलो लाग्छ।
नाचगान गर्ने, सिनेमा हेर्ने कत्तिको गर्नुहुन्छ?
नाचगान गर्न आउँदैन, सिनेमा हेर्न पनि मन लाग्दैन। हलमा गएर सिनेमा हेरेको सम्झना छैन। टेलिभिजनमा आउने नाटकहरू भने कहिलेकाहीँ हेर्छु।
तपाईंलाई सबभन्दा मन पर्ने खानेकुरा के हो?
खानेकुरामा सबभन्दा धेरै मन पर्ने दूध, दही नै हो। माछामासु खान्नँ। दूध, दही र घिउ नभएसम्म भने भात खाँदिनँ। दिनमा डेढ लिटर दूध मलाई मात्र चाहिन्छ।
घरमा को को हुनुहुन्छ?
घरमा त धेरै छौं। मेरा त श्रीमती नै तीन वटी छन्।
तीन वटी श्रीमती?
हो तीन वटी छन्। जेठी श्रीमती पर्वतमा छन्। माइलीलाई योगीकुटीमा घर बनाइदिएर राखेको छु, कान्छीले दिपनगरमा होटल चलाएर बसेकी छन्।
बहुविवाह गर्न नपाइने कानुन छ। तपाईंलाई बहुविवाह गर्न हुन्न भन्ने लागेन? पछि मुद्दा पनि लागेन?
मुद्दा त दिए पो लाग्ने! कसैले दिएन। जेठी श्रीमतीसँग २०३७ सालमा पर्वतमै विवाह गरेको थिएँ। रूपन्देहीको देवदहमा हाम्रो खेत थियो। खेतमा धान रोप्न वर्षामा देवदह आउनुपर्थ्यो। २०४१ सालमा धान रोप्नको लागि सघाउन भन्दै सालीलाई पनि लिएर आएको थिएँ। यतै बस्दा मायाप्रेम बस्यो विवाह गर्यौं। माइली र जेठी आफ्नै दिदीबहिनी भए।
२०६० सालमा म काठमाडौं जाँदै थिएँ। उनी बर्दघाटबाट बसमा चढेर मेरो छेवैको सिटमा बसिन्। उनी विवाहित थिइन् भन्ने थाहा भइहाल्यो। सिटमा बस्दा रोइरहेकी थिइन्। श्रीमानले मदिरा खाएर कुटपिट गरेर घर छोडेर हिँडेकी रहिछन्। नारायणगढमा पुगेपछि उनी बसबाट झरेर नारायणी नदीतर्फ गइन्। मलाई पक्कै यिनले नदीमा हाम फाल्छिन् भन्ने लाग्यो। उनलाई सम्झाएर आफूसँगै काठमाडौं लिएर गएँ। तीन चार दिन काठमाडौंमा सँगै बस्यौं। माया बस्यो अनि पशुपतिमा लगेर सिन्दुर लगाइदिएँ। उनले ५ वर्ष काठमाडौंमा होटल गरिन्। म पनि उतै बसेँ। पछि अब सबै सँगै बस्ने भनेपछि २०६५ सालमा बुटवलमा आएर होटल सुरू गरेको हो।
म उनैसँग बस्छु। तीनै जना दिदीबहिनी जस्तै मिलेर बस्छन्। मैले सबैलाई आआफ्नो स्थानमा राखेको छु। जेठी पहाडबाट दुई तीन महिनामा यतै आउँछिन् म पनि कहिलेकाहीँ जान्छु। हुँदैन, सौतासौती भनेर झैंझगडा गर्ने नै छैन, मिलेर बस्छन्। चाडपर्वमा सबै जना सँगै एउटै घरमा बस्छौं, रमाइलो हुन्छ। छिमेकीले पनि सौतासौती हुन् र! भन्छन्।
घरपरिवार आफन्त समाज कसैले केही भनेन?
कसैले केही भनेन, मैले कसैले कुरा काट्ने मौका पनि दिइनँ। श्रीमतीहरू लड्ने, झगडा गर्ने, घरमा कलह हुने भएको भए टोल समाजले पनि कुरा काट्ने मौका पाउँथ्यो होला मैले त्यस्तो मौका नै दिइनँ।
छोराछोरी कति छन्?
श्रीमती धेरै भए पनि सन्तान धेरै छैनन्। सबैतिर गरेर दुई छोरा, तीन छोरी छन्।
छोराछोरीबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ?
सन्तुष्ट छु, छोरीहरू सबैको विवाह भयो। छोरा एउटा दिल्लीमा होटल चलाएर बसेका छन्। कान्छो छोरा १२ मा पढ्दै छन्।
तपाईंको स्वास्थ्य कस्तो छ नि?
स्वास्थ्य ठीकै छ। दुई तीन वर्षदेखि ब्लडप्रेसर देखिएको छ औषधी खान्छु अरू त त्यस्तो छैन।
रातिमा कत्तिको निदाउनु हुन्छ?
कहिलेकाहीँ टेन्सन भयो भने निद्रा लाग्दैन। अरू बेला त राम्रै निद्रा लाग्छ।
केको टेन्सन हुन्छ?
हुन्छ नि घर व्यवहारको, तीन परिवार छन् उनीहरूको पालनपोषणको पिर। टोल समितिको अध्यक्ष छु, गाउँ टोलमा हुने विकास निर्माणका काम, नगरपालिकाबाट बजेट ल्याउने काम गर्ने, कहिलेकाहीँ कामको ठेक्का पनि लिन्छु, काम गर्दा कतै गल्ती हुन्छ कि भनेर टेन्सन लाग्छ।
कति बजे सुत्नुहुन्छ, कति बजे उठ्नुहुन्छ?
राति ११ बजेतिर सुत्छु, बिहान साढे तीन बजेतिर उठिहाल्छु।
चार घण्टा मात्र सुत्नुहुन्छ?
त्यस्तै हो, बिहान चाँडै उठेर होटलमा समोसा, म:म, चाउमिन सबैको लागि व्यवस्था गरिदिनु पर्छ। दिनभरी टोल समितिको काममा हिँड्ने भएपछि बिहान चार पाँच घण्टा होटलको काम पनि गर्नुपर्यो।
तपाईंलाई ठीक्क पैसाको किन्न पाए हुन्थ्यो भन्ने केही छ?
त्यस्तो केही छैन। धेरै पैसा भए त राम्रै घर बनाउन पाए हुन्थ्यो। सानो तिनो सबै छ, छोरा छोरीले पनि चाहिने चिज किनिदिन्छन्। मलाई सबै भरिपूर्ण छ।
तपाईं सबभन्दा धेरै खुसी भएको क्षण कहिले थियो?
कि १५/१६ वर्षको उमेरमा धेरै खुसी थिएँ होला त्यसपछि अहिले धेरै खुसी छु। छोराछोरी घर परिवार सबै व्यवस्थित बनेको छ। अहिलेजस्तो खुसी अब अरूबेला पाइएला र भन्ने हुन्छ।
अनि सबभन्दा धेरै दु:खी भएको नि?
सबभन्दा धेरै दु:खी त तीन वटी श्रीमती जम्मा गर्ने बेला भएको थिएँ। रमाइलो रमाइलैमा विवाह त गरेँ, अब समाजले के भन्ला यिनीहरूलाई कसरी मिलाएर राख्ने होला भनेर केही समय त धेरै तनाव भएको थियो।
तपाईंका मनलाई पिरोलिरहेको केही कुरा छ?
त्यस्तो कुनै पिर छैन। मैले आफूले नसक्ने महत्वकांक्षा पनि राख्दिनँ। सानोतिनो काम भइरहेकै छ।
तपाईंको टोल समाज कस्तो लाग्छ?
धेरै राम्रो छ। म आफैँ अध्यक्ष छु रमाइलो छ नि समाज।
टोल समाजको सबभन्दा धेरै के कुरा मन पर्छ?
एकअर्कालाई सहयोग गर्ने बानी सबभन्दा बढी मन पर्छ।
अनि मन नपर्ने कुरा नि?
फोहोर मैला, अश्लिल शब्द बोल्ने गर्यो भने मन पर्दैन।
राजनीतिमा कत्तिको चासो दिनुहुन्छ?
राजनीतिमा चासो छ। सुरूदेखि नै राजनीतिक दलमा आबद्ध भएँ। चासो नभएर पनि भएन नि!
कुन पार्टीमा हुनुहुन्छ?
अहिलेसम्म एमालेमै छु।
तपाईंलाई मन पर्ने नेता कोही छन्?
मन पर्ने नेता त को छ र कसैले पनि मन पर्ने काम गर्दैनन् कोही छैनन्। मनमोहन अधिकारी, मदन भण्डारी मन पर्थ्यो, उनीहरू मरेर गए। केपी शर्मा ओली पनि मन त पर्छ तर राम्रो काम गर्नुहुन्छ कि भन्ने बेला दुईतिहाइको सरकार ढालेर लथालिंग पार्नुभयो। आफ्नो राजनीति अरूलाई बाँड्दै हिँडेपछि मन पर्न छोड्यो।
गएको चुनावमा कसलाई भोट हाल्नुभएको थियो?
एमालेलाई नै भोट दिएको थिएँ।
अब चुनाव भयो भने?
भोट त अब पनि आफ्नै पार्टीलाई दिनुपर्यो नि।
सरकारले यस्तो गरिदिए हुनथ्यो भन्ने केही छ?
सरकारले सुकुम्बासी समस्या समाधान गरिदिए हुन्थ्यो भन्ने लाग्छ। वडा नंं ५ मा मेरो घर भएको जग्गा पनि सुकुम्बासी हो। नेताले जित्ने नै सुकुम्बासीको भोटले हो तर, चुनाव जितेपछि सबैले सुकुम्बासी बिर्सिन्छन्।