(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
चितवनको इच्छाकामना गाउँपालिका–२ स्थित मायाटार होमस्टे बिहीबार साँझ पाहुनाले भरिएको थियो। हामी भरतपुरबाट करिब सवा घण्टा मोटरसाइकल चढेर यहाँ पुगेका थियौं। दुई वर्षअघि सडक पिच भएपछि मायाटारसम्म पुग्न लाग्ने समय छोटिएको छ।
छोटो समयमा सजिलै पुग्न सकिने यो पहाडी गाउँमा गर्मीयाममा धेरै पर्यटक पुग्ने गरेका छन्। साँझ होमस्टे सञ्चालक ३५ वर्षीय टिकाबहादुर गुरुङको परिवारलाई पाहुनाको सेवामा भ्याइनभ्याई थियो।
मैले उनलाई सोधें :
कस्तो चल्दैछ व्यवसाय?
राम्रो भइरहेको छ। आफ्नै गाउँमा बसेर यतिको व्यवसाय चलाइरहेको छु। यसमा म खुसी छु।
कमाई कस्तो छ?
हाम्रो किराना पसल यो क्षेत्रकै पुरानो हो। सानो पसल चलिरहेको थियो। बाटो ओहोरदोहोर गर्दा कसैले खाना, खाजा खान खोज्यो भने खुवाइन्थ्यो। सामान्यरुपमा चलेको थियो। गत वर्षदेखि पाहुना बढ्न थालेपछि रेष्टुरेन्ट र होमस्टे राम्रो चलिरहेको छ। कमाइ राम्रो भइरहेको छ। यहाँबाट भएको कमाइले व्यवसायलाई थप सुविधा सम्पन्न बनाउँदै बिस्तार गरिरहेको छु।
पहिले के गर्नुहुन्थ्यो?
म यही गाउँमा जन्मिएको हुँ। नजिकैको विद्यालयमा कक्षा ५ सम्म पढें। विहान, बेलुका २/२ घण्टा हिँडेर काउलेमा ६ र ७ कक्षा पढें। त्यसपछि शक्तिखोरमा भाडामा बसेर ८, ९ र १० कक्षा पढेको थिएँ। एसएलसी त्यहीँबाट दिएँ। यो गाउँमा नियमितरुपमा एसएलसी उत्तीर्ण हुने म नै पहिलो हुँ। त्यसपछि दुःखजिलो गरि भरतपुरबाट प्लसटु पास गरें। अनि काठमाडौं गएर काम गर्दै पढ्न थालें। तर आर्थिक अवस्थाले गाह्रो हुँदै गयो। रोजगारीका लागि मलेसिया गएँ। त्यहाँ ३ वर्ष रोजगारी गरेर फर्किएँ। नेपालमा केही गर्छु भनेर फर्किएको तर गर्ने अवस्था बनेन। फेरि म दुबई गएँ। त्यहाँ ७ वर्ष रोजगारी गरें।
यता खेत जोत्नेक्रममा बुबाको खुट्टामा हलोको फालीले कोपेछ। म एउटामात्रै छोरा भएकाले जिम्मेवारी सम्झिएर घर फर्किएँ। गाउँमा बाटो बनेको थियो। एउटा बोलेरो गाडी किनेर चलाउन थालें। मान्छे, तरकारी ओसारेर राम्रै कमाइ भएको थियो। गाउँकै विद्यालयमा अस्थायी कोटामा शिक्षकको माग भयो। गाडी बेचेर पढाउन थालें। डेढ वर्ष पढाएँ तर स्थायीमा नाम निकाल्न सकिनँ। अनि अब परिवारले चलाइरहेको किराना व्यवसायमा जोडेर होमस्टे चलाउने योजना बनाएँ। नजिकै रहेको उपरदाङगढीमा धेरै पर्यटक आउँछन्। उनीहरुमध्ये केहीलाई यहाँ ल्याउन सकिन्छ कि भन्ने सोच थियो। बिस्तारै प्रचार, प्रसार राम्रो भयो। सोचेभन्दा बढी पाहुना आउन थाल्नुभयो। अहिले परिवारका सबै मिलेर चलाइरहेका छौं।
तपाईंलाई सबैभन्दा धेरै के गर्न मन लाग्छ?
दुःखी, गरिब, असहायलाई सहयोग गर्न मन लाग्छ। मेरो कामका कारण उनीहरूले सहयोग पाए भने खुसी लाग्छ।
मनोरञ्जनतिर रूचि कत्तिको छ?
म दोहोरी गीत गाउन, मादल बजाउन, नाच्न मन पराउँछु। सानैमा पनि नाचेर पुरस्कार पाएको थिएँ। मादल बजेपछि नाचुँ नाचुँ लागि हाल्छ। भित्रैदेखि उर्जा आउँछ।
सिनेमा हेर्नुहुन्छ?
पहिले अत्याधिक हेर्थें। अचेल भ्याउँदिन। अन्तिम पटक रेखा थापा खेलेको फिल्म हेरेको थिएँ।
के खान मनपर्छ?
बच्चामा चाउचाउ एकदमै मन पर्थ्यो। बुबालाई हैरान बनाउथें। उहाँले खान हुँदैन भन्नुहुन्थ्यो। पछि पो थाहा भयो त्यतिखेर उहाँसँग पैसा नै रहेनछ। अचेल मलाई कोदोको ढिँडो र लोकल कुखुराको मासु मन पर्छ।
पछिल्लो पटक कहिले खानुभएको थियो?
एक हप्ता अघि खाएको थिएँ। मन लाग्यो भने आफैं पकाएर खाइहाल्छु।
परिवारमा को–को हुनुहुन्छ? मेलमिलाप कस्तो छ?
परिवारमा बुबा, ममि, श्रीमती र छोरा छौं। कुनै बेला बिचलन आएको थियो परिवारमा। अब त्यो कुरातिर नजाउँ। अहिले पारिवारिक जीवन राम्रै चलेको छ। परिवारभित्र संघर्ष त भइहाल्छ तर हामी सन्तुष्ट छौं। दुःख सुख बाँढ्छौं।
तपाईंको स्वास्थ्य कस्तो छ? मज्जाले निद्रा पर्छ?
मलाई ब्लड प्रेसरको समस्या छ। निद्रा भने पर्छ। रातभर काम गर्नुपर्यो भने पनि सक्छु। तर काम छैन भने पल्टिएपछि निद्रा लागिहाल्छ।
ठिक्कको पैसाको तपाईंलाई के किन्न मन छ?
पैसा भयो भने बजारतिर एउटा घर बनाउन मन छ। बुबा, आमाले धेरै दुःख गर्नुभयो गाउँमा बसेर। अबको दिनमा त्यस्तो दुःख गर्न नपरोस् भन्ने लाग्छ। गाउँमा पढाइ राम्रो छैन। सहरमा घर भयो भने बच्चालाई उचित शिक्षा दिन पनि सकिन्छ।
खाने कुरा, लगाउने कुरा किन्ने, अरुलाई दिने सोख छ कि छैन?
लामो समय विदेश बसेकाले ब्राण्डेड कपडा, महँगा खानाको विषयमा थाहा छ। तर म निम्न वर्गीय परिवारबाट हुर्किएर आएको हो। जस्तोसुकै खाना, लाउनमा एडजस्ट हुनसक्छु। बरु दुःखीलाई दिन पाए हुन्थ्यो भन्ने चाहिँ लाग्छ मनमा।
तपाईंलाई सम्झना छ, जिन्दगीमा तपाईं कहिले धेरै खुसी हुनुभएको थियो? के भएर खुसी हुनुभएको थियो?
म एसएलसी परीक्षामा उत्तीर्ण हुँदा सबैभन्दा खुसी भएको थिएँ। म ८ कक्षा पढ्न शक्तिखोर जाँदा तैंले पढेर पास गर्न सक्दैनस्, गाउँ फर्किए हुन्छ भन्थे त्यताका मान्छेहरू। तर मेहनत गर्दागर्दै मैले एकैपटकमा एसएलसी पनि पास गरें। पास हुँदा मलाई अब म धेरै गर्न सक्छु। बुबा, आमाको सपना साकार पार्न सक्छु भन्ने लागेको थियो।
तपाईंलाई सारै चित्त दुखेको कहिले हो, के कुराले हो?
मेरो छेवर हुँदै थियो। ७ वर्षको थिएँ म त्यतिखेर। पाहुनाको चहलपहल सुरू भएको थियो। मावाली आउन बाँकी थियो। हामी प्रतीक्षा गरिरहेका थियौं। तर राति सुत्नुभएको मामा सुतेको सुत्यै हुनुभयो। उहाँ बित्नुभएछ। रमाइलो माहोल एक्कासी रूवाबासीमा परिणत भयो। असाध्यै नरमाइलो भयो।
तपाईंलाई मनमा बसिरहेको, पिरोलिरहेको वा तपाईंले आशा गरिरहेको यस्तो भएदेखि हुन्थ्यो भन्ने केही छ?
हाम्रो पहाडी इलाकालाई वेवास्ता गरिएको छ। यहाँबाट जितेका नेता देशको गृहमन्त्री हुनुहुन्छ। तर यहाँको अवस्था, यहाँका मान्छेको दैनिकी जस्ताको तस्तै छ। हाम्रो क्षेत्रमा चेपाङ समुदायको बाहुल्यता छ। यो समुदाय शिक्षामा पछाडि छन्। उनीहरूलाई शिक्षामा सहज बनाइदिए हुन्थ्यो भन्ने लाग्छ। तर कसले आएर गरिदेला त्यो।
हाम्रो समाज वा तपाईंको टोल छिमेक कस्तो छ? तपाईंलाई समाज वा टोलको के मन पर्छ, के मन पर्दैन?
मलाई हाम्रो टोल, छिमेक अबुझ भएजस्तो लाग्छ। आर्थिकरुपमा सबै विपन्न छन् तर प्रतिष्पर्धा गर्न छाड्दैनन्। चाडपर्व, विहेवारीहरूमा चर्को प्रतिष्पर्धा गर्छन्। यो ठीक लाग्दैन। तर समस्या आइपर्दा समाज असाध्यै छिटो जुट्छ। यो समाजको मन पर्ने कुरा हो।
देशको राजनीतिप्रति कत्तिको चासो लाग्छ?
हामी जतिको युवाले राजनीतिमा चासो राख्नैपर्छ। तर जस्तो हामीले सोचेका थियौं त्यस्तो हुन सकेन। हाम्रो गाउँका भित्ताहरुमा अहिले पनि जनयुद्वको समयमा लेखिएको धनी, गरिब समान हुन् जस्ता नाराहरु मेटिएका छैनन्। तर धनीहरु धनी बनेको बन्यै, गरिबहरु झन् झन् गरिब भइरहेका छन्। लेखेको मेटिएको छैन तर लेख्न लगाउनेहरुको मनबाट ती कुराहरु मेटिइसके। जो सुकै नेता आए पनि यही माहोलभित्र घुमिरहेका छन्।
सरकारले के के काम गरोस, गरिदियोस् जस्तो लाग्छ?
युवाहरुको विदेश पलायन रोकियोस्। विदेशबाट युवाहरू फर्किने वातावरण आओस्। देशमै उद्योग धन्दा खोलेर रोजगारीको अवसर दियोस्। नेपालका उत्पादन निर्यात हुने वातावरण बनाइदियोस् सरकारले जस्तो लाग्छ। तर भन्नेमात्रै हो यो सब।
देशको नेतामा तपाईंलाई को को मनपर्छ?
मलाई भिजन, लिडरसिपका हिसाबले केपी शर्मा ओली मनपर्छ। उनी बिरामी हुँदा पनि मज्जाले खट्छन्। काम गर्न नसकेपनि, गफै लगाए पनि गर्न सक्छु म भन्ने आँट चाहीँ उनैमा देख्छु म। त्यतिको जोस युवाहरूमा पनि देख्दिनँ म। त्यस्तो रोग भएको भए हामी पनि त्यति गर्न सक्थेनौं होला। पहिले मलाई अरू नेता पनि मन पर्थ्यो। तर अचेल मन पर्न छाड्यो। पहिले प्रचण्डलाई हेर्न, उनको भाषण सुन्न भनेर काठमाडौं गएको थिएँ। तर अहिले सबै उस्तै त हुन् नि जस्तो लाग्न थालेको छ। बरू काठमाडौंका मेयर बालेन शाह ठीक हुन् कि जस्तो लागेको छ। उनले गरेको कामहरू मलाई मन परेको छ।
गएको चुनावमा कसलाई भोट दिनुभएको थियो?
मैले स्थानीय चुनावमा एमालेका उम्मेदवार दानबहादुर गुरूङलाई भोट दिएको हुँ। त्यसपछि प्रदेश र संघमा पनि एमालेका उम्मेदवारलाई भोट हालें। सबैतिर एउटै पार्टीले जित्यो भने गाउँको विकास हुन्छ कि भनेर दिएको थिएँ।
अहिले चुनाव भयो भने कसलाई दिनुहुन्छ?
पर्ख र हेरको अवस्थामा छु अहिले म। युवाहरुले अब बाबु, बाजेको पार्टी भनेर दौडिराख्नुपर्छ भन्ने छैन। कसले काम गर्न सक्छ हेरेर भोट दिने, जिताउने हो। उम्मेदवार हेरेर मतको निर्णय गर्छु।