(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
केही समयअघि पहाडतिरको यात्रा गर्दा एक जना वनका चौकीदारसँग भेट भएको थियो। सुदूरपश्चिमको अछामस्थित मेल्लेख गाउँपालिकाको–६ को सामुदायिक वनमा वन पालेको काम गर्ने उनको नाम हो, कर्णसिंह बोहरा। हातमा हँसिया, काँधमा नाम्लो हालेर वनमा हिँडिरहेका उनी निकै जोसिला र फुर्तिला देखिन्थे। उनैसँग हामीले गरेको कुराकानी:
के काम गर्नुहुन्छ?
मैले वनपाले भएर काम गरेको १० वर्ष पुग्यो। त्यसबाहेक खेतीपाती गर्छु। हाम्रो आरसैन चंकेली सामुदायिक वन छ त्यसैको वनपाले हुँ। वनपाले भएर गर्ने काम रूख काट्न नदिने, काटिहालेको भेटे जरिवाना गर्ने, गाईभैँसी, बाख्रा वनमा छोडिदिनेलाई नछोड भनेर सम्झाउने। वन खुला गरेको समयमा मात्र स्याउला, घाँसपात, दाउरा गर्न स्थानीयलाई दिन्छु। अन्य समयमा भने सबै बन्द हुन्छ। वनमा कहाँ के भइरहेको छ भन्ने रिपोर्ट तयार पार्छु। अनि वन समितिलाई दिन्छु। वनमै डुल्छु, हेर्छु।
वनपाले कसरी बन्नुभयो?
मेरा बाजे, परबाजेले वनपालेकै काम गरे, वनमै दु:ख कष्ट गरे। मैले पनि उहाँहरूको जस्तै काम गर्नुपर्छ सोच आयो अनि वनपाले बनेँ।
काम कस्तो चल्दैछ?
काम त यस्तै छ। ठीक छ, जिन्दगी यसैमा बितेको छ। पहिलाका मान्छे नुन किन्न पनि टनकपुर, हाट जान्थे। अहिले त स्थानीय सरकार गाउँमै आयो। नुन पनि गाउँमै पाइन्छ। त्यही नुन किन्ने गुजारा पनि गाउँमै पाइन्छ। मलाई त यसैबाट चलेको छ। हामी किसानका छोराहरू किसानी गरेरै खानुपर्छ।
तपाईंले कति पढ्नु भएको छ?
पढाइ त कक्षा ६ सम्ममात्रै गरेँ। घरको समस्याले गर्दा पढ्न पाइएन, आमा सानैमा बित्नुभयो, बुवाले हामी पाँच भाइलाई पालेको हो। पहिला पढ्नलाई कापी, कलम पनि पाइएन, त्यसैमाथि माओवादीको युद्धमा १२ वर्षको थिएँ। उनीहरूले मलाई धेरै ठाउँमा लगे। उनीहरूका पछि लाग्दा मरिन्छ भनेर भागेर पनि बाँचियो। पढ्न मन त लाग्थ्यो नि घरको अवस्थाले, परिस्थितिले गर्दा पढ्न पाइएन।
वनपालेको काम गरेर कमाइ राम्रै हुन्छ?
हामी सामुदायिक वनसँग जोडिएका गाउँमा ६२ परिवार छौं। उनीहरूले महिनाको पाँच हजार दिन्छन्। त्यही पैसाले म र बुढीलाई खाना चलेको छ।
सबभन्दा बढी के गर्दा रमाउनु हुन्छ?
मलाई त सबभन्दा बढी साथीभाइसँग देउडा खेल्दा रमाइलो लाग्छ।
पछिल्लो समय कहिले देउडा खेल्नुभएको थियो?
पहिला माओवादीले अभियानमा डुलाएका बेला धेरै ठाउँमा देउडा खेलेका थियौं। ठाउँ-ठाउँमा कार्यक्रम गर्थ्यौं त्यसैमा खेल्थ्यौं। अहिले त बेलामौका जात्रामा कहिलेकाहीँ खेलिन्छ।
सबभन्दा बढी कुन खानेकुरा मन पर्छ? अन्तिम पटक कहिले खानुभएको थियो?
माछा, मासु र दूध-दही मन पर्छ। प्रायः बेलाबेला खाइन्छ।
ठीकठीकै पैसाको के किन्न पाएको भए हुन्थ्यो भन्ने मनमा लागिरहन्छ?
राम्रो लुगा र जुत्ता किन्न मन छ।
पछिल्लोपटक जुत्ता र लुगा कहिले किन्नुभएको थियो?
धेरै भयो। पोहोरा सालतिर।
तपाईं सबभन्दा धेरै खुसी कहिले हुनुभएको थियो?
खुसी त बिहे नगर्दा धेरै थिएँ। १५ वर्षको उमेरमा धेरै खुसीका दिन थिए। अहिले त्यस्तो खुसी हुने मौका मिलेको छैन।
तपाईंलाई जिन्दगीमा साह्रै चित्त दुखेको कुरा के हो नि?
डाक्टरले मेरो दम्पतीको बच्चा हुँदैन भन्ने कुरा भनेको थियो, त्यहीबेला साह्रै चित्त दुखेको थियो।
अहिले मनमा पिरोलिरहेको कुरा के छ?
बिहे गरेको १७ वर्ष भयो। १५ वर्षको उमेरमा बिहे गरेको थिएँ। बालबच्चा छैनन्, उपचारका लागि धेरै ठाउँमा गएँ। त्यही कुराले राती निद्रा लाग्न छोडेको छ। स्वास्थ्य अवस्था अरू त ठीक छ। यही कुराले चित्त दुखाइरहन्छ। बच्चाकै लागि अर्काे बिहे गरूँ कि जस्तो पनि लाग्छ। फेरि भाइको छोरालाई आफ्नै छोरा ठानेर पालिरहेको छु। एक हिसाबले छोरा त छँदैछ लाग्छ तर समाजले बच्चाबच्ची भएन भनेर कुरा काट्छन्। त्यही कुराले चिन्ता लागिरहन्छ।
तपाईंलाई आफ्नो गाउँ समाज कस्तो लाग्छ?
गाउँसमाज रमाइलो लाग्छ।
राजनीति कस्तो लाग्छ तपाईंलाई?
के भन्नु दलालको काम गर्नेहरूले राजनीति गरेका छन्। नेपालको राजनीति ठीक छैन। राम्रो नभएर जनताले धेरै दुःख पाए। राजनीतिक अस्थिरताले देशमा उथलपुथल हुन्छ बेलाबेला, काम गर्ने भन्दा सबै मिलेर खाने दलालहरू बढी छन्।
देशका नेता कुन मन पर्छन् तपाईंलाई?
मनपर्ने खास कोही छैनन्, म अलि कम्युनिस्टप्रति आस्था राख्थेँ, एमालेका नेता सुवास चन्द्र नेम्बाङ ठीकै लाग्थे।
नेवाङलाई किन राम्रो मान्नुहुन्थ्यो?
उहाँको आनीबानी, बोल्ने शैली धेरै राम्रो लाग्थ्यो।
गएको चुनावमा कसलाई भोट हाल्नुभएको थियो?
एमालेलाई
अहिले चुनाव भएको भए कसलाई भोट हाल्नुहुन्थ्यो?
भोट त एक जनालाई दिनै पर्यो। अहिले त स्वतन्त्रबाट जो उम्मेदवार उठ्छ उसैलाई दिने हो, पार्टीलाई हेर्दिनँ।
सरकारले के गरोस् भन्ने लाग्छ?
मेरो विचारमा देश विकास गरे राम्रो हुन्थ्यो लाग्छ। अरू देशविदेशका जसो विकास चाहियो।