(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
कैलालीको कैलारी गाउँपालिका–९ गदरियाका भागीराम चौधरी आर्ट गर्छन्। उनले धनगढीमा आर्टको पसल थापेका छन्। विभिन्न निजी संघसंस्था, सरकारी कार्यालयमा ब्यानर, साइनबोर्ड, भित्तामा उनी लेख्छन्। केही दिनअघि धनगढी उपमहानगरपालिकाले विभिन्न ठाउँमा लगाइएका साइनबोर्डमा ठूला अक्षरमा लेख्ने काम उनले गरेका थिए। धनगढीको प्रवेश ठाउँमा उपमहानगरपालिकाले ‘तपाईंलाई धनगढी उपमहानगरपालिकामा स्वागत छ’ भनेर लेखेको उनलै हो।
भागीरामसँग हामीले गरेको कुराकानी :
नमस्ते, के छ खबर?
नमस्कार, ठिकै छ।
तपाईंले यो लेख्ने (आर्ट) काम गरेको कति वर्ष भयो?
२०७१ सालदेखि धनगढीमा पसल थापेर काम गरिरहेको छु। पहिला धनगढीको एलएन चौकमा थियो। अहिले कैलाली बहुमुखी क्याम्पसको गेटनेर पसल छ। छोरोको नामबाट पसलको नाम राखेको छुु- युञ्जन आर्ट।
यो काम गर्नुभन्दा पहिला के गर्नुहुन्थ्यो?
पहिला पढ्थेँ।
के विषय पढ्नुभएको?
शिक्षा विषय लिएर प्लस टु पास गरेँ, व्याचलर पढिनँ। पढ्नुभन्दा काम गर्नु राम्रो लाग्यो। अनि काममै लागिहालेँ।
तपाईंको घरमा अरूले पनि आर्टको काम गर्छन् कि?
टीकापुरमा मेरो एक जना मामा हुनुहुन्छ उहाँको तिलक आर्ट छ। म १० कक्षासम्म उतै मामासँगै बसेर पढेँ। मामा स्कुलका भित्ता, साइनबोर्डमा लेख्नुहुन्थ्यो। कक्षा ६ मा पढ्दादेखि नै मैले पनि ठूलो भएर यही काम गर्छु भनेर सोच्थेँ। उहाँले जस्तै लेख्न सिक्थेँ। कापीको पानामा अभ्यास गर्थे। एसएलसी दिएर दुई महिना धनगढीको कोसेली आर्टमा काम गरेँ, सिकाइ नै भयो। प्लस टु पास गरेपछि आफ्नै पसल खोलेर काम गर्न सुरू गरिहालेँ।
तपाईंले पहिलो पटक के-को बारेमा लेख्ने काम पाउनुभएको थियो?
प्लस टु पढ्दा कापीमा लेखिरहन्थेँ, सरहरूलाई पनि यो मान्छेले राम्रो लेख्छ भन्ने परेको रहेछ। मैले पहिलो पटक आफ्नै विद्यालयमा नियम/आचारसंहिता लेख्ने काम पाएको थिएँ। यो कुरा ०६६ सालतिरको हो। पहिला विस्तारै लेख्थेँ। अहिलेको जस्तो हात बसेको थिएन।
तपाईंको परिवारमा को को हुनुहुन्छ। उहाँहरू के काम गर्नुहुन्छ?
कृषि। आमाबुवा किसान हो। गदरिया गाउँमा आमाबुवा बस्छन्। गाउँमा डेढ विघाह जमिन छ। हामीलाई त आजकाल खेती गर्ने समय हुँदैन। बुवाआमाले गरिरहनुभएको छ। बुवाले बाख्रापालन पनि गरिरहनुु भएको छ। म, श्रीमती,बहिनी र मेरो छोरा धनगढीमा बस्छौं। धनगढीमा बहिनीले शिलालेखको काम गर्छिन्। मेरी श्रीमतीले पनि शिलालेखकै काम गर्छिन्। मेरोभन्दा शिलालेखमा उनीहरूले राम्रो कमाउँछन्।
यो लेख्ने काम गरेको कति पैसा आउँछ?
काम हेरेर पैसा हुन्छ। लेख्ने ब्रोस, कलर सबै सामान आफ्नै हुन्छ लगानी र मेहनतको पैसा लिन्छु। कहिले राम्रो कम्पनीले काम दिन्छन्। धनगढी उपमहानगरपालिकाका मात्रै एक हप्तामा ८० हजारको काम पाएँ।
सीप सिकेका मान्छेहरू विदेश जान राम्रो मान्छन् है अचेल?
म त विदेश नजाने। मलाई यहीँ राम्रो छ एक महिनामा डेढ/दुुई लाख कमाइ भइहाल्छ। अझ शिलालेखमा मभन्दा बढी त बहिनीले कमाइ गर्छिन्।
तपाईंको उमेर कति वर्ष भयो?
३५ वर्ष भयो।
अहिले धनगढीमा भाडामा बस्नुहुुन्छ?
यता धनगढीमा ससुरालीको घरमा बस्छौं। ससुरालीको घरमा बस्ने कोही छैनन् घर खाली छ त्यही भएर।
भाडा नतिर्नु परेपछि कमाइ धेरै बचत हुन्छ होला नि?
पैसा त जति कमाए पनि पुग्दैन। कहाँ धेरै बचत हुन्छ र!
यो कामबाट सन्तुष्ट हुनुहुन्छ? के फाइदा भयो जस्तो लाग्छ?
परिवारसँगै बसेर काम गरिरहेको छु। यही कुरा ठीक लाग्छ। घरमा आमाबुवालाई पनि हेर्न भ्याएका छौं। गाउँ नजिकै छ धनगढीबाट एक घण्टामै बाइकमा जान्छौं/भेट्छौं। यो कामबाट यही कुरा गर्न पाउने हुुँदा धेरै सन्तुुष्टि लाग्छ।
मनोरञ्जनका लागि के गर्न मन लाग्छ?
फुर्सदको समयमा मोबाइलमा आउने साना–साना भिडिओ, फिल्म हेर्न राम्रो लाग्छ। काममा प्रायः व्यस्त हुन्छु। फुर्सदमा भिडिओ हेर्दा आनन्द लाग्छ। रातिसम्म पनि काम गर्छु। सुत्नेबेला मोबाइल चलाउँछुु। पूरा तीन घण्टाको फिल्म हेर्न त समय हुुँदैन।
खाना के मन पर्छ?
मासु नै मन पर्छ। नयाँ आलु र नयाँ रायोको साग पनि असाध्यै मनपर्छ लाग्छ।
पछिल्लोपटक मन पर्ने खाना खाएको कहिले हो?
नयाँ रायो र आलुु त पुसतिर खाएको थिएँ। मासुुको दुुईचार दिनको फरकमा खाइन्छ।
स्वास्थ्य अवस्था कस्तो छ? निद्रा पर्छ कि पर्दैन?
दिनभरि काम गरेका दिन धेरै निद्रा लाग्छ। प्रायः ६ घण्टा सुत्छु, कहिले त छिट्टै निन्द्रा खुल्छ। त्यहीबेला मोबाइल चलाउँछु।
ठीकठीकै पैसा पर्ने के कुरा किन्न मन छ तपाईंलाई?
शिलालेख लेख्ने मेसिन किन्न मन छ।
पछिल्लो पटक धेरै खुसी के कुरामा लागेको थियो?
छोरो जन्मिँदा धेरै खुसी भएको थिएँ। बुढी र मेरो छोरा भए एउटा मात्रै बच्चा जन्माउने, छोरी भए दुई वटा भन्ने प्लान थियो। छोरा नै भयो। बुढीलाई फेरि दुःख नहुुने भयो भनेर म धेरै खुसी भएको थिएँ। छोरा २०७० सालमा जन्मेको हो।
जिन्दगीमा साह्रै चित्त दुखेको छ केही कुरामा?
गएको चुनावमा एउटा मान्छेले भनेर ८५ हजारको झण्डा छाप्यौं। झण्डा लेखेँ। उसले दिनेबेला ६० हजार रूपैयाँ मात्रै दियो। मिहिनेतको पैसा दिएन। रातभरि नसुतेर झण्डा बनायौं। मेहनतको पैसा नपाउँदा अहिले पनि साह्रै चित्त दुख्छ।
तपाईंले सोचेको यस्तो भइदिएको भए राम्रो हुन्थ्यो भन्ने वा नहुँदा मनमा चिन्ता लागिरहने त्यस्तो के छ कुरा?
धनगढीमा यो लेख्ने कामको खासै मूल्य छैन। मूल्य अलि बढी भइदिएको भए राम्रो हुन्थ्यो भन्ने लाग्छ।
मनमा अन्य चिन्ता छ कि छैन?
चिन्ता त छ नि अलिअलि।
देशका नेता को मन पर्छन्?
नेताहरूलाई चिन्ने समय छैन।
कसैलाई पनि चिन्नुभएको छैन त्यसो भए नेतामा?
अलिअलि त चिन्छु। माओवादीको प्रचण्ड, एमालेको केपी ओली, कांग्रेसको शेरबहादुुर देउवा, गगन थापा, रवि लामेछाने, नागरिक उन्मुक्तिवाला, बालेन, हर्क साङपाङ यस्तै।
मनपर्ने नेता चाहिँ को हुन्?
हर्क साङपाङ पहिला मन पर्थ्यो। अहिले पर्दैन।
किन अहिले मन पर्दैन ?
केही गर्छ लाग्थ्यो। अहिले त त्यसै खासै मन पर्दैन।
गत चुनावमा कसलाई भोट दिनुभएको थियो?
भोट हालेको छैन, भोट कार्ड नै बनाएको छैन।
३५ वर्षको हुँदासम्म मतदाता नामावली किन नबनाएको नि?
कामले फुर्सद मिल्दैन।
अबको चुनावमा भोट हाल्नु हुन्छ? हाले कसलाई हाल्नुहुन्छ?
काम गर्नु छ। अब के हुन्छ हेरौं।
मन पर्ने राजनीति पार्टी कुन हो तपाईंलाई?
कुनै पनि छैन।