(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
दाङको तुलसीपुर उपमहानगरपालिका- ६ को रजौरामा ६० वर्षीया श्यानी चौधरी भेडाबाख्राका बथान चराउँदै थिइन्।
रजौरा क्षेत्रमा तीव्र रूपमा सहरीकरण भइरहेको भए पनि बाँकी खाली जमिनमा बाख्रा चराउने काम गर्छिन्।
हामीले उनै श्यानीसँग सुखदुःखका कुराकानी गरेका छौं।
के छ हालचाल तपाईंको?
ठिकै छ। बिहानदेखि बेलुकासम्म गाउँ आसपासमा भेडा बाख्रा चरायो। यिनीहरूसँगै यताउता डुल्यो। त्यसैमा समय बित्छ।
योभन्दा पहिला के गर्नु हुन्थ्यो?
हामी सामान्य मान्छे के गर्नु र! यस्तै खेतीकिसानी गर्दै आएका हौं। अहिले पो यहाँ जताततै घरैघर बने। पहिले यहाँ जताततै खाली जग्गा थियो धान, मकै, तोरी फल्थ्यो। हामी जमिनदारको जग्गा अँधियामा लगाउँथ्यौं। त्यो खेती किसानीले वर्ष दिनलाई खान पुगेकै थियो। जमिनदारहरूले जग्गा जम्मै कित्ताकाट गर्दै घडेरी बनाउँदै बेचेपछि हामीले जोत्ने जमिन पाउनै छाड्यौं।
घर गृहस्थी राम्रै चलेको छ?
आफ्नो जग्गा जमिन भन्नु आधा कट्ठा जतिको घरबास बाहेक अरू केही छैन। सबै चिज वस्तु किनेरै पुर्याउनु पर्छ। पहिला पैसा नहुँदा पनि घरमा खानलाई अन्न प्रशस्तै हुन्थ्यो। आज त्यस्तो छैन। खेती हुने जग्गा मासिएपछि साँझ बिहान किनेर खानु पर्ने अवस्था छ, निको लाग्दैन।
तपाईंलाई कसरी मनोरञ्जन गर्नुहुन्छ? के गर्न मज्जा लाग्छ?
आफ्नै सुरमा खुरूखुरू काम गर्न मजा लाग्छ। घर परिवारका सदस्यका साथै पाहुना आउँदा आफैले मिठो मसिनो बनाएर खान दिन पाउँदा खुसी लाग्छ। गाउँघरका दिदी बहिनीसँगै मिलेर वनपात जाँदा वा चाडपर्वमा एकै लय र स्वरमा गीत गाउँदै नाच्न पाउँदा मन रमाउँछ।
पछिल्लो समय दिदीबहिनी मिलेर कहिले नाचगान गर्नुभएको थियो?
दसैं र माघीका बेलामा गाउँका दिदीबहिनी भेला भएर सामूहिक गीत गाउँदै खुबै रमाएका थियौं। बाँचिरहे अब फेरि आउने वर्षमा त्यस्तै रमाइलो होला।
सबभन्दा के खाना मन पर्छ?
आफ्नै थारू समुदायले खाने परिकार मन पर्छ। आफैले खोलामा खोजेर ल्याउने घोंगी, खोलाको माछा, सुँगुरको मासु, लोकल भाले मन पर्ने परिकार हुन्। तर, पछिल्ला समयमा खोला नदीनाला र तालतलैया सबै सुकेर त्यस्ता चिजवस्तु पाउनै मुस्किल हुन थालेको छ।
पछिल्लो समय मन परेको परिकार कहिले खानुभएको हो?
त्यही चाडपर्वमा हो। दसैं र माघमा ऋण-साहु गरेरै भए पनि खानुपर्छ। त्यतिखेर घरमा पनि विशेष परिकार पाक्छन्। माछामासुको जोहो हुन्छ। फलफूल पनि किनेर ल्याइन्छ। त्यतिखेर मन रमाउँछ।
परिवारमा को को हुनुहुन्छ? छोराछोरी कति जना छन्? के गर्छन्?
मेरा जोडा (पति) जगवीर चौधरी भेटेरिनरीका रिटायर्ड कर्मचारी हुनुहुन्छ। हाम्रा तीन छोरा र चार छोरी छन्। छोराहरू सबै पेन्टिङको काम गर्छन्।
जेठा छोरा छुट्टीभिन्न भइसकेका छन्। माइला र कान्छा छोरा, दुई छोरीसहित हामी एकै घरमा बस्छौं। उनीहरूका बाउलाई चिनजानका मानिसहरू अहिले पनि गाईवस्तुको उपचार गर्न बोलाउँछन्। हाम्रा सानातिना आवश्यकता त्यही कमाइले पूरा गर्छ। छोराहरूले आफ्नो कमाइ खासै देखाउँदैनन्। कहिलेकाहीँ भेडा बेचेर पनि गर्जो टार्छम्।
सन्तान र परिवारबाट खुसी हुनुहुन्छ?
त्यति दुःखी नै त छैन। तर छोराहरू र जोडाले जाँड खाएर सबै कुरा बिर्सिँदा भने दुःख लाग्छ। मेरा जोडा आफ्नो पालामा जे गरे, राम्रै गरे भन्ने लाग्छ। तर छोराहरूले आफ्नो घर र कुलको इज्जत धानिदिए हुन्थ्यो भन्ने लाग्छ।
तपाईंको स्वास्थ्य कस्तो छ?
मलाई सुगर छ। त्यही भएर गुलियो खान पाएकी छैन। आलु, चामलको भात खान हुँदैन भन्छन्। जगवीरलाई पनि पिसाब पोल्ने र समय समयमा ज्वरो आउने जस्ता समस्या छन्।
राम्रो निद्रा पर्छ कि पर्दैन?
जोडा, छोराछोरी र घरको अवस्था कल्पिदा कहिलेकाहीँ म रातभर छटपटाउँछु।
धेरै पैसाको होइन, ठिक्क पैसा भए तपाईंलाई के गर्न मन छ?
पैसा भए म एउटा सानो पक्की घर बनाउँथे। वरपर सबैले पक्की घर बनाइसके। हाम्रो मात्रै माटोको घर छ। हामीले घर बनाउन नसक्दा आफन्तले हेप्न थालेका छन्। गरिब भनेर राम्रो घरमा छोरीको बिहे नहुने हो कि भन्ने चिन्ता लाग्छ। राम्रो घर हुन्थ्यो भने छोराहरूले पनि बुहारी पाउँथे होला भन्ने लाग्छ। हाम्रो समाजमा गरिबलाई हेप्नेहरू धेरै छन्।
तपाईंलाई सम्झना छ, पछिल्लोपटक तपाईं कहिले धेरै खुसी हुनुभएको थियो? के भएर खुसी हुनुभएको थियो?
बुढाले यो माघीताका आफूले कमाएको पैसा दिँदा खुसी भएकी थिएँ। बुढाले मलाई कपडा किन्न भनेर केही पैसा दिनुभएको थियो। त्योमध्ये केही पैसा छोरीलाई दिन पाउँदा मन रमाएको थियो।
तपाईंलाई मनमा पिरोलिरहेको वा तपाईंले आशा गरिरहेको यस्तो भएदेखि हुन्थ्यो भन्ने केही छ?
हुन त चिन्ता नभएको कुनै मानिस हुन्न। मेरो मनमा पनि पिरैपिरको पहाड छ। सात वर्ष पहिले माइली बुहारीको अस्पतालमा सुत्केरी हुँदा मृत्यु भयो। त्यतिखेर डाक्टरको लापरबाहीले बुहारीको मृत्यु भएको हो। कमजोर र गरिबलाई अस्पतालमा पनि हेला गर्दा रहेछन्।
राप्ती अञ्चल अस्पताल नलगेर घरमै सुँडेनी बोलाएको भए हुन्थ्यो कि भन्ने लाग्छ। बुहारी बाँच्थी कि भन्ने लागिरहन्छ। बुहारी गुमाएको पिर लागिहरन्छ। उसको मृत्युपछि माइलो छोराले अहिलेसम्म श्रीमती पाएको छैन। कान्छाकी श्रीमती पनि छोडपत्र गरेर गइसकी। उनीहरूको ७ वर्षको छोरा छ, मलाई त्यो नातिको पनि चिन्ता लाग्छ।
हाम्रो जातिमा एउटा सम्बन्ध बिग्रिएपछि फेरि घरजम गर्न निकै मुस्किल पर्छ। त्यसैले कान्छो छोराले पनि दोस्रो बिहे गर्न सकेको छैन। दुबै छोरा सँगै बस्दै आए पनि बुहारी साथमा नहुँदा एउटी आमालाई साह्रै चिन्ता हुँदो रहेछ।
अहिले त बिहे नभएका दुई छोरीले भातभान्सामा सघाउँछन्। उनीहरू बिहे गरी गए भने कसले गरिदेला भन्ने लाग्छ।
हाम्रो समाज वा तपाईंको टोलछिमेक कस्तो छ? तपाईंलाई समाज वा टोलको के मन पर्छ/के मन पर्दैन?
टोल छिमेकको अरू कुरा सबै ठिकै लाग्छ। तर धनी र गरिबीका कारण गरिने विभेद मन पर्दैन। पैसा कमाउनेहरू मात्रै समाजमा ठूला मानिस भनिन थाले। ठूला घर भएकाहरू मात्रै सफल मानिस कहलिन थाले। त्यसैले सम्पत्तिकै आधारमा गरिने भेदभाव मलाई मन पर्दैन। गरिबका छोरीको बिहे हुनै मुस्किल हुन थाल्यो।
राजनीति नि? राजनीतिप्रति कत्तिको चासो लाग्छ?
राजनीतिको कुरामा मलाई कुनै चासो वा वास्ता छैन। भोट हाल्न जान्छु। बुढाले भनेकै चिह्नमा भोट हाल्छु।
गएको चुनावमा कसलाई भोट दिनुभएको थियो? कुन नेता, कुन पार्टीलाई?
कुन पार्टीलाई दिएँ, त्यो त बिर्सिएँ। म त्यसको मतलब पनि राख्दिनँ। नेतामा भने थारू जातिकै भएकाले डिल्लीबहादुर चौधरी भोट हालेकी हुँ।
देशको नेतामा तपाईंलाई को, को मन पर्छ?
म धेरै नेता चिन्दिनँ। मन पर्ने नेता कोही छैनन्।
यतिखेर निर्वाचन भए कसलाई भोट हाल्नु हुन्छ?
बुढाले जसमा भन्नुहुन्छ त्यसैमा।
सरकारले के के काम गरोस्, गरिदियोस् जस्तो लाग्छ?
सरकारले धनी गरिब सबैका लागि निःशुल्क स्वास्थ्य उपचार, निःशुल्क शिक्षा, निःशुल्क पिउने पानीको व्यवस्था गरिदिए हामी जस्ता गरिबको कल्याण हुन्थ्यो। गरिब वर्गलाई रोजगारीका दिए हुन्थ्यो भन्ने लाग्छ।