(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
हामीले भेट्दा भुवनेश्वर ठाकुर आफ्नो कारखानामा कुर्सी बनाउँदै थिए। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका—१ रमदैया घर भएका उनले गाउँमै फर्निचर बनाउनुका साथै खेतीपाती समेत गर्छन्। कतैबाट अर्डर नआउँदा फुर्सिदिला भएका उनले गाउँकै दिलिप यादवलाई अहिले फर्निचर बनाउने सीप सिकाइरहेका छन्। भुवनेश्वरसँग कुराकानी गरेर छाप्ने अनुमति मागेपछि उनले केहीबेर सोचे।
'भोलि मलाई गाउँमा अप्ठ्यारो त हुँदैन?' उनले सोधे।
'हुँदैन हुँदैन,' मैले भनेँ।
त्यसपछि उनले भने, ‘सोध्नुस् के सोध्नुहुन्छ।’
सुख दु:ख के छ नै सुनाउनुहोस् न!
हाम्रो त दु:खै हुन्छ सुख के हुनू! यतिकै टाइम पास गरिरहेको छु। न पैसा छ, न व्यापार छ, न कतै काम छ। हेर्नुस् सामान पनि केही छैन। महिनामा एक दुई वटा सामान बेच्छु।
कति भयो व्यापार गर्नुभएको?
लगभग ७ महिनादेखि फर्निचर कारखाना खोलेको छु।
पहिले के गर्नुहुन्थ्यो?
पहिले लकडिकै काम गर्थें। फर्निचरै बनाउँथेँ तर ज्यालादारीमा। गाउँमा घुमीघुमी काम पाएको ठाउँमा गर्थे।
कहिलेदेखि फर्निचर बनाउने काम चलेको छैन?
म जहिलेदेखि खोलेँ उहिलेदेखि यहाँको लोकल अर्डर पाइनँ। न विवाहमा पलंगको आयो न अरू नै। जानकी मेडिकल कलेजको केही काम गरेँ। त्यसयता बसेकै छु।
कहिलेदेखि फर्निचर बनाउने काम गर्नुभएको?
लगभग ३५ वर्षदेखि काम गरेको छु।
कहिलेदेखि व्यापारमा मन्दी आएको छ?
एक महिनादेखि करिब करिब कारोबारै छैन। कामै आउँदैन के गरूँ? काम आएपछि न गर्थेँ। यसअघि काम आउँदा बनाएँ। चार महिना त राम्रै चल्यो। अहिले अलिअलि कुर्सी/ टेबुल बनाउँदैछु। बनाएर राखिराख्छु पछि कोही किन्न आए बिक्ला कि!
खेतीपाती पनि गर्छु भन्दै हुनुहुन्थ्यो, कस्तो भैरहेको छ खेती?
ठीकै चलेको छ। खाद्य मल त पर्याप्त पाइँदैन। जसोतसो खेती भइरहेको छ।
खेत कति छ तपाईंको?
१८ कठ्ठा छ।
खेती कतिबेला र फर्निचर बनाउने काम कतिबेला गर्नुहुन्छ?
मिलाएर। जतिबेला खेतीको चाप आउँछ, फर्निचर बनाउन छोडिदिन्छु। जतिबेला फर्निचरको चाप आउँछ, खेती छोडेर यसमा लाग्छु।
खेतीपातीबाट कति आम्दानी हुन्छ?
आफूलाई खान पुग्छ। बेच्ने आम्दानी त हुन्न। परिवार खेतीले चल्छ। फर्निचरले बचत हुन्छ त्यसैले यो काम गर्छु।
तपाईंलाई सबभन्दा धेरै के गर्दा मज्जा आउँछ?
सधैं यहीँ काम गरेको छु। अरू केमा मज्जा आउनु र फर्निचर बनाउनमै आउँछ। अलि अलि गफगाफ, घुमफिर गरेर पनि मजा लिन्छु।
खानपिनमा के मन पर्छ?
हामी अलिअलि सबै चिज खान्छौं। दालभात, माछामासु। तर दालभात तरकारी सधैं खान्छु, त्यहीँ सबभन्दा धेरै मनपर्छ।
को-को हुनुहुन्छ परिवारमा?
आमा, बुवा, श्रीमती, छोरी र म।
कति जना छोराछोरी छन्?
एउटी छोरी मात्रै छन्।
कतिको सुख पाउनुभएको छ छोरीबाट?
अहिले के सुख पाउनू! १४ वर्षकै छिन अहिले। कति सुख दिने हो त्यो त पछिको कुरा हो। अहिले स्कुल छुट्टी छ खाना पकाएर दिन्छ, पानी दिन्छ।
परिवारमा कतिको मेलमिलाप रहन्छ?
ठीकठीकै रहन्छ।
स्वास्थ्य कस्तो छ तपाईंको?
लगभग ठीकै छ। अलिअलि सबैलाई गडबड हुन्छ नै।
अलिअलि के गडबड छ भएको हो?
थाइराड बढ्छ, कहिले युरिक एसिड बढ्छ ।
निद्रा कतिको पर्छ नि?
एकदम राम्रो आउँछ।
सधैं मज्जाले सुत्नुहुन्छ?
हो, सधैं मस्त सुत्छु।
ठीक्कको पैसा हातमा आयो भने के किन्न मन छ तपाईंलाई?
केही किन्दिनँ। मलाई त्यस्तो कमी केही लाग्दैन। खेत छ, सीप पनि छ। ब्यालेन्स त छैन। कमाउँछु खान्छु। सौख केही छैन किन्ने।
अन्तिम पटक तपाईं सबभन्दा धेरै खुसी कहिले हुनुभएको थियो?
त्यो थाहा छैन। कहिले धेरै खुसी भएँ, कहिले दुखी भएँ। याद थोडी न रहन्छ।
अनि अन्तिम पटक के कुराले कहिले धेरै चित्त दुख्यो याद छ तपाईंलाई?
छैन। यादै छैन। म खराब दिन तुरून्तै बिर्सिन्छु।
तपाईंको मनमा केही पिरोलिरहेको वा आश गरेको यस्तो भइदिए हुन्थ्यो भन्ने केही छ?
हामी ती कुरामा दिमाग दौडाउँदैनौं। सबै कुरा ठीकै भइरहेको छ। जो-जसरी चलेको छ चलोस्। मेरो मनमा अरू केही खेल्दैन।
तपाईंको गाउँ टोल समाज कस्तो लाग्छ?
ठीक लाग्छ।
के राम्रो लाग्छ?
जो जहाँ बस्न थाल्छ उसलाई त्यो ठाउँ आफैं राम्रो लाग्न थाल्छ। त्यस्तो खराब केही लाग्दैन।
तपाईंलाई राजनीति कस्तो लाग्छ?
राजनीति त देख्नुभएकै छ, डमाडोल छ। राजनीति राम्रो हुँदै हुँदैन। बच्चाले पनि भन्देला।
के खराब हुँदैछ राजनीतिमा?
सबै आफ्नो स्वार्थमा छन्। जनताका लागि कसैले काम गरेका छैनन्।
तपाईंलाई कतिको चासो छ राजनीतिमा?
मलाई त मन पर्दैन राजनीति।
किन नि?
मलाई फुर्सदै छैन। टाइमै दिन सक्दिनँ म।
सरकारले के कामहरू गरिदिनुपर्छ जस्तो लाग्छ तपाईंलाई?
रोजगारीको सुविधा दिनुर्पछ, फ्याक्टरी खोल्नुपर्छ। विदेश जाँदा नेपालीलाई थोरै तलब दिन्छ र भारतीयलाई बढी दिन्छ। सरकारले नेपालीको तलब पनि भारतीय बराबरै गर्न लगाउनुपर्छ। स्कुलमा राम्रो पढाइ दिनुपर्छ।
तपाईंलाई को को नेता धेरै मनपर्छ?
को नेता राम्रो हुन्छ र? सबै नेता एकै खालका हुन्। कोही राम्रो छैनन्। सबैले उस्तै काम गरेका छन्।
गत संसदीय चुनावमा कसलाई भोट दिनुभएको थियो?
त्यो कुरा पनि कहीँ भन्नू! दुश्मनी किन मोल्नु र? जो जित्यो हामी सबैले उसैलाई भोट दिएको मान्ने हो।
अब संसदीय चुनावमा कसलाई भोट दिने सोच्नुभएको छ?
त्यो त विचार गर्छौं। ग्यारेन्टी नै हुँदैन कसलाई दिने नदिने भनेर। कसले कति काम गरेका छन्। कसले कतिको काम गर्न सक्ला त्यो मूल्यांकन गरेर भोट दिन्छौं।