(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
फूलवती साह धनुषाको सपही चोकमा फलफूल बेच्छिन्। बुधबार दिउँसो साढे तीन बजे उखरमाउलो गर्मीमा ग्राहकको पर्खाइमा थिइन्। नजिकै पुगेको मलाई फूलवतीले केहीबेर हेरिन्। उनको अनुहारमा म ग्राहक हुँ कि होइन भन्ने जिज्ञासा थियो। मैले आफ्नो परिचय दिएँ। पत्रकार भनेको के हो, को हो भन्ने उनलाई थाहै रहेनछ।
'समाचार लेख्ने मान्छे पत्रकार हुन्छन्,' उनलाई मैले सम्झाएँ। बल्ल उनले बुझेजस्तो गरिन्।
'हात जोडेर नमस्कार गर्ने त भोट माग्न आउने मान्छे जस्तो लाग्छ,' उनले भनिन्।
उनै फूलवतीसँग गरेको कुराकानी:
के छ सुखदुःख तपाईंको?
दुखै दु:ख छ। कहिले छातीमा दर्द हुन्छ, कहिले रोगले च्याप्छ। छातीमा दर्द भएपछि अस्ति देखाउन गएको डाक्टरले मुटुको समस्या हो कि भनेका थिए। भिडिओ एक्सरे गराएपछि थाहा भयो, ग्यासले दुखेको रहेछ।
कस्तो चलेको छ व्यापार?
पहिले राम्रो चलेको थियो। अहिले एक कार्टुन अंगुर दुई दिनमा बिक्छ। दुई कार्टुन स्याउ तीन दिनमा बिक्छ। घरमा बसेर के गर्ने! कम्तीमा यसले नुनतेल त चलेको छ भनेर गरिरहेको।
अनि फ्रिज पनि छैन, कठघारामा फलफूल गर्मीमा खराब हुँदैन?
पंखा चलाएर छोड्दिन्छु। तै पनि अलिअलि खराब भैहाल्छ।
कहिलेदेखि फलफूल बेच्न थाल्नुभएको हो नि?
तीन वर्ष भयो। हिँड्दा हिँड्दै लडेपछि मेरो हात भाँच्चियो अनि खेतको काम, घाँस काट्ने काम गर्न नसक्ने भएँ। बुहारीले पनि भन्यो कि विजनेस गरेर खानुस्। अनि मैले श्रीमानसँग मिलेर यहीँ काम गर्न थाले।
कति उमेर भयो नि?
पचास अनि ६। (५६ वर्ष)
सबभन्दा धेरै के काम गर्न मज्जा आउँछ तपाईंलाई?
त्यस्तो धेरै राम्रो त केही गर्दा लाग्दैन। फलफूलै धेरै बिक्री हुँदा मलाई राम्रो लाग्छ।
अरू रमाइलो गर्न पनि मन होला नि?
पैसा भए पो केही गर्न मन लाग्छ। पैसा छँदै छैन। यो व्यापार गर्न पनि कर्जा लिएको छु। तीन रुपैयाँ सैकडाको हिसाबले गाउँको एक जनासँग २५ हजार ऋण लिएको छु कागज बनाएर। लघुवित्त बैंकसँग पनि एक लाख लिएको छु। त्यसको महिनाको ३ सय रूपैयाँ तिर्छु। कर्जा तिर्न सक्छु कि सक्दिनँ त्यहीँ टेन्सनले टाउको दुख्छ।
पैसा भएको भए के गर्नुहुन्थ्यो?
खसी, बाख्रा अझै पाल्थेँ। कठघारामै किराना सामान पनि बेच्थेँ। अरू अरू फलफूल राख्थेँ। पुँजी हुँदा त व्यापार बढाउँथेँ।
खानपिनमा सबभन्दा धेरै के मन पर्छ तपाईंलाई?
म त नुनरोटी, नुनभात, दालभात, तरकारी भात सबै खान्छु। तर साग भात मलाई सबभन्दा धेरै मन पर्छ।
अन्तिम पटक सागभात कहिले खानुभएको थियो?
तीन दिनअघि खाएको थिएँ।
छोराछोरी कति छन् तपाईंको?
दुई जना छोरा र एक छोरी छन्।
छोराछोरीबाट कति सुख पाउनुभएको छ?
केही सुख पाएको छैन।
मान्दैन छोराछोरीले?
दुबै छोराले कमाउँछन् तर कसैले पाँच रूपैयाँ दिँदैन।
किन दिँदैन के भन्छ?
मेरो आफ्नै छोराछोरी छन्, तपाईंलाई कहाँबाट दिऊँ भन्छन्। कान्छा छोराले भन्छन्- काम नगर अनि म खुवाउँछु। तर काम छोडदिएपछि अझै वास्ता गर्दैन। त्यसैले श्रीमान र म छोराहरूसँग छुट्टिएर बसेका छौं। चार वटा अपरेसन भयो मेरो। ममा धेरै खर्च हुने भएपछि छोराहरू अलग बस्न थाले। अपरेसन हुँदा पनि कसैले पैसा दिएनन्। खेत बेच्नुपर्यो। एक कट्ठा दुई धुर घडेरी बेचेँ। साढे २५ लाख रूपैयाँमा जग्गा बेचेर उपचार गराएँ। बाँकी रहेको पैसाले कर्जा तिरियो भन्थ्यो छोराले। पहिले त कर्जा छैन फ्रि मै उपचार भइरहेको भनेका थिए। यति पैसा खर्च हुन्छ भनेर मलाई थाहा भएको भए म दबाइ नै गराउँदैनथेँ।
अब तपाईंको नाममा सम्पत्ति छ कि छैन?
बसेको थोरै घडेरी छ र पाँच कट्ठा खेत छ।
छोरीले हेर्दिन?
छोरी त ससुरा गइसक्यो। ऊ आफ्नो घर हेर्छ कि मलाई हेर्न आउँछ?
परिवारमा मेलमिलाप कतिको हुन्छ?
छोराहरू छुटै बस्छ, म अलग बस्छु। त्यसैले ठीकै छ।
श्रीमान के गर्नुहुन्छ तपाईंको?
उहाँ अहिले घर जानुभएको छ। खेतमा तरकारी लगाउनुहुन्छ। पसलमा पनि बेलाबेला आउनुहुन्छ।
श्रीमानको नाम के छ?
हामी श्रीमानको नाम लिन्नौँ।
किन नि?
घरवालाको नाम लिनुहुँदैन नि। सुकराती पछि जुन पर्व आउँछ त्यही नाम हो।
लक्ष्मी साह?
हो। (सुकरातीपछि लक्ष्मीपुजा पर्व आउँछ)
अहिले स्वास्थ्य कस्तो छ तपाईंको?
त्यति राम्रो छैन। बाबासिर (पायल्स) भएको छ।
निद्रा कतिको आउँछ?
खाएपछि मज्जाले सुत्छु। धेरै राम्रो निद्रा आउँछ।
ठिक्कको पैसा मानौं २/४ लाख रूपैयाँ तपाईंको हातमा आयो भने के किन्न मन छ?
पैसा भयो भने वर्षामा चुहिने घर ठीक गर्थेँ।
पछिल्लो पटक तपाईं के कुराले धेरै खुसी हुनुभएको थियो सम्झना छ?
मेरो आँखाले राम्रो देख्न सक्दैनथे। खान पकाउन गाह्रो भइरहेको थियो। मैले कान्छो छोराको बिहे गरिदिएँ कि खाना पकाएर खुवाउला भनेर। कान्छो छोराको बिहे हुँदा म धेरै खुसी भएकी थिएँ तर हेर्नुस् खाना पनि खुवाएन।
सबभन्दा धेरै चित्त के कुराले कहिले दुखेको थियो?
४२ वर्ष पहिले खाना पुग्दैनथ्यो। महिनौं दिनसम्म नुन अल्हुवा (सखरखण्ड) खाएर बस्नुपर्थ्यो अनि दिनरभर रोएर बस्थे।
तपाईंको मनमा केही पिरोलिरहेको वा आश लागेको केही कुरा छ कि यसो भइदिए हुन्थ्यो?
अब धेरै आशा नै लाग्दैन। यति दु:ख पीडा भोग्नुभन्दा मरिहाले हुन्थ्यो जस्तो लाग्छ।
तपाईंको गाउँ, समाज कस्तो लाग्छ?
धेरै राम्रो। सबैकुरा राम्रो छ मेरो गाउँको।
राजनीति कतिको बुझ्नुहुन्छ तपाईं?
त्यो कुराहरू केही बुझ्दिनँ म।
राजनीतिमा चासो पनि छैन?
त्यो कुराहरू त म बुझ्दै बुझ्दिनँ अनि के चासो हुनू!
सरकारले के के काम गरिदिए हुन्थ्यो जस्तो लाग्छ?
सरकारले के काम गर्छ त्यो कुराहरू म बुझ्दिनँ।
कोही नेता छ जो तपाईंलाई धेरै मन पर्छ?
मलाई वीरेन्द्र राजा राम्रो लाग्थ्यो। मेरै गाउँको रामवरण यादव राष्ट्रपति पनि धेरै राम्रो नेता छन्।
रामवरण किन मनपर्छ?
मेरो श्रीमान जनकपुर अञ्चल अस्पतालमा भर्ना हुनुहुन्थ्यो। मर्ने अवस्था भइसकेको थियो। उपचार गराउने पैसा थिएन। त्यतिबेला उहाँले नै बचाउनुभयो। फ्रिमै दबाइ गराउनुभयो। डेरामा लगेर खाना पनि खुवाउनुभयो।
अघिल्लो संसदीय चुनावमा कसलाई भोट दिनुभयो?
रघुवीर महासेठलाई, सुरज छापमा। सबैले उनलाई नै दिन भनेपछि मैले दिएँ।
फेरि चुनाव भयो भने कसलाई भोट दिनुहुन्छ?
अब त्यतिबेलासम्म बाँच्छु कि बाँच्दिनँ। जसको भाग्यमा लेखेको होला उसैकोमा भोट जान्छ।