(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
भरतपुर–१० हस्पिटल रोडमा रहेको संगम पोलिक्लिनिकमा बसेर मोबाइलमा केही हेर्दै थिए ६१ वर्षीय तुलसीराम भण्डारी। उनी पोलिक्लिनिकका सञ्चालक हुन्। २२ वर्षदेखि यो व्यवसाय सञ्चालन गरिरहेका भण्डारी स्वास्थ्य क्षेत्रमा लागेको ३७ वर्ष भयो। २०४३ सालमा उनले अस्पताल चोकमा फार्मेसी सुरू गरेका थिए। त्यसपछि उनले लामो समय भरतपुर अस्पतालभित्र फार्मेसी चलाए। हाल पोलिक्लिनिक चलाइरहेका उनी सामाजिक कामहरूमा पनि सहभागी हुन्छन्।
मैले उनलाई सोधेँ: कस्तो चल्दैछ पोलिक्लिनिक?
स्वास्थ्य क्षेत्रमा दुःख त भइहाल्छ। एक सयमा ९९ जनालाई राम्रो भयो र एक जनालाई सञ्चो भएन भने पनि अपजस आउँछ। त्यसलाई सहनै पर्छ। मान्छेहरू सिकिस्त भएर आउँछन्, कोही कोही पैसा नभएका आउँछन्। अकालमै ज्यान जाने पनि हुन्छ। हामी राम्ररी सल्लाह दिएर पठाउँछौं। सन्चो भयो भने त्योभन्दा आनन्द अरू केही हुँदैन। तर बिरामीका लागि धेरै काम गर्दागर्दै पनि ठीक भएन भने दुःख लाग्छ। यस्तै दुःख, सुखको अनुभूति गर्दै चलिरहेको छ।
कसरी सुरू गर्नुभयो पोलिक्लिनिक?
मैले वीरेन्द्र बहुमुखी क्याम्पसमा आइएस्सी पढेँ। एक जना दाजु स्वास्थ्य क्षेत्रको हुनुहुन्थ्यो। उहाँकै सल्लाहअनुसार म पनि स्वास्थ्य क्षेत्रमा लागेको हुँ। उहाँकै सल्लाहमा अघि बढ्दै गएँ। पछि औषधि व्यवस्था विभागले तालिम दियो। बुटवलमा गएर तालिम लिएँ। सुरूमा हाम्रो फार्मेसी अस्पताल चोकमा थियो। त्यसपछि भरतपुर अस्पतालभित्र १६ वर्ष बढी फार्मेसी चलाएँ। अस्पतालमा आएका दुःखी, विपन्नलाई सकेसम्म सहयोग पनि गरेँ। त्यसपछि बाइपास रोडमा डेढ वर्ष नर्सिङ होम चलाएँ। त्यो त्यति राम्रो चलेन अनि यो चलाइरहेको छु।
आर्थिक रूपमा कस्तो छ तपाईंको व्यवसाय?
सरकारी नियम कानुनलाई अनुसरण गरेर काम गरेको छु। संवेदनशील भएर काम गरे कहिल्यै घाटा हुँदैन रहेछ। क्षणिक सोच राखेर गयो भने यो व्यवसायमा लागेर काम छैन। मान्छेको जिन्दगीसँग खेलवाड गर्न सकिँदैन। अनुशासित भएर काम गर्नुपर्छ। आफ्नो परिवारका मान्छे बिरामी हुँदा खान मिल्ने औषधि बिरामीलाई दिनुपर्छ। मैले संवेदनशील भएर काम गरेकाले टिकिरहेको छु। परिवार यही व्यवसायले चल्यो। अहिले पनि चलिरहेको छ।
तपाईंको रूचिको विषय के हो? के गर्दा मज्जा लाग्छ?
मेरो रूचि स्वच्छ रूपमा समाजसेवा गर्ने हो। दुःखी गरिबलाई सेवा गर्न, धार्मिक क्षेत्र घुम्न रूचि लाग्छ।
मनोरञ्जनमा कत्तिको रूचि छ?
सामाजिक सद्भावको भयो भने मनोरञ्जनमा पनि भुल्छु।
गीत गाउने, नाच्नेमा? फिल्म हेर्न?
गीत, नाच हेर्न रमाइलो लाग्छ। फिल्म सामाजिक विषयवस्तुका हेर्छु। हिन्दी फिल्म नायक हेरेको थिएँ टिभीमा डेढ वर्षअघि। एक पटक परिवारसहित हलमा गएर नेपाली फिल्म पनि हेरेको थिएँ। कर्णालीतिरको विषयको हो। नाम चाहिँ याद छैन।
खाने कुरा के मन पर्छ?
कोदोको रोटी र गोलभेँडाको अचार एकदमै मन पर्छ। जाडोको बेलामा कोदोको पिठो किनेर ल्याउँछु। ढिँडो पनि बनाउँछु।
परिवारमा कोको हुनुहुन्छ?
श्रीमती र दुई छोरीहरू छन्। पढ्न भनेर अमेरिका गएका छन्। जेठीको केही समयअघि बिहे भयो।
उनीहरूले सोचेजस्तो गरेका छन्?
मैले मेरा छोरीहरूबाट राम्रो अनुभूति गरेको छु। पढाइमा कुनै दिन पनि निरास हुनुपरेको छैन। आफूले व्यावहारिक कठिनाइले गर्दा पढ्न नपाए पनि उनीहरूको प्रगतिले म सन्तुष्ट छु।
परिवारमा मेलमिलाप कस्तो छ?
परिवारमा हरेक साँझ गफ हुन्छ। विदेशमा भएका छोरीहरू भिडिओमा आउँछन्। परिवारको कुरा, सामाजिक, राजनीतिक, धार्मिक कुरा सल्लाहमै हुन्छ। त्यहीअनुसार काम गरिन्छ। छलफलबाट सही कुरा गरिन्छ। मेलमिलाप असाध्यै राम्रो छ।
तपाईंको स्वास्थ्य कस्तो छ?
मलाई ब्लड प्रेसरको समस्या छ। ४ वर्षदेखि औषधि खाइरहेको छु। अरू केही छैन।
राति निद्रा मज्जाले लाग्छ?
निद्रा राम्ररी पर्छ। कहिलेकाहीँ इष्टमित्रको व्यवहार, सामाजिक विषयमा सोच्दा ढिलो निद्रा लाग्छ। नत्र खाना खाएपछि निदाइहाल्छु।
तपाईंलाई केही पैसा भयो भने के गर्न मन छ?
मेरो इच्छा पोलिक्लिनिकलाई अस्पताल बनाउने छ। खान लाउनमा रूचि छैन।
तपाईंलाई सम्झना छ, पछिल्लो पटक तपाईं कहिले धेरै खुसी हुनुभएको थियो? के भएर खुसी हुनुभएको थियो?
मलाई बुवाको अनुहार पनि याद छैन। काकाहरूको अनुहार हेरेर बुवाको कल्पना गर्ने गरेको छु। मेरो लागि आमा भगवान हुनुहुन्थ्यो। आमा एक्लैले निकै संघर्ष गरेर हामीलाई हुर्काउनुभयो। उहाँले दुःख नगरेको भए म यहाँसम्म आउन सक्थिनँ। आमालाई छातीमा समस्या भयो। इन्फेक्सन थियो। बिरामी मान्छे भर्याङबाट लड्नुभयो। त्यसपछि उहाँ खाटको खाट हुनुभयो धेरै वर्ष। त्यस्तो अवस्थामा पनि दसैंमा हामीलाई टीका लगाइदिनुहुन्थ्यो। त्यो क्षण मेरो लागि जिन्दगीभरकै खुसीको क्षण हो। अहिले त आमा हुनुहुन्न। उहाँ बितेको पनि ८ वर्ष बढी भयो।
तपाईंलाई साह्रै चित्त दुखेको कहिले हो? के कुराले हो?
मान्छेहरू अप्ठ्यारो पर्यो भनेर आउँछन्। उनीहरूलाई सकेको सहयोग गर्छु। तर भित्रभित्रै उनीहरू मेरै विषयमा कुरा काटिरहेका हुन्छन्। त्यो कुराले चित्त दुख्छ। यस्तो धेरै भएको छ। चित्त दुखेको एउटा अर्को कुरा पनि छ। मैले एक पटक आफन्तसँग सय कडा डेढ रूपैयाँ ब्याजमा ऋण लिएको थिएँ। म बिरामी भई काठमाडौं गएर फर्किंदा ती आफन्तले ब्याज २ रूपैयाँ भनेको हो पो भने। त्यो कुराले मेरो धेरै चित्त दुखाएको थियो।
तपाईंलाई मनमा बसिरहेको, पिरोलिरहेको वा तपाईंले आशा गरिरहेको यस्तो भएदेखि हुन्थ्यो भन्ने केही छ?
नेपालको जति पनि प्रणालीहरू छन्। तिनमा कानुनको कार्यान्वयन भयो भने कानुनले सबै कुरालाई बाँध्छ। त्यो भइदिए हुन्थ्यो भन्ने लाग्छ।
हाम्रो समाज वा तपाईंको टोल, छिमेक कस्तो लाग्छ?
समाजमा रहने सबैको भावना राम्रो होस भन्ने लाग्छ। तर मान्छेका विभिन्न विचार हुन्छन्। तीमध्ये सही विचार पछि पर्छ प्रायः। कहिलेकाहीँ त्यो राम्रो लाग्दैन। अरू त ठीकै छ।
राजनीति कस्तो लाग्छ नि? राजनीतिप्रति चासो कत्तिको लाग्छ?
प्रणालीमा नचलेको, कानुनसम्मत नभएको राजनीति छ नेपालमा। नेताहरूले मन्त्रिपरिषदमा बसेका मान्छेलाई नलाग्ने कस्तो कानुन बनाएका हुन्? त्यो देखेर छक्क पर्छु म। विदेशमा बसेकाहरूमा नेपालप्रतिको सोच नकारात्मक बनिरहेको त्यही कारण हो। उनीहरूले सकेसम्म देश फर्कन नपरेहुन्थ्यो भन्ने चाहनुको मुख्य कारण नै यहाँको बिग्रिएको राजनीति हो। यति हुँदाहुँदै पनि राजनीतिप्रति चासो त लाग्छ नि। देशमा समृद्धि होस्, सबैले रोजगारी पाऊन्, आम्दानी बढोस्, विदेश पैठारी होस् हाम्रा उत्पादन भन्ने लाग्छ। राजनीति राम्रो भए यी कुरा हुन्थ्यो भनेर चासो राखिराख्छु।
सरकारले केके काम गरोस्, गरिदिओस् जस्तो लाग्छ?
संविधानलाई संशोधन गरेर भए पनि सबैलाई कानुन लाग्ने अवस्था ल्याइदिए हुन्थ्यो। गल्ती छ भने राष्ट्रप्रमुख, सरकार प्रमुखलाई पनि कारबाही हुनुपर्छ। कर्मचारी र साना मान्छेमात्रै कारबाहीमा पर्ने अरू उम्किने सिस्टमको अन्त्य हुनुपर्छ। सरकारले यति त गर्नैपर्छ।
देशका नेतामा तपाईंलाई को को मनपर्छ?
देश सुहाउँदो नेता मनमोहन अधिकारी हुनुहुन्थ्यो। देशका लागि केही गर्नेमा बिपी कोइराला थिए। अनि राजा महेन्द्र हो। अहिले भइरहेका नेताबाट आशा छैन। संविधान नै ठीक छैन, ती नेताबाट कसरी आशा गर्ने र!
गएको चुनावमा कसलाई भोट दिनुभएको थियो। कुन नेता, अनि कुन पार्टीलाई?
यो चाहिँ नभनौं कि जस्तो लाग्यो। भोट चाहिँ दिएको थिएँ।
अहिले चुनाव भयो भने कसलाई दिनुहुन्छ?
यो संविधान परिवर्तन नभएसम्म जसलाई भोट हालेपनि केही हुनेवाला छैन। कारबाही नै हुँदैन भने जति भ्रष्टाचार गरे पनि भयो। त्यसका लागि किन भोट हाल्ने!
त्यसोभए अब तपाईं भोट नै नहाल्ने?
त्यतिखेर देशको अवस्था, परिस्थिति कस्तो हुन्छ हेरौं न।