(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
चितवनको सबभन्दा उचाइको पहाड सिराइचुली चढ्नुअघिको रात हामीले हात्तीवाङको होमस्टेमा बिताएका थियौं। पृथ्वी राजमार्गको हुग्दीखोलाबाट उक्लिएको गाडी हात्तीवाङमा रोकिएलगत्तै हामीलाई स्वागत गर्न आइपुगेका थिए स्थानीय तिलकराज गिरी। १३ वर्षअघि म एउटा समूहमा सामेल भएर हात्तीवाङदेखि शक्तिखोर सम्मको पैदल यात्रा गर्दा गाइड थिए उनी। अहिले ४८ वर्षको उमेरमा पनि त्यही काम गरिरहेका रहेछन्। उनले गाउँमा आइपुग्ने पर्यटकलाई पहाड घुमाउने, चरा देखाउने, चेपाङ ट्रेल हुँदै सौराहासम्म पुर्याउने गाइडको काम सुरू गरेको १८ वर्ष भयो।
मैले विगतको यात्राको कुरा सम्झाउँदै उनीसँग कुराकानी सुरू गरेँ।
के गर्दै हुनुहुन्छ अचेल?
गाइडको काम छोडेको छैन। यहाँ आउने पर्यटकलाई आवश्यक पर्यो भने गाइड बनेर जान्छु। आफूले जानेका बुझेका कुराहरू देखाउँछु, सुनाउँछु। त्यो काम नभएको बेलामा घर, खेतको काम, गाउँ सरसफाइ, वन संरक्षणको काममा लाग्छु।
कस्तो चलिरहेको छ काम?
काम राम्रै चलिरहेको छ। गाइडको काम नियमित त हुँदैन। भएको समयमा आम्दानी राम्रै हुन्छ। एउटा प्याकेजमा ८–१० हजार रूपैयाँ कमाइ हुन्छ। बाख्रा, भैंसी पालेको छु। खेतमा तरकारी लगाउँछु। तीबाट पनि आम्दानी हुन्छ।
भनेपछि जिन्दगी सुखैले चलेको छ?
सुख केलाई भन्नु, दुःख केलाई भन्नु। जिन्दगी चलेकै छ। पहिले बसको सहचालकको काम गरेको थिएँ। पछि चालक बनेँ। केही वर्ष काम गरेपछि पर्यटकको झोला बोक्ने पोटरको काम थालेँ। त्यतिखेर एक दिनको दुई सय रूपैयाँ आउँथ्यो। पछि लाइसेन्स प्राप्त पर्यटक गाइड बनेँ। अहिले त्यही काम गरिरहेको छु। म यसैमा रमाएको छु।
नियमित कामबाहेक के गर्न मन लाग्छ?
गाइड र घर, खेतको कामबाहेक म गाउँमा सरसफाइको काम गर्छु। मलाई जथाभावी प्लास्टिक फालेको मन पर्दैन। मान्छेहरूलाई फोहोर गर्नुहुन्न भनेर सम्झाउँछु। आफैं प्लास्टिक टिप्दै हिँड्छु। कहिलेकाहीँ त मान्छेहरू रिसाएर मेरै घर अगाडि प्लास्टिक, फोहोर फालिदिन्छन्। फोहोर जति यसलाई देऊ, भात पखाएर खान्छ भन्छन्। तै पनि सम्झाउन छोडेको छैन। गाउँ नजिकै वन छ। त्यहाँ डढेलो लाग्न नदिन मान्छेलाई सचेत बनाउने, लागिहाले निभाउन प्रयास गर्ने काम गर्छु।
मनोरञ्जनतिर रूचि छैन?
म टिभी, फिल्म हेर्दिनँ। फेसबुक चलाउन मिल्ने मोबाइल पनि बोक्दिनँ। गाउँमा रमझम हुँदा चाहिँ म पनि रमाउँछु। गीत गाउन भाका त आउँदैन तर नाच्न मन लाग्छ।
कहिले नाच्नु भएको थियो?
तिहारमा नाचेको थिएँ। चाडपर्वमा रमाइलो लाग्छ नाच्छु।
के खान मनपर्छ?
मेरो मन पर्ने खाना ढिँडो र गुन्द्रुकको तरकारी हो। कहिलेकाहीँ रक्सी पनि पिउँछु। यसबाहेक अरू खाने कुरामा धेरै रूचि छैन। विदेशीहरू हाम्रो ढिँडो, गुन्द्रुक भनेपछि भुतुक्कै हुन्छन्। धेरै पैसा तिरेर किन्छन्। यसको महत्व मैले पनि बुझेको छु। रक्सी चाहिँ पाहुनासँग टुरमा जाँदा पिउने बानी लाग्यो। धेरै पिउँदिनँ, ठीक्क मात्रै।
अन्तिम पटक कहिले खानु भएको थियो?
आज बिहान पनि ढिँडो र गुन्द्रुक नै खाएको हो।
परिवारमा को–को हुनुहुन्छ?
श्रीमती, १ छोरा, २ छोरी छन्। छोरीहरूको बिहे भइसक्यो।
उनीहरूले तपाईंलाई सुख दिएका छन् कि दुःख?
दुःख दिएका छैनन्। रमाइरहेका छौं हामी।
परिवारमा मेलमिलाप छ नि?
मिलेर बसेका छौं। समस्या छैन।
तपाईंको स्वास्थ्य कस्तो छ? मज्जाले निद्रा पर्छ?
स्वास्थ्य ठीक छ। समस्या केही देखिएको छैन। निद्रा पनि मज्जाले लाग्छ। तर सुत्ने बेलामा चराचुरूङ्गी, वन मासिएको कुराहरू, पर्यावरण बिग्रिएको कुरा सम्झियो भने धेरैबेर निद्रा लाग्दैन।
ठीक्कको पैसा भयो भने के गर्न मन छ?
पैसा भयो भने विपन्न परिवारलाई सहयोग गर्न मन छ। हाम्रो गाउँतिरै पनि विपन्न परिवार धेरै छन्। कोहीले कपडा पनि लगाउन पाएका छैनन्। उनीहरूलाई सहयोग गर्न सकेको छैन। कहिलेकाहीँ असाध्यै पीडा हुन्छ अनि आफूले लगाएको कपडा नै फुकालेर दिन्छु। पैसा भयो भने संरक्षण, सरसफाइको अभियान सञ्चालन गर्न मन छ।
खाने कुरा, लाउने कुरामा रूचि छैन?
त्यस्तो कुरामा मलाई कहिल्यै रूचि भएन। आफूलाई दुई छाक खान र ज्यान ढाक्ने कपडा लगाउन दुःख छैन।
तपाईंलाई सम्झना छ, पछिल्लो पटक तपाईं कहिले धेरै खुसी हुनुभएको थियो? के भएर खुसी हुनुभएको थियो?
खुसीको कुरा सोधेपछि दुःखको कुरा पनि सोध्नुहुन्छ होला। पहिले दुःख लागेको कुरा भन्छु अनि खुसीको भन्छु है। किनकि यी दुई कुरा जोडिएका छन् मेरो जीवनमा।
ल त्यसो भए भन्नु न त, तपाईंलाई सारै चित्त दुखेको कहिले हो, के कुराले हो?
म सानै छँदा बाबु, आमाले मेरो बिहे गरिदिनुभयो। १५ वर्षको थिएँ, बल्ल ९ कक्षामा पढ्दै थिएँ। मलाई बिहेको विषयमा राम्ररी थाहा पनि थिएन। त्यतिखेर मेरो असाध्यै चित्त दुखेको थियो। म बिहेलगत्तै भगेर पोखरा गएर बस्न थालेँ। त्यतै काम गर्न थालेँ। पछि फर्किएर गाउँ आएँ। तर श्रीमतीलाई हेर्न पनि मन लाग्थेन। बुवाले धेरै सम्झाउनुभयो। अरूले पनि सम्झाए। विस्तारै मेरो मानसिकतामा परिवर्तन आयो। आफू ठूलो भएर पनि होला श्रीमतीसँग बोल्न थालेँ। माया बस्न थाल्यो। बाबु, आमा र श्रीमतीप्रति माया बढ्दै गयो। अनि बल्ल ओहो परिवार भनेको त यस्तो पो हो त भन्ने लाग्यो। म असाध्यै खुसी भएँ। जिन्दगीको सबभन्दा खुसीको क्षण त्यही हो।
अनि समाजमा हरियाली कार्यक्रम, पर्यावरण जोगाउने काममा केही मान्छेले मलाई सहयोग गर्छन्। कोही मान्छे आएर मेरो प्रशंसा गर्छन्। त्यो बेलामा खुसी लाग्छ।
तपाईंलाई मनमा बसिरहेको, पिरोलिरहेको वा तपाईंले आशा गरिरहेको यस्तो भएदेखि हुन्थ्यो भन्ने केही छ?
म आफ्नो बारीमा कहिल्यै रासायनिक मल, विषादी प्रयोग गर्दिनँ। अर्ग्यानिक उत्पादन गर्छु। गाउँका अरूले पनि यस्तै गरे हुन्थ्यो, पर्यावरण, रूख, चरा, खोला जोगाउन पाए हुन्थ्यो भन्ने लाग्छ। यसका लागि सरकारी निकायको पनि सहयोग चाहिन्छ। मनलाग्दी गर्नेलाई कारबाहीको व्यवस्था भए राम्रो हुन्थ्यो भन्ने लाग्छ।
हाम्रो समाज वा तपाईंको टोल छिमेक कस्तो छ? तपाईंलाई समाज वा टोलको के मन पर्छ, के मन पर्दैन?
अरू त ठीकै हो। समाज कहिलेकाहीँ अमिल्दो लाग्छ। बिचरा त्यो फिस्टे चरो, उसको नामै फिस्टे। त्यसलाई मारेर कति मासु आउँछ र। त्यसलाई पनि मार्न छाड्दैनन् मान्छे। त्यसलाई पनि त प्रकृतिमा रमाउन दिनुपर्छ नि। फिस्टे चरो पनि मारेर खाने समाजलाई कसरी सम्झाउने होला भन्ने चिन्ता लाग्छ।
अनि अर्को कुरा मैले आफ्नो बारीमा धेरै बोट बिरूवा लगाएको छु। असुरोका बोटहरू ठूला भएका छन्। मान्छेहरू मलाई जंगलजस्तो भयो त्यो काट, मास्दे भन्छन्। तर म त दुबो पनि मास्दिनँ। यी यो आँगनमा भएको दुबो पनि ठूलो भएपछि काटेर बाख्रालाई दिन्छु। खाएन भने मल बनाउँछु तर उखेलेर फाल्दिनँ। असुरोको औषधीय गुण हुन्छ। यसको पातले मलको राम्रो काम गर्छ। रूख भएपछि चराहरूलाई गुँड लगाउने ठाउँ हुन्छ। म किन मासौं? मलाई छिमेकीहरूको यस्तो सुझाव मन पर्दैन।
राजनीति नि। राजनीतिप्रति कत्तिको चासो लाग्छ?
मलाई राजनीतिप्रति त फिटिक्कै चासो छैन। समाचारहरू सुन्दा पनि दिक्कै लाग्छ। घृणा बढी छ राजनीतिप्रति। एउटा राम्रो बच्चा देख्यो भने मान्छेहरू ओहो कति राम्रो बच्चा रहेछ म लिन्छु नि एकछिन भन्छन् नि। अनि पालैपालो काखमा लिन्छन्। राजनीतिक दलले पनि त्यसैगरी जनतालाई पालैपालो काखमा लिन्छन् अनि रहर पुगेपछि छाडेर हिँड्छन्, पछार्दिन्छन्। यो कुरा मलाई फिटिक्कै मन पर्दैन।
सरकारले के–के काम गरोस्, गरिदियोस् जस्तो लाग्छ?
सरकारले ग्रामीण क्षेत्रलाई पनि ध्यान दिओस्। दुःखी, गरिबलाई पनि हेरिदिओस्। सबैलाई खान, बस्न, लगाउन सक्ने व्यवस्था गरिदिए हुन्थ्यो जस्तो लाग्छ।
यो देशका नेतामा तपाईंलाई को–को मन पर्छ?
मलाई बिपी कोइराला मन पर्छ। उहाँको दर्शन, सिद्धान्त मन पर्छ।
अहिले भएका नेतामा को मन पर्छ?
कोही मन पर्दैन मलाई। सबै उस्तै छन्, कामै नगर्ने।
गएको चुनावमा कसलाई भोट दिनुभएको थियो?
गएको उपचुनावमा मैले भोटै हालिनँ। हाल्न मन लागेन। त्योभन्दा अघि मैले नेपाली कांग्रेसलाई भोट हालेको। उमेश श्रेष्ठ उम्मेदवार थिए तर जितेनन्।
अहिले चुनाव भयो भने कसलाई दिनुहुन्छ?
म भोट नै हाल्दिनँ। चुपो लागेर बस्छु चुनावको बेलामा ऊ त्यो दाउरा जसरी।