(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
जनकपुरधाम उपमहानगरपालिका—२२ स्थित बिसबिट्टीका ५८ वर्षीय गुन्देश्वर मण्डल साथीहरूलाई कुर्दै रहेछन्। उनी र उनका साथी घर छेउकै सार्वजनिक दलानमा हरेक दिउँसो तास खेल्छन्।
मैले आफू पत्रकार भएको भन्दै परिचय दिएपछि उनले गुनासो पोख्न थाले। वडाध्यक्षले आफूहरूको काम नगरिदिएको भनेर आक्रोशित रहेछन्। उनी सहज हुँदै गएपछि मैले उनका दुःख सुखका कुराहरू सोधेँ ः
तपाईंको निजी जिन्दगीमा के छ त नि दुःख सुख?
के हुनु! हामी किसान हो, खेतीपाती गर्छु, खान्छु, आराम गर्छु।
कति खेत छ तपाईंको?
दुई विघा छ।
कस्तो चलेको छ खेतीपाती?
रौदी (खडेरी) पर्यो यसपालि। धानै उब्जिएन। किसानलाई त समस्यै समस्या छ।
कति धान उब्जियो यसपालि?
दुई विघा खेतमा काम गरेर दिनरात एक गरेका थियौं। तै पनि २० मन मात्रै उब्जियो।
सिँचाई सुविधा भएको भए मिहिनेतको हिसाबले कति उब्जिनुपर्ने हो?
राम्रो पानी दिन सकेको भए ५०/६० मन त उब्जिहाल्थ्यो। धेरै राम्रो सप्रेको थियो। तर पानीबिना धान मरहन्ना (धानमा दानै नलागेको) भयो। दाना लागेको लागेको पनि सुक्यो।
खेतमा पानीको सुविधा छैन?
कस्ता वडाध्यक्ष र मेयरले जिते कि सिँचाइको कामै गरेनन्। चौरीमा पाँचवटा बोरिंग छ तर पानी छैन। बोरिंग मर्मत पनि भएन। वडाध्यक्षले खाली सडकै बनाऔं। सडकमा धेरै घुस खान मिल्छ नि त त्यसैले नेताले किसानको वास्तै गर्दैनन्।
अहिले कतिको खेती गर्नुभएको छ?
रौदी परेको छ, उब्जिदै उब्जिँदैन। मिहिनेत उपर हुँदैन त्यसैले केही गरेको छैन। सबै खेत यतिकै पर्ती छोडिदिएको छु।
खेती बाहेक सबैभन्दा के गर्न मज्जा आउँछ?
मलाई खेतीपाती बाहेक केही गर्न खासै मन पर्दैन।
मनोरञ्जन के गरी गर्नुहुन्छ?
हामी तास खेल्छौँ। धेरै गर्मी भएका बेला मन भुलाउन सजिलो हुन्छ। यसमै बहुत रमाइलो हुन्छ।
खानपिनमा के मनपर्छ?
भात, दाल, तरकारी मनपर्छ।
त्यो त सधैँ खाइरहनुभएको होला, सबैभन्दा धेरै के मनपर्छ?
मिठाइ मनपर्छ । माछा मासु मन पर्छ।
अन्तिम पटक कहिले खानुभएको थियो मिठाइ र मासु?
मिठाइ खाएको त एक साल भइसक्यो। मासु त फगुवामा खाएको थिएँ।
छोराछोरी कति छन्?
एक जना छोरी र दुई जना छोरा। छोरी जेठी छन्। छोरी र जेठा छोराको विवाह भइसक्यो। कान्छो छोरा पढिरहेको छ।
छोराछोरीबाट कति सुख पाउनुभएको छ?
सुखैसुख छ। छोरीको घरमा जाँदा खल्तीमा एक-दुई हजार रुपैयाँ जबर्जस्ती हालिदिन्छन्। छोराले पनि राम्रो गर्छ।
परिवारमा मेलमिलाप कतिको हुन्छ?
झगडा हुँदैन। एकदमै मेल हुन्छ।
स्वास्थ्य कस्तो छ तपाईंको?
अहिले ठिक छ। पहिले बिरामी परेको थिएँ। उपचार नगराएको भए मरिसकेको हुन्थेँ। श्रीमतीले मलाई बचाइन्। उनले नै जबर्जस्ती उपचार गराउन दरभंगा लगेकी थिइन्। पेटको अपरेसन गराएँ अनि म निको भएँ।
निद्रा कतिको आउँछ?
कमै आउँछ।
कहिलेदेखि हो कम निद्रा आउन थालेको?
५ महिनादेखि।
कति सुत्नुहुन्छ?
राति १२ बजे सुत्छु। तीन बजे उठछु। ओछ्यानमा दिक्क लाग्छ। अनि गाईवस्तु स्याहारमा लाग्छु। बिहान हुँदासम्म खेततिर निस्किन्छु।
मज्जाले कहिले निदाउनुभएको थियो?
बुढिया हुँदासम्म राम्रो सुत्थेँ। ऊ मरेपछि धेरै दिन रोएँ। त्यसपछि टेन्सनले निद्रा आउन छोड्यो।
कसरी बित्नुभयो नि श्रीमती?
बुढेसकाल लागेपछि धेरै रोगले च्याप्यो। उपचार गराइरहेकै थिएँ तर उनको अचानक मृत्यु भयो। म त कति दिनसम्म रोइरहेँ।
मानौं तपाईंको हातमा ठिक्कको पैसा आइहाल्यो भने के किन्न मन छ?
त्यस्तो कुनै सोखै छैन। खानपिन पुगेकै छ, के गर्छु त्यत्रो पैसाले।
सबैभन्दा धेरै खुसी कहिले हुनुभएको थियो?
धेरै समय भइसक्यो। १५ वर्षभन्दा धेरै भयो। एकदमै धेरै खुसी भएको। तर केले खुसी भएको थिएँ, याद आइरहेको छैन। त्यति खुसी पछि कहिल्यै भइनँ।
सबैभन्दा धेरै चित्त कहिले र के कारणले दुख्यो?
श्रीमती बितेपछि मनमा धेरै तकलिफ भयो। ऊ घरमा हुँदा हामी कुराकानी गरेर बस्थ्यौं, रमाइलो हुन्थ्यो। म कहिले ससुराली, कहिले समधियाना जान्थेँ। घरबाहिर जाँदा निस्फिक्री हुन्थेँ, घरको पनि खासै केही मतलब गर्दैनथेँ किनभने उनैले घर सम्हाल्थिन् भन्ने विश्वास हुन्थ्यो। उनी बितिसकेपछि न कतै जान मन लाग्छ, न खेती बाहेक केही गर्न।
यो गाउँ समाज कस्तो लाग्छ तपाईंलाई?
ठिकै छ। के भनौँ।
समाजको सबैभन्दा राम्रो के लाग्छ?
त्यति राम्रो त खासै केही लाग्दैन। तर गाउँमा सडक धेरै बनेको छ, त्यो राम्रो देख्छु। अरू राम्रो भन्ने त केही छैन त्यस्तो।
अनि सबैभन्दा खराब नि?
गाउँमा कहिलेकाहीँ धेरै झगडा लडाईं भइरहेको हुन्छ। मारपिट हुन्छ त्यो मन पर्दैन। यहाँ अस्ति एक जना ठाकुरलाई हाम्रो समुदायका मान्छेले खुब पिट्यो। उनीहरू चार घर मात्रै छन्। यहाँ मण्डलहरू नै धेरै छन्।
अहिलेको राजनीति कस्तो लाग्छ तपाईंलाई?
धेरै खराब।
के खराब लाग्छ राजनीतिमा?
पहिलेजस्तो छैन। अहिले सबै खानकै लागि राजनीति गर्छ। जसले जिते पनि कसरी कमाउने मात्रै सोच्छन्। घुसमै डुब्छन्।
तपाईंलाई कतिको चासो छ राजनीतिमा?
छैन मलाई।
तपाईंलाई को नेताहरू मनपर्छ?
महेन्द्र यादव। कांग्रेसको।
के गरेका छन् उनले?
यहाँ स्कुलहरू बनाएका छन्। मन्दिरहरू बनाइदिएका छन्। धेरै विकास गरेका छन्। उनी हाम्रो नेता हुन्। बाँकीले खासै काम गरेको म देख्दिनँ।
गत चुनावमा कसलाई भोट दिनुभएको थियो?
महेन्द्रलाई नै दिएको थिएँ।
अब फेरि चुनाव भयो भने कसलाई दिनुहुन्छ?
फेरि उहाँलाई नै दिन्छु। हामी जन्मेदेखि नै कांग्रेसी हो।