(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
बलीसरा मर्साङ्गी मगरलाई हामीले सुर्खेतको बराहताल गाउँपालिका–७ लखरपाटा गाउँस्थित उनकै घरमा भेटेका थियौं। उनी प्राय:जसो आफ्नो काममै व्यस्त हुँदी रहिछन्। त्यसैले गाउँघरभन्दा परतिर उनको ध्यानै जान्न रे।
उनै बलीसरासँगको कुराकानी :
काम के गर्नुहुन्छ?
घरको काम गर्छु। गोठालो जाने, खेतीपातीको काम गर्ने।
केके खेती हुन्छ बारीमा?
मकै, गहुँ हुन्छ। खासै धान फल्दैन। तै पनि थोरै लगाउँछौं।
घरमा कोको बस्नुहुन्छ?
म र नातिनी मात्र बस्छौं। छोराहरू वीरेन्द्रनगर बस्छन्। श्रीमान हुनुहुन्न। केही वर्षअघि बित्नुभयो।
तपाईंलाई काम वा मनोरञ्जनमा के गर्दा चाहिँ मजा लाग्छ? गीत गाउन, नाच्न, फिल्म हेर्न वा अरू यस्तै कुरा?
मलाई भिडिओ हेर्दा रमाइलो लाग्छ। फुर्सद भएका बेला र मोबाइल भएका बेला हेर्छु। मसँग स्मार्टफोन छैन। मोबाइल भएकासँग हुँदा हेर्न पाइन्छ। साथीभाइसँग सुखदु:खका कुरा गरेर समय बिताउन पनि रमाइलो लाग्छ।
खाने कुरामा के मनपर्छ?
त्यही नियमित खानेकुरा हो। विशेष यही भन्ने छैन।
छोराछोरी कति छन्?
तीन जना छोरा छन्।
छोराहरूले सुख दिएका छन् त?
उनीहरू घरदेखि अलि टाढा बसेका छन्। खासै त्यस्तो मनमा लाग्ने पीर दिएका छैनन्। उनीहरूले अहिलेसम्म मेरो चित्त दुखाएका छैनन्।
स्वास्थ्य कस्तो छ? निद्रा मजाले पर्छ?
त्यस्तो स्वास्थ्यमा समस्या भएको महसुस त भएको छैन। दीर्घरोग पनि मलाई छैन। तर निद्रा भने पटक्कै पर्दैन। जबर्जस्त २ घण्टा जति सुत्छु। दुई–तीन महिना जति भयो यस्तो भएको। मनमा धेरै कुरा खेलेर पनि होला। डाक्टरलाई जचाउन जान पनि भ्याएकी छैन।
धेरै पैसाको होइन, ठीक्क पैसाको आफूलाई वा अरूलाई उपहार दिने कुरा केही किन्न पाएको भए हुन्थ्यो भन्ने लागेको तर नसकिएको केही छ?
धेरै कुरा छन् त्यस्ता त। तर सकिँदैन। यही छ भनेर पनि के गर्नु।
तपाईं एकदमै खुसी भएको कहिले हो? के कुराले खुसी हुनुभएको थियो?
बाल्यकालमै हो खुसी भएको त। राम्रो लगाउन पाउँदा, मीठो खाना पाउँदा खुसी भइहालिन्थ्यो। बिहेपछि त जिम्मेवारी बढ्यो। छोराछोरीलाई कसरी पुर्याउने, घरबार कसरी चलाउने भन्ने चिन्तामै बित्यो। खासै खुसी भन्ने कुरा त्यस्तो आएन। छोराहरू जन्मिए, हुर्कंदै गए। यस्तो कुराले त आमाको मन खुसी हुने भइ नै हाल्यो।
अन्तिम पटक साह्रै चित्त दुखेको समय याद छ?
मान्छेको मन न हो। कसैले केही कुरा काट्यो, केही वचन लगायो भने चित्त दुखिहाल्छ। कुनै कुराले बिर्सनै नसकिने गरी चित्त दुखेको केही छैन।
मनमा पिरोलिरहेको, यो कुरा भइदिएको भए हुन्थ्यो भन्ने लागेको तर नपाएको केही कुरा छ?
मनमा त्यस्तो सोच खासै आउँदैन। भएकोले पुगेको छ जस्तो लाग्छ।
तपाईंको टोल वा छिमेक कस्तो लाग्छ? के कुरा मन पर्छ समाजको?
समाजको त सबै कुरा राम्रै लाग्छ।
राजनीतिमा कत्तिको चासो राख्नुहुन्छ?
घरभित्रै बढी हुन्छु। खासै चासो राख्दिनँ राजनीतिमा।
सरकारले के काम गरिदिएको भए हुन्थ्यो भन्ने लाग्छ?
सरकारले देशका लागि गर्नुपर्ने त धेरै होलान्। तर हाम्रो लागि त बाटो पिच गरिदिए, डाँडामा बस्ती छ प्रशस्त खानेपानीको व्यवस्था गराइदिए, सकेसम्म सिँचाइको व्यवस्था गरिदिए हुन्थ्यो भन्ने लाग्छ। सुविधा खोज्दै सहर पस्न नपरे हुन्थ्यो। त्यस्तो अवस्था नआउने गरी सरकारले काम गरिदिओस् भन्ने लाग्छ।
नेतामा को–को मन पर्छ?
यही नेता मनपर्छ भन्ने छैन। जसले राम्रो काम गर्यो उही मन पर्ने हो। म त नेता पनि खासै चिन्दिनँ।
गएको चुनावमा कसलाई भोट दिनुभएको थियो?
गएको चुनावमा एमालेका उम्मेदवारलाई भोट हालेको हो।
अब चुनाव भयो भने कसलाई मत दिनुहुन्छ?
चुनाव आउन धेरै समय बाँकी छ। त्यतिबेलै निर्णय गर्छु।