(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
पोखरीमा भैँसी, पाडीलाई नुहाइदिन लागेकी थिइन्। त्यही बेला महोत्तरीको पिपरा गाउँपालिका—६ रतौलीकी मिथलेश देवी मण्डलसँग मेरो भेट भयो। बिहान खाना खाएर ११ बज्नसाथ गाउँमै रहेको पोखरीमा भैँसीलाई नुहाएर चराउने उनको दैनिकी रहेछ। १५ वर्षदेखि उनी यसैगरी भैँसीलाई नुहाउने र चराउने काममा लागेकी छन्। भैँसीसँगै उनी दुई वटा पाडीलाई पनि नुहाउन र चराउन आएकी थिइन्। गर्मी बढेकाले भैंसी केहीबेर उनी यतिकै पानीमा छोडिदिइन्। तर पोखरीको बीचतिर भैँसी गइहाले फर्काउन गाह्रो हुने भन्दै उनले भैँसीको डोरी समाति राखेकी थिइन्। डोरी समातेरै उनी मसँग कुराकानी गर्न राजी भइन्।
उनलाई आफ्नो उमेर ठ्याक्कै थाहा रहेनछ। यद्यपि ४५—५० कै बीचमा हुने उनको अनुमान छ।
केहीबेर अनौपचारिक कुरा गरेपछि मसँग खुलेर बोल्न थालेकी मिथलेश देवीलाई मैले सोधेँ:
के छ दुःख सुख?
दुखैदु:ख छ। कहिले भगवानले मेट्देला सोचिरहेकी छु।
के दु:ख छ नि?
छोरा बिरामी परे। एजेन्टले दुबईमा पठायो एउटा काममा, राखिदियो अर्कोमा। काम यति गाह्रो भयो कि नसोध्नुस्। उनी बिरामी परे। त्यहाँ उनको पेट खराब भयो। ड्युटी गर्न सकेनन्। कम्पनीलाई घर पठाइदिन भन्यो। तर पठाइदिएन। ९ महिनापछि पनि पठाइदिएन। एजेन्टलाई मैले घरमा गएर झगडा गरेँ तै पनि वास्ता गरेनन्। मैले यहाँबाट ऋण काढेर पैसा पठाएर छोरोलाई मगाएँ। यहाँ आइसकेपछि धेरै ठाउँबाट दबाइ गराएँ। जनकपुर, संग्रामपुर, धमौरा, दरभंगा, साहरघाटमा डाक्टर, वैद्य, धामीकहाँ गएँ। बल्ल एक वर्षदेखि अहिले आराम छ तर त्यसमा खर्च यति भयो कि त्यसले अहिले पनि दुख्ख झेलिरहेको छु।
धेरै खर्च भयो होला है?
१३ लाख खर्च भयो।
कहाँबाट पैसा ल्याउनुभयो?
सबै गाउँबाट कर्जा लिएँ। ३० प्रतिशत ब्याजमा। अहिले पनि १२ लाख ऋण छँदैछ।
एकै जनासँग त्यति पैसा लिनुभयो?
५ जनासँग लिएको छु।
छोरा विदेश जाँदा कति खर्च भएको थियो?
डेढ लाख। ल्याउनलाई त्यहाँको १८ सय रूपैयाँ लाग्यो।
कमाइ भएन?
एक महिना मात्रै कमायो। त्यो पनि उपचारमै सकियो। त्यहाँ उपचार गराउन पनि यहीँबाट दुई लाख रूपैयाँ पठाउन पर्यो।
कोको छन् परिवारमा?
दुई छोरा र म।
बिहेबारी भयो छोराको?
छैन। कुमारमै पठाएको थिएँ। कमाएर आए भने घर बनाएर छोराको बिहे गर्ने ठानेको। तर दशा लाग्यो।
के गर्छ अहिले छोराले ?
पण्डालको काम गर्छन्। तर त्यो सिजनमै हुने हो बाँकी त बसेरै समय काट्छ। अर्को छोरा काम खोज्दैछ। कान्छो छोरालाई १० पढाएर पढाइ छोडाइदिए। मजबुरी भयो कहाँबाट पढाउनु।
जेठा छोरा पढाउनुभयो कि नाइँ?
ऊ पढेको छैन। कान्छालाई पढाउँछु भनेको थिएँ तर उसलाई पढाउन सकिनँ।
के काम गर्नुहुन्छ तपाईं?
आँगन घरको काम, सरफाइ, खाना पकाउँछु। भैँसी चराउँछु, स्याहार्छु। कहिलेकाहीँ मजदुरीमा पनि जान्छु।
कस्तो चलेको छ काम तपाईंको?
अहिले राम्रै छ।
तपाईंलाई सबभन्दा राम्रो के गर्न मन लाग्छ?
सबभन्दा धेरै बिजनेस गर्न मनपर्छ मलाई।
किन गर्नुभएन बिजेनस त?
गर्छु सानतिनो बिजनेस पनि तर अहिले छोडदिएको छु।
के बिजनेस गर्नुहुन्छ नि?
अण्डा बेच्थेँ घरमै।
किन छोड्नुभयो?
फागुन महिनामा बिक्न छोड्यो अनि छोडदिएँ। बीचमा आमा बिरामी पर्नुभयो माइतमा। उहाँकै देखभालमा दौडधुप गर्नुपर्यो। त्यसैले पनि बन्द गरिदिएको छु।
कामबाहेक सबभन्दा धेरै मज्जा के गर्दा आउँछ?
मलाई तीर्थधाम जाँदा धेरै रमाइलो लाग्छ।
कति धाम पुग्नुभएको छ?
जानै पाएको छैन। घरमा कोही काम गर्ने मान्छे छैन। पैसा पनि छैन।
खानपिनमा के मनपर्छ?
सबभन्दा राम्रो दाल भात, सब्जी हो। दुई महिना, एक महिनामा एक दिन मासु, माछा।
केको मासु मन पर्छ नि?
खसीको। कुखुरा खान्नौं हामी।
अन्तिम पटक कहिले खानुभएको थियो खसीको मासु।
फगुवामा।
कति दिनपछि मासु खानुभयो खसीको मासु?
त्योभन्दा पाँच दिन पहिले पनि छोराले ल्याएका थिए।
परिवारमा कतिको मेलमिलाप हुन्छ?
एकदमै राम्रो छ।
राति कतिको निद्रा पर्नुहुन्छ?
केहीबेर। टेन्सनले धेरै निद्रा आउँदैन।
केको टेन्सन छ?
ऋण महाजनको।
निद्रा पर्यो भने कति बेरसम्म निदाउनुहुन्छ?
१० बजे सुत्छु राति एक डेढ बजे आँखा खुलिहाल्छ। त्यसपछि निद्रै आउँदैन।
मनभर नसुतेको कति भयो?
बच्चाहरू पहिले राम्रो हुन्थ्यो। बिरामी हुँदैनथ्यो तब सुत्थेँ। १२ वर्षजति भइसकेको होला मज्जाले ननिदाएको त।
ठीक्क पैसा पर्ने के चिज किन्न मन छ?
त्यस्ता केही किन्न सोचेकै छैन। तर पैसा भयो भने बिजनेस गर्न, घर बनाउन, ब्याजमा पैसा लगाउन मन छ।
तपाईं अहिलेसम्म सबभन्दा धेरै खुसी कहिले हुुनुभयो?
त्यो त बिहेकै दिन थिएँ। त्यसपछि सधैँ केही न केही समस्यै भइरह्यो।
धेरै रोएको दिन याद छ, मन दुखेको?
म त सधैँ रूएकै छु। श्रीमानले सधैँ रक्सी खाएर पिट्नुहुन्थयो। कयौँ पटक मर्न मन लागेको थियो । तर बालबच्चाको अनुहार हेरेर रोकिन्थेँ।
तपाईंलाई अब के भइदिए हुन्थ्यो जस्तो लाग्छ?
कर्जा तिर्न पाए, घर बनाइहाल्थेँ। छोराको बिहे गर्थेँ। २५ वर्षको छोरा भैसक्यो। कान्छो पनि २४ सालका भए।
तपाईंलाई गाउँ घर, समाज कस्तो लाग्छ?
ठीकै छ। गाउँमा राम्रा मान्छे पनि छन्, खराब पनि छन्। चोरी गर्ने, अन्याय गर्ने धेरै छन् अहिले। बेइमान पनि धेरै छन्। जो कमजोर हुन्छ, पहुँच हुँदैन जसको उसका लागि हतपत कोही बोल्न सक्दैन।
समाजको सबभन्दा खराब के लाग्छ ?
अहिले उमेर पुगेर मात्रै बिहे गर्न भन्छ। तर गाउँमा १६/१७ वर्षमै केटीहरू भागिरहेका छन्। त्यो राम्रो लाग्दैन।
अनि गाउँको राम्रो कुरा के लाग्छ?
सबैले कमाउँछन्, खान्छन्। मेलमिलापले बसेका छन् त्यहीँ राम्रो लागेको छ।
तपाईंलाई राजनीति कस्तो लाग्छ?
जब भोटको समय आउँछ त्यतिबेला पाँच सय, एक हजार दुई हजार दिन्छु तर मलाई भोट दिनुस् भन्छ। तर जितेपछि कसैले सोधखोज गर्दैन। गाउँपालिका अध्यक्षले भोट माग्न आएको बेला यो गर्छु त्यो गर्छु भन्थे तर अहिले आफ्नैमा मग्न छ। यस्तै हो राजनीति।
तपाईंलाई कतिको चासो छ राजनीतिमा?
राजनीति गर्ने इच्छा किन नहुनु। तर म सक्छु र? सक्दिनँ।
सरकारले के गरिदिए हुन्थ्यो लाग्छ तपाईंलाई?
गरिबको घर बनाइदिए हुन्थ्यो। गाउँमा रोड पिच गरिदिए हुन्थ्यो लाग्छ।
तपाईंलाई कुन नेता मन पर्छ?
राम दयाल मण्डल मन पर्छ।
कसलाई भोट दिनुभएको थियो नि तपाईंले?
उहाँलाई नै दिएको थिएँ।
अब फेरि चुनाव भयो भने कसलाई भोट दिनुहुन्छ?
राम दयालैलाई दिन्छु। सूर्य छापमा।
किन नि?
विधवा भत्ता उसैले दिलाएको छ, वृद्धा भत्ता पनि उसैले दिलाएको छ लडेर। अरूले के दियो गरिबलाई?