(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
मधुसुदन लाल श्रेष्ठलाई मैले बुटवलको राजमार्ग चौराहस्थित क्याफेमा भेटेकी थिएँ।
उनी आफ्नै घरमा अर्कैले संचालन गरिरहेको क्याफेको बेन्चमा बसेर मोबाइल चलाइरहेका थिए। खाजा खान क्याफे गएकी मलाई उनीसँग कुराकानी गर्न मन लाग्यो।
मुसुक्क हाँस्दै मैले अन्तरवार्ताको लागि अनुमति मागेँ। अन्तरवार्ता नै छापिन्छ भन्दा उनी तर्किए।
‘के कुरा गर्नुहुन्छ मसँग, कुराकानी त गरौं तर छाप्ने गरी होइन,’ उनले भने। नछाप्ने गरी कुरा गर्न थालेका उनी पाँच-सात मिनेट कुरा गरिसक्दा छाप्नका लागि राजी भइसकेका थिए।
कुराकानीको सुरूमै उनले आफ्ना विगतका भोगाइबारे बताए। ७३ वर्षीय श्रेष्ठ २०३२ सालमा पाल्पाबाट बुटवल आएर ०३३ सालदेखि सिद्धार्थ कपडा उद्योग सुरू गरेका रहेछन्। सुतीको कपडा उत्पादन गर्ने उनको उद्योग ९ वर्ष मात्रै चल्यो। बजारमा पोलिष्टर र टेरिकटन कपडा आउन थालेपछि उनले उत्पादन गरेको सुती कपडाले मूल्य पाएन।
७० जना कामदारले रोजगारी पाएका थिए। कपडाले मूल्य नपाएपछि २०४२ सालमा कपडा उद्योग बन्द गरेर चप्पल उद्योग सुरू गरे। राजमार्ग चौराहमै संचालन गरेको बुटवल स्वदेशी चप्पल उद्योग राम्रै चलिरहेको थियो।
उनका अनुसार २०५९ सालतिर मलेसिया, भारत लगायतका देशमा ठूलो सुनामी आयो। जुत्ता चप्पलको लागि चाहिने रबर मलेशियाबाट आउँथ्यो। सुनामीले रबरका बोटहरू सबै नष्ट गरिदिएपछि सुनामीअघि ५८ रुपैयाँमा पाइने रबर सुनामीपछि ३ सय रुपैयाँ पर्न थाल्यो। त्यसपछि चप्पल उद्योग पनि चलाउन सकेनन्। २०५९ सालमै चप्पल उद्योग पनि बन्द गरे।
उद्योग सञ्चालनकै क्रममा लुम्बिनी नर्सिङ होममा थोरै लगानी गरेका रहेछन्। कपडा उद्योगमा ७० जना र चप्पल उद्योगमा ३५ जनालाई रोजगारी दिएका उनले २०५९ सालपछि नर्सिङ होमको निर्देशक भएर काम गरे। नर्सिङ होममा २० वर्ष काम गरेपछि २०७९ साल चैत मसान्तबाट भने उनी सेवा निवृत्त जीवन बिताइरहेका छन्।
सेवा निवृत्त जीवन कसरी बिताइरहनुभएको छ?
उनले हाँस्दै भने, ‘डुल्दै खाँदै!’
म २४ वर्षदेखि बुटवल लायन्स क्लबको सदस्य छु। रिटायर्ड भएपछि त्यही क्लबमा सक्रिय भएर काम गरिरहेको छु। लायन्स क्लबले पारी बुटवलमा आँखा अस्पताल चलाएको छ, त्यसैमा जान्छु रमाउने गर्छु।
दुई-दुई वटा उद्योग चलाउनु भएछ। २० वर्ष नर्सिङ होममा निर्देशक भएर जिम्मेवारी निभाउनुभयो, तपाईंलाई यी कामबाहेक अरू के काम गर्दा रमाइलो लाग्छ?
अहिले पनि कुनै पनि टेक्निकल काम गर्न रमाइलो लाग्छ। म टेक्निकल मान्छे हो। पढेर ज्ञान लिएको मान्छे म होइन तर प्राविधिक कुराहरूमा मलाई रूचि छ। थोरै धेरै जानेको पनि छु। मेकानिकल क्षेत्रको कुनै पनि काम गर्न मलाई रूचि लाग्छ। कसैले विश्वास गर्यो भने अहिले पनि काम गर्छु भन्ने लाग्छ तर, लाइसेन्स नभएकोले विश्वास गर्दैनन्।
मनोरञ्जनका लागि के गर्नुहुन्छ?
नाति खेलाउँछु! हिँड्ने-घुम्ने यही हो मनोरञ्जन। प्रत्येक दिन अहिले पनि ५ हजार स्टेप हिँड्छु।
सिनेमा कत्तिको हेर्नुहुन्छ?
पहिले पढ्ने बेलामा निकै हेरियो। काममा लागेपछि हेर्ने रूचि भएन। अहिले भावनात्मक, मन छुने सिनेमा नै बन्दैनन्। सबैले एक्सनलाई प्राथमिकता दिन्छन्, हेर्न मन लाग्दैन।
अन्तिमपटक कहिले-कुन सिनेमा हेर्नुभएको थियो सम्झना छ?
नेपाली माइती घर र हिन्दी मदर इण्डिया भन्ने सिनेमा हेरेको थिएँ, राम्रो लागेका थिए दुईवटै सिनेमा।
खानेकुरामा सबैभन्दा के मन पर्छ?
त्यस्तो आहा! भन्ने केही छैन, सबै एकनास लाग्छ। खाने भनेको बाँच्नलाई हो भन्ने लाग्छ त्यही भएर कुनै रोजाइ छैन।
तपाईंको स्वास्थ्य कस्तो छ?
राम्रै छ भन्न मिल्दैन, सुगरको औषधि खान्छु। सुगरको औषधि खान थालेको २२ वर्ष भयो। सर्भाइकलको समस्या पनि थियो दुई वर्ष पहिले अपरेसन गरेपछि अहिले ठीकै छ। त्यही भएर पनि मैले नर्सिङ होमको काम छोडेको थिएँ।
राति कत्तिको निद्रा लाग्छ?
निद्रा त राम्रै लाग्छ। साँझ ९ बजे सुतिसक्छु बिहान भने ४ बजे नै आँखा खुल्छन्। निद्रा खुलेपछि ओछ्यानमा बस्न मन लाग्दैन यता उता गरिहाल्छु।
यस्तो किन्न पाए भन्ने केही छ?
के किन्न छ र त्यस्तो, केही छैन। मौसमअनुसार लुगा लगाउने हो। म अलि घडीको सौखिन छु तर मन परेका घडीहरू किनेको छु।
तपाईं सबभन्दा धेरै खुसी कहिले हुनुभएको थियो?
२०७० सालमा छोरीले छोरा पाइन्। नाति जन्मिँदा सबभन्दा धेरै खुसी भएको थिएँ। मेरो तेस्रो पुस्ता आयो भन्ने लागेको थियो। छोराछोरी जन्मिँदा भन्दा नाति नातिनी जन्मिँदाको खुसी, आनन्द फरक र धेरै हुने रहेछ।
सबभन्दा धेरै दुःखी भएको क्षण नि?
जब आफूलाई सहारा दिएकाहरू आफूसँग रहँदैनन् नि त्यतिबेला धेरै दुःखी भइने रहेछ। मेरो आमाबुवा बित्नु हुँदा संसार नै रित्तै भएजस्तो लागेको थियो।
अहिले घरमा को-को हुनुहुन्छ?
श्रीमती, दुई छोरा, दुई बुहारी, दुई नाति सबै छन्। एउटी छोरीको भने विवाह भएर घरमा छिन्।
छोरा छोरी के गर्नुहुन्छ, कत्तिको सन्तुष्ट हुनुहुन्छ?
सन्तुष्ट छु। जेठो छोरा बुटवलमा सर्जिकल सामान बिक्री वितरण गर्छन्। कान्छो छोरा बुहारी र नाति क्यानडामा छन्। छोरीको पनि राम्रो छ। सन्तानबाट म खुसी छु।
तपाईंको मनमा कुनै पिरलो छ, यस्तो भइदिए हुने थियो भन्ने केही?
पहिले-पहिले मनमा धेरै पिर हुन्थ्यो, यस्तो भएन उस्तो भएन भन्यो भुटभुटियो। पछि बल्ल बुझ्न थालें, पिर त जति लियो त्यति बढ्ने रहेछ। त्यसैले अहिले कुनै पिर लिन्नँ। जति लिए पनि हुने कुरा नभई छोड्दैन। चिन्ताको कुरा सेयर गरे चिन्ता हट्छ। मनमा पिर लिएर थप्ने होइन।
आफ्नो गाउँ समाज कस्तो लाग्छ?
गाउँ समाज त राम्रै लाग्छ। राम्रो नलागे पनि म आफ्नो गाउँ, समाज, देश छोडेर जान सक्दिनँ।
गाउँ समाजको सबभन्दा मनपर्ने कुरा के हो नि?
एकअर्कालाई सहयोग, सद्भाव गरेको मनपर्छ।
अनि मन नपर्ने कुरा?
पुरानो संस्कार, संस्कृति सबै हराउँदै गए। छिमेकी मुलुक र पश्चिमी देशहरूको रितिरिवाजले हाम्रा रितिरिवाज र संस्कृतिमाथि अतिक्रमण गरिरहेका छन्। पछिल्लो पुस्तामा राम्रोसँग बोल्ने संस्कार पनि हराउँदै जान थालेको छ। यस्तो देख्दा दुःख लाग्छ।
राजनीतिप्रति कत्तिको रूचि राख्नुहुन्छ?
मलाई राजनीतिसँग धेरै डर लाग्छ। कुनै पनि देश चाहे त्यो पुँजीवादी होस् चाहे त्यो कट्टर कम्युनिष्टवाद होस् त्यहाँ देश संचालन गर्नेहरूमा एउटै उद्देश्य हुनुपर्छ, कसरी जनताको हित र उनीहरूलाई बढीभन्दा बढी सुविधा दिन सकिन्छ भन्ने। तर हाम्रोमा हेर्नु त जनताको हित र सुविधाभन्दा कस्ले कति लुट्ने भन्नेमै तल्लिन छन् सबै।
तपाईंलाई नेपालका मनपर्ने नेता को को हुन्?
नेता भनेको को हो? जसले आफ्नो स्वार्थ त्याग गरेर जनताका लागि सोच्छ उही नेता हो तर नेपालमा त्यस्तो नेता कोही छ भने तपाईं नै भन्नुस्। पहिलेका नेता थिए, बिपी कोइराला, मदन भण्डारी, मनमोहन अधिकारी। ती नेता मन पर्थे। अहिलेका नेता मन पर्नलाई त उनीहरूले राम्रो काम गरेको हुनुपर्यो नि!
गएको चुनावमा कसलाई भोट दिनुभएको थियो?
गएको चुनावमा कसैलाई पनि भोट हालिनँ।
भोट हाल्नै जानुभएन?
गएँ नि जान त। मतपत्र पनि लिएँ तर जताततै छाप लगाएर रद्द पारेर आएँ।
किन त्यस्तो आक्रोश?
के गर्ने त। कुनै नेता र पार्टी आफ्नो सिद्धान्त अनुसार चलेका छन् र? कसलाई सपोर्ट गर्ने?
अब चुनाव भयो भने कसलाई भोट दिनुहुन्छ?
भोट दिने जस्तो कोही छैनन्, हेरौं म आफैं उठुँला कि! (केही बेर मज्जाले हाँसे)
सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
सरकारले केही गर्छ र? के अपेक्षा गर्नु! गर्न सके जे-जे गर्दा जनतालाई सुविधा हुन्छ ती सबै काम गरिदिए हुन्थ्यो।