(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
वीरेन्द्रनगरकी खम्बीरा शर्माले घुम्तीमा पसल थालेर व्यवसाय सुरू गरेकी थिइन्। घुम्तीमा राम्रो व्यापार भएपछि फेन्सी पसल खोलिन्।
वीरेन्द्रनगरको यरीचोक नजिक उनको पसल छ। यो ठाउँमा मान्छेको निकै चहलपहल हुन्छ। त्यसैले उनले दिनहुँ नयाँ मान्छे भेट्छिन्। कतिपयसँग व्यापार गर्छिन्, कतिसँग कुराकानी पनि गर्छिन्।
आफ्नो सहरको कमजोर सडक व्यवस्थापन देखेर उनलाई दिक्क लाग्छ रे। अहिले नै फुटपाथ व्यवस्थित बनाए भोलि वीरेन्द्रनगर काठमाडौं जस्तो हुँदैन थियो भन्ने उलाई लागिरहन्छ। बजारको फोहोर व्यवस्थापनमा यहीँका बासिन्दा सचेत हुन नसकेको र सरोकारवाला निकाय पनि गम्भीर नभएको देखेर उनलाई अचम्म लाग्छ रे।
हामीले खम्बीरासँग कुराकानी गर्यौं।
कस्तो चलेको छ व्यवसाय?
मेरो लागि त अहिलेको परिस्थिति साह्रै गाह्रो छ। आर्थिक मन्दीले सताएको छ।
देशमा धेरै कुरा चल्ने भनेको व्यवसायबाट हो। आर्थिक मन्दीले धराशायी बनेको व्यवसायलाई नै राज्यले माथि उठाउन सकेको छैन। राज्यले कर व्यवसायीसँग कर लिन्छ। समाजका अरू मानिस व्यवसायीसँग सहयोग माग्न आउँछन्। तर व्यवसाय र व्यवसायीका लागि राज्यबाट ठोस काम हुन सकेको छ जस्तो मलाई लाग्दैन।
तपाईंलाई मनोरञ्जन वा काममा के गर्दा सबभन्दा मजा लाग्छ?
मलाई त समस्यामा परेका व्यक्ति वा समुदायलाई सहयोग गर्न पाउँदा खुसी लाग्छ। इन्टरनेटको जमाना छ। हातमा स्मार्टफोन भए भिडिओ हेर्न परिहाल्छ। भिडिओ हेर्दा रमाइलो लाग्छ। तर भिडिओमा भएका विषय प्रेरणादायी हुनुपर्छ।
अरूलाई सहयोग गरेर पछिल्लो पटक कहिले खुसी हुनुभएको थियो?
गएको कात्तिक १७ गतेको भूकम्पबाट प्रभावितहरूका लागि सक्दो कपडा सहयोग गरेकी थिएँ। त्यसअघि पनि विभिन्न विपदहरूमा सकेको सहयोग गरेकी छु। मेरो सहयोगले सबैको समस्या समाधान नभए पनि समाधानका लागि पहल गर्नेभित्र परेकी छु जस्तो लागेको छ।
खाने कुरामा तपाईंलाई के मन पर्छ?
सिजनअनुसारको फलफूल खान मन पर्छ। अर्गानिक खानेकुरा बढी रूचाउँछु।
छोराछोरी कति जना छन्?
दुई जना छोराछोरी छन्। दुवै जना पढ्दैछन्।
परिवारमा मेलमिलाप छ नि?
एकदम राम्रो छ।
तपाईंको स्वास्थ्य कस्तो छ? मजाले निद्रा पर्छ?
स्वास्थ्यमा खासै समस्या छैन। कोभिडपछि भने अहिले पनि श्वासप्रश्वासमा केही समस्या भएको महसुस हुन्छ। निदाउन पनि मज्जाले निदाउँछु। बिहानै उठ्छु।
धेरै पैसाको होइन, ठिक्कको के कुरा किन्न पाए हुन्थ्यो भन्ने लागेको छ?
आफ्नो क्षमता अनुसारको अपेक्षा गरिएको हुन्छ। अरूसँग भएको कुरा देखेर आफूसँग पनि त्यही हुनुपर्छ भन्ने आशा राख्नु हुँदैन। त्यसैले मेरो त्यस्तो केही छैन। भए ठिकै हुने, तर किन्न नसकिएको एक–दुईटा कुरा त होलान्। तर म ती कुरामा लालायित छैन।
अन्तिम पटक धेरै खुसी भएको कुनै समय वा घटना कुनै छ?
मैले व्यवसाय सुरू गर्दा घुम्तीमा सानो पसलबाट गरेकी हुँ। पसल सुरू गर्दा महिनाको पाँच सय रूपैयाँ जमिनको भाडा तिर्नुपर्थ्यो। मलाई सुरूको दिनमा त्यही भाडा तिर्ने पैसा पनि कमाइ हुन्छ कि हुँदैन भन्ने डर लागेको थियो। तर पसल खोलेको सुरूकै दिन १५ सय रूपैयाँको व्यापार गरेँ।
यो १० वर्षअघिको कुरा हो। त्यो दिन असाध्यै खुसी भएँ। त्यही हो अहिलेसम्मको नबिर्सिने खुसी। त्यसपछि व्यवसायमै राम्रो गरेँ।
तपाईंलाई अन्तिम पटक साह्रै चित्त दुखेको कहिले हो? के कुराले हो?
चित्त दुखेको पनि १० वर्षअघिकै घटनाले हो। मेरो श्रीमान सशस्त्र प्रहरीमा जागिरे हुनुहुन्थ्यो। साउनको महिना मेरो पहिलो बच्चा जन्मिने मिति थियो। श्रीमानलाई असारमा सरकारवादी मुद्दा लाग्यो। उहाँ कारागार जानुभयो। कारागारमा साढे तीन वर्ष बस्नुपर्यो। मैले मेरो पहिलो सन्तानलाई श्रीमान नभएको समयमा जन्माएँ र एक्लै हुर्काएँ। छोरा एलकेजीमा पढ्ने बेला मात्र श्रीमान घर आउनुभयो।
मनमा बसिरहेको, पिरोलिरहेको वा तपाईंले आशा गरिरहेको यस्तो भएदेखि हुन्थ्यो भन्ने केही छ?
मलाई सुर्खेतमा अव्यवस्थित फुटपाथको समस्याले मनमा पिरोलिरहेको छ। यसलाई अहिले नै व्यवस्थापन गर्न सुरू गरिदिएको भए हुन्थ्यो भन्ने लाग्छ। यहाँको स्थानीय सरकारप्रति यसको आशा गरिरहेकी छु। पछि फुटपाथ हटाउँदा काठमाडौंमा जस्तो समस्या हुनुभन्दा अहिलेबाटै व्यवस्थित गर्न सुरू गरेको भए हुन्थ्यो भन्ने लागेको छ। हाम्रो वीरेन्द्रनगरको फोहोर व्यवस्थापन हुन नसकेको कुराले पनि पिरोल्छ।
समाजको बारेमा तपाई् के भन्नुहुन्छ? तपाईंको समाज वा टोलको के कुरा मन पर्छ, के मन पर्दैन?
भूगोल, त्यो भूगोलमा बस्ने मानिसका आफ्ना व्यवहार, रितिथिति अनुसार समाजका आ–आफ्नै रहने तरिका होलान्। सबै समाजको बारेमा भन्न सकिने कुरा भएन। तैपनि हामी नेपालीको सहयोगी भावनाले समग्र समाज राम्रो हुन्छ भन्ने लाग्छ। मेरो समाजको कुरा गर्ने हो भने हामी समाजभित्र परिवार जस्ता छौं। समाजको बाँडीचुँडी खाने, मर्दापर्दा जोडिने, सुख दुख बाँड्ने कुरा मन पर्छ।
राजनीति नि! यसमा कत्तिको चासो राख्नुहुन्छ?
विभिन्न माध्यमबाट समाचारहरू हेर्न, पढ्न पाइन्छ। समाचार वा अरू गतिविधिमा राजनीति हेर्दै गर्दा चासो पनि बढ्छ नै। तर वर्तमान राजनीति मलाई पटक्कै मन परेको छैन।
सरकारले के काम गरोस् भन्ने लाग्छ?
सरकारले आफ्नो कार्यकालमा यस्तो नीतिको व्यवस्था गर्नुपर्यो कि भ्रष्टाचार गरेर चुलो जोडौंला भन्ने मनसाय भएका उम्मेदवार चुनावै लड्न नपाउन्।
देशको नेतामा तपाईंलाई को–को मन पर्छ?
रवि लामिछाने र बालेन शाह ठिकै लाग्छ।
गएको चुनावमा कसलाई भोट दिनुभएको थियो?
गएका धेरैजसो चुनावमा एमालेलाई भोट दिएको हो।
अब निर्वाचन भयो भने कसलाई मत दिनुहुन्छ?
स्पष्ट भन्ने हो भने अबका निर्वाचनमा म पार्टी हेर्ने छैन। उम्मेदवार र उसका एजेण्डाहरूलाई ध्यान दिएर मात्र भोट दिन्छु।
***