(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
लुम्बिनी सांस्कृतिक नगरपालिका- ११ मुगलाह चोकदेखि उत्तरतर्फ छ उनको घर। गएको साता काम विशेषले मुगलाह गएको बेला मैले उनलाई घरमै भेटेकी थिएँ।
आँगनमा मुसुरो सुकाउँदै गरेकी उनले मलाई देखेपछि हत्तपत्त सारीको सप्कोले टाउको ढाकिन्। मैले आफ्नो परिचय दिँदै घरमै उनीसँग कुरा गर्न थालेँ।
'मसँग के कुरा गर्नुहुन्छ, केही बोल्न त आउँदैन,' मधेसी लवजमा उनले भनिन्।
'तपाईंसँग दुःख सुखका कुरा गर्ने नि,' मैले भनेँ। उनी कुरा गर्न राजी भइन्।
अन्तर्वार्तामा फोटो पनि छाप्नुपर्छ भनेर फोटो खिच्न लागेका बेला उनले मलाई रोकिन्।
'निधारमा बिन्दी छैन, म लगाएर आउँछु अनि खिच्नु है,' यति भनेर उनी उठिन्। बिन्दी लगाएर आइन् अनि मुसुरो सुकाउन थालिन्। फोटो खिचेपछि उठेर कुर्चीमा बसिन्।
टिनले छाएको पालिमुनि बसेर मैले उनीसँग कुराकानी गरेँ।
४२ वर्षीय सुमित्रा यादवलाई मैले सोधेँ, 'सबै कुरा ठिकठाक चलिरहेको छ नि?'
सबै राम्रै छ।
तपाईंले के के काम गर्नुहुन्छ?
किसानले के काम गर्नु! खेतीपाती गर्ने, भैंसी, बाख्रा पाल्ने, त्यही त हो।
खेती गर्ने जग्गा कति छ?
जग्गा त बीस बिघा छ।
गोठमा भैंसी पनि पाल्नुभएको रहेछ, कति छन्?
चारवटा भैंसी छन्, २०/२२ वटा बाख्रा पनि छन्।
भैंसीले कति दूध दिन्छ?
एक दिनमा १२/१५ लिटर हुन्छ। १०/१२ लिटर बेच्छौं।
तपाईंलाई के काम गर्दा धेरै रमाइलो लाग्छ?
खेतीपाती गर्ने, भैंसी, बाख्रा चराउने, छोराछोरी, नातिनातिनालाई खुवाउने, उनीहरूसँग खेल्ने। यस्तै गर्दा धेरै रमाइलो लाग्छ।
सिनेमा हेर्ने, नाचगान गर्ने कत्तिको गर्नुहुन्छ?
सिनेमा हेर्न त त्यति मन लाग्दैन। खेतमा काम गर्दा, गाउँमा कसैको विवाह, ब्रतबन्ध पूजापाठ हुँदा भजन/गीत भने गाउँछु।
कस्तो गीत गाउनुहुन्छ? एक टुक्का सुनाउनु न!
अहिले? ओहो, यसरी गीत गाएको सुन्यो भने छोराबुहारीले के भन्छन् होला! श्रीमानले के भन्नुहुन्छ होला!
(उनी लजाउँदै हाँसिन्। केहीबेर सोचेर उनले सखिया हमारी बोलको गीत गाइन्।)
यस्तो गीत पछिल्लो पटक कहिले गाउनुभएको थियो?
गाउँमा भागवत लागेको थियो एक महिना पहिले, त्यही बेला गाएको।
तपाईंलाई सबैभन्दा के खानेकुरा मिठो लाग्छ?
सबभन्दा मिठो लाग्ने त खीर-पुरी नै हो।
पछिल्लो पटक कहिले खानुभएको थियो?
खीर-पुरी खान के समस्या भयो र जहिले मन लाग्यो उहिले खान्छौं। गोठमा भैंसी छन्। दूधलाई समस्या भएन। मन लाग्यो भने पकायो खायो।
घरमा को को हुनुहुन्छ, छोराछोरी कति छन्?
श्रीमान हुनुहुन्छ। तीन छोरी, दुई छोरा, दुई बुहारी, नाति, नातिनी सबै छन्।
छोरीहरू के गर्नुहुन्छ?
छोरीहरू सबै पढ्दै छन्। ठूली छोरी १२, माइली ११ र कान्छी दुई कक्षामा पढ्छिन्।
श्रीमान, छोराछोरी, बुहारीले नि?
श्रीमान किसान नै हो, खेती गर्ने, धान चामल बेच्ने। ठूलो छोरा पिकअप गाडी चलाउँछ, खेतीपाती गर्छ। सानो छोरा पनि कृषिमै काम गर्छ। कान्छी बुहारी अहिले माइतमा छ, जेठी बुहारीले घरधन्दा गर्छिन्।
परिवारमा मेलमिलाप छ?
मेलमिलाप नै छ। कान्छी बुहारी चाहिँ माइत गएर बसेकी छन्। जेठानी देउरानी सँगै मिलेर बसे हुने! यति धेरै जमिन छ, हामी पनि बुढाबुढी हुन्छौं, छोरीहरू विवाह गरेर गइहाल्छन् भनेर धेरै सम्झायौं। दुई-तीन पटक त माइतमा गएर फर्काएर पनि ल्यायौं। छोरी जस्तै बनाएर राख्छौं भन्दा पनि बस्न मानेन। छोराले पनि लिन जान्नँ भन्छ।
तपाईंको स्वास्थ्य कस्तो छ?
अहिलेसम्म त कुनै दुःख बिमार छैन। खेतीपाती गर्छु, भैंसी पालेको छु। दूधदही खान्छु। त्यही भएर पनि होला।
राति कत्तिको निद्रा लाग्छ?
निद्रा त राम्रो लाग्छ। साँझ आठ/नौ बजे सुत्छौं। बिहान ५ बजे उठ्छु।
पाँच बजे उठेर के काम गर्नुहुन्छ?
भैंसी बाख्राको दानापानी गर्छु। खाजा खाएर खेतमा काम गर्न जान्छौं। बुहारीले खाना पकाउँछिन्।
तपाईंलाई ठिक्क पैसा पर्ने के सामान किन्न मन छ?
के किन्ने? कसले दिन्छ र पैसा? अहिले त पैसा पनि छैन, केही किन्न पनि मन छैन। पैसा भयो भने छोराछोरी, बुहारीलाई कपडा किनिदिने थिएँ।
तपाईं सबभन्दा धेरै खुसी कहिले हुनुभएको थियो?
ठूलो छोराको बिहे हुँदा धेरै खुसी लागेको थियो।
सबभन्दा धेरै दुःखी भएको नि?
कान्छी बुहारीले प्रहरी बोलाएर घरमा ल्याउँदा धेरै दुःख लागेको थियो।
तपाईंको मन केही कुराले पिरोलिरहेको छ? वा यस्तो भइदिए हुन्थ्यो भन्ने केही छ?
सबभन्दा ठूलो कुरा त कान्छो छोराको घरबार बने हुन्थ्यो भन्ने छ नि। अनि तीनवटा छोरी छन्, उनीहरूको घर कस्तो पर्छ भन्ने पिर लाग्छ।
तपाईंलाई आफ्नो गाउँ समाज कस्तो लाग्छ?
गाउँ समाज त राम्रो लाग्छ। राम्रो नभए पनि आफैंले राम्रो बनाएर बस्नुपर्छ।
गाउँ समाजको के कुरा सबभन्दा राम्रो लाग्छ?
गाउँमा कसैलाई केही भयो भने सबै एकजुट भएर सहयोग गर्छौं, त्यही कुरा सबभन्दा राम्रो लाग्छ।
अनि मन नपर्ने कुरा?
सानो-तिनो विषयमा पनि कुरा काट्ने चलन हुन्छ, त्यो मन पर्दैन।
तपाईंलाई राजनीति कस्तो लाग्छ?
राजनीति त त्यति चासो लाग्दैन। मैले बुझ्न पनि बुझ्दिनँ।
देशका को को नेता मन पर्छ?
नेताहरू त मैले धेरै चिनेको छैन। बासुदेव घिमिरे (संघीय सांसद), खिमलाल भट्टराई (एमाले पोलिटब्युरो सदस्य) लाई हो चिनेको तिनीहरू मन पर्छ।
गएको चुनावमा कसलाई भोट दिनुभएको थियो?
बासुदेवलाई नै दिएको हो।
अहिले चुनाव भयो भने कसलाई दिनुहुन्छ?
अहिले त खोइ! बासुदेव पनि चुनावपछि फर्किएर आउनुभएको छैन। चुनाव भयो भने श्रीमानले कसलाई भन्नुहुन्छ, उसैलाई दिनुपर्ला नि।
सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
हिँड्ने बाटो यस्तो छ (घर अगाडिको कच्ची सडक देखाउँदै), पक्की गरिदिए हुन्थ्यो नि! दुःखबिमार पर्दा औषधि गरिदिए हुन्थ्यो। खेती लगाउने बेला मल र बिउ नै पाइँदैन। त्यो दिने पनि त सरकारले हो नि।
***