(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दु:खसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
उनी संकटमोचन मन्दिर छेउछाउको बाटोमा प्रायः बिहान साढे ७ बजेतिर देखिन्छिन्। कठ्यांग्रिदो जाडो होस्, झमझम झरी होस् वा उखरमाउलो गर्मी नै किन नहोस्; उनी आफ्नो काममा दृढ छिन्।
प्लास्टिकका भाँडाबर्तन टाउकोमा बोकेर हिँड्ने ५७ वर्षीया सीता यादव दूध बेच्न सधैं गाउँबाट जनकपुर आउँछिन्। उनको घर लक्ष्मीनिया गाउँपालिका-४ सपहीमा हो।
कहिलेदेखि दूध बेच्न थाल्नुभयो?
१० वर्ष भयो।
त्यति भारी बोकेर हिँड्दा थकाइ लाग्दैन?
किन नलाग्नु! घर पुग्दा जिउ, हात टुटेजस्तो हुन्छ। यहाँका घरहरू पनि अग्ला अग्ला छन्। माथिल्लो तल्लासम्म दूध पुर्याउन जाँदा थाकेर लखतरान हुन्छु। तर यत्ति नगरे गुजारा चल्दैन। पेटले त जे पनि गराउँछ नि!
अनि १० वर्षअघि के गर्नुहुन्थ्यो?
खेतीपाती गर्थेँ। तर त्यसले नपुग्ने भयो।
खेत कति छ?
पहिले त एक बिघा थियो, अहिले १० कठ्ठा मात्रै बाँकी छ।
बाँकी खेत के भयो?
तीन जना छोरीको बिहेवारी गर्दा बेच्नुपर्यो।
कति छोराछोरी छन् तपाईंका?
तीन जना छोरी मात्रै छन्।
अनि श्रीमान के गर्नुहुन्छ?
बीस वर्ष भयो अलग्गै बसेको। हाम्रो कुराकानी भएको छैन। उनी अर्कै महिलासँग बस्छन्। उनैका छोराछोरी मात्र हेर्छन्। म पहिलो छोरी हुँदा चार वर्ष माइतै बसेँ। पछि फेरि दुई जना छोरी भए। माइतीले त अर्को बिहे गर भनेका थिए, तर छोरीहरूको माया लाग्यो। उनीहरूलाई दुःख होला, समाजले नराम्रो भन्ला भनेर मैले आफ्नो जिन्दगीको बारेमा सोच्दै सोचिनँ। म आफैं तकलिफ झेल्छु, तर बच्चाहरूलाई झेल्न दिन्न भनेर एक्लै बसेँ। मलाई मालिकले जति लेखेका छन्, त्यति कष्ट त झेल्नै पर्ला। छोरीहरूलाई भने दुःख पर्न दिन्न भनेर अठोट लिएको थिएँ।
तपाईं श्रीमानकै घरमा बस्नुहुन्छ कि अलग्गै बस्नुहुन्छ?
श्रीमान त भाडाको घरमा बस्छन्। उनले बनाएको फुसको घर पनि उजाडिदियो। गाउँ, समाजले भनेर उनले मलाई बस्न थोरै जग्गा दिएपछि मैले आफैंले कमाएर दुई कोठाको घर बनाएको छु।
दूध आफ्नै भैंसीको हो कि गाउँबाट किनेर ल्याउनुहुन्छ?
अहिले किनेरै ल्याउँछु।
आफैले भैंसी पाल्नुभएको छैन?
पालेको छु। अहिले एउटा मात्रै छ। पहिले दुइटा पालेको थिएँ, तर धेरै परेसानी भयो। आफ्नो भैंसी ब्याउने बेला भएको छ। एक महिनापछि ब्याउँछ। दुई साँझ गरेर ८ लिटर दूध दिन्थ्यो। अहिले गाउँघरबाट संकलन गरेर ल्याउँछु।
सधैं बिहान मात्रै दूध बेच्न आउनुहुन्छ?
हो। बेलुकीतिर दूधै पाइँदैन।
बस चढेर आउनुहुन्छ कि पैदलै?
रामानन्द चोकसम्म बस चढेर आउँछु। त्यहाँबाट बोकेर जनकपुर घुम्छु। एउटा हस्पिटलमा दूध पुर्याउँछु पहिले। त्यहाँबाट उब्रियो भने घर–घरमा लगेर बेच्छु।
कति दूध बेच्नुहुन्छ दिनको?
२५ लिटर ल्याउँछु दिनको। धेरै परेसानी छ यो काममा पनि।
के के परेसानी झेल्नुपर्छ?
बिहान ४ बजे नै उठ्नुपर्छ। दूध बेचेर १० बजे फर्किन्छु। सबैको घर जान्छु। नापेर ल्याउँछु। फेरि बस चढ्न हाइवे आउनुपर्छ। दूध बेचेर घर गएपछि भैंसी स्याहार्नुपर्यो। बताहजस्तो दिनभर खेतमा खट्छु।
कस्तो चलेको छ व्यापार?
अहिले भगवानको कृपाले चलेको छ।
कति फाइदा हुन्छ?
दिनको पाँच सय फाइदा हुन्छ। आफ्नो भैंसी ब्यायो भने कमाइ अझै थपिन्छ।
दूध बेच्नुबाहेक के काम गर्न धेरै मन पर्छ तपाईंलाई?
जे काम गरिरहेको छु त्यही मन पर्छ। दूध बेच्छु, घाँस काट्छु। अरू काम पनि हुन्छ घरमा।
मनोरञ्जन गर्ने, रमाइलो गर्ने पनि त मन होला नि, के गरी रमाइलो गर्न मन लाग्छ?
मलाई समस्याले केही मनोरञ्जन गर्न मन लाग्दैन। धाम घुम्ने रहर छ, तर श्रीमानले दिएको पीडाले केही गर्न सकेको छैन। घरमै भगवानको पूजापाठ गर्छु।
मुख्य समस्या के हो तपाईंको?
कर्जा तिर्नुपर्ने छ।
पैसा कमाएर के गर्नुहुन्छ?
मेरा चार जना नातिनातिना छन्। छोरीहरू छन्। उनीहरू आउँदा खर्च हुन्छ। छोरीकै बिहेमा लिएको कर्जाले पनि माथि उठ्न दिएन।
छोरीको बिहेमा श्रीमानले सघाएनन्?
सघाएनन्। बेइमान मान्छेले के सघाउनु!
तपाईंलाई के खान मन पर्छ?
मलाई खानपिनको धेरै सोख छैन। दूध हुन्छ नै। माछामासु त खाँदै खान्न। वैष्णव हुँ। सादा खाना मन पर्छ — दाल, भात, तरकारी, दूध।
छोरीहरूबाट कत्तिको सुख पाउनुभएको छ?
छोरीहरूले माया गरेकै छन्। काम नगर्नू भन्छन्। ऋण पनि हामी नै तिरिदिऊँला, बसेर खानुस् भन्छन्। तर म भन्छु, तिमीहरू आफैं श्रीमानमाथि निर्भर छौ, म जहिलेसम्म कमाउन सक्छु, तहिलेसम्म कमाउँछु।
कति ऋण छ तपाईंको?
५ लाख छ। लघुवित्तहरूबाट लिएको छु। केही गाउँलेहरूबाट लिएको तीन रूपैयाँ ब्याजवाला ऋण पनि छ।
स्वास्थ्य कस्तो छ नि तपाईंको?
राम्रो छ अहिले। कहिलेकाहीँ बिरामी पर्छु।
राति निद्रा कत्तिको आउँछ?
दिनभर काममा हुन्छु। थाकेको हुन्छु। राति भगवानको नाम लिएर आरामले सुत्छु।
ठिक्कको पैसाले आउने के किन्न मन छ?
पैसा भयो भने फलफूल किनेर खान्थेँ। दराज किन्थेँ सामान राख्न। मान्छेलाई यही सोख हुन्छ। गरगहना लगाउने मन थियो, तर किन्न सकिएन। अहिले बुढेसकाल लाग्यो, अब लगाउन मन पनि लाग्दैन।
तपाईंलाई सबभन्दा धेरै के कुराले चित्त दुखेको छ?
अरू केही होइन, श्रीमानले दिएको धोकाले धेरै रूवायो।
सबभन्दा खुसी कहिले हुनुभएको थियो?
श्रीमानले यति धेरै तकलिफ दिए, कहिल्यै खुसी हुन सकिएन। छोरीहरूको बिहे गर्ने बेला पनि पैसा थिएन। त्यसैले छोरीको बिहेमा पनि खुसी हुन सकिनँ।
तपाईंलाई जिन्दगीमा के भइदिए हुन्थ्यो जस्तो लाग्छ?
मर्ने बेलासम्म सबै ऋण चुक्ता गर्न पाए हुन्थ्यो जस्तो लाग्छ। यो बुढियाले पैसा खाएर मर्यो भनेर कसैले नभनिदियोस्।
आफ्नो गाउँ-समाज तपाईंलाई कस्तो लाग्छ?
समाजकै सहयोगले म बाँचेको छु। श्रीमानविरूद्ध अंश मुद्दा हालेको छु। मलाई गाह्रो हुँदा यही समाजले साथ दियो।
यो समाजमा के सुधार हुन जरूरी छ जस्तो लाग्छ?
गाँजा, नशा, रक्सी खाएर बालबच्चा बिग्रिरहेका छन्। मेरो पनि एउटा नाति मासु र नशा खान थालेको छ। कसैको कुरा टेर्दैन। यसमा सुधार हुन जरूरी छ।
तपाईंलाई देशको राजनीति कस्तो लाग्छ?
म राजनीतिको कुरा बुझ्दै बुझ्दिनँ।
नेताहरूलाई त हेर्नुभएको होला नि?
नेताहरूले आजसम्म केही दिएनन्। मैले मागेको पनि छैन। हामीलाई नेतासँग बोल्न पनि आउँदैन। वडाको चुनाव बेला एउटा कल मागेको थिएँ। त्यो चाहिँ दिए। अरू धेरै कुरा म बुझ्दिनँ।
अघिल्लो संसदीय चुनावमा कसलाई भोट दिनुभएको थियो?
आजसम्म सधैं गाछी छापमै भोट खसाएको छु।
को थिए गाछी छापबाट चुनाव लडेका?
त्यो केही थाहा छैन। मेरो बुबाको पालादेखि घरपरिवार सबैले गाछी छापमै भोट दिए। तर को नेता हुन्छ, मन्त्री हुन्छ मलाई थाहा छैन। यो त पढेलेखेका मान्छेले बुझ्ने होला नि!
***