(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दु:खसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
धनगढीमा हरेक बिहान झिसमिसे उज्यालोसँगै महिलाहरू 'तरकारी... तरकारी' भन्दै गल्ली, चोक र बजारमा कराउँदै हिँडेको सुनिन्छ। उनीहरू आफ्नै बारीमा फलाएको तरकारी बेच्न साइकल चलाएर झिसमिसेमै आइपुग्छन्। तिनमा रानाथारू र थारू समुदायका महिला बढी भेटिन्छन्।
यसरी नै तरकारी बेच्दै हिँड्ने दुई जना महिलालाई मैले हसनपुरमा बिहान ९ बजेतिर भेटेँ। उनीहरू निकै हतारमा थिए। त्यही व्यस्तताबीच ग्राहक बनेर सोधेँ, 'तरकारी कसरी हो दिदी?'
एक महिलाले भनिन्, 'के लिनुहुन्छ?'
'एक मुठा बेथेको साग, दुई मुठा लसुन र एक किलो हरियो मटर दिनुहोस्।'
तरकारी किनेपछि मैले उनीहरूसँग कुरा गर्न थोरै समय पनि मागेँ।
सुरूमा त उनीहरू हतार छ भन्दै अनकनाए। मैले आफ्नो परिचय दिएपछि भने केही बेर रोकिन तयार भए। दुई महिलामध्ये इनावरी राना मसँग कुरा गर्न अघि सरिन्।
उनलाई आफ्नो वास्तविक उमेर थाहा रहेनछ। अन्दाजी ३५-३६ वर्षकी उनी कैलालीको धनगढीसँग सिमाना जोडिएको गोदावरी नगरपालिका-९ सेहरीबाट धनगढी आएकी रहिछन्।
तपाईंको जमिन कति छ? कति जमिनमा तरकारी लगाउनुभएको छ?
तीन कठ्ठाजति छ। पूरै धान र गहुँ लगाउने हो भने खान पनि पुग्दैन। त्यसैले एक कठ्ठामा गहुँ र एक कठ्ठामा घरबास छ। बाँकी एक कठ्ठामा तरकारी बारी छ।
गाउँमा तरकारी बिक्री हुँदैन?
गाउँमा सबैले घर-घरमै तरकारी लगाएका छन्। त्यसैले बजारमा बेच्न नल्याई सुखै छैन।
बिक्री कस्तो छ?
ठिकै छ। हामी टाढाबाट बेच्न आउँछौं, बजार आउनै डेढ घन्टा लाग्छ। गाउँमा पिच रोड छैन। कच्ची सडकमा साइकल चलाएर आउँछौं। दिनमा चार-पाँच सय कमाइ हुन्छ।
कामबाट सन्तुष्ट हुनुहुन्छ?
अब सन्तुष्ट त हुनैपर्छ। अरू काम छैन।
केटाकेटी कति छन्?
मेरो एउटा १९ वर्षको छोरा छ। ऊ इन्डियाको चेन्नई गएको छ। एक वर्षअघि धनगढीमा कपाल काट्ने काम गर्थ्यो।
तपाईंको श्रीमान के गर्नुहुन्छ?
ब्यान्ड-बाजा बजाउने काम गर्नुहुन्छ।
तपाईंलाई के गर्न मन लाग्छ?
होरी खेलमा नाच्न मन लाग्छ। हाम्रो राना संस्कारमा त होरी खेल्ने चलन छ। मेलामा जान पनि रमाइलो लाग्छ।
खाना सबभन्दा मिठो के लाग्छ?
मलाई पनिर खुब मिठो लाग्छ।
अन्तिमपटक कहिले खानुभएको थियो?
हिजो बिहेमा खाएको थिएँ। तीन-चार महिनाअघि पनि खाएको थिएँ।
तपाईंको स्वास्थ्य अवस्था कस्तो छ?
कहिलेकाहीँ टाउको धेरै दुख्छ।
उपचार गर्नुभएको छैन?
टाउको दुखेपछि गाउँकै मेडिकल जान्छु। त्यहीँबाट गोली ल्याएर खान्छु।
कति पर्छ गोलीको?
एक गोलीको बीस रूपैयाँ भन्छन्।
मजाले निद्रा पर्छ कि पर्दैन?
प्रायः पर्छ। कहिलेकाहीँ पर्दैन।
मजाले निदाएको कहिले हो?
एक साताअघि दिनभरि बजारमा तरकारी बेचेको दिन साह्रै थकाइ लागेको थियो। त्यो रात मस्त निदाएछु।
ठिक ठिकै पैसा भयो भने तपाईंलाई के किन्न मन लागेको छ?
राम्रो कपडा किन्न मन छ।
अन्तिमपटक कहिले किन्नुभएको थियो?
पोहर। एक वर्षमा दुई जोर कुर्ता सुरूवाल किन्छु।
जीवनमा सबभन्दा खुसी लागेको कुरा के छ? कहिले खुसी लागेको थियो?
त्यस्तो त खासै थाहा छैन। धेरै तरकारी बिक्री भएको दिन खुसी लाग्छ। अस्ति निकै खुसी थिएँ।
सबभन्दा चित्त के कारणले दुखेको छ?
दैनिक चित्त दुख्छ। तरकारी कम बिक्री भएको दिन सधैं चित्त दुख्छ। धनगढी मोतीचोकमा मेरो छोरा कपाल काट्ने काम गर्थ्यो। गत वर्ष घर जाँदा छोरो गाडीबाट खस्यो। दात भाँचिएर घाइते भयो। यो घटनाले साह्रै चित्त दुख्यो।
तपाईंको छोराले कपाल काट्ने काम किन छाडे?
घाइते हुँदा उपचार गर्न ऋण लाग्यो। त्यसैले काम छाड्यो र कमाउन इन्डिया गयो।
तपाईंलाई मनमा बसिरहेको, पिरोलिरहेको वा तपाईंले आशा गरेको यस्तो भइदिएको भए हुन्थ्यो भन्ने के छ?
छोरा घाइते हुँदा लिएको एक-डेढ लाख रूपैयाँ कर्जा छ। कसरी तिर्ने भन्ने चिन्ता हुन्छ। खेतीपाती पनि कम छ। छिटो तिर्न सके हुन्थ्यो भन्ने लाग्छ।
तपाईंलाई देशका को को नेता मन पर्छ?
त्यो थाहा छैन। हाम्रो गाउँमा बाटो बनेको छैन। हामी त नेतालाई गाली गर्छौं। हाम्रो गाउँमा गाडी हिँड्ने राम्रो बाटो छैन, बाटो त बनाउनुपर्ने हो नि।
नेता मन पर्दैन भन्नुहुन्छ, भोट हाल्नुभयो कि भएन गएको चुनावमा?
भोट त हालेँ। गाउँमा भोट छ भनेर त नेता पुग्छन्। मेरो घरमा तीन जना थियौं भोट हाल्ने उमेर पुगेका। भोट तीनै जनाले कांग्रेसलाई दियौं। भोट माग्न आउँदा सडक बनाउँछु भन्थे, अहिले सडक जस्ताको तस्तै छ।
अब पछि कसलाई भोट दिनुहुन्छ?
त्यो त थाहा छैन। अहिले के भन्ने र!
***